`

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख सहयोग

Nepal One HD १९ भदौ २०८३ २१:३७
समाचार

कास्की। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले भोटेकोशी नदी क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु १० लाख ११ हजार १११ सहयोग गरेको छ ।

पोखरामा प्रधान कार्यालय रहेर देशभर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख ११ हजार १११ जम्मा गरेको अध्यक्ष एनकुमार साइले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार तथा राहत कार्यमा सहयोग तथा कम्पनीका तर्फबाट रु पाँच लाख ५५ हजार ५५५, सञ्चालक समिति पदाधिकारी तथा आबद्ध कर्मचारीका तर्फबाट रु दुई लाख ७४ हजार र पृथ्वी यातायात सहकारी संस्थाका तर्फबाट रु एक लाख ८१ हजार ५५६ सहयोग गरिएको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण यातायात व्यवसायी, चालक, सहचालक, यातायात मजदुर, यात्रु, हाइड्रोपावर क्षेत्रमा कार्यरत मजदुर, गोसाइँकुण्ड तीर्थयात्रामा रहेका नेपाली तथा विदेशी पर्यटकसमेत प्रभावित भएकामा कम्पनीले दुःख व्यक्त गरेको छ ।

बाढीपीडितको उद्धार, खोजतलास, राहत सङ्कलन तथा वितरण र घाइतेहरूको उपचारकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको अध्यक्ष साइले बताउनुभयो ।

त्यसैगरी कम्पनीले संस्थामा आबद्ध ग२ख ११५२ नम्बरको यात्रुवाहक बस सोही बाढीपछि परेर टिमुरे क्षेत्रबाट ३२ जना यात्रुसहित बेपत्ता भएको हुँदा चालक, यात्रु तथा बसको खोजतलासका लागि सहयोगको अपिलसमेत गरेकोे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *