मधेशका मुख्यमन्त्री यादवको शपथ लगतै तीन मन्त्री नियुक्त
जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।
यस्तै मुख्यमन्त्री यादवले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
