`

मुख्यमन्त्री नै अनुपस्थित, सर्‍यो मधेश प्रदेशसभा बैठक

Nepal One HD १७ मंसिर २०८२ ११:००
बिशेष

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घण्टा ढिला सुरु भए लगतै सारिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

तर, करिब साढे १० बजेसम्म मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा आएका छैनन् । विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८ः३० बजे आएर प्रदेश सभामा कुरिरहेका छन् । नेकपा एमालेका समेत केही प्रदेश सांसदहरू आइसकेका छन् ।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए । तर मुख्यमन्त्री यादवले विगतमा पनि विश्वासको मत लिन मुख्यमन्त्रीहरूले आग्रह गरेअनुसार समय निर्धारण गरेपनि विपक्षी दलहरूको उक्साहटमा उपसभामुखले बिहान साढे आठ बजे नै समय तोकेको गुनासो गरे ।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिएको थियो। तर मैले पठाएको पत्र अनुसार नगरेर उपसभामुखले दलहरूको उक्साहटमा आज बिहानै प्रदेशसभा बैठक राख्नु भयो,’ उनले भने । मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । उपसभामुख ईशरले पुनः कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री यादवले मागेकै समयअनुसार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिइन् ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *