`

एमालेले बागमतीबाट बोलायो ६ मन्त्रीलाई फिर्ता

हेटौँडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने नेकपा (एमाले)ले तयारी गरेको छ ।

वाग्मतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । बिहीबार (असार ३२) बस्ने प्रदेश मन्त्रिपरिषद् बैठकमा एमालेतर्फका ६ मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमाले सत्तासाझेदारका रूपमा सहभागी छ ।

केन्द्रमा बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकबाट सबै प्रदेशमा एमालेसँगको सत्तासहकार्य अन्त्य गर्ने निर्णय गरिएको थियो । योसँगै वाग्मतीमा पनि नयाँ सत्तासमीकरण बन्ने प्रक्रिया तीव्र बनेको हो ।

 

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगलाई झड्का

काठमाडौं। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही तत्कालका लागि रोकिएका छन्।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार दिएको अन्तरिम आदेश बिहीबार सार्वजनिक गर्दै आयोगलाई थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

अदालतले आदेशमा भनेको छ, ‘यस अदालतको संयुक्त इजलासबाट २६ असार २०८३ मा भएको आदेशको मर्म र भावनाविपरीत आयोगले २९ असारमा जारी गरेको सूचनाको दोस्रो खण्डमा उल्लेखित व्यवस्था कार्यान्वयन नगर्नू, नगराउनू।’

यसअघि सर्वोच्चको अन्तरिम आदेशपछि पनि आयोगले राजनीतिक पदाधिकारी तथा अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन तयार गर्ने कार्य भने नरोकिने भन्दै सूचना जारी गरेको थियो। उक्त सूचनाले अदालतको आदेशको व्याख्यालाई लिएर अन्योल सिर्जना गरेको थियो।

यसअघि न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्ने, छानबिन अघि नबढाउने तथा कानुनी कारबाहीका लागि सिफारिस नगर्ने उल्लेख थियो। तर आयोगले त्यसको फरक अर्थ लगाउँदै सूचना जारी गरेपछि पुनः अदालतको ध्यानाकर्षण भएको थियो।

नयाँ अन्तरिम आदेशमार्फत सर्वोच्चले आयोगको त्यस्तो सूचनाको कार्यान्वयनमा स्पष्ट रूपमा रोक लगाएको छ। अब आयोगले सम्पत्ति विवरण संकलन, छानबिन, प्रतिवेदन तयारी वा त्यससँग सम्बन्धित कुनै पनि प्रक्रिया अघि बढाउन पाउने छैन।

सर्वोच्चले यसअघि नै पूर्ण इजलासमा १५ दिनभित्र सुनुवाइ हुने गरी पेसी तोकेको छ। मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका सम्पत्ति छानबिनसम्बन्धी सबै प्रक्रिया स्थगित रहने भएका छन्।

साथै, कुनै पनि व्यक्तिलाई सम्पत्ति विवरण पेस गर्न बाध्य पार्न वा त्यसका आधारमा कुनै कानुनी प्रक्रिया अघि बढाउन पनि नपाइने भएको छ।

पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी

काठमाडौं। बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि आकस्मिक एन्जियोप्लास्टी गरिएको छ। हाल उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

अस्पतालका अनुसार बिहीबार बिहान छातीमा तीव्र दुखाइ भएपछि उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। प्रारम्भिक परीक्षणका क्रममा एक्युट मायोकार्डियल इन्फार्क्सन (हार्ट अट्याक) भएको पुष्टि भएपछि तत्काल एन्जियोप्लास्टी गरिएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार समयमै अस्पताल ल्याइएकाले आवश्यक उपचार तत्काल सम्भव भएको हो। शल्यक्रियामा डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शाक्यको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको निरन्तर निगरानी भइरहेको छ भने आवश्यक उपचार आईसीयूमै जारी रहेको छ।

एक महिलासहित तीन जनाको शव फेला

काठमाडौं । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार निवासी ७० वर्षीय शोपबहादुर सुनार बिहीबार सोही क्षेत्रको टेकनटार चौरमा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनमाथिको गोरेटो बाटोमा अन्दाजी ४० वर्षीय एक पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी, कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा बुधबार फेला परेको वृद्धाको शव चितवनको भरतपुर महानगरपालिका–९ निवासी ७२ वर्षीया सुकमाया दराईको रहेको पुष्टि भएको छ।

प्रहरीले तीनै घटनाको मृत्युको कारण खुलाउन घटनास्थलको मुचुल्का, पोस्टमार्टम तथा अन्य प्रमाणका आधारमा अनुसन्धान जारी रहेको जनाएको छ।

कोशी प्रदेश सरकारबाट पनि बाहिरिँदै कांग्रेस

काठमाडौं। केन्द्रको निर्णयअनुसार नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा उत्पन्न विवादपछि कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै कोशीमा पनि सत्ता समीकरण बदलिने भएको हो।

कांग्रेसका चार मन्त्रीले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। यसबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरू सरकारमा छन्। पार्टीको निर्णयपछि उनीहरूले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका हुन्।

कोशी प्रदेशमा विगतदेखि कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको भए पनि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत भएका छन्।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशको सत्ता समीकरण फेरिने निश्चित भएको छ। अब एमालेले नयाँ गठबन्धन बनाएर सरकारलाई निरन्तरता दिन्छ वा नयाँ राजनीतिक समीकरण बन्छ भन्ने विषय आगामी दलगत छलफल र प्रदेशसभाको अंकगणितमा निर्भर रहनेछ।

पाँच निकाय सचिवविहीन, पाँच सचिव जगेडामा

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सचिवको दरबन्दी रहेका पाँच सरकारी निकायलाई नेतृत्वविहीन राख्दै पाँच सचिवलाई जगेडा (अतिरिक्त समूह) मा राखेको पाइएको छ। यसले कर्मचारी व्यवस्थापनको प्रभावकारिता र प्रशासनिक निर्णय प्रक्रियामाथि प्रश्न उठाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलअनुसार न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय र निर्वाचन आयोग सचिवविहीन छन्। यी निकायमा सचिवको दरबन्दी रहे पनि हालसम्म पदपूर्ति गरिएको छैन।

यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको अतिरिक्त (जगेडा) समूहमा भने डा. गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे गरी पाँच सचिव कुनै कार्य जिम्मेवारीबिनै राखिएका छन्।

जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे भने भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि हाल निलम्बनमा छन्।

एकातिर महत्त्वपूर्ण सरकारी निकायहरू सचिवविहीन हुँदा निर्णय प्रक्रिया र प्रशासनिक काम प्रभावित हुने अवस्था रहेको छ भने अर्कोतर्फ कार्य जिम्मेवारी दिन सकिने सचिवहरू जगेडामा राखिएको विषयले सरकारको कर्मचारी व्यवस्थापन र जनशक्ति उपयोगको शैलीमाथि प्रश्न उठाएको छ।

प्रशासनिक वृत्तमा आवश्यक दरबन्दीमा तत्काल पदस्थापन नगरी सचिवहरूलाई लामो समय जिम्मेवारीविहीन राख्ने अभ्यासले सुशासन र सेवा प्रवाहमा समेत असर पर्ने टिप्पणी भइरहेको छ।

लुम्बिनीबाट कांग्रेस बाहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारको राजनीतिक समीकरण पनि फेरिने भएको छ।

केन्द्रको निर्णय कार्यान्वयन गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउने तयारी थालेको छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी पाँच मन्त्री, प्रमुख सचेतक र सचेतकलाई दाङमा बैठकका लागि बोलाएका छन्। बैठकले समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे औपचारिक निर्णय गर्ने जनाइएको छ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।

सामाजिक विकास मन्त्री तिमिल्सेनाका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले केन्द्रमा एमाले–कांग्रेसबीच पुनः सहमति हुन सक्ने सम्भावना रहेको भन्दै तत्काल राजीनामा नदिन आग्रह गरेका छन्। तर पार्टीको औपचारिक निर्णय आएलगत्तै आफूहरू पद त्याग्न तयार रहेको उनले बताएका छन्।

उता नेकपाले भने कांग्रेस बाहिरिएपछि प्रदेश सरकारको शक्ति सन्तुलन आफ्नो पक्षमा आउने संकेत गरेको छ। पार्टीका प्रमुख सचेतक इन्द्रजित चौधरीले कांग्रेसले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्ने र त्यसपछि नयाँ सरकार गठनमा नेकपा निर्णायक शक्ति बन्ने दाबी गरेका छन्। उनले पार्टी केन्द्रमा वामपन्थी सहकार्यबारे छलफल भइरहेकाले एमालेसँग सहकार्यको सम्भावना बढी रहेको बताए।

सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले भने एमाले नेतृत्वको सरकार कायम रहने विश्वास व्यक्त गरेका छन्। कांग्रेसले औपचारिक रूपमा समर्थन फिर्ता लिएपछि मात्रै नयाँ राजनीतिक विकल्पबारे निर्णय गरिने उनको भनाइ छ।

अंकगणित कसको पक्षमा?

लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य छन्। एमालेसँग २९ र नेकपासँग १३ (सभामुखसहित) सांसद छन्। दुवै दल एक ठाउँमा उभिए ४२ सांसद पुग्ने भएकाले बहुमतको आधार तयार हुन्छ। स्वतन्त्र सांसदको समर्थन पनि प्राप्त हुने विश्वास उनीहरूले गरेका छन्।

यता कांग्रेसका २७ सांसद र माओवादी केन्द्रसहितको समीकरण बने पनि संख्या ४० मा सीमित हुने देखिन्छ। त्यसैले कांग्रेस सरकारबाट बाहिरिएपछि लुम्बिनीमा एमाले–नेकपा समीकरणको सम्भावना बलियो देखिएको छ।

यसअघि २०८१ साउनमा मुख्यमन्त्री चेतनारायण आचार्य नियुक्त हुँदा एमाले र कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर केन्द्रमा दुई दलबीच सहकार्य अन्त्य गर्ने निर्णयसँगै त्यो सहमति पनि व्यवहारतः समाप्त हुने अवस्थामा पुगेको छ। अब लुम्बिनी प्रदेशको सत्ता समीकरण कुन दिशामा मोडिन्छ भन्ने टुंगो कांग्रेसको औपचारिक निर्णय र त्यसपछि हुने दलगत छलफलले लगाउनेछ।

मोटरसाइकलमा शव बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

काठमाडौं। सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन्।

दुर्घटनापछि शव लुकाउने प्रयास भएको हो वा योजनाबद्ध हत्या, भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा १४ वर्षीय मोहम्मद सादिकको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर घटनास्थलबाट भाग्ने प्रयास गरिएको थियो। मृतक शम्भुनाथ–५ मोहनपुर निवासी मोहम्मद सदामाका एक्ला छोरा हुन्।

प्रहरीका अनुसार बीआर–३२ बी–९७६४ नम्बरको भारतीय अपाचे मोटरसाइकलमा दुई जना सवार थिए। प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि मोटरसाइकल पछ्याएको थियो।

भाग्ने क्रममा उनीहरूले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्रनजिक शव फालेर फरार हुन खोजेका थिए। स्थानीयवासीको सहयोगमा भारतको मधुवनी जिल्ला, खतौनी पिपराही निवासी २८ वर्षीय मो. सादर नटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका अर्का साथी भने फरार छन् र खोजी भइरहेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्ने मजदुर हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटना सामान्य सडक दुर्घटना हो वा हत्या गरेर शव लुकाउने प्रयास गरिएको हो भन्ने विषयमा सबै पक्षबाट अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको प्रमाण र फरार व्यक्तिको बयानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने उनले बताए।

घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए। बिहीबार बिहान उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा करिब ३० मिनेट सडक अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

प्रहरीले फरार व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ भने घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

भिषण वर्षा : असमका ९९ गाउँ डुबानमा

एजेन्सी। भारतका विभिन्न राज्यमा लगातारको भारी वर्षापछि बाढी र पहिरोको प्रकोप बढ्दै गएको छ।

उत्तर प्रदेश, बिहार, अरुणाचल प्रदेश, असम र ओडिशासहितका राज्यमा जनजीवन प्रभावित भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। पूर्वी नेपालमा पनि निरन्तर वर्षा भइरहेकाले सीमावर्ती क्षेत्रमा बाढीको जोखिम बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका १० र बिहारका ८ जिल्लामा मुसलधारे वर्षा भइरहेको छ। उत्तर प्रदेशका हरदोई, लखनऊ, रायबरेली, सीतापुर, उन्नावलगायत ३६ जिल्लामा भारी वर्षाको चेतावनी (अलर्ट) जारी गरिएको छ। निरन्तर वर्षाका कारण नदीको जलस्तर बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशमा पछिल्लो २४ घण्टाभित्र बाढी, पहिरो र अविरल वर्षाले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ १ लाख २ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २९ जना घाइते भएका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको बताइएको छ।

यस्तै, असमका ६ जिल्लाका ९९ गाउँ बाढीले डुबानमा परेका छन्। सरकारी विवरणअनुसार ३७ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। नदीहरूमा पानीको सतह बढ्दै जाँदा थप क्षेत्र डुबानमा पर्न सक्ने भन्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ।

ओडिशाको पुरी क्षेत्रमा पनि लगातार भारी वर्षा भइरहेको छ। मौसम विभागले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतसँगै पूर्वी नेपालमा पनि अविरल वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। गएराति कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको थियो।

पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। सम्बन्धित निकायले पूर्वी नेपालमा वर्षा निरन्तर जारी रहेमा नदीको बहाव अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

नेपाल–भारत सीमावर्ती क्षेत्रका लागि महत्त्वपूर्ण संरचना मानिने कोशी ब्यारेजमा जलस्तर बढेपछि दुवै देशका नदी तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेकाले नदी किनार र डुबान जोखिम भएका क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको बताएका छन्।

महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बिहिवार महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग उद्योग, उद्यमशीलता र महिलाको आर्थिक सशक्तीकरणका विषयमा विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा महिला उद्यमशीलता प्रवर्द्धन, उद्योग व्यवसाय सञ्चालनमा देखिएका चुनौती, नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने उपायबारे विस्तृत संवाद हुने जनाइएको छ।

महिला उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, वित्तीय पहुँच, सीप विकास, बजार विस्तार, कर तथा नियामकीय सुधारलगायत विषयमा आफ्ना सुझाव सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्। साथै, महिला नेतृत्वको व्यवसायलाई प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सहजीकरणका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउने नीति लिँदै विभिन्न व्यवसायिक तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। सोही क्रममा महिला उद्यमीहरूसँगको यो भेटलाई पनि सरकार–निजी क्षेत्र सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

बैठकमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।

पाकिस्तानी युवती समनको जबरजस्ती विहे र परिवारबाटै हत्या प्रकरण

काठमाडौं। इटालीको सर्वोच्च अदालतले पाँच वर्षअघि जबरजस्ती विवाह गर्न अस्वीकार गरेकी पाकिस्तानी मूलकी १८ वर्षीया युवती समन अब्बासको हत्या प्रकरणमा अन्तिम फैसला सुनाउँदै उनका पाँच जना आफन्तलाई दोषी ठहर गरेको छ।

सर्वोच्च अपिल अदालत सुप्रिम कोर्ट अफ क्यासेसनले यसअघि तल्लो अदालतले सुनाएको सजायलाई यथावत् राख्दै यो बहुचर्चित मुद्दाको कानुनी टुंगो लगाएको हो।

इटालीमा बसोबास गर्दै आएकी समन अब्बासको सन् २०२१ मा परिवारकै सदस्यले हत्या गरेको अभियोजन पक्षको दाबीलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ। समनले पाकिस्तानमा आफन्तसँग गराउन खोजिएको जबरजस्ती विवाह अस्वीकार गरेकी थिइन्। अदालतका अनुसार यही कारणले उनलाई योजनाबद्ध रूपमा हत्या गरिएको थियो।

अदालतले समनका बुबा शब्बर अब्बास, आमा नाजिया शाहिन, काका छोराहरू इजाज इकराम र नोमानुल हकलाई आजीवन कारावासको सजाय यथावत् राखेको छ। त्यस्तै, घटनामा संलग्न ठहरिएका उनका काका दानिश हसनैनलाई यसअघि सुनाइएको २२ वर्षको कैद सजाय पनि कायम गरिएको छ।

समन अब्बास सन् २०१६ मा आफ्नो परिवारसँगै पाकिस्तानबाट इटालीको उत्तरी सहर नोभेलारा बसाइँ सरेकी थिइन्। किशोरावस्थामै उनले इटालीमा पढाइ अघि बढाइन् र त्यहीँ पाकिस्तानी मूलकै एक युवकसँग प्रेम सम्बन्धमा रहिन्।

उनका आमाबुबाले भने उनलाई पाकिस्तान फर्काएर आफ्नै काकाका छोरासँग विवाह गराउने योजना बनाएका थिए। समनले यो विवाह गर्न स्पष्ट अस्वीकार गरिन्। उनले आफू आफ्नो जीवनबारे आफैं निर्णय गर्न चाहेको बताएकी थिइन्।

परिवारसँगको विवाद चर्किएपछि उनले इटालीको सामाजिक सेवा विभागसँग सहयोग मागेकी थिइन्। सन् २०२० को नोभेम्बरमा उनलाई सरकारी संरक्षणमा रहेको आश्रयस्थलमा राखिएको थियो। उनले आफ्नै आमा-बुबाविरुद्ध प्रहरीमा उजुरी पनि दिएकी थिइन्।

तर, परिवारले पटक-पटक सम्पर्क गरी विश्वास दिलाएपछि अप्रिल २०२१ मा उनी पुनः घर फर्किइन्। यही निर्णय उनको जीवनको अन्तिम निर्णय सावित भयो।

घर फर्किएको केही दिनपछि समन अचानक सम्पर्कविहीन भइन्। ५ मे २०२१ मा प्रहरी उनको घर पुग्दा परिवारका सदस्यहरू त्यहाँ थिएनन्। अनुसन्धानका क्रममा उनका आमा-बुबा पाकिस्तान भागिसकेको खुल्यो।

प्रहरीले घर नजिकैको सीसीटीभी फुटेजको अध्ययन गर्दा २९ अप्रिल २०२१ मा पाँच जना व्यक्ति घरबाट फरुवा, फलामको रड र बाल्टी बोकेर बाहिर गएको र करिब साढे दुई घण्टापछि फर्किएको दृश्य फेला पारेको थियो। यही दृश्य अनुसन्धानको सबैभन्दा महत्वपूर्ण प्रमाण बन्यो।

त्यसपछि अनुसन्धानकर्ताहरूले घटनालाई हत्या भएको निष्कर्षतर्फ अघि बढाए।

समन बेपत्ता भएको करिब १८ महिनापछि, नोभेम्बर २०२२ मा उनका काका दानिश हसनैनले दिएको सूचनाका आधारमा प्रहरीले परिवारको घर नजिकै रहेको एउटा फार्महाउस क्षेत्रमा जमिनमुनि गाडिएको शव फेला पारेको थियो।

पोस्टमार्टम रिपोर्टले समनको घाँटीको हड्डी भाँचिएको देखाएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उनको घाँटी थिचेर हत्या गरिएको सम्भावना बलियो देखिएको थियो।

शव फेला परेपछि अनुसन्धानले निर्णायक मोड लिएको थियो।

हत्यापछि समनका आमा-बुबा पाकिस्तान भागेका थिए। उनका काका दानिश हसनैन फ्रान्स पुगेका थिए भने अन्य आफन्तहरू पनि फरार भएका थिए।

दानिश हसनैनलाई सन् २०२१ मा फ्रान्सको पेरिसबाट पक्राउ गरिएको थियो। शब्बर अब्बासलाई पाकिस्तानमा पक्राउ गरी अगस्ट २०२३ मा इटाली प्रत्यर्पण गरिएको थियो। आमा नाजिया शाहिनलाई पनि पछि पक्राउ गरी मुद्दाको प्रक्रियामा ल्याइएको थियो।

सुनुवाइका क्रममा शब्बर अब्बासले आफूले छोरीको हत्या गर्ने कल्पना पनि नगरेको दाबी गरे। तर अदालतले सीसीटीभी फुटेज, डिजिटल प्रमाण, पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानलाई पर्याप्त प्रमाण मानेर दोषी ठहर गरेको हो।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै यसलाई “लामो र पीडादायी न्यायिक प्रक्रियाको अन्त्य” भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत समनले आफ्नो भविष्य आफैं रोज्ने अधिकार खोजेकै कारण ज्यान गुमाउनुपरेको उल्लेख गर्दै महिलाको स्वतन्त्रता र जीवनको अधिकार कुनै पनि सांस्कृतिक वा धार्मिक कारणका नाममा खोस्न नसकिने स्पष्ट पारेकी छन्।

उनका अनुसार इटालीमा महिलामाथि हुने यस्ता हिंसात्मक अपराधका लागि कुनै सहिष्णुता हुन सक्दैन।

समन अब्बासको हत्या इटालीमा पछिल्ला वर्षहरूको सबैभन्दा चर्चित ‘इज्जतको नाममा हत्या’को घटनामध्ये एक मानिन्छ।

यो घटनाले जबरजस्ती विवाह, आप्रवासी समुदायभित्र हुने लैङ्गिक हिंसा, महिला अधिकार, किशोरीहरूको स्वतन्त्रता तथा सांस्कृतिक परम्पराका नाममा हुने अपराधबारे राष्ट्रिय बहस सुरु गराएको थियो।

मानवअधिकारकर्मीहरूले यो फैसला महिलाको स्वतन्त्र निर्णय गर्ने अधिकारको संरक्षणका लागि महत्वपूर्ण कानुनी नजिर भएको बताएका छन्।

सर्वोच्च अदालतको अन्तिम फैसलासँगै समन अब्बास हत्या प्रकरण कानुनी रूपमा टुंगोमा पुगेको छ।

रसुवागढी नाकाबाट ६,५०० बढी ईभी भित्रिए, १५ अर्ब राजस्व

काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारीसाधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ। नेपाली बजारमा ईभीको माग तीव्र बनेसँगै यस नाकाबाट हुने आयात र त्यसबापत उठ्ने राजश्व दुवैमा उल्लेखनीय वृद्धि भएको हो।

रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी नेपाल भित्रिएका छन्। आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख छन्। यी सवारी चीनका विभिन्न सहरबाट केरुङ हुँदै नेपाल ल्याइएका हुन्।

ईभी आयात बढेसँगै रसुवा भन्सारको राजश्व संकलन पनि ऐतिहासिक रूपमा बढेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा विद्युतीय सवारीको जाँचपास तथा भन्सार महसुलबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठेको छ। कुल राजश्व संकलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा ईभीबाट प्राप्त भएको जनाइएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षण घटेन। BYD, Deepal, GWM, Seres र Zeekr लगायतका ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम, वातावरणमैत्री प्रविधि र आधुनिक सुविधाका कारण उपभोक्ताको रोजाइ ईभीतर्फ बढेको हो।

भन्सार अधिकारीहरूका अनुसार पछिल्लो समय रसुवागढी नाका विद्युतीय सवारी आयातको मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। दैनिक रूपमा आउने अधिकांश मालवाहक ट्रकमा ईभी नै रहने गरेका छन्। चिनियाँ पक्षको सडक पूर्वाधार सुधार, प्रविधिमैत्री जाँचपास प्रणाली र भन्सार प्रक्रियामा सहजताले आयात बढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ।

यद्यपि, गत आर्थिक वर्ष ईभी आयातसँगै प्रशासनिक विवाद पनि चर्चामा रह्यो। बजेट घोषणाअघि केही व्यापारी र भन्सार कर्मचारीको मिलेमतोमा नाकामा आइपुग्न बाँकी करिब २०० ईभीको नियमविपरीत पूर्व–जाँचपास गराउन खोजिएको कैफियत भेटिएको थियो। त्यसपछि अर्थ मन्त्रालय र भन्सार विभागको निर्देशनमा तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारी निलम्बन भई विभागीय कारबाही अघि बढाइएको थियो।

त्यसयता नयाँ नेतृत्वमार्फत जाँचपास प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाइएको कार्यालयले जनाएको छ।

तस्वीरहरू:

Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुनको मूल्य बढ्यो,चाँदी सस्तियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो।

यससँगै अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा दैनिक उतारचढाव जारी रहेको छ।

टमाटर किसानको आन्दोलनपछि उपत्यका बाहिर ढुवानी सुरू

काठमाडौं। काठमाडौं उपत्यकासहित आसपासका जिल्लाका किसानहरूले उत्पादन गरेको टमाटरले बजार नपाएपछि उनीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

उत्पादन लागतसमेत उठाउन नसक्ने गरी मूल्य घटेपछि किसानहरूले माइतीघर मण्डलामा टमाटर सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

किसानहरूका अनुसार समस्या उत्पादनमा होइन, बजार व्यवस्थापनमा छ। बारीमा राम्रै उत्पादन भए पनि भारतबाट ठूलो परिमाणमा सस्तो टमाटर आयात भइरहँदा नेपाली उत्पादनले बजार गुमाएको उनीहरूको भनाइ छ। आयातित टमाटर कम मूल्यमा बजारमा उपलब्ध भएपछि स्थानीय उत्पादन बिक्री हुन छाडेको छ। परिणामस्वरूप किसानले उत्पादन बारीमै कुहिन दिनुपर्ने, कम मूल्यमा बेच्नुपर्ने वा सडकमै फाल्नुपर्ने अवस्था आएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुधबारको मूल्य सूचीले किसानको गुनासोलाई थप पुष्टि गरेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ कायम भएको छ भने सानो स्थानीय गोलभेँडाको मूल्य ८ रुपैयाँ र टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको मूल्य १३ रुपैयाँ मात्रै रहेको छ।

विस्तृत विवरणअनुसार सानो स्थानीय टमाटरको औसत थोक मूल्य प्रतिकेजी ९ रुपैयाँ ५० पैसा र टनेलमा उत्पादन गरिएको टमाटरको औसत मूल्य १४ रुपैयाँ ६० पैसा छ। ठूलो नेपाली टमाटरको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा भए पनि किसानहरूका अनुसार बीउ, मल, विषादी, सिँचाइ, श्रम र ढुवानी खर्च जोड्दा यस्तो मूल्यले उत्पादन लागतसमेत नउठ्ने अवस्था छ।

उपभोक्ताले खुद्रा बजारमा अपेक्षाकृत बढी मूल्य तिरे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुग्ने र बीचको आपूर्ति शृङ्खलाले ठूलो हिस्सा लिने गरेको किसानहरूको आरोप छ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार टमाटरको मूल्य घट्नुका पछाडि एकभन्दा बढी कारण छन्। मनसुनसँगै उत्पादन बढ्नु, बजार व्यवस्थापन कमजोर हुनु, पर्याप्त चिस्यान भण्डारण (कोल्ड स्टोर) नहुनु, प्रशोधन उद्योगको अभाव र भारतबाट निरन्तर आयात भइरहनु मुख्य कारण मानिन्छ।

विशेषगरी भारतमा उत्पादन बढी हुँदा सस्तो मूल्यमा नेपाल भित्रिने टमाटरले स्थानीय उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको किसानहरूको भनाइ छ। उनीहरू सरकारले आवश्यक परे मौसमी रूपमा आयात व्यवस्थापन गर्नुपर्ने माग गरिरहेका छन्।

उचित मूल्यको माग गर्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। उनीहरूले टमाटर सडकमा फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि व्यक्त गरे।

प्रदर्शनपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्। छलफलमा किसानहरूले उत्पादनको न्यूनतम मूल्य सुनिश्चित गर्न, बिचौलियाको प्रभाव घटाउन, सहज बजार पहुँच उपलब्ध गराउन र आयात व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए।

मन्त्री चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै बजार व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएकी छन्।

किसानको उत्पादन खेर जान नदिन कृषि मन्त्रालय र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा बुधबारदेखि काठमाडौं उपत्यकाबाहिर टमाटर ढुवानी सुरु गरिएको छ।

उपत्यकाभन्दा बाहिर माग भएका बजारमा टमाटर पठाएर किसानले केही राहत पाउने अपेक्षा गरिएको छ। यद्यपि किसानहरूले यसलाई तत्कालीन समाधान मात्र भएको र दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्।

नेपालमा तरकारी उत्पादनको मौसममा मूल्य अत्यधिक घट्ने र उत्पादन कम हुँदा आयातमा निर्भर हुने समस्या नयाँ होइन। गोलभेँडा, काउली, बन्दा, आलु, प्याजलगायतका बालीमा पनि यस्तै अवस्था पटक–पटक दोहोरिँदै आएको छ।

विशेषज्ञहरूका अनुसार उत्पादन योजना, बजार पूर्वानुमान, प्रशोधन उद्योग, चिस्यान भण्डारण, ढुवानी प्रणाली र निर्यात बजारको विकास नगरी केवल उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन। उत्पादन बढे पनि बजारको सुनिश्चितता नहुँदा किसानले हरेक वर्ष घाटा व्यहोर्नुपर्ने अवस्था दोहोरिने उनीहरूको भनाइ छ।

किसान संगठनहरूले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण, मौसमी आयात व्यवस्थापन, कृषि उपजको खरिद–बिक्रीमा सरकारी संयन्त्रको सक्रिय भूमिका, कोल्ड स्टोर विस्तार तथा प्रशोधन उद्योगको विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

भारत-नेपाल ऊर्जा सहकार्य थप सुदृढ, जलविद्युत् र प्रसारण पूर्वाधारमा जोड

काठमाडौं । भारत र नेपालबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।

भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा असार ३१ गते संयुक्त निर्देशक समिति (जेएससी) को बैठक बसेको हो।

त्यसअघि असार ३० गते भारत सरकारको विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकजकुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक सम्पन्न भएको थियो।

बैठकमा जलविद्युत् आयोजना विकास, सीमापार विद्युत व्यापार तथा प्रसारण पूर्वाधार विस्तारलगायत भारत-नेपाल ऊर्जा सहकार्यका विविध पक्षको विस्तृत समीक्षा गरिएको छ।

दुवै पक्षले ४०० केभी गोरखपुर-न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित नयाँ प्रसारण संरचना निर्माणमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने विषयमा छलफल गरेका छन्।

त्यसैगरी, भारतीय र नेपाली विद्युत ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन (ग्रीन हाइड्रोजन) मा सहकार्य विस्तार तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा पनि सहमति भएको छ।

जेएससी बैठकअघि भारतका विद्युत सचिव पंकज अग्रवालले असार ३० गते नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

बैठकका निष्कर्षले नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा विकसित हुँदै गएको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने तथा जलविद्युत् विकास, विद्युत व्यापार र ऊर्जा सुरक्षामा द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

रास्वपाभित्रको रडाको

काठमाडौं। भारी जनमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक सय दिन नाघ्दै गर्दा बाह्यभन्दा बढी आन्तरिक दबाबको सामना गरिरहेको छ।

संसदमा करिब दुईतिहाइ नजिकको बहुमत रहेकाले सरकार ढाल्ने अवस्था विपक्षीसँग छैन। तर पछिल्ला घटनाक्रमले सरकारलाई चुनौती विपक्षी दलबाट भन्दा आफ्नै पार्टीभित्रबाट बढ्न थालेको छ।

निर्वाचनअघि पुराना दलले गर्न नसकेको काम आफूले गरेर देखाउने प्रतिबद्धतासहित आएको रास्वपाले सरकार गठनपछि सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको थियो।

बलियो संसदीय समर्थनका कारण सरकारले नीतिगत सुधार र प्रशासनिक परिवर्तनका लागि पर्याप्त अवसर पाएको मानियो, तर सरकारका पछिल्ला निर्णय र कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको देखिएको छ।

पछिल्ला केही सातादेखि रास्वपाका सांसदहरूले संसददेखि सामाजिक सञ्जालसम्म सरकारको कार्यसम्पादनमाथि खुलेर प्रश्न उठाउन थालेका छन्। यसअघि विपक्षी दलले गर्ने आलोचना अहिले सत्तारूढ दलभित्रकै सांसदबाट हुन थालेपछि राजनीतिक वृत्तमा यसलाई असामान्य रूपमा हेरिएको छ।

विशेषगरी सुकुम्बासी व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, संवेदनशील घटनाप्रतिको सरकारी प्रतिक्रिया तथा केही प्रशासनिक निर्णयलाई लिएर पार्टीभित्र फरक मत सार्वजनिक हुन थालेको छ। सरकारको काम गर्ने शैली जनअपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै कतिपय सांसदले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

यही बढ्दो असन्तुष्टिबीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच छुट्टै छलफल भएको थियो। स्रोतहरूका अनुसार छलफलमा सरकारको कार्यसम्पादन, जनस्तरमा देखिएको असन्तुष्टि र त्यसलाई सुधार गर्ने उपायबारे विस्तृत समीक्षा भयो।

छलफलपछि सभापति लामिछानेले सरकारलाई जनताको समस्या समाधानमा अझ प्रभावकारी बन्नुपर्ने सुझाव दिएको बताएका थिए। विशेषगरी सुकुम्बासी व्यवस्थापनका क्रममा नागरिकले अनावश्यक दुःख पाउन नहुने र राज्यको निर्णय कार्यान्वयन गर्दा मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा आफूले प्रधानमन्त्रीसँग कुरा गरेको उनको भनाइ थियो।

यद्यपि छलफल केवल सरकारी कामकारबाहीमा सीमित नरहेको बताइन्छ। पार्टी संगठन, महाधिवेशनपछि बाँकी रहेका संरचनागत काम र नेतृत्वबीचको समन्वयका विषय पनि छलफलमा उठेका थिए। यसले सरकार र पार्टी सञ्चालनबीच देखिएको असन्तुलनलाई समेत उजागर गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएपछि पार्टीभित्र फरक धारका आवाज थप मुखर हुन थालेका छन्। महाधिवेशनअघि सार्वजनिक रूपमा कम देखिएको असन्तुष्टि अहिले सरकारका निर्णयसँग जोडिएर प्रकट भइरहेको छ। पार्टीका केही सांसद र नेताले सरकारलाई सुधारको आवश्यकता रहेको बताइरहेका छन् भने अर्का पक्षले सरकारलाई काम गर्ने समय दिनुपर्ने धारणा राखिरहेको छ।

रास्वपाको सबैभन्दा ठूलो चुनौती अहिले विपक्षी दलभन्दा आफ्नै पार्टीभित्र देखिएको छ।

संसदीय अंकगणितले सरकार सुरक्षित देखिए पनि जनअपेक्षा र आन्तरिक असन्तुष्टिको व्यवस्थापन गर्न नसके आगामी दिनमा सरकारमाथिको दबाब अझ बढ्न सक्ने संकेत देखिएको छ।

युवतिको मलद्वारमा लुकाएर लागूऔषध भित्र्याउन खोज्ने युवक-युवती पक्राउ

काठमाडौं। भारतबाट नेपालतर्फ लागूऔषध तस्करी गर्न खोजेको आरोपमा एक युवक र एक युवती पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई मोरङको रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्। उनीहरू हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले शरीरको संवेदनशील भाग अर्थात् मलद्वारमा लुकाएर लागूऔषध नेपाल भित्र्याउन प्रयास गरेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बरामद लागूऔषधको प्रकार र परिमाणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

मृत्यु दर्ता प्रमाणपत्र र आर्थिक सहायता घरमै पुर्‍याउने वडाध्यक्ष मनाेज

काठमाडाैं । झापाको शिवसताक्षी नगरपालिका-६ ले मृत्यु भएको १३ दिनभित्र मृतकका परिवारलाई घरमै पुगेर मृतककाे मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ ।

साथै, शोकाकुल परिवारलाई राहतस्वरूप ४ हजार ५ सय रुपैयाँ आर्थिक सहायता तथा वडा कार्यालयको तर्फबाट समवेदना पत्र पनि प्रदान गरिन्छ।

वडाध्यक्ष मनोज खुलाल कार्कीका अनुसार जनतालाई जनप्रतिनिधिको अनुभूति गराउन, स्थानीय सरकारप्रति विश्वास बढाउन र दुःखको घडीमा परिवारप्रति सहानुभूति प्रकट गर्न यस्ताे सेवा सञ्चालन गरिएको हो।

दोस्रो कार्यकाल वडाध्यक्ष भएका कार्कीले यो सेवा २०७४ सालदेखि निरन्तर सञ्चालन गरिँदै आएको जानकारी दिए।

विराट पोखरीको स्तरोन्नति गर्न कांग्रेस सांसद सुशिला ढकाल आचार्यको माग

काठमाडौं। नेपाली कांग्रेसकी सांसद सुशिला ढकाल आचार्यले झापाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विराट पोखरीको स्तरोन्नति गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले विराट राजाले निर्माण गरेको मानिने विराट पोखरी झापाको ऐतिहासिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।

उनले विराट पोखरीलाई आधुनिक पार्क तथा सांस्कृतिक पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा राखिन्।

सांसद आचार्यले ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तारमा लगानी बढाउन सरकारलाई आग्रह गर्दै विराट पोखरीलाई राष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक योजना अघि बढाउनुपर्नेमा जोड दिइन्।

विपक्षी दलहरुले दर्ता गराए सार्वजनिक जरुरी महत्वको प्रस्ताव

काठमाडौं। विपक्षी दलहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको जरुरी प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले संयुक्त रूपमा दर्ता गरेको प्रस्तावमा सरकार संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्न असफल भएको आरोप लगाइएको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम दर्ता गरिएको उक्त प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका सांसद भिष्मराज आङ्देम्बे हुन्। प्रस्तावमा एमालेका तर्फबाट ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट युवराज दुलाल तथा श्रम संस्कृति पार्टीका तर्फबाट आरेन राईले समर्थन गरेका छन्।

प्रस्तावमा संविधानको धारा ३७ ले सुनिश्चित गरेको आवासको हक, धारा ३९ अन्तर्गत बालबालिकाको शिक्षा, स्वास्थ्य र उचित स्याहारको अधिकार, धारा ४० को उपधारा (५) र (६) मा उल्लेखित भूमिहीन दलित तथा आवासविहीन नागरिकप्रतिको राज्यको दायित्व तथा धारा ४१ ले व्यवस्था गरेको ज्येष्ठ नागरिकको विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार चुकेको उल्लेख गरिएको छ।

विपक्षी दलहरूले सरकारको पछिल्लो सुकुम्बासी व्यवस्थापन अभियानलाई कानुनी प्रक्रिया, मानवीय संवेदनशीलता र दीर्घकालीन पुनर्स्थापना योजनाविनाको कदम भएको आरोप लगाएका छन्। प्रस्तावमा २०८३ वैशाखमा काठमाडौं उपत्यकासहित देशका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा रहेका बस्ती हटाउँदा पर्याप्त पूर्वतयारी, प्रभावित समुदायसँग परामर्श र वैकल्पिक आवासको व्यवस्था नगरिएको उल्लेख छ।

प्रस्तावमा सरकारी तथ्याङ्क उद्धृत गर्दै वैशाख १२ देखि २५ गतेसम्म २ हजार ६१६ घरधुरीका करिब ११ हजार १ जना विस्थापित भएको उल्लेख गरिएको छ। तीमध्ये धेरैलाई होटल, आश्रम, अपार्टमेन्ट तथा सरकारी तालिम केन्द्रमा अस्थायी रूपमा राखिएको भए पनि दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थायी पुनर्स्थापना हुन नसकेको दाबी गरिएको छ।

विपक्षी सांसदहरूले होल्डिङ सेन्टरको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। एउटै कोठामा पाँच परिवारसम्म राखिएको, स्वच्छ खानेपानी, पर्याप्त शौचालय, स्वास्थ्य सेवा, पौष्टिक भोजन तथा गोपनीयताको अभाव रहेको उनीहरूको आरोप छ। विशेषगरी गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगी थप जोखिममा परेको प्रस्तावमा उल्लेख गरिएको छ।

सरकारले केही प्रभावित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराए पनि कागजात तथा बैंक विवरण नमिलेका कारण धेरै परिवार राहतबाट वञ्चित भएको विपक्षीको भनाइ छ। राहत वितरणमा समस्या देखिएपछि कतिपय परिवारले खाना समेत नपाएको र होल्डिङ सेन्टर छाडेर आफन्त वा भाडाको कोठामा जान बाध्य भएको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रस्तावमा कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर बाढीमा डुबेको घटनालाई पनि समेटिएको छ। उक्त घटनामा त्यहाँ आश्रय लिइरहेका १५४ जनामध्ये ५४ जनाको राति उद्धार गर्नुपरेको तथा बाढीका कारण लत्ताकपडा, नागरिकता, औषधि, बालबालिकाका पुस्तक तथा शैक्षिक सामग्री नष्ट भएको उल्लेख गरिएको छ। त्यसपछि खरिपाटी र बोडेमा सारिएका परिवारका बालबालिकाको विद्यालय आवतजावत र अध्ययनसमेत प्रभावित भएको विपक्षीको दाबी छ।

प्रस्तावमा विस्थापनले मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ। बल्खु बस्ती हटाइएपछि घर भत्किएको दृश्य सहन नसकेर निस्किएका ६१ वर्षीय इन्द्रबहादुर राई मृत फेला परेको तथा विस्थापनसँग जोडिएका आत्महत्या र शंकास्पद मृत्युका घटनाबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरिएको छ।

विपक्षी दलहरूले राहत वितरण तथा होल्डिङ सेन्टर व्यवस्थापनमा अनधिकृत व्यक्तिको संलग्नताबारे पनि प्रश्न उठाएका छन्। गृह मन्त्रालयसँग सम्बन्धित तथा सत्तारूढ दल निकट व्यक्तिहरूलाई विशेष पहुँच दिइएको तर मानवअधिकारकर्मी र अभियन्तालाई प्रवेशमा रोक लगाइएको आरोप प्रस्तावमा समावेश गरिएको छ। यस्ता व्यक्तिहरूले कुन कानुनी अधिकारका आधारमा राहत, उद्धार र सुरक्षा व्यवस्थापनमा भूमिका खेले भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

सर्वोच्च अदालतले उचित प्रक्रिया पूरा नगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई हटाउन नपाइने र विस्थापितलाई आवास, शिक्षा, स्वास्थ्य तथा खाद्य सहायता सुनिश्चित गर्न दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न पनि विपक्षीले सरकारसँग माग गरेको छ। साथै संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले बलपूर्वक निष्कासन रोक्न र प्रभावित समुदायसँग संवादमार्फत समाधान खोज्न दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

विपक्षी दलहरूले सात बुँदे मागसमेत अघि सारेका छन्। उनीहरूले विस्थापित परिवारको एकीकृत तथ्याङ्क सात दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न, खाद्य, स्वास्थ्य र मनोसामाजिक सेवा सुनिश्चित गर्न, प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन, रोजगारी तथा जीविकोपार्जन पुनर्स्थापना गर्न, थप बस्ती भत्काउने कार्य तत्काल रोक्न तथा वास्तविक भूमिहीन र योग्य सुकुम्बासीलाई निश्चित समयसीमाभित्र लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।

विपक्षी दलहरूले भूमिहीन तथा सुकुम्बासीको समस्या कुनै एक दलको राजनीतिक मुद्दा नभई राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै सरकार, सत्तापक्ष, प्रतिपक्ष, स्थानीय तह र प्रभावित समुदायबीच सहकार्यका आधारमा दीर्घकालीन, न्यायपूर्ण र मानवीय समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव:

‘प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, शिक्षा, स्वास्थ्य, खाद्य, सामाजिक सुरक्षा तथा उपयुक्त आवासको हक प्रदान गरेको छ। संविधानको धारा ३७ ले “प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ” भन्ने सुनिश्चितता गरेको छ। त्यसैगरी धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारको हक, धारा ४० को उपधारा (५) र (६) ले भूमिहीन दलितलाई जमिन तथा आवासविहीन दलितलाई बसोबासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व र धारा ४१ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक प्रदान गरेको छ।

नदी करिडोरको संरक्षण, सार्वजनिक जग्गाको व्यवस्थापन तथा जोखिमयुक्त स्थानबाट नागरिकलाई सुरक्षित क्षेत्रमा सार्नु राज्यको दायित्व हो। तर त्यस्तो कार्य कानुन, न्यायिक प्रक्रिया, मानवीय मर्यादा, नागरिकको सहभागिता र सुरक्षित पुनर्स्थापनाको सुनिश्चितताबिना गर्न मिल्दैन। घरटहराको कानुनी हैसियत विवादित हुन सक्छ, तर त्यहाँ बस्ने नागरिकको मानवीय हैसियत र मौलिक अधिकार विवादित हुन सक्दैन।

सरकारले २०८३ वैशाखमा काठमाडौं उपत्यकासहित देशभरका नदी किनार तथा अन्य स्थानका भूमिहीन र सुकुम्बासी बस्तीमा पर्याप्त तयारी, परामर्श र दीर्घकालीन पुनर्स्थापना योजनाबिना डोजर चलायो। सरकारी तथ्याङ्कअनुसार वैशाख १२ देखि २५ गतेसम्म २ हजार ६१६ घरधुरीका ११ हजार १ जना विस्थापित भए र उनीहरूलाई होटल, आश्रम, अपार्टमेन्ट तथा सरकारी तालिम केन्द्रमा अस्थायी रूपमा राखियो। सात होल्डिङ सेन्टरमा प्रारम्भमा ३८८ परिवारका करिब १ हजार ४८८ जना आश्रित थिए। जिल्ला प्रशासनले १० देखि १५ दिनभित्र प्रमाणित भूमिहीनको उचित बसोबास मिलाउने बताए पनि दुई महिनाभन्दा बढी समयसम्म स्थायी पुनर्स्थापना हुन सकेन।

संसदीय अनुगमनले होल्डिङ सेन्टरमा एउटै कोठामा पाँच परिवारसम्म राखिएको, स्वच्छ पानी, पर्याप्त शौचालय, पौष्टिक खाना, औषधि र स्वास्थ्य सेवाको अभाव रहेको तथा गर्भवती, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी विशेष जोखिममा परेको देखाएको छ। सरकारले प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ दिएर पाँच दिनभित्र केन्द्र खाली गर्न निर्देशन दिए पनि कागजात वा बैंक विवरण नमिलेका कतिपयले रकम पाएनन्, खाना रोकियो र केही परिवारलाई चोकमा छाडेर आफन्तको शरणमा जान बाध्य बनाइयो। बाढीबाट जोगाउन सारिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर नै डुब्दा त्यहाँ रहेका १५४ जनामध्ये ५४ जनालाई राति उद्धार गर्नुपर्‍यो र परिवारका लत्ताकपडा, कागजात, औषधि तथा बालबालिकाका पुस्तक, कापी, पोशाक र अन्य शैक्षिक सामग्री नष्ट भए। पछि खरिपाटी र बोडे सारिएका परिवारका बालबालिकाको विद्यालय आवतजावत, पढाइ र परीक्षा प्रभावित भएपछि कतिपय परिवार शिक्षा जोगाउन पुनः क्षतिग्रस्त क्षेत्रमै फर्केर कोठा खोज्न बाध्य भए। 

विस्थापनले गम्भीर मनोसामाजिक आघातसमेत सिर्जना गरेको छ। बल्खु बस्ती भत्काइएपछि “घर भत्केको हेर्न सक्दिनँ” भन्दै निस्किएका ६१ वर्षीय इन्द्रबहादुर राई पछि मृत फेला परेका थिए। संसदीय छलफलमा काठमाडौंमा दुई जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ। यस्ता मृत्यु र विस्थापनबीचको सम्बन्ध स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुनुपर्ने भए पनि मानसिक स्वास्थ्यमा परेको असर र सम्भावित संस्थागत जिम्मेवारीलाई राज्यले सामान्यीकरण गर्न मिल्दैन।

राहत तथा विपद् व्यवस्थापनमा अनधिकृत व्यक्तिको भूमिकामाथि पनि प्रश्न उठेको छ। गृह मन्त्रालयको सचिवालयसँग सम्बन्धित तथा सत्तारूढ दलका सदस्यका रूपमा चिनाइएका व्यक्तिलाई होल्डिङ सेन्टरमा विशेष पहुँच दिइएको, तर राहत र मानवअधिकारको अवस्थाबारे बुझ्न पुगेका अभियन्तालाई बाहिर निकालिएको आरोप सार्वजनिक भएको छ। त्यस्ता व्यक्तिले कुन नियुक्ति, अधिकारपत्र वा कानुनी जिम्मेवारीका आधारमा उद्धार, स्थानान्तरण, सुरक्षा परिचालन वा प्रवेश नियन्त्रणमा भूमिका खेले भन्ने सरकारले स्पष्ट गरेको छैन। यसैबीच सर्वोच्च अदालतले २०८३ वैशाख २५ गते उचित प्रक्रिया पूरा नगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जबर्जस्ती हटाउन नपाइने र विस्थापितलाई आवास, शिक्षा, स्वास्थ्य तथा खाद्य सहायता सुनिश्चित गर्न अन्तरिम आदेश दिएको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले पनि बलपूर्वक निष्कासन रोक्न, प्रभावित समुदायसँग वास्तविक संवाद गर्न र स्थलमै सुधारसहितका सबै सम्भाव्य विकल्प खोज्न आग्रह गरेका छन्।

छलफल गर्नुपर्ने कारणहरूः

१. वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण नगरी, पर्याप्त पूर्वसूचना, परामर्श, लिखित पुनर्स्थापना योजना र सुरक्षित वैकल्पिक आवासबिना बस्ती भत्काइएको।

२. जोखिमयुक्त नदी किनारबाट सुरक्षित स्थानमा सारिएको भनिएका नागरिकलाई पुनः बाढीको जोखिम भएका होल्डिङ सेन्टरमा राखी स्वच्छ पानी, पौष्टिक खाना, सरसफाइ, स्वास्थ्य सेवा, गोपनीयता र सुरक्षाको न्यूनतम व्यवस्था नगरिएको।

३. गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई आवश्यक विशेष सेवा नदिइएको तथा डोजर र बाढीबाट विद्यालय, पुस्तक र शैक्षिक सामग्री नष्ट भई बालबालिकाको पढाइ र परीक्षा प्रभावित भएको।

४. रोजगारीको स्थानबाट टाढा सारिँदा दैनिक ज्यालादारी तथा अनौपचारिक श्रममा निर्भर परिवारको जीविकोपार्जन खोसिएको र राहत रकम नपाएका वा कागजातमा समस्या भएका परिवारको समाधान गर्नुको सट्टा खाना रोकी होल्डिङ सेन्टर छाड्न बाध्य पारिएको।

५. विस्थापनबाट उत्पन्न मानसिक आघात, आत्महत्या र शंकास्पद मृत्युको स्वतन्त्र छानबिन नभएको, पुनर्स्थापनामा अनधिकृत राजनीतिक वा गैरसरकारी व्यक्तिको भूमिका अस्पष्ट रहेको तथा सर्वोच्च अदालतको आदेश, संविधान, आवासको अधिकारसम्बन्धी ऐन, २०७५ र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धता कार्यान्वयन नभएको।

भूमिहीन र सुकुम्बासी नागरिकलाई सुरक्षित आवास तथा लालपुर्जा उपलब्ध गराउने विषय निर्वाचनअघि प्रायः सबै राजनीतिक दलको साझा प्रतिबद्धता र घोषणापत्रको प्रमुख एजेन्डा थियो। त्यसैले यो विषयलाई दलगत आरोप–प्रत्यारोप वा राजनीतिक लाभको माध्यम नबनाई साझा राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्छ। सरकार, प्रतिपक्ष, स्थानीय तह र सम्बन्धित समुदायबीच सहकार्य गरी यसको न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधान तत्काल खोजिनुपर्छ। 

यसर्थ, संविधान, कानुन र मानवअधिकारका मान्यताअनुरूप भूमिहीन तथा सुकुम्बासी नागरिकको संरक्षण र दिगो पुनर्स्थापनाका लागि नेपाल सरकारसँग देहायका कार्य तत्काल अघि बढाउन माग गर्दछुः

१. एकीकृत तथ्याङ्क र गुनासो सुनुवाइ: विस्थापित, होल्डिङ सेन्टरमा रहेका, राहत पाएका वा नपाएका तथा सम्पर्कविहीन परिवारको प्रमाणित तथ्याङ्क सात दिनभित्र सार्वजनिक गरी प्रत्येक केन्द्रमा अधिकारसम्पन्न हेल्प डेस्क स्थापना गरियोस्।

२. सुरक्षित आवास र आधारभूत सेवा: स्थायी पुनर्स्थापना नभएसम्म विपद् जोखिमरहित स्थानमा पर्याप्त कोठा, स्वच्छ पानी, विद्युत्, शौचालय, सरसफाइ, गोपनीयता र सुरक्षासहितको मानवीय आवास उपलब्ध गराइयोस्।

३. खाद्य, स्वास्थ्य र विशेष संरक्षण: खाना बन्द गर्ने कार्य रोक्दै गर्भवती, सुत्केरी, शिशु, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र दीर्घरोगीलाई पौष्टिक खाना, निःशुल्क औषधि, मातृशिशु सेवा, एम्बुलेन्स र मनोसामाजिक परामर्श उपलब्ध गराइयोस्।

४. शिक्षा र जीविकोपार्जनको निरन्तरता: प्रभावित बालबालिकालाई पुरानै विद्यालयमा पढ्न निःशुल्क यातायात, नष्ट भएका शैक्षिक सामग्रीको प्रतिस्थापन र परीक्षा तथा उपस्थितिमा सहुलियत दिइयोस्; साथै प्रभावित परिवारको रोजगारी र जीविकोपार्जन पुनर्स्थापनाको व्यवस्था गरियोस्।

५. क्षतिपूर्ति र स्थायी पुनर्स्थापना: डोजर, स्थानान्तरण वा बाढीबाट भएको सम्पूर्ण क्षतिको स्वतन्त्र मूल्याङ्कन गरी वास्तविक क्षतिपूर्ति दिइयोस् र प्रभावित समुदायको सहभागितामा तीन महिनाभित्र जग्गा, सामाजिक आवास, भाडा सहायता वा सुरक्षित पुनर्वाससहितको स्थायी योजना ल्याइयोस्।

६. जबर्जस्ती निष्कासन रोक र संवैधानिक अधिकार कार्यान्वयन: वैकल्पिक आवास, शिक्षा, स्वास्थ्य, क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितताबिना थप बस्ती नभत्काइयोस्; सर्वोच्च अदालतको आदेश तथा संविधानको धारा ४०(५) र (६) अनुसार भूमिहीन दलितलाई जमिन र आवास उपलब्ध गराइयोस्।

७. छिटो लालपुर्जा वितरण: सरकारले गरेको प्रतिबद्धता तथा प्रचलित कानुनबमोजिम वास्तविक भूमिहीन, भूमिहीन दलित र योग्य सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण शीघ्र सम्पन्न गरी निश्चित समयसीमाभित्र जग्गाधनी लालपुर्जा वितरण गरियोस्।

अन्त्यमा, वास्तविक भूमिहीन दलित तथा योग्य सुकुम्बासीका लागि संविधानद्वारा सुनिश्चित मौलिक हक, मानव अधिकार र मानवीय मूल्य-मान्यतालाई मध्यनजर गर्दै राजनीतिक दलहरूले चुनावअघि गरेका घोषणा तथा प्रतिबद्धताहरू स्मरण गराउन चाहन्छौँ। यस ज्वलन्त समसामयिक समस्याको दीर्घकालीन समाधानका लागि साझा जिम्मेवारी र साझा दृष्टिकोणका साथ सरकार, सत्तापक्ष, प्रतिपक्ष र सम्पूर्ण राजनीतिक दलहरूबीच एकताको सन्देश प्रवाह गर्दै यो सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दछौँ ।’

म्यानहाटन प्रोजेक्ट : यहीँबाट सुरु भयो आणविक युग

काठमाडौं। मानव इतिहासमा केही यस्ता वैज्ञानिक अभियान छन्, जसले विश्वको शक्ति सन्तुलन, युद्धको स्वरूप र अन्तर्राष्ट्रिय राजनीतिलाई नै नयाँ दिशातर्फ मोडिदिएका छन्। त्यसमध्ये सबैभन्दा चर्चित नाम हो ‘म्यानहाटन प्रोजेक्ट’। 

दोस्रो विश्वयुद्धका बेला अमेरिकाले अत्यन्तै गोप्य रूपमा सञ्चालन गरेको यही प्रोजेक्टबाट विश्वको पहिलो परमाणु बम निर्माण भएको थियो।

सन् १९४५ मा जापानका हिरोसिमा र नागासाकीमा परमाणु बम खसालिएसँगै विश्वले आणविक युगमा प्रवेश गर्यो। त्यसपछि परमाणु हतियार केवल युद्धको साधन मात्र रहेन, विश्व राजनीतिमा शक्ति प्रदर्शन, सुरक्षा रणनीति र कूटनीतिक दबाबको प्रमुख आधारसमेत बन्न पुग्यो।

 

म्यानहाटन प्रोजेक्ट किन सुरु भयो?

सन् १९३८ मा जर्मन वैज्ञानिक ओट्टो हान र फ्रिट्ज स्ट्रासम्यानले युरेनियम परमाणुको नाभिक विभाजन अर्थात् न्यूक्लियर फिसन सम्बन्धी महत्वपूर्ण खोज गरे। यसले परमाणुबाट अत्यधिक ऊर्जा निकाल्न सकिने पुष्टि गर्यो। वैज्ञानिक समुदायले यही प्रविधिबाट अत्यन्त शक्तिशाली विस्फोटक बनाउन सकिने निष्कर्ष निकाले।

त्यतिबेला युरोपमा एडोल्फ हिटलरको नेतृत्वमा नाजी जर्मनी सैन्य रूपमा तीव्र गतिमा सशक्त बन्दै थियो। जर्मनीले परमाणु हतियार बनाउन सक्ने सम्भावनाले अमेरिका र उसका सहयोगी राष्ट्रहरू चिन्तित भए।

यसै क्रममा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र लिओ स्जिलार्डले अमेरिकी राष्ट्रपति फ्राङ्कलिन डी. रुजवेल्टलाई पत्र लेखेर नाजी जर्मनी परमाणु बम निर्माणतर्फ अघि बढ्न सक्ने चेतावनी दिएका थिए। त्यसपछि अमेरिकाले तत्काल गोप्य अनुसन्धान सुरु गर्ने निर्णय गर्यो।

 

कसरी सुरु भयो म्यानहाटन प्रोजेक्ट?

सन् १९४२ मा अमेरिकी सेनाको इन्जिनियरिङ विभागको नेतृत्वमा म्यानहाटन प्रोजेक्ट औपचारिक रूपमा सुरु गरियो। प्रारम्भिक प्रशासनिक कार्यालय न्यूयोर्कको म्यानहाटन क्षेत्रमा भएकाले यसको नाम म्यानहाटन प्रोजेक्ट राखिएको हो।

यस प्रोजेक्टमा अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक, इन्जिनियर तथा प्राविधिक गरी करिब १ लाख ३० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिएका थिए। त्यतिबेलाको हिसाबले यस प्रोजेक्टमा करिब २ अर्ब अमेरिकी डलर खर्च गरिएको थियो, जुन आजको मूल्यअनुसार दर्जनौं अर्ब डलर बराबर मानिन्छ।

प्रोजेक्टको मुख्य अनुसन्धान केन्द्र अमेरिकाको न्यु मेक्सिकोस्थित लस आलामोसमा स्थापना गरिएको थियो। दुर्गम स्थान, कम जनघनत्व र उच्च सुरक्षा व्यवस्था गर्न सकिने भएकाले यो क्षेत्र छनोट गरिएको थियो।

त्यहाँ हुने सबै गतिविधि अत्यन्त गोप्य राखिएको थियो। प्रोजेक्टमा संलग्न धेरै कर्मचारीलाई समेत आफूले के निर्माण गरिरहेका छन् भन्ने पूर्ण जानकारी दिइएको थिएन। प्रत्येक टोलीले आफ्नो जिम्मेवारीअनुसार मात्र काम गर्ने व्यवस्था गरिएको थियो।

म्यानहाटन प्रोजेक्टको वैज्ञानिक नेतृत्व अमेरिकी भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमरले गरेका थिए। उनीसँगै एन्रिको फर्मी, रिचार्ड फाइनम्यान, ह्यान्स बेथे, निल्स बोहर र एडवर्ड टेलरजस्ता विश्वप्रसिद्ध वैज्ञानिक पनि यस अभियानमा सहभागी थिए।

ओपेनहाइमरको नेतृत्वमा वैज्ञानिक टोलीले छोटो समयमै परमाणु बम निर्माणको जटिल अनुसन्धान पूरा गर्यो। यही योगदानका कारण उनलाई पछि ‘परमाणु बमका पिता’ भनेर चिनिन थालियो।

वर्षौंको गोप्य अनुसन्धानपछि अमेरिकाले १६ जुलाई १९४५ मा न्यु मेक्सिकोको मरुभूमिमा ट्रिनिटी टेस्ट सम्पन्न गर्यो। यो मानव इतिहासकै पहिलो सफल परमाणु परीक्षण थियो।

यस परीक्षणले परमाणु हतियार प्रयोगात्मक अवस्थाबाट वास्तविक सैन्य हतियारमा रूपान्तरण भएको पुष्टि गरिदियो।

ट्रिनिटी टेस्ट सफल भएको केही सातापछि अमेरिकाले जापानविरुद्ध परमाणु बम प्रयोग गर्यो।

६ अगस्ट १९४५ मा ‘लिटिल ब्वाय’ नामक युरेनियम आधारित बम हिरोसिमामा खसालियो। त्यसको तीन दिनपछि ९ अगस्ट १९४५ मा ‘फ्याट म्यान’ नामक प्लुटोनियम आधारित बम नागासाकीमा प्रयोग गरियो।

यी दुई आक्रमणपछि जापानले आत्मसमर्पण गर्यो र दोस्रो विश्वयुद्ध समाप्त भयो। तर लाखौं मानिसको मृत्यु, घाइते तथा विकिरणका कारण दशकौंसम्म देखिएको स्वास्थ्य समस्याले परमाणु हतियारको विनाशकारी शक्ति विश्वसामु उजागर गरिदियो।

म्यानहाटन प्रोजेक्टको सफलतापछि विश्वमा परमाणु हतियार विकासको प्रतिस्पर्धा सुरु भयो। सन् १९४९ मा सोभियत संघले आफ्नो पहिलो परमाणु परीक्षण गर्यो। त्यसपछि बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरियाले पनि आणविक क्षमता विकास गरे।

शीतयुद्धको अवधिमा अमेरिका र सोभियत संघबीच हजारौं परमाणु हतियार निर्माण गर्ने होड चल्यो, जसलाई न्यूक्लियर आर्म्स रेस अर्थात् आणविक हतियारको दौड भनेर चिनिन्छ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)का अनुसार अहिले पनि विश्वका अधिकांश परमाणु हतियार अमेरिका र रूससँग केन्द्रित छन्।

यी आधुनिक हतियारहरू सन् १९४५ मा प्रयोग गरिएका पहिलो परमाणु बमभन्दा कैयौं गुणा बढी शक्तिशाली र विनाशकारी मानिन्छन्।

नेपाल २०२८ टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा सिधै छनोट

काठमाडाैं। नेपालले आईसीसी पुरुष टी-२० विश्वकप २०२८ को ग्लोबल क्वालिफायरमा सिधै स्थान सुरक्षित गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकप छनोटको नयाँ संरचना सार्वजनिक गरेसँगै नेपाल ग्लोबल क्वालिफायरमा पुग्ने टोलीमध्ये एक बनेको हो।

आईसीसीले २०२८ को टी-२० विश्वकपका लागि १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको व्यवस्था गरेको छ। यस प्रतियोगिताबाट विश्वकपका लागि अन्तिम ८ टोलीको टुंगो लाग्नेछ। नयाँ प्रारूपले विश्वभरका एसोसिएट राष्ट्रहरूलाई विश्वकपमा स्थान बनाउन थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

ग्लोबल क्वालिफायरमा सहभागी १६ टोलीमध्ये केही टोली २०२६ टी-२० विश्वकप खेले पनि २०२८ संस्करणका लागि स्वतः छनोट हुन नसकेका राष्ट्र हुनेछन्। यस सूचीमा स्कटल्यान्ड भने समावेश हुने छैन। बाँकी आठ टोली क्षेत्रीय छनोट प्रतियोगितामार्फत आउनेछन्।

क्षेत्रीय छनोटबाट एसियाबाट २, अफ्रिकाबाट २, युरोपबाट २, अमेरिकाबाट १ र पूर्वी एसिया-प्रशान्त (ईस्ट एसिया-प्यासिफिक) क्षेत्रबाट १ टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन्।

ग्लोबल क्वालिफायरबाट विश्वकपमा छनोट हुने प्रक्रिया पनि विशेष बनाइएको छ। पाँचवटै क्षेत्र (एसिया, अफ्रिका, युरोप, अमेरिका तथा पूर्वी एसिया–प्रशान्त) का उत्कृष्ट प्रदर्शन गर्ने एक-एक टोलीले स्वतः विश्वकपमा स्थान बनाउनेछन्। बाँकी तीन स्थान भने सबै टोलीको समग्र प्रदर्शनका आधारमा उत्कृष्ट रहने टोलीलाई दिइनेछ। त्यसका लागि सम्बन्धित टोलीले आईसीसीले तोकेको न्यूनतम प्रदर्शन मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

नेपालले ग्लोबल क्वालिफायरमा प्रत्यक्ष स्थान बनाएकोले अब विश्वकप यात्रा अघि बढाउन क्षेत्रीय छनोट खेल्नुपर्ने छैन। विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले ग्लोबल क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

नयाँ छनोट प्रणालीले एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। नेपालका लागि पनि यो विश्वकपमा लगातार उपस्थिति जनाउने अर्को महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

एकदिवसीय विश्वकपको प्रारुपमा व्यापक फेरबदल , १४ टोली सहभागि हुने

काठमाडाैं। सन् २०२७ को आईसीसी एकदिवसीय (ओडीआई) विश्वकपलाई आधिकारिक रूपमा १४ टोली सहभागी हुने भएका छन्। नयाँ प्रारूपअनुसार मुख्य चरणअघि प्रारम्भिक प्लेअफ खेलाइने भएकाले विश्वकपको संरचनामा महत्वपूर्ण परिवर्तन गरिएको छ।

नयाँ प्रारुपअनुसार विश्व वरीयताको १२ औँ, १३औँ र १४औँ स्थानमा रहेका तीन टोलीबीच पहिलो चरणमा राउन्ड-रोबिन प्रणालीमा प्रतिस्पर्धा हुनेछ। तीन टोलीबीच हुने यस चरणबाट शीर्ष स्थानमा रहने एक टोलीले मात्र मुख्य विश्वकपमा स्थान बनाउनेछ। त्यसपछि मुख्य प्रतियोगितामा १२ टोलीबीच उपाधिको प्रतिस्पर्धा सुरु हुनेछ।

मुख्य चरणमा १२ टोलीलाई ६–६ टोलीका दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले आफ्नो समूहका अन्य पाँच टोलीसँग खेल्नेछ। यस चरणमा कुल ३० खेल हुनेछन्।

समूह चरणपछि दुवै समूहका शीर्ष तीन–तीन टोली र दुवै समूहका चौथो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक टोली गरी सात टोली ‘सुपर ७’ चरणमा प्रवेश गर्नेछन्।

सुपर ७ चरणमा सबै टोलीले एक–अर्काविरुद्ध राउन्ड–रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। यस चरणमा कुल २१ खेल हुनेछ। सुपर ७ को अन्त्यमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।

सेमिफाइनलमा पहिलो स्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ, जसबाट नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ।

नयाँ प्रारूपअनुसार प्रतियोगितामा समूह चरणका ३०, सुपर ७ का २१, सेमिफाइनलका २ र फाइनलको १ खेल गरी कुल ५५ खेल सञ्चालन हुनेछन्।

आईसीसीले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले यो प्रारूप ल्याएको भए पनि ‘१४ टोलीको विश्वकप’ भनिए पनि मुख्य प्रतियोगितामा १२ टोलीमात्रै खेल्ने व्यवस्थाले क्रिकेट समर्थकमाझ नयाँ बहस सुरु भएको छ।

नेपाली सिनेमाको ‘हिट जोडी’ : दयाहाङ-मिरूना

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय कथावस्तु र पात्रलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्ने प्रवृत्ति बढ्दो छ। निश्चित नायक–नायिकाको जोडीलाई दोहोर्‍याउने चलन केही कम हुँदै गएको देखिए पनि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको जोडी भने त्यसको अपवाद बनेको छ।

पछिल्ला चार वर्षमा यो जोडीले लगातार एकपछि अर्को फिल्ममा सहकार्य गर्दै दर्शकमाझ बलियो छाप छोडेको छ। सन् २०२२ मा प्रदर्शनमा आएको ‘कबड्डी ४’ बाट सुरु भएको सहकार्य अहिले नेपाली फिल्म उद्योगकै सबैभन्दा सफल रिल जोडीमध्ये एकका रूपमा स्थापित भएको छ।

दयाहाङ र मिरूनाको जोडीलाई वास्तविक उचाइ भने ‘जारी’ ले दियो। यो फिल्मको सफलतापछि उनीहरूको जोडीलाई लिएर निर्माता–निर्देशकको चासो उल्लेखनीय रूपमा बढ्यो। त्यसयता उनीहरूले लगातार विभिन्न परियोजनामा सँगै काम गरिरहेका छन्।

मिरूनाको करिअरलाई हेर्दा पनि दयाहाङसँगको सहकार्य एउटा टर्निङ प्वाइन्ट बनेको देखिन्छ। ‘कबड्डी ४’ अघि उनले अभिनय गरेका फिल्मले अपेक्षित सफलता पाएका थिएनन्। तर दयाहाङसँग लगातार सफल फिल्म दिएपछि उनी नेपाली फिल्म उद्योगकी व्यस्त र चर्चित अभिनेत्रीमध्ये एक बनेकी छन्।

हालसम्म मिरूनाले अभिनय गरेका सफल चलचित्रमध्ये अधिकांशमा दयाहाङ नै नायक छन्। ‘कबड्डी ४’, ‘जारी’, ‘जारी २’ र ‘घर ज्वाइँ’ जस्ता फिल्मले उल्लेखनीय व्यापार गरेका छन् भने अन्य केही फिल्मले पनि सन्तोषजनक प्रदर्शन गरेका छन्। उनीहरूको सहकार्य भएका फिल्ममध्ये आधाभन्दा बढीले बक्स अफिसमा सफलता हासिल गरेका छन्, जुन नेपाली चलचित्र उद्योगमा उल्लेखनीय मानिन्छ।

मिरूनाको फिल्मी यात्रामा दयाहाङसँगको सहकार्यको प्रभाव स्पष्ट देखिन्छ। उनले हालसम्म अभिनय गरेका १४ मध्ये ८ फिल्ममा दयाहाङसँगै स्क्रिन शेयर गरेकी छन्। दयाहाङबिना अभिनय गरेका उनका थोरै फिल्ममध्ये ‘ऊनको स्वीटर’ मात्र उल्लेखनीय रूपमा सफल भएको मानिन्छ।

यो जोडीको सहकार्य अझै जारी रहने संकेत पनि देखिएको छ। ‘कबड्डी ५’ को छायांकन सम्पन्न भइसकेको छ भने ‘रातो घेरा’ को निर्माण प्रक्रिया पनि सुरु भइसकेको छ। यी दुई फिल्मले पनि दयाहाङ–मिरूनाको सफल सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

लगातार सफल फिल्म, बलियो स्क्रिन केमिस्ट्री र दर्शकको सकारात्मक प्रतिक्रिया हेर्दा दयाहाङ राई र मिरूना मगर अहिले नेपाली सिनेमाको सबैभन्दा विश्वासिलो र लोकप्रिय रिल जोडीका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

टी-२० विश्वकपको नयाँ ढाँचा सार्वजनिक, २० टोलीबीच ५५ खेल हुने

काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी-२० विश्वकपका लागि नयाँ प्रतियोगिता ढाँचा सार्वजनिक गरेको छ। नयाँ प्रणालीअनुसार प्रतियोगितामा सहभागी २० टोलीबीच कुल ५५ खेल हुनेछन्। यस ढाँचाले समूह चरणपछि थप प्रतिस्पर्धात्मक खेल सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

नयाँ प्रारूपअनुसार सुरुआतमा २० टोलीलाई चार-चार टोली रहने गरी पाँच समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग खेल्नेछ। समूह चरणका कुल ३० खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली गरी १० टोली ‘सुपर १०’ चरणमा प्रवेश गर्नेछन्।

सुपर १० चरणमा छनोट भएका १० टोलीलाई पुनः पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। यस चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सुपर १० मा कुल २० खेल हुनेछन्। दुवै समूहका विजेता टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउनेछन्।

सेमिफाइनलका बाँकी दुई स्थानका लागि नयाँ ‘एलिमिनेटर’ प्रणाली लागू गरिएको छ। यसअन्तर्गत एक समूहको दोस्रो स्थानमा रहेको टोलीले अर्को समूहको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ। यस्तै अर्को समूहको दोस्रो स्थानको टोलीले विपक्षी समूहको तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई एलिमिनेटर खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

त्यसपछि चार टोलीबीच दुई सेमिफाइनल खेल हुनेछन्। सेमिफाइनलका विजेता टोलीबीच हुने फाइनल खेलबाट टी-२० विश्वकपको नयाँ च्याम्पियनको टुंगो लाग्नेछ।

नयाँ प्रारूपअनुसार प्रतियोगितामा समूह चरणका ३०, सुपर १० का २०, एलिमिनेटरका २, सेमिफाइनलका २ र फाइनलको १ खेल गरी कुल ५५ खेल सञ्चालन हुनेछन्।

आईसीसीको यो नयाँ ढाँचाले समूह चरणपछि पनि धेरै टोलीलाई उपाधि होडमा राख्ने, प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने तथा नकआउट चरणमा पुग्ने अवसरलाई अझ निष्पक्ष र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

एआई ‘प्रेमी’सँग बढ्दो सम्बन्ध, चीन डरायो

काठमाडौं। चीन सरकारले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी-प्रेमिका सेवामा कडा नियमन लागू गर्ने निर्णय गरेको छ।

सरकारले एआईसँग बढ्दो भावनात्मक निर्भरता वास्तविक मानवीय सम्बन्धका लागि चुनौती बन्न सक्ने निष्कर्ष निकाल्दै नयाँ कानुनी व्यवस्था लागू गर्न लागेको हो।

आगामी सातादेखि लागू हुने नियमअनुसार प्रयोगकर्ताले एआईसँग गहिरो भावनात्मक सम्बन्ध विकास गर्न सक्ने सुविधा सीमित गरिनेछ। साथै, एआई वास्तविक मानिस नभएको जानकारी प्रयोगकर्तालाई निरन्तर गराइने व्यवस्था गरिएको छ।

नयाँ नियमको प्रभाव सबैभन्दा बढी बाइटडान्स, अलिबाबा र टेन्सेन्टजस्ता ठूला प्रविधि कम्पनीका एआई सेवामा पर्नेछ। ती कम्पनीहरूले प्रयोगकर्ताको रुचिअनुसार भर्चुअल प्रेमी–प्रेमिका सिर्जना गर्ने तथा भावनात्मक सम्बन्धलाई प्रोत्साहन गर्ने फिचर हटाउन थालेका छन्।

चीन सरकारले पछिल्लो समय युवामा बढ्दो एक्लोपन, विवाहदरमा आएको गिरावट र जन्मदर घट्दै गएको अवस्थालाई समेत ध्यानमा राखेर यस्तो कदम चालेको जनाएको छ। सरकारको बुझाइमा वास्तविक सम्बन्धको सट्टा एआईसँगको अत्यधिक निकटताले सामाजिक संरचनामा दीर्घकालीन असर पार्न सक्छ।

विश्लेषकहरूका अनुसार विशेषगरी आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सामाजिक अपेक्षाका कारण धेरै मानिस, विशेषगरी महिलाहरू, सधैं उपलब्ध रहने र भावनात्मक रूपमा प्रतिक्रिया दिने एआई साथीप्रति आकर्षित भएका छन्। यसले आधुनिक समाजमा सम्बन्धको स्वरूप बदलिँदै गएको संकेत पनि दिएको छ।

यद्यपि, प्रविधि विज्ञहरू भने एआई सेवामा नियमन आवश्यक भए पनि केवल भर्चुअल प्रेमी-प्रेमिका सेवामा कडाइ गरेर विवाहदर घट्ने, जन्मदर कम हुने वा सामाजिक एक्लोपनका समस्या समाधान नहुने धारणा राख्छन्।

उनीहरूका अनुसार यस्ता समस्याको समाधानका लागि व्यापक सामाजिक र आर्थिक सुधार आवश्यक छ।

एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकारहरूमा एमालेसँगको सम्बन्ध थप जटिल बन्दै गएपछि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको स्रोतले जनाएको छ।

पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच पछिल्ला दिनमा निरन्तर छलफल भए पनि प्रदेश सरकार सञ्चालन, बजेट तथा राजनीतिक समन्वयलगायत विषयमा सहमति जुट्न सकेको छैन। त्यसपछि कांग्रेसले प्रदेश तहमा एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पुगेको बताइएको छ।

यस निर्णयअनुसार कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई क्रमशः फिर्ता बोलाउने तयारी गरेको छ। यसले प्रदेश सरकारहरूको राजनीतिक समीकरणमा व्यापक फेरबदल आउने सम्भावना देखिएको छ।

यद्यपि, कांग्रेसले यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। पार्टीका शीर्ष तहमा अन्तिम गृहकार्य भइरहेको र छिट्टै आधिकारिक निर्णय सार्वजनिक हुने स्रोतको भनाइ छ।

६ लाख नक्कली नोटसहित ६ जना पक्राउ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण र ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद गरिएको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेकाहरूको घर तथा डेरामा गरिएको खानतलासीका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद गरिएको छ। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ (केमिकल), प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन पनि बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

धनगढी । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यसअघि मुख्यमन्त्री शाहले सरकारमा सहभागी एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसलगत्तै बसेको एमाले संसदीय दलको बैठकले सरकारसँगको सहकार्य अन्त्य गर्दै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो।

सरकार र एमालेबीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर विवाद बढ्दै गएपछि दुवै पक्षबीचको राजनीतिक सम्बन्ध टुटेको हो। एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।

गृहमन्त्री बेपत्ता, वार्ता अलपत्र

काठमाडौं। गृहमन्त्री सुधन गुरुङसँग भएको पहिलो चरणको छलफल निष्कर्षविहीन बनेपछि मिटरब्याज पीडितहरू वार्ताको प्रतीक्षामा निजगढमा रोकिएका छन्।

तर, गृहमन्त्री गुरुङ वार्तास्थलमा कहिले आउने भन्ने अझै निश्चित हुन सकेको छैन।

न्यायको माग गर्दै जनकपुरधामबाट असार २५ गते पैदल यात्रा सुरु गरेका पीडितहरूले मंगलबार राति अबेरसम्म नगर उद्योग वाणिज्य संघको भवनमा सरकार पक्षसँग छलफल गरेका थिए।

लामो समय चलेको वार्ताबाट ठोस सहमति जुट्न नसकेपछि बुधबार पुनः छलफल गर्ने समझदारी बनेको थियो।

बुधबार दिनभर गृहमन्त्रीको प्रतीक्षा गरेका पीडितहरू भने वार्ताको टुंगो नलागेसम्म आफ्नो यात्रा अघि नबढाउने मनस्थितिमा छन्। उनीहरूले सरकारबाट आफ्ना माग सम्बोधन हुने गरी स्पष्ट निर्णयको अपेक्षा राखेका छन्।

पीडितहरूले वार्ता सफल भएपछिमात्रै पैदल यात्रालाई निरन्तरता दिने वा अन्य निर्णय लिने बताएका छन्।

यसैबीच, गृहमन्त्री गुरुङ बुधबार सिमरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता तथा कार्यकर्तासँग छलफलमा व्यस्त रहेकाले वार्तास्थल पुग्न ढिलाइ भएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार गृहमन्त्रीको निर्देशनमा प्रहरी टोली भने वार्तास्थलमा पुगिसकेको छ। जिल्ला प्रहरीका अधिकारीहरूका अनुसार दिउँसोसम्म मन्त्री गुरुङ आफैं कहिले आउने भन्ने स्पष्ट जानकारी प्राप्त भएको थिएन।

वार्तास्थलमा प्रदेश प्रहरीका डीआईजीदेखि जिल्ला प्रहरी प्रमुखसम्मका अधिकारीहरू उपस्थित छन्। उनीहरूले आन्दोलनरत पीडितहरूसँग संवाद गर्दै अवस्थालाई सहज बनाउने प्रयास गरिरहेका छन्।

शाहले किन हटाए एमालेका मन्त्री ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् हेरफेरलाई सत्ता समीकरण परिवर्तन नभई संवैधानिक अधिकारअन्तर्गत गरिएको जिम्मेवारी पुनःविन्यासका रूपमा लिन आग्रह गरेका छन्।

नेकपा (एमाले)का मन्त्रीहरूलाई पदमुक्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले संविधानले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनमा परिवर्तन गरिएको स्पष्ट पारे।

उनले सरकारभित्र देखिएको पछिल्लो अवस्थालाई ध्यान दिँदै जिम्मेवारी व्यवस्थापनका लागि यस्तो निर्णय लिनुपरेको बताए। उनका अनुसार यो निर्णयलाई कुनै दल विशेषसँगको सम्बन्ध विच्छेदका रूपमा नभई सरकार सञ्चालनलाई सहज बनाउने प्रयासका रूपमा बुझ्नुपर्नेछ।

मुख्यमन्त्री शाहले गत असार १ गते बजेट सार्वजनिक भएपछि सत्ता साझेदार एमालेसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए। बजेटमा देखिएका प्राविधिक समस्या सच्याएर सहमतिका साथ अघि बढ्न पटक–पटक आग्रह गरे पनि एमालेबाट स्पष्ट निर्णय नआएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

आगामी असार ३२ गतेभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक समयसीमाबारे सोधिएको प्रश्नमा शाहले सरकार कानुनी र संवैधानिक व्यवस्थाभित्र रहेर अघि बढ्ने बताए। उनले समयसीमापछि पनि आवश्यक प्रक्रिया पूरा गर्दै प्रदेश सरकार सञ्चालन हुने स्पष्ट पारे।

एमालेसँगको सहकार्य अन्त्य भएको र नयाँ राजनीतिक समीकरण बन्न लागेको चर्चाबारे उनले संवादको ढोका अझै खुला रहेको बताए। सबै राजनीतिक दलसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण निर्माणका लागि पहल भइरहेको उनको भनाइ छ।

मुख्यमन्त्री शाहले एमालेसँगको संवाद पूर्ण रूपमा नटुटेको उल्लेख गर्दै बजेट पारित गर्ने विषयमा सत्ता पक्ष, प्रतिपक्ष तथा अन्य दलहरूसँग समेत सहकार्यको प्रयास जारी रहेको बताए।

बल्ल उकालो लाग्यो नेप्से

काठमाडौं। लगातार दोस्रो दिन नेपाली शेयर बजारमा हरियाली देखिएको छ। मंगलबार सामान्य अंकले बढेको नेप्से सूचक बुधबार थप १४ अंकले उकालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सूचक १४ अंकले बढेर २ हजार ५९० अंकमा पुगेको छ। बजार सूचक सकारात्मक रहे पनि लगानीकर्ताको कारोबार उत्साह भने कमजोर देखिएको छ।

अघिल्लो कारोबार दिन ६ अंकले बढेको बजारमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो। तर बुधबार नेप्से बढ्दा पनि कारोबार रकम घटेर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।

आजको कारोबारमा अधिकांश समूहका उपसूचक सकारात्मक देखिएका छन्। लगानी समूह (इन्भेष्टमेन्ट)को उपसूचक भने ऋणात्मक बनेको छ भने बाँकी १२ वटा उपसूचकले वृद्धि कायम गरेका छन्।

बुधबार कुल १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। सूचक बढे पनि कारोबार रकममा आएको गिरावटले बजारमा लगानीकर्ताको सक्रियता अझै अपेक्षाकृत बलियो बन्न नसकेको संकेत गरेको छ।

एलपी ग्यासमा कालोबजारी र कृत्रिम अभाव रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा देखिने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनका समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारलाई आग्रह गरेको हो।

समितिका सभापति रहबर अन्सारीले एलपी ग्यासको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि पाइपमार्फत ग्यास वितरण प्रणाली विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन तथा अनुसन्धान गरी त्यसको प्रभावसहितको प्रतिवेदन सात दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएका छन्।

बैठकले पुराना एलपी ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तामा हुन सक्ने जोखिमप्रति पनि चासो व्यक्त गरेको छ। समितिले नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग तथा सम्बन्धित मन्त्रालयलाई सिलिन्डरको नियमित अनुगमन, गुणस्तर परीक्षण र सुरक्षाको सुनिश्चितता गर्न निर्देशन दिएको छ।

समितिले उपभोक्ताको सुरक्षा र ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउन तथा बजारमा देखिने अनियमितता नियन्त्रणका लागि नियमित अनुगमनलाई थप प्रभावकारी बनाउन पनि जोड दिएको छ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारमा को को नियुक्त भए?

काठमाडौं। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन्।

विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेश गरेका थिए।

उक्त प्रतिवेदनका आधारमा विश्वविद्यालय सभाले जोशीलाई उपकुलपति र चन्दलाई रजिष्ट्रार नियुक्त गरेको जनाएको छ। नयाँ नेतृत्वले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

प्रचण्ड किन हानिए श्रीलंका ?

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकामा हुने एसियाली वामपन्थी तथा प्रगतिशील शक्तिहरूको क्षेत्रीय सम्मेलनमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।

कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल पिपुल्स एसेम्बलीको आयोजनामा हुने सम्मेलन जुलाई १६ देखि १८ सम्म श्रीलंकाको राजधानी कोलम्बोमा सञ्चालन हुनेछ। सम्मेलनमा एसियाका विभिन्न मुलुकका कम्युनिस्ट, समाजवादी तथा वामपन्थी राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने आयोजकले जनाएको छ।

प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल पनि सहभागी रहेका छन्।

तीनदिने सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, बढ्दो सैन्यीकरण, एसियामा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकबीचको सहकार्यजस्ता विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत मुलुकका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

श्रीलंका भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवलगायत विभिन्न देशका राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

भेटवार्तामा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिबीचको सम्बन्ध विस्तार तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनलाई तीव्रता दिइएको प्रधानमन्त्रीको दाबी

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाएको दाबी गर्दै होटल व्यवसायीमा देखिएको अन्योल र चिन्ता अन्त्य हुने बताएका छन्।

उनले निजी क्षेत्रलाई पर्यटन विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे। उनले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका प्रतिनिधिले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको जानकारी गराएका थिए। तर हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल आउने गरेको उल्लेख गर्दै पर्यटक संख्या बढे होटल उद्योगले रोजगारी सिर्जना र वैदेशिक रोजगारी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएका छन्।

व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र सीमापार (क्रस–बोर्डर) पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका प्रस्ताव पनि राखेका छन्।

उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा ५० शय्यासम्म पुर्‍याउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेका छन्।

यसैगरी नेपाल वायुसेवा निगमको सेवा सुधार, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टीको व्यवस्थामा संशोधन, होटल व्यवसायसँग सम्बन्धित कानुन पुनरावलोकन तथा डेस्टिनेसन वेडिङका लागि आवश्यक गरगहनाको आयात प्रक्रिया सहज बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रचार सामग्रीलाई केवल फोटो र भिडियोमा सीमित नराखी पूर्ण कथा (स्टोरीटेलिङ)मा आधारित सामग्री तथा विज्ञहरूको सहभागितासहितको प्याकेज तयार गर्नुपर्ने सुझाव पनि व्यवसायीहरूले दिएका छन्।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।

सरकारले सरुवा गरेका ६ सचिव को कहाँ पुगे?

काठमाडौं। सरकारले विभिन्न मन्त्रालय तथा निकायका ६ जना सचिवको एकैपटक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। राउत तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका थिए।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा सरुवा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरिएको छ।

सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

सरकार प्रचारमुखी र सस्तो लोकप्रियतामा अल्झिएको नेकपा सांसद शाहीको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुभन्दा प्रचारमुखी गतिविधि र सस्तो लोकप्रियता कमाउने काममा बढी ध्यान दिएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको अहिलेको आवश्यकता भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको उल्लेख गर्दै सरकार भने ती प्राथमिकताभन्दा बाहिर गएको टिप्पणी गरे।

उनले प्रचार र देखावटी गतिविधिले मुलुकलाई विकासतर्फ होइन, बरु थप समस्यातर्फ धकेल्ने चेतावनी दिए। जनताले परिणाममुखी कामको अपेक्षा गरिरहेको बेला सरकारको ध्यान प्रचारमा केन्द्रित हुनु चिन्ताजनक रहेको उनको भनाइ थियो।

सांसद शाहीले प्रतिपक्षबाट उठाइएका प्रश्न र आलोचनालाई प्रतिरोध गर्ने वा राजनीतिक रूपमा जवाफ फर्काउनेभन्दा सरकारले आफ्नो कामबाटै उत्तर दिनुपर्ने धारणा राखे।

लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षका आवाजलाई सकारात्मक रूपमा लिएर सुधारतर्फ अग्रसर हुनुपर्ने उनले बताए।

सरकारका केही निर्णय र कार्यशैलीले जनतामा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको दाबी गर्दै उनले जनअपेक्षाअनुसार प्रभावकारी काम गर्न सरकारलाई आग्रह गरे।

जापानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं। नेपाल एसीसी महिला यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमै अलआउट गरेको थियो। नेपाली टोलीका लागि रिया शर्मा र क्रिस्मा गुरुङले समान २–२ विकेट लिए। अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १–१ विकेट हात पारे।

८७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमै १ विकेट गुमाएर जित हात पार्यो। ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भए पनि सावित्री धामीले ३२ बलमा अविजित ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा अविजित १८ रन जोड्दै टोलीलाई सहज जित दिलाए।

नेपालले समूह चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुर, हङकङ र जापानलाई पराजित गरेको हो। अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

त्यही शृङ्खला: बालेनले पनि गरे बर्न सेवा विस्तारको घोषणा

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले हालै सातै प्रदेशमा जलन (बर्न) उपचार सेवा विस्तार गर्न निर्देशन दिए पनि विगतका सरकारहरूका समान घोषणा व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ।

पूर्वस्वास्थ्य मन्त्रीहरू मोहनबहादुर बस्नेत र प्रदीप पौडेलको कार्यकालदेखि नै प्रदेशस्तरमा बर्न उपचार सेवा विस्तार गर्ने नीति अघि सारिए पनि दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र पूर्वाधार अभावका कारण अधिकांश प्रदेशमा सेवा प्रारम्भिक उपचारमै सीमित छ।

यही कारण गम्भीर जलनका बिरामी अहिले पनि उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल र वीर अस्पताल पुग्न बाध्य छन्। समयमै विशिष्टीकृत उपचार नपाउँदा धेरै बिरामीले ज्यान गुमाइरहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हाल देशका १४ संघीय र ४ प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको छ। ती अस्पतालका १०९ स्वास्थ्यकर्मीलाई आधारभूत र २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम पनि प्रदान गरिएको छ।

कान्तिबाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा छुट्टै बर्न वार्ड स्थापना गरिए पनि अधिकांश स्थानमा गम्भीर बिरामीको उपचार गर्न सक्ने क्षमता विकास हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूका अनुसार ती अस्पतालहरूमा सामान्य तथा प्रारम्भिक उपचार सम्भव भए पनि जटिल जलनका बिरामीको उपचारका लागि आवश्यक प्लास्टिक सर्जन, एनेस्थेसिया, आईसीयू, शल्यक्रिया टोली तथा अत्याधुनिक उपकरणको अभाव छ।

सरकारले विगतमा प्रदेशस्तरमा निःशुल्क सघन जलन उपचार सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको थियो। २०८१ कात्तिकमा मन्त्रिपरिषद्ले सातै प्रदेशका एक–एक अस्पताललाई यस्तो सेवा सञ्चालन गर्ने निर्णय गर्दै त्यसका लागि बजेट समेत विनियोजन गरेको थियो।

त्यसअघि २०८० सालमा पनि जलन उपचार सेवा काठमाडौंबाहिर विस्तार गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालका प्रतिनिधि तथा विज्ञहरूसँग छलफल गरी सेवा विस्तारको तयारी थालेको थियो। तर, पर्याप्त जनशक्ति र पूर्वाधार अभावका कारण अधिकांश योजना अपेक्षित रूपमा कार्यान्वयन हुन सकेनन्।

नेपालमा प्रत्येक वर्ष करिब ५५ देखि ५६ हजार मानिस विभिन्न कारणले जल्ने गरेको अनुमान छ। तीमध्ये करिब २ हजार १०० जनाले उपचार नपाएर वा जटिल सङ्क्रमणका कारण ज्यान गुमाउने गरेका छन्।

तथ्यांकअनुसार अस्पतालसम्म पुग्न सफल गम्भीर जलनका बिरामीमध्ये करिब १० प्रतिशतको मात्रै उपचारका क्रममा मृत्यु हुने गरेको छ। तर दुर्गम क्षेत्रमा रहेका करिब ६० प्रतिशत बिरामीले प्राथमिक उपचारसमेत नपाउँदा ज्यान गुमाउने अवस्था रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ।

देशकै प्रमुख बर्न उपचार केन्द्र कीर्तिपुर अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी पुग्ने गरेका छन्। अस्पतालमा दैनिक ४० देखि ५० जना ओपिडीमा आउने तथा ५ देखि ७ जना नयाँ बिरामी भर्ना हुने गरेका कारण सीमित क्षमतामा सेवा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

यस्तै, वीर अस्पतालमा पनि सघन उपचार, आईसीयू तथा शल्यक्रिया सेवा सञ्चालनमा रहे पनि दक्ष जनशक्ति अभाव अझै चुनौतीकै रूपमा रहेको छ। सरकारले उपचार निःशुल्क भने पनि उपचारमा प्रयोग हुने विशेष औषधि तथा सामग्री महँगो भएकाले बिरामीको आर्थिक भार पूर्ण रूपमा घट्न नसकेको चिकित्सकहरू बताउँछन्।

नेपाल मेडिकल काउन्सिलमा हाल बर्न तथा प्लास्टिक सर्जरी क्षेत्रमा दर्ता भएका विशेषज्ञ चिकित्सकको संख्या ३५ मात्रै रहेको छ। सरकारी दरबन्दी सीमित हुनु, अध्ययनका लागि पर्याप्त छात्रवृत्ति नहुनु तथा करियरका अवसर कम भएकाले यस क्षेत्रमा नयाँ चिकित्सक आकर्षित हुन नसकेको चिकित्सकहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा प्रारम्भिक जलन उपचार सेवा विस्तार भएको दाबी गरे पनि विशिष्टीकृत सेवा भने अझै विस्तार हुन नसकेको स्वीकार गरेको छ।

मन्त्रालयका अनुसार जलन उपचार बहु–चिकित्सकीय सेवा भएकाले प्लास्टिक सर्जन, एनेस्थेसिया, आईसीयू, नर्सिङ तथा पुनःस्थापना सेवासहितको पूर्ण टोली आवश्यक पर्छ। अधिकांश प्रदेश अस्पतालमा यस्तो जनशक्ति उपलब्ध नभएकाले गम्भीर बिरामी अझै काठमाडौं रेफर गर्नुपर्ने अवस्था कायमै छ।

मन्त्रालयले जलन उपचारका लागि छुट्टै बजेट, तालिम, वार्ड विस्तार तथा उपचार खर्चको सोधभर्ना व्यवस्था गर्दै आएको जनाएको भए पनि प्रदेशस्तरमा प्रभावकारी र पूर्ण बर्न सेवा सञ्चालन गर्न अझै पर्याप्त लगानी, विशेषज्ञ जनशक्ति र आधुनिक पूर्वाधार आवश्यक देखिएको छ।