`

इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ । दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको बताएका छन् । बीबीसी उर्दुका अनुसार, पीटीआईका सबै सांसदहरूले आज मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेलबाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबारै आजका लागि विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यस क्रममा उनले विरोध प्रदर्शनमा विधानसभा सदस्यहरूले मात्र भाग लिने र कुनै कार्यकर्ता संलग्न नहुने बताएका थिए । सोहेल अफ्रिदीका अनुसार, इस्लामाबाद उच्च अदालतबाहिर विरोध प्रदर्शनको उद्देश्य इमरान खान र उनकी श्रीमती बुसरा बिबीविरुद्ध दायर गरिएका मुद्दाको द्रुत सुनुवाइका लागि दबाब दिनु हो । पूर्व प्रधानमन्त्री इमरान खान दुई वर्षभन्दा बढी समयदेखि रावलपिन्डीको अदियाला जेलमा छन् । उनलाई अदालतले १९ करोड पाउन्ड (झण्डै २ हजार करोड रुपैयाँ) को भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ ।

 

वार्ता असफल भए अफगानिस्तानसँग खुला युद्ध छेडिने पाकिस्तानको चेतावनी

काठमाडौं । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले छलफलबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध छेडिने बताएका छन् । टर्कीको इस्तानबुलमा शनिबारदेखि दुई देशबीच दोस्रो चरणको वार्ता जारी छ । यो वार्ता सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछिको सबैभन्दा खराब सीमावर्ती लडाइँपछि हिंसामा फर्कनबाट रोक्न पाकिस्तान र अफगानिस्तानले गरेको पछिल्लो प्रयास हो । बीबीसी उर्दुका अनुसार, सियालकोट सहरमा मिडियासँग ख्वाजा आसिफले कतार र टर्कीले धेरै इमानदारीका साथ अफगान तालिबानसँग छलफल चलाइरहेको बताए ।

‘हामीसँग विकल्प छ, यदि कुनै सम्झौता नभए हामीसँग उनीहरूसँग खुला युद्ध छ’, उनले पाकिस्तानबाट टेलिभिजनमा प्रसारित टिप्पणीमा भने, ‘तर, मैले देखेँ कि उनीहरू शान्ति चाहन्छन् ।’ पाकिस्तानी रक्षामन्त्रीले कतारमा वार्ता भएपछि कुनै घटना नघटेको पनि बताए । उनले भने, ‘जुन शर्तहरूमा उनीहरू शान्ति चाहन्छन्, ती बिस्तारै स्पष्ट हुँदै जानेछन् ।’

ख्वाजा आसिफले उनीहरूका सर्त आफूहरूका पक्षमा भए सम्झौता गरिने बताए । पाकिस्तान र अफगानिस्तानबीच सीमामा तनावपछि यसअघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । पाकिस्तानी रक्षामन्त्रीले भने, ‘हामी ४० वर्षदेखि अफगानिस्तानका मानिसलाई शरण दिइरहेका छौँ र अहिले पनि ४० लाख वा त्योभन्दा केही कम अफगान यहाँ बसिरहेका छन् । ती मानिससँग हामी दोहामा कुरा गरिरहेका थियौँ, उनीहरू पूरै पाकिस्तानमा हुर्केका छन् ।’ यी दुई देशबीच युद्धविराममा सहमति बनेको छ ।

ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो : पाकिस्तानी प्रधानमन्त्री

न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत–पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताए ।

ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार दिनुपर्ने बताएका हुन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’, शरीफले भने, ‘त्यसैले भारत–पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि योग्य छन् ।’

भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए । भारतले भने भारत–पाकिस्तान संघर्ष रोक्न कुनै तेस्रो पक्षको भूमिका थियो भन्ने कुरालाई लगातार अस्वीकार गर्दै आएको छ ।

भर्खरै एक अन्तरवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका थिए, ‘धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन ।’ त्यस्तै भारतले पहलगाम हमलापछि भारतीय सेनाले ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर नष्ट गरेको र १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।

प्रधानमन्त्री कार्कीलाई वधाइ दिंदै पाकिस्तानले भन्यो–सहकार्यका लागि तत्पर छौं

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् । नेपालस्थित पाकिस्तानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानी प्रधानमन्त्री सरिफले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीले आजै मात्र सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिसअनुसार शुक्रबार राति नै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेका छन् ।