इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले विरोध प्रदर्शन गर्नुअघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु गरिएको छ । दुवै सहरका प्रशासनले धारा १४४ ले कुनै पनि प्रकारको विरोध वा भेलालाई निषेध गरेको बताएका छन् । बीबीसी उर्दुका अनुसार, पीटीआईका सबै सांसदहरूले आज मंगलबार इस्लामाबाद उच्च अदालत र अदियाला जेलबाहिर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबारै आजका लागि विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यस क्रममा उनले विरोध प्रदर्शनमा विधानसभा सदस्यहरूले मात्र भाग लिने र कुनै कार्यकर्ता संलग्न नहुने बताएका थिए । सोहेल अफ्रिदीका अनुसार, इस्लामाबाद उच्च अदालतबाहिर विरोध प्रदर्शनको उद्देश्य इमरान खान र उनकी श्रीमती बुसरा बिबीविरुद्ध दायर गरिएका मुद्दाको द्रुत सुनुवाइका लागि दबाब दिनु हो । पूर्व प्रधानमन्त्री इमरान खान दुई वर्षभन्दा बढी समयदेखि रावलपिन्डीको अदियाला जेलमा छन् । उनलाई अदालतले १९ करोड पाउन्ड (झण्डै २ हजार करोड रुपैयाँ) को भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ ।
