`

शाहले हटाएका चार मन्त्रीहरु को को हुन् ?

धनगढी। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा राज्यमन्त्री निर्मला देवी साउँद रहेका छन्।

स्रोतका अनुसार बजेटका विषयमा कांग्रेस र एमालेबीच सहमति जुट्न नसकेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने निर्णय गरेका हुन्।

यद्यपि, मन्त्रीहरूको बर्खास्तीसम्बन्धी औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।

‘भारतले मिचेको भूमि फिर्ता माग्यो भने के दिनुहुन्छ ?’

काठमाडौं। नेकपा (एमाले)की सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागे सरकारले कुन भूभाग फिर्ता दिने हो भनेर प्रश्न गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानमाथि नै प्रश्न उठाएको टिप्पणी गरिन्। उनले सरकारसँग कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको दाबीबाट पछि हट्न खोजिएको हो कि भन्ने आशंका पनि व्यक्त गरिन्।

सांसद श्रेष्ठले सीमावर्ती क्षेत्रमा जङ्गे पिलर क्रमशः खिइँदै र सर्दै जाँदा त्यहाँका नागरिकले विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै सीमा संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले सीमावर्ती बासिन्दाको अवस्था उल्लेख गर्दै राष्ट्रिय सीमाको रक्षा राज्यको पहिलो दायित्व भएको धारणा राखिन्।

उनले नेपाली भूमि र राष्ट्रियता कुनै पनि अवस्थामा गुम्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सीमा सुरक्षामा सरकार र सुरक्षा निकाय थप जिम्मेवार बन्नुपर्ने माग गरिन्।

सांसद श्रेष्ठले पछिल्लो समय विभिन्न राजनीतिक घटनाक्रमलाई जोड्दै सरकारले जनसरोकारका विषयभन्दा अन्य गतिविधिलाई प्राथमिकता दिएको आरोप पनि लगाइन्।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेका प्रतिबद्धता सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको टिप्पणीसमेत गरिन्।

‘बालेन सरकारको डोजर आतंकपछि ९ जनाको मृत्यु’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा सरकारले सञ्चालन गरेको डोजर अभियानपछि मृत्यु हुनेको संख्या ९ पुगेको दाबी गर्दै सरकारको कडा आलोचना गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनमा सरकार मानवीय संवेदनशीलता देखाउन असफल भएको आरोप लगाइन्।

राज्यको अव्यावहारिक नीतिका कारण विभिन्न उमेर समूहका नागरिकले ज्यान गुमाएको दाबी गर्दै उनले यस घटनालाई गम्भीर रूपमा लिन सरकारसँग माग गरिन्।

सांसद गुरुङले १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्वल तामाङसम्म गरी नौ जनाको मृत्यु भएको उल्लेख गर्दै उनीहरूको मृत्यु राज्यको गलत नीति र व्यवस्थापनको परिणाम भएको दाबी गरिन्। उनले उक्त घटनालाई राज्य संयन्त्रबाट भएको ‘संस्थागत हत्या’को संज्ञा दिँदै संसदबाटै निन्दा व्यक्त गरिन्।

उनले सरकार जनसरोकारका विषयमा उठेका प्रश्नको जवाफ दिनुभन्दा विषयान्तर गर्नतर्फ बढी केन्द्रित रहेको आरोपसमेत लगाइन्। गम्भीर सार्वजनिक मुद्दामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बेला अन्य विषयलाई अघि सारेर मूल प्रश्नबाट उम्किने प्रयास भइरहेको उनको टिप्पणी थियो।

सांसद गुरुङले सुकुम्बासी समस्या समाधानका लागि मानवीय, व्यवहारिक र दीर्घकालीन नीति अवलम्बन गर्न सरकारलाई आग्रह गर्दै पीडित परिवारप्रति राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिन्।

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्री बर्खास्त

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता साझेदारबीच बढ्दै गएको राजनीतिक विवादका बीच मुख्यमन्त्री शाहले यस्तो निर्णय गरेका हुन्।

यसअघि मुख्यमन्त्री शाहले सरकारमा रहने वा बाहिरिने विषयमा स्पष्ट निर्णय गर्न एमाले नेतृत्वलाई आग्रह गरेका थिए। त्यसपछि एमाले आन्तरिक छलफलमा जुटेको थियो। उता मुख्यमन्त्री शाहले पनि एमालेको समर्थन कायम रहने वा नरहने विषयमा विभिन्न राजनीतिक परामर्श गरिरहेका थिए।

एमालेले सरकारलाई निरन्तर समर्थन नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय लिएको स्रोतले जनाएको छ।

बजेट विवादले बढायो दूरी

कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटलाई लिएर लामो समयदेखि मतभेद देखिएको थियो। एमालेले बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। तर मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले त्यसमा सहमत भएको थिएन।

असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताबीच सत्ता साझेदार दलहरूबीचको विवादले प्रदेश सरकार थप दबाबमा परेको थियो। बजेटलाई लिएर सहमति जुट्न नसकेपछि अन्ततः राजनीतिक सम्बन्ध टुट्ने अवस्थामा पुगेको हो।

जनताको ध्यान मोड्न सरकारले ‘सस्तो स्टन्ट’ गर्ने गरेको सांसद गुरुङको आरोप

काठमाडौं। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार जनताका गम्भीर प्रश्नको जवाफ दिनुभन्दा विषयान्तर गर्नतर्फ केन्द्रित भएको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीका कारण जनतामा निराशा बढ्दै गएको बताइन्। उनका अनुसार सरकारमाथि गम्भीर प्रश्न उठ्नेबित्तिकै जनताको ध्यान अन्यत्र मोड्ने प्रयास हुने गरेको छ।

सांसद गुरुङले मन्त्रीहरूको सम्पत्तिबारे प्रश्न उठेका बेला सुकुम्बासी बस्तीमा डोजर चलाइएको, तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ परेपछि प्रधानमन्त्री र मन्त्रीहरू सामाजिक सञ्जालमा सक्रिय देखिएको तथा कीर्तिपुरस्थित सुकुम्बासी बस्ती डुबानमा पर्दा पीडितको समस्याभन्दा अन्य विषयले प्राथमिकता पाएको उल्लेख गरिन्।

उनले त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा भएका आत्मदाहका घटनाको प्रसंग उल्लेख गर्दै सञ्चारमाध्यमको कार्यालय र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको निवासअगाडि गाडी पार्किङ गरिएको घटनालाई पनि सरकारले विषयान्तर गर्ने शैलीको उदाहरणका रूपमा प्रस्तुत गरिन्।

यी घटना केवल प्रतिनिधिमूलक उदाहरण भएको बताउँदै गुरुङले सरकारले गम्भीर सार्वजनिक मुद्दाबाट जनताको ध्यान मोड्न बारम्बार ‘सस्तो स्टन्ट’ अपनाउने गरेको आरोप लगाइन्।

यस्ता गतिविधिले वास्तविक समस्याको समाधान नहुने भन्दै उनले जनसरोकारका विषयमा सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरिन्।

ड्युटीमा फर्किए महानगर प्रहरी

काठमाडौं। काठमाडौं उपत्यकामा नगर प्रहरीको उपस्थिति कमजोर भएको, जथाभावी पार्किङ र फुटपाथ व्यापार बढ्दै गएको गुनासो बढिरहेका बेला काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई पुनः पूर्ण रूपमा फिल्डमा परिचालन गरेको छ।

महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद जोशीका अनुसार रिजर्भ फोर्सबाहेकका सबै नगर प्रहरीलाई नियमित रूपमा सडकमा खटाइएको छ। उनले न्युरोडलगायतका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा नगर प्रहरी नियमित ड्युटीमा रहेको जानकारी दिए।

पछिल्लो समय त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विललक लगाएको घटनापछि उत्पन्न विवादका क्रममा गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि केही दिन नगर प्रहरीको सडक उपस्थितिमाथि प्रश्न उठेको थियो। त्यस अवधिमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण र अव्यवस्थित व्यापार बढेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका थिए।

महानगरले अहिले सडक व्यवस्थापन, सार्वजनिक स्थानको संरक्षण तथा फुटपाथ अतिक्रमण नियन्त्रणका लागि नगर प्रहरीलाई पुनः सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ। मुख्य बजार क्षेत्र र भीडभाड हुने स्थानमा निगरानी तथा कारबाहीलाई नियमित बनाइएको पनि महानगरले जनाएको छ।

यस्तै, मनसुन सक्रिय भएसँगै बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नगर प्रहरीलाई उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि पनि तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ।

रिजर्भ टोलीलाई सम्भावित विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।

तस्वीरहरू:

आज पनि संसद्मा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले विरोध जनाउँदै सदन अवरुद्ध गरेका छन्। विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने माग गरेका छन्। साथै, जेठ १७ गते प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने आशयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने उनीहरूको माग छ।

यसैगरी, सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न विपक्षीले सरकारसँग आग्रह गरेका छन्।

पछिल्लो समय बढ्दै गएका आत्मदाहका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विपक्षी दलहरूले ती घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

त्यसैगरी, संविधानवादको सुनिश्चितता, लोकतान्त्रिक अभ्यासको ग्यारेन्टी तथा संवैधानिक मूल्यमान्यताको पूर्ण पालना गर्न पनि विपक्षीले सरकारसँग माग गरेका छन्।

विपक्षी दलहरूले आफ्ना मागको सम्बोधन नभएसम्म संसद्भित्रको विरोधलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

करार कर्मचारीको सिंहदरबारमा धर्ना

काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले बुधबार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिएका छन्।

आन्दोलनरत कर्मचारीहरूले सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी जोखिममा पर्ने भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

उनीहरूले वर्षौंदेखि विभिन्न मन्त्रालयमा निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।

प्रदर्शनका क्रममा कर्मचारीहरूले रोजगारीको सुरक्षा, श्रम अधिकारको संरक्षण तथा करार सेवामा कार्यरत कर्मचारीप्रति न्यायोचित नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

करार कर्मचारीहरूले आफ्ना मागको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

‘मास्टर्नी’लाई दुर्गेशले दिए गीत उपहार

काठमाडौं। चर्चित गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले ‘दुश्मन हेरेको हेर्‍यै’को सफलतापछि पुनः सांगीतिक सहकार्य गरेका छन्।

यसपटक उनीहरू प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’ को प्रवर्द्धन गीतमार्फत दर्शकमाझ आएका हुन्।

एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ। गायनमा उनलाई बबिना किराँतीले साथ दिएकी छन्। यो गीत फिल्मको कथाभित्र समावेश नभई केवल प्रचार–प्रसारका लागि तयार गरिएको निर्माण पक्षले जनाएको छ।

दुर्गेशले फिल्मप्रति शुभेच्छा व्यक्त गर्दै प्रवर्द्धनका लागि उपहारस्वरूप यो गीत तयार पारेको बताए। उनका अनुसार गीत फिल्मको प्रचार अभियानमा मात्र प्रयोग हुनेछ।

गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रदीप लामाले गरेका छन्। भिडियोमा दुर्गेश थापा र प्रियंका कार्कीसँगै आयुष्मान जोशी तथा आर्यन सिग्देल पनि देखिएका छन्।

आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ का निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन्।

फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही र दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ।

‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

टमाटर फालेर माइतीघरमा किसानको विरोध, अनुदान र बजार व्यवस्थापनको माग [भिडियाे]

काठमाडौं । तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उत्पादनको उचित मूल्य नपाएको, बजारको सुनिश्चितता हुन नसकेको र सरकारले किसानमैत्री नीति लागू गर्न नसकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र कृषि क्षेत्रमा राज्यको बेवास्ताका कारण किसान संकटमा परेको गुनासो गरे। विरोधस्वरूप उनीहरूले आफूले उत्पादन गरेको टमाटर सडकमै फाल्दै सरकारको कृषि नीति र बजार व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

प्रदर्शनकारी किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, उत्पादनमा अनुदान वृद्धि गर्न, मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा स्वदेशी कृषि उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले सस्तो मूल्यमा आयात हुने तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको र त्यसले स्वदेशी कृषि उत्पादनलाई निरुत्साहित गरेको बताए। किसानहरूको भनाइमा उत्पादन बढाउन प्रोत्साहन गर्नेभन्दा आयातमुखी नीतिले स्थानीय कृषिलाई थप समस्यामा पारेको छ।

किसानहरूले आफ्ना मागप्रति सरकारले चासो नदिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

 

विश्वकप फाइनलको मैदान बेच्दै फिफा

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को फाइनल खेलसँग जोडिएको अनौठो व्यावसायिक योजना सार्वजनिक गरेको छ। फिफाले फाइनल खेल सम्पन्न भएपछि प्रयोग हुने मैदानको घाँसका टुक्रा संकलन गरेर सीमित संस्करण (लिमिटेड एडिसन) का रूपमा बिक्री गर्ने तयारी गरेको हो।

फाइनल खेल अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ। सोही मैदानको घाँसलाई साना–साना टुक्रामा काटेर स्मरणिकाका रूपमा समर्थकलाई बिक्री गर्ने योजना फिफाले अघि सारेको छ।

फिफाले घाँसका टुक्रालाई चार फरक मूल्य वर्गमा बिक्री गर्ने जनाएको छ। सुरुआती मूल्य ४५० अमेरिकी डलर तोकिएको छ भने अन्य प्याकेजको मूल्य ९०० डलर, १,२०० डलर र ३,००० अमेरिकी डलरसम्म रहनेछ। नेपाली मुद्रामा सबैभन्दा सस्तो प्याकेजको मूल्य करिब ६८ हजार रुपैयाँभन्दा बढी पर्छ।

सबैभन्दा महँगो प्याकेज खरिद गर्ने समर्थकले मैदानको घाँससँगै विश्वकप फाइनलको प्रतिकृति टिकट, मिनी विश्वकप बल र क्रिस्टल ट्रफीको प्रतिकृति पनि प्राप्त गर्नेछन्। प्रत्येक मूल्य वर्गमा अधिकतम २,०२६ वटा मात्र उपलब्ध गराइने भएकाले यसलाई सीमित संस्करणका रूपमा बिक्री गरिनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो योजनाबाट फिफाले १ करोड १० लाख अमेरिकी डलरभन्दा बढी अतिरिक्त आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।

फिफाको आधिकारिक स्टोरमा मैदानको प्रत्येक टुक्राको आकार १७.५ × १७.५ हुने उल्लेख गरिएको छ। यद्यपि, उक्त मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हो भन्ने स्पष्ट गरिएको छैन।

फिफाले समर्थकलाई अग्रिम अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ। फाइनल खेल सम्पन्न भएपछि अर्डरअनुसार मैदानबाट संकलित घाँसका टुक्रा खरिदकर्तालाई पठाइने जनाइएको छ।

विश्वकपसँग सम्बन्धित स्मरणिकाको व्यापार नयाँ विषय नभए पनि यसपटक फिफाले प्रत्यक्ष रूपमा फाइनल खेलिएको मैदानकै घाँस बिक्री गर्ने निर्णय गरेपछि समर्थक र खेल वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ।

केहीले यसलाई खेल इतिहासको सम्झना सुरक्षित गर्ने अवसरका रूपमा लिएका छन् भने कतिपयले व्यावसायीकरणको अर्को उदाहरणका रूपमा आलोचना गरेका छन्।

मन्त्री पुनको आह्वान : ‘नेपालको विकासमा ज्ञान र अनुभव लगानी गरौं’

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीलाई नेपालको विकास यात्रामा प्रत्यक्ष सहभागी हुन आह्वान गरेका छन्।

उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको आर्थिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।

विदेशमा रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अहिले संस्थागत रूपमा प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि स्वदेश र विदेशका नेपाली विज्ञबीच सहकार्य अपरिहार्य रहेको बताए।

उनले मन्त्रालयको प्राथमिक उद्देश्य विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रलाई सबल बनाउने रहेको उल्लेख गर्दै विदेशमा रहेका दक्ष नेपालीलाई अनुसन्धान, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र नीति निर्माण प्रक्रियामा जोड्ने वातावरण तयार गरिने बताए।

मन्त्री पुनले मन्त्रालयसँग हालसम्म पर्याप्त प्राविधिक जनशक्ति, स्पष्ट संगठनात्मक संरचना तथा आवश्यक कानुनी आधार तयार भइनसकेको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माण गर्ने लक्ष्य लिइएको जानकारी दिए। साथै, विश्वविद्यालयमा हुने अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी उत्पादन, उद्योग र उद्यमसँग जोड्ने गरी व्यावहारिक अनुसन्धानमा रूपान्तरण गरिने बताए।

उनले देशभरका विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र  तथा उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए। गम्भीर अनुसन्धानमा संलग्न हुने वैज्ञानिक तथा अनुसन्धानकर्ताका लागि आवासीय सुविधासहितका अनुसन्धान केन्द्र स्थापना गर्ने अवधारणामाथि पनि मन्त्रालयले काम गरिरहेको उनले बताए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन समयानुकूल परिमार्जन गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्री पुनले जानकारी दिए। उनका अनुसार विज्ञान र प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्न कानुनी तथा संस्थागत सुधार आवश्यक भइसकेको छ।

मन्त्री पुनले सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लाई नेपालको विकासको प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट पारे। यी दुवै क्षेत्रलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई आर्थिक समृद्धिको आधार बनाउन सरकार, शैक्षिक संस्था, निजी क्षेत्र तथा विदेशमा रहेका नेपाली विज्ञबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

एक सातामा चार आत्मदाहका प्रयास: बढ्दो मानसिक र सामाजिक संकटको संकेत [भिडियाे]

काडमाडाैं। नेपालमा पछिल्लो एक साताभित्र मात्रै चार जनाले आत्मदाहको प्रयास गरेका छन्। तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ भने एक जना उपचाररत छन्। लगातार यस्ता घटना दोहोरिनुले व्यक्तिगत पीडामात्र होइन, समाजमा गहिरिँदै गएको मानसिक, आर्थिक र सामाजिक संकटलाई पनि उजागर गर्छ।

राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयासको शृंखला रौतहटसम्म पुगेको छ । नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भयो। 

त्यसपछि एकै दिन काठमाडौंको बुद्धनगर निवासी व्यवसायी अश्विन रावत र सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरे। दुवैको उपचारका क्रममा मृत्यु भयो। रावत व्यवसायिक तनावमा थिए भने एमएस्सी उत्तीर्ण मण्डल लामो समयदेखि बेरोजगार रहेका कारण मानसिक तनावमा थिए।

यही शृंखलामा बुधबार रौतहटको गरुडा नगरपालिका-९ का २८ वर्षीय गौतमकुमार सहनी थपिए। उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। उनी हाल उपचाररत छन्। 

लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य नेपालमा गम्भीर सार्वजनिक सरोकारको विषय बन्दै गएको देखिछ। बेरोजगारी, आर्थिक असुरक्षा, व्यवसायिक दबाब, सामाजिक अपेक्षा तथा मानसिक स्वास्थ्य सेवामा पहुँचको अभावले धेरै मानिसलाई चरम निराशातर्फ धकेलिरहेको छ। बेरोजगारी, बढ्दो आर्थिक दबाब र भविष्यप्रतिको अनिश्चितताले विशेषगरी युवाहरूलाई बढी प्रभावित गरिरहेको छ।

एक साताभित्र भएका यी घटनाले केवल व्यक्तिगत निर्णय मात्र सुनाउँदैनन्, बरु राज्य प्रणालीको गम्भीर असफलाताको पनि उजागर गर्छन्। मानसिक स्वास्थ्यलाई स्वास्थ्य नीतिको प्राथमिकतामा राख्दै तत्काल समयमै परामर्श, उपचार र सामाजिक सहयोगको पहुँच विस्तार गर्न नसके यो समस्या अझै भयावह बन्न सक्छ।

राष्ट्र बैंकले १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (अतिरिक्त नगद) व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज असार ३१ गते ९१ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल (अक्सन) आह्वान गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस निक्षेप संकलन उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज आगामी असोज २८ गते एकमुष्ट भुक्तानी गरिनेछ।

बोलकबोलमा सहभागी हुने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन पेश गर्न सकिने व्यवस्था छ।

निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग गरिएको रकम उपलब्ध परिमाणभन्दा बढी भएमा ‘प्रो–राटा’ प्रणालीमार्फत बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकले यस निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने जनाएको छ। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात कायम गर्न भने उक्त रकम गणना गर्न सकिनेछ।

यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि दिइएको छ। यद्यपि, तोकिएको अवधि समाप्त हुनुअघि निक्षेप फिर्ता लिन वा अग्रिम भुक्तानीको सुविधा भने उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ।

बैंकिङ प्रणालीमा पछिल्लो समय अधिक तरलता कायम रहँदै आएको अवस्थामा बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गरी मौद्रिक नीति प्रभावकारी बनाउन राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी रोहण केशरी रहेका छन्। उनलाई मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत पर्साले २०८१ असार २३ गते केशरीलाई जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र तीन लाख ३७ हजार रुपैयाँ जरिबाना सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका उनको खोजी भइरहेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका केशरीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

गृहको फोनपछि गाडी फिर्ता, रवि-बालेनको शक्ति संघर्ष छताछुल्ल

काठमाडौं। प्रमुख सञ्चारगृहका मूलगेट छेक्ने गरी शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाले सरकार, गृह मन्त्रालय, प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्षलाई एकैसाथ उदाङ्गो बनाएको छ।

सञ्चारमाध्यमलाई लक्षित गरिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रहरीले घटनाको उद्देश्यबारे कुनै अनुसन्धान नै अघि नबढाई सामान्य ट्राफिक जरिवानामै गाडीधनीलाई फिर्तादिएपछि गृह मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

यस घटनाले रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निकट समूहबीच बढ्दै गएको शक्ति संघर्ष समेत छताछुल्ल सतहमा ल्याएको छ।

घटनाभन्दा एक दिनअघि असार २८ गते सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच झण्डै चार घण्टा लामो भेटवार्ता भएको थियो।

दुवै नेताबीच सकारात्मक वातावरणमा छलफल भएको चर्चा चलिरहेका बेला भोलिपल्टै सञ्चारगृहका गेटमा रास्वपासँग जोडिएका व्यक्तिले प्रयोग गर्दै आएका गाडी शंकास्पद रूपमा भेटिनुले पार्टीभित्रको शक्ति समीकरणबारे नयाँ प्रश्न खडा गरेको छ।

असार २९ गते बिहान कान्तिपुर पब्लिकेसन, हिमालय टेलिभिजन र अनलाइनखबरका मूलगेट अगाडि गाडी रोकेर चालकहरू हिँडेका थिए। सुरक्षाकर्मीले हटाउन आग्रह गर्दा पनि अटेर गरियो। प्रहरी घटनास्थल पुगे पनि गाडी हटाउन कुनै सक्रियता देखाएन। अन्ततः सञ्चारगृहहरूले आफैं क्रेन बोलाएर गाडी हटाउनुपर्‍यो।

पछि ती गाडी प्रयोग गर्ने व्यक्तिहरू रास्वपासँग आबद्ध रहेको विवरण सार्वजनिक भयो। कान्तिपुरको गेटमा रोकिएको गाडी रास्वपाका केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य रवि जैसवालले प्रयोग गर्दै आएको खुलेको छ। उनलाई तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनयन गरेका थिए। शाहलाई प्रधानमन्त्री बालेन निकट नेताका रूपमा हेरिन्छ।

अनलाइनखबरको गेटमा पार्क गरिएको गाडी डा. सुनील पौडेलको नाममा भए पनि सुजन पौडेलले प्रयोग गर्दै आएको र उनी रास्वपामा सक्रिय रहेको विवरण सार्वजनिक भएको छ। हिमालय टेलिभिजनको गेटमा राखिएको गाडी राजीवकाजी श्रेष्ठको नाममा दर्ता रहेको खुलेको छ।

घटनापछि पत्रकारिताबाट राजनीतिमा आएका सभापति रवि लामिछाने तुरुन्त सक्रिय बने। स्रोतका अनुसार उनले सर्वप्रथम गृहमन्त्री सुधन गुरुङसँग घटनाबारे जानकारी मागे। तर प्राप्त जवाफबाट सन्तुष्ट हुन नसकेपछि सुरक्षा निकायसँग समेत जानकारी लिएका थिए।

लामिछाने निकट स्रोतका अनुसार, ‘पार्टीसँग जोडिएको नाम बाहिर आइसकेपछि चुप बस्न मिल्दैन भन्ने निष्कर्षमा सभापति पुग्नुभयो। जसले गरेको भए पनि गलत काम भएकाले तत्काल पार्टीको धारणा सार्वजनिक गर्न निर्देशन दिनुभयो।’

त्यसपछि महामन्त्री विपिन आचार्यमार्फत रास्वपाले विज्ञप्ति जारी गर्दै प्रेसलाई त्रसित बनाउने कुनै पनि गतिविधिको भर्त्सना गर्दै निष्पक्ष अनुसन्धानको माग गर्‍यो।

रास्वपाको विज्ञप्तिलाई पार्टीभित्र सामान्य रूपमा हेरिएको छैन। लामिछाने निकट नेताहरूका अनुसार सभापति र प्रधानमन्त्रीबीच दूरी बढाउने प्रयास पार्टीभित्रैबाट भइरहेको छ।

उनीहरूले ट्रोल नेपाल फेसबुक पेजले गेट छेक्ने घटनाको समर्थन गरेको विषय पनि उठाएका छन्। उक्त पेज प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको बताइन्छ। अर्कोतर्फ प्रधानमन्त्रीका सुशासन सल्लाहकार तथा रास्वपा केन्द्रीय सदस्य सुदीप ढकालले आफूले विज्ञप्ति नै नपढेको प्रतिक्रिया दिएका थिए।

मंगलबार संसद्मा पनि रास्वपाका सांसदहरू एउटै लाइनमा देखिएनन्। सचेतक प्रकाशचन्द्र परियार र सांसद रीमा विश्वकर्माले सञ्चारमाध्यममाथिको दबाबको विरोध गरे भने बालेन निकट मानिने केही सांसद मौन बसे।

अनुसन्धान किन भएन?

घटनाको सबैभन्दा विवादास्पद पक्ष भने प्रहरीको भूमिका बनेको छ।

सञ्चारगृहका मूलगेट छेक्ने गरी गाडी राख्नु सामान्य पार्किङ उल्लंघन मात्रै हो वा सुनियोजित मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास थियो भन्ने विषयमा प्रहरीले कुनै अनुसन्धान नै अघि बढाएन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अनुसन्धानका लागि आफ्नो कार्यालयमा कुनै फाइल नआएको बताएका छन्। उनका अनुसार गाडी नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाइएको थियो।

तर प्रहरी स्रोतले भने फरक दाबी गरेको छ।

स्रोतका अनुसार ट्राफिक प्रहरी कार्यालयमा गाडी पुगेलगत्तै गृह मन्त्रालयबाट गाडीधनीलाई जिम्मा लगाउन निर्देशन आएको थियो।

एक प्रहरी अधिकारीका अनुसार, ‘गाडी कार्यालय आइपुग्नेबित्तिकै गृहबाट फोन आयो। गाडी लिन मान्छे आउँछ, जिम्मा लगाएर पठाउनू भनियो। त्यसपछि सामान्य ट्राफिक चिट काटेर गाडी छाडियो।’

यदि यो दाबी सत्य हो भने अनुसन्धान नै सुरु हुनुअघि गृह मन्त्रालयबाट हस्तक्षेप भएको आशंका बलियो बन्ने देखिन्छ।

सामान्य ट्राफिक उल्लंघनमा ५०० रुपैयाँ जरिवाना गर्नु एउटा प्रक्रिया हो। तर एउटै दिन तीन प्रमुख सञ्चारगृहका मूलगेट छेक्ने गरी गाडी राखिनु, चालकहरू गाडी छाडेर हिँड्नु, प्रहरी घटनास्थलमै पुगेर पनि तत्काल हटाउन सक्रिय नहुनु र त्यसपछि अनुसन्धान नै नगरी गाडी फिर्ता गरिनुले घटनालाई केवल ट्राफिक नियम उल्लंघनका रूपमा सीमित गर्न खोजिएको आरोप लागिरहेको छ।

नेपाल पत्रकार महासंघले पनि यसलाई प्रेस स्वतन्त्रतामाथिको मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भनेको छ।

घटनामा संलग्न गाडी प्रयोग गर्ने व्यक्तिहरू सत्तारूढ दलसँग जोडिएको विवरण सार्वजनिक भइसकेको अवस्थामा अनुसन्धान नै अघि नबढ्नुले सरकारको निष्पक्षतामाथि प्रश्न उठेको छ।

यता रास्वपाभित्र भने सभापति लामिछानेले घटनाको विरोधमा स्पष्ट अडान लिएका छन् भने पार्टीभित्रका अर्को धारका नेताहरूको मौनताले आन्तरिक शक्ति संघर्ष झन् स्पष्ट बनाएको देखिन्छ।

११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने बैठकमा तीन संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस हुने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन तथा विधेयकहरू सदनमा प्रस्तुत गरिने कार्यसूची तय गरिएको हो।

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन्।

आजको बैठकमा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक पनि प्रवेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग सम्बन्धित दुई महत्त्वपूर्ण महासन्धि अनुमोदनको प्रक्रिया पनि आजको बैठकको एजेन्डामा परेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ तथा श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र ती महासन्धि अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Talika-3-32-1784079509.JPG

गृहको ‘फोन’पछि सञ्चारगृहकाे गेट छेक्ने गाडीधनीलाई फिर्ता

काठमाडौं । प्रमुख सञ्चारगृहका मूलगेट छेक्ने गरी शंकास्पद रूपमा गाडी पार्किङ गर्ने व्यक्तिमाथि अनुसन्धान नै नगरी सामान्य ट्राफिक जरिवानामै छाडिएको भन्दै सरकार र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

घटनालाई ट्राफिक नियम उल्लंघनका रूपमा सीमित गर्दै संलग्नलाई उन्मुक्ति दिन खोजिएको आरोपसमेत लागेको छ।

सोमबार बिहान कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइनखबरका मूलगेट अगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडी प्रहरीले दिनभर हटाएको थिएन।

अन्ततः सञ्चारगृहहरूले आफैं क्रेन भाडामा ल्याएर गाडी हटाएपछि मात्र ट्राफिक प्रहरीले गाडीधनीलाई ५०० रुपैयाँ जरिवाना गरेर गाडी जिम्मा लगाएको थियो।

तर, यस्तो गतिविधिको उद्देश्य के थियो भन्नेबारे मंगलबारसम्म पनि कुनै अनुसन्धान अघि बढाइएको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अनुसन्धानका लागि आफ्नो कार्यालयमा कुनै फाइल नआएको बताए।

‘हामीले नियन्त्रणमा लिएका सबै गाडी सुरक्षितसाथ ट्राफिक प्रहरी कार्यालय पठाएका हौँ। कारबाही गर्ने काम उहाँहरूले नै गर्नुभएको होला। थप अनुसन्धान गर्न भन्दै हामीकहाँ कसैले फाइल पठाएजस्तो लाग्दैन,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार ट्राफिक प्रहरी कार्यालयमा गाडी पुगेलगत्तै गृह मन्त्रालयबाट गाडीधनीलाई जिम्मा लगाउन निर्देशन आएको थियो।

एक प्रहरी अधिकारीका अनुसार, ‘कार्यालय परिसरमा गाडी आइपुगेलगत्तै गृहको फोन आयो। गाडी लिन मेरो मान्छे आउँछ, जिम्मा लगाएर पठाउनू भनियो। त्यसपछि न्यूनतम कारबाहीस्वरूप चिट काटेर गाडी जिम्मा लगाइयो।’

यस घटनामा संलग्‍न गाडीमध्ये केही सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध वा सत्ता निकटका व्यक्तिहरूले प्रयोग गर्दै आएको विवरण सार्वजनिक भइसकेको छ।

सोमबार बिहान कान्तिपुर मिडिया हाउसको गेटअगाडि बा.प्र.०१-०३४ च ८४८० नम्बरको गाडी रोकिएको थियो।

सुरक्षाकर्मीले रोक्न आग्रह गर्दा पनि चालकले गाडी गेटमै छाडेर हिँडेका थिए। प्रहरी घटनास्थल पुगे पनि गाडी हटाउन कुनै पहल नगरेपछि अन्ततः सञ्चारगृहले आफैं क्रेन बोलाएर हटाउनुपरेको थियो।

उक्त गाडी रवि जैसवालले प्रयोग गर्दै आएको खुलेको छ। उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनयन गरेका थिए।

यस्तै, अनलाइनखबरको गेटअगाडि बा.१२ च ८५४५ नम्बरको गाडी राखिएको थियो। प्रहरीलाई जानकारी गराउँदा पनि चार घण्टासम्म नहटाइएपछि क्रेनमार्फत हटाइएको थियो।

उक्त गाडी डा. सुनील पौडेलको नाममा भए पनि पछिल्ला दिन सुजन पौडेलले प्रयोग गर्दै आएको र उनी रास्वपामा सक्रिय रहेको स्थानीयहरूको भनाइ छ।

हिमालय टेलिभिजनको गेटमा पार्क गरिएको बा.१० च १२५५ नम्बरको गाडी पनि क्रेनबाट हटाउनुपरेको थियो। उक्त गाडी राजीवकाजी श्रेष्ठको नाममा दर्ता रहेको खुलेको छ।

पछिल्ला दिन सरकारको आलोचनात्मक समाचार प्रकाशित गरेका सञ्चारमाध्यमका कार्यालयमै लक्षित रूपमा गाडी राखिएको घटनालाई पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथिको मनोवैज्ञानिक दबाबको प्रयासका रूपमा व्याख्या गरेको छ।

अनुसन्धानभन्दा जरिवानामै घटना टुंग्याउने प्रयासले प्रहरीको निष्पक्षता र सरकारको भूमिकामाथि थप प्रश्न उठाएको छ।

गृहमन्त्री सुधनसँग जुटेन मिटरब्याज पीडितको सहमति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितबीच भएको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन बनेपछि आन्दोलन अझै लम्बिने भएको छ।

आन्दोलनरत पक्षले सरकारसँग आफ्ना ६ बुँदे मागमा लिखित सहमति नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे जनकपुरबाट सुरु गरिएको पैदल न्याय मार्च पुनः काठमाडौंतर्फ अघि बढाइने चेतावनी दिएको छ।

गृहमन्त्री गुरुङको नेतृत्वमा भएको लामो वार्तामा दुवै पक्षबीच मागका विषयमा छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्दोलनकारीका ६ बुँदे मागबारे उच्चस्तरीय छलफल भएको छ। उक्त छलफलको निष्कर्ष सार्वजनिक भएपछि मात्रै तेस्रो चरणको वार्ता बस्ने सहमति भएको छ।

मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेले सरकारको मौखिक आश्वासनले अब विश्‍वास नजाग्‍ने बताउँदै लिखित प्रतिबद्धतामै आन्दोलनको भविष्य निर्भर रहने स्पष्ट पारिन्।

‘हाम्रो मागमा अहिलेसम्म सरकारसँग कुनै लिखित सहमति भएको छैन। प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘त्यसको निर्णय आएपछि फेरि वार्ता हुन्छ। तर, लिखित सहमति नभएसम्म आन्दोलन रोकिँदैन।’

घिमिरेले सरकारले माग सम्बोधनमा प्रतिबद्धता नजनाए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिइन्।

‘यदि सरकार र आन्दोलनरत पीडित पक्षबीच मागपत्रका विषयमा लिखित सहमति हुन सकेन भने पैदल न्याय मार्च पुनः संघीय राजधानी काठमाडौंतर्फ अघि बढ्नेछ,’ उनले भनिन् ।

वार्ताका क्रममा सरकारले भने केही सकारात्मक संकेत दिएको छ। गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययन गर्न गठित गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

आन्दोलनरत पक्षले लामो समयदेखि ती प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको थियो। यद्यपि आन्दोलनकारीका अनुसार आयोगका प्रतिवेदन सार्वजनिक गर्नु मात्रै पर्याप्त छैन।

उनीहरूको मुख्य माग फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, विशेष न्यायाधिकरण गठन, प्रभावकारी कानुन निर्माण, दोषीमाथि कारबाही र विगतका सहमति कार्यान्वयनमा सरकारको लिखित प्रतिबद्धता हो।

दुवै पक्षले आ-आफ्ना प्रस्तावमा थप गृहकार्य गर्ने सहमति गरेका छन्। प्रधानमन्त्रीस्तरीय छलफलको निष्कर्षपछि तेस्रो चरणको वार्ता बस्नेछ, जसले आन्दोलनको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्मको पैदल न्याय मार्च सुरु गरेका थिए।

विभिन्न जिल्लाबाट आएका पीडितहरूले मिटरब्याजका कारण सम्पत्ति गुमेको, फर्जी कागजातका आधारमा घरजग्गा कब्जा भएको र न्याय नपाएको भन्दै आन्दोलन गरिरहेका छन्।

बढ्दो आन्दोलनबीच सरकारमाथि दबाब

मिटरब्याज पीडितको आन्दोलन चर्किरहेका बेला बालेन नेतृत्वको सरकार एकपछि अर्को आन्दोलनको सामना गरिरहेको छ।

राजधानीमा सुकुम्बासी, इन्टर्न चिकित्सकलगायत विभिन्न समूह आन्दोलनरत छन्। दृष्टिविहीन र सुस्ताबासीले सरकारी आश्वासनपछि आन्दोलन स्थगित गरे पनि नयाँ आन्दोलनहरू थपिँदै गएका छन्।

सत्तारुढ रास्वपाको चुनावी बाचापत्रमै मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता उल्लेख भए पनि सरकार गठन भएको १०० दिनसम्म ठोस पहल नदेखिएको भन्दै पीडितहरू सडकमा उत्रिएका हुन्।

उनीहरू दैनिक करिब २० किलोमिटर पैदल यात्रा गर्दै काठमाडौं आउन थालेपछि गृहमन्त्री गुरुङ वार्ताका लागि मधेस पुगेका थिए। तर दोस्रो चरणको वार्ता पनि सहमतिविहीन बनेपछि आन्दोलन अझै उग्रिने संकेत देखिएको छ।

जान्नेलाई छान्ने बालेन सरकारले गर्‍यो उमेर हद मिचेर नियुक्ति

काठमाडौं। जान्नेलाइ छान्ने नारासहित बनेको वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले सार्वजनिक निकायका कार्यकारी पदाधिकारी नियुक्तिका लागि आफैंले बनाएको उमेरसम्बन्धी मापदण्डमाथि प्रश्न उठ्ने गरी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा करिब ८० वर्ष उमेर पुगेका महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै सरकारले आफ्नै कार्यविधि पालना गर्‍यो कि गरेन भन्ने विषयमा कानुनी बहस सुरु भएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी नेतृत्वको जिम्मेवारी दिइएको हो। तर पर्यटन मन्त्रालयअन्तर्गत लागू रहेको ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ ले कार्यकारी प्रमुखको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ। श्रेष्ठ भने उक्त उमेर सीमाभन्दा धेरै माथि रहेको बताइएको छ।

नेपाल वायुसेवा निगम ऐनमा कार्यकारी प्रमुखको उमेरबारे स्पष्ट व्यवस्था नभए पनि मापदण्ड लागू हुनुपर्ने कानुनी तर्कसमेत उठिरहेको छ। यही कारण सरकारले आफ्नो निर्णय कुन कानुनी आधारमा गरेको हो भन्ने प्रश्न उठ्न थालेको छ।

यो पहिलो विवाद भने होइन। यसअघि पनि श्रेष्ठ निगमको सञ्चालक समितिमा नियुक्त भएका थिए। तर सरकारले छनोट समितिको सिफारिस र योग्यताक्रमलाई बेवास्ता गर्दै नियुक्ति गरेको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त नियुक्ति बदर गरिदिएको थियो। त्यसपछि सरकारले पुनः सञ्चालक नियुक्त गरी तिनैमध्येबाट श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक बनाउने निर्णय गरेको हो।

यसले सर्वोच्च अदालतबाट बदर भएको नियुक्तिपछि पनि सरकारले उही व्यक्तिलाई नेतृत्वमा ल्याउन बाटो खोजेको हो कि भन्ने प्रश्नसमेत उठेको छ।

सरकारको निर्णयलाई लिएर अर्को बहस पनि सुरु भएको छ। एकातिर सार्वजनिक निकायमा युवा नेतृत्व, सुशासन र योग्यताका आधारमा नियुक्तिको प्रतिबद्धता जनाइँदै आएको छ भने अर्कोतर्फ उमेर हदसम्बन्धी आफ्नै मापदण्ड विवादमा पर्ने गरी गरिएको नियुक्तिले सरकारको नीतिगत विश्वसनीयतामै प्रश्न उठाएको टिप्पणी हुन थालेको छ।

महेश्वरभक्त श्रेष्ठ नागरिक उड्डयन क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले नेपाल वायुसेवा निगममा दुई दशकभन्दा बढी सेवा गरेका थिए र २०४९ सालमा निगमबाट बाहिरिएका थिए। त्यसपछि उनी विभिन्न समयमा उड्डयन तथा पर्यटन क्षेत्रका परामर्शदाता र अध्ययन-अनुसन्धानमा सक्रिय रहे।

अनुभवलाई आधार बनाएर नियुक्ति गरिएको सरकारको तर्क हुन सक्ने भए पनि सार्वजनिक पदमा नियुक्तिका लागि सरकारले बनाएको मापदण्ड र त्यसको कार्यान्वयनबीच देखिएको विरोधाभासले यो निर्णयलाई थप विवादास्पद बनाएको छ।

सरकारले कानुनी मापदण्डभन्दा बाहिर गएर निर्णय गरेको हो वा ऐनकै विशेष व्यवस्थाअनुसार नियुक्ति गरिएको हो भन्ने विषय अब सार्वजनिक बहस र सम्भावित कानुनी परीक्षणको केन्द्रमा पुगेको छ।

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन्।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बिहीबारको पेशी तोकेको हो।

अदालतले दोषी ठहर गरेसँगै अहिले केन्द्रीय कारागार, सुन्धारामा पुर्पक्षका क्रममा रहेका अहिराजले अब उक्त मुद्दामा कानुनबमोजिम सजाय भोग्नुपर्ने भएको छ। अदालतले बिहीबार हुने सुनुवाइपछि कैद सजाय र जरिवानाबारे अन्तिम फैसला सुनाउनेछ।

यसअघि उच्च अदालत पाटनले पनि जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो। त्यसपछि उनी निरन्तर कारागारमै रहेका छन्।

अहिराजमाथि आफ्नै घरमा सहयोगका लागि बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अभियोगअनुसार काठमाडौंको थापागाउँस्थित निवासमा २०८१ जेठ ४ गते युवतीमाथि जबर्जस्ती करणी गरिएको उल्लेख छ। घटनापछि पीडितले कानुनी उपचारको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

अनुसन्धानका क्रममा लामो समय भारतमा रहेका अहिराज नेपाल फर्किएपछि पक्राउ परेका थिए। त्यसपछि अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा राखिएका थिए र मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।

अभियोजन पक्षले पीडितको बयान, चिकित्सकीय प्रतिवेदन, अनुसन्धानबाट सङ्कलित प्रमाण तथा अन्य साक्ष्यका आधारमा अदालतमा अभियोग पुष्टि हुने दाबी गरेको थियो। अदालतले प्रस्तुत प्रमाणहरूको मूल्याङ्कनपछि उनलाई दोषी ठहर गरेको हो।

राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुनुका साथै पत्रकारिता क्षेत्रमा पनि सक्रिय थिए। उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकका रूपमा परिचित थिए भने मधेश आन्दोलन र मधेशवादसम्बन्धी अध्ययन–अनुसन्धानका कारण पनि चिनिन्थे।

उनी २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए। पछि सरकार परिवर्तनसँगै उनी पदमुक्त भएका थिए।

अब अदालतले बिहीबार हुने सजाय निर्धारण सुनुवाइमार्फत उनीमाथि लाग्ने कैद सजाय र अन्य कानुनी व्यवस्था सम्बन्धी अन्तिम निर्णय सुनाउनेछ।

रिजल्ट निकाल्न सरकारलाई हतार, विद्यार्थीलाई मार

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो सार्वजनिक गर्न दिएको निर्देशनलाई सरकारले उपलब्धिका रूपमा दाबी गरिरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डले पनि विगतका वर्षको तुलनामा छोटो समयमै नतिजा सार्वजनिक गर्‍यो। तर, यही निर्णयले प्राविधिक धारमा अध्ययनरत करिब १० हजार विद्यार्थीलाई भने नयाँ समस्यामा धकेलेको हो।

नतिजा प्रकाशित भए पनि प्राविधिक धारका अधिकांश विद्यार्थीले अझै ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र प्राप्त गर्न सकेका छैनन्। यसको मुख्य कारण अनिवार्य ‘अन द जब ट्रेनिङ’ (ओजेटी) पूरा नभएकाले प्रयोगात्मक अङ्क अन्तिम नतिजामा समावेश हुन नसक्नु हो।

प्रयोगात्मक अङ्क नजोडिएसम्म बोर्डले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र जारी नगर्ने व्यवस्था रहेकाले विद्यार्थीहरू अहिले ग्रेडसिटमै सीमित छन्।

यहीबीच देशका विभिन्न विश्वविद्यालय तथा प्राविधिक शिक्षण संस्थाले स्नातक तहको भर्ना प्रक्रिया अघि बढाइसकेका छन्। विशेषगरी इन्जिनियरिङ, कृषि, सूचना प्रविधि तथा अन्य प्राविधिक विषयमा प्रवेश परीक्षा र आवेदनको समय सुरु भइसकेको छ। तर, अधिकांश शिक्षण संस्थाले अन्तिम भर्नाका लागि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र र अन्य शैक्षिक कागजात अनिवार्य माग्ने भएकाले प्राविधिक धारका विद्यार्थीहरू अन्योलमा परेका छन्।

प्राविधिक शिक्षाको पाठ्यक्रमअनुसार विद्यार्थीले निश्चित अवधिसम्म उद्योग, कार्यालय वा सम्बन्धित कार्यस्थलमा व्यावहारिक तालिम लिनुपर्छ। यही प्रक्रियालाई ओजेटी भनिन्छ। विद्यार्थीले कम्तीमा ६०० घण्टाको तालिम पूरा गरेपछि मात्र विद्यालयले मूल्याङ्कन गरी बोर्डमा प्राप्ताङ्क पठाउँछ। त्यसपछि प्रयोगात्मक अङ्क अन्तिम नतिजामा समावेश हुन्छ र ट्रान्सक्रिप्ट तथा प्रोभिजनल प्रमाणपत्र जारी गरिन्छ।

समस्या के हो भने कक्षा १२ को नतिजा सार्वजनिक हुँदा अधिकांश विद्यार्थी अझै ओजेटीमै छन्। धेरै विद्यालयले परीक्षा सम्पन्न भएपछि तीन महिनासम्म विद्यार्थीलाई विभिन्न उद्योग तथा संस्थामा व्यावहारिक तालिमका लागि पठाउने गरेका छन्। कतिपय विद्यालयले कक्षा ११ मा तीन महिना र कक्षा १२ मा थप तीन महिना गरी कुल छ महिनाको ओजेटी सञ्चालन गर्छन्। यसका कारण अन्तिम मूल्याङ्कन पूरा हुन असोजसम्म लाग्ने अनुमान गरिएको छ।

यसबीच उच्च शिक्षाको भर्ना प्रक्रिया भने त्यसअघि नै सकिने अवस्था छ। प्रवेश परीक्षाको आवेदन, नतिजा र भर्नाको समयसीमा छोटो भएकाले आवश्यक प्रमाणपत्र नहुँदा विद्यार्थीहरू प्रतिस्पर्धाबाटै बाहिरिने जोखिम बढेको छ। समयमै नतिजा आएको भन्दै खुसी भएका विद्यार्थी र अभिभावक अहिले प्रमाणपत्रकै अभावमा भविष्य अन्योलमा पर्ने चिन्तामा छन्।

शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार समस्या नतिजा छिटो सार्वजनिक हुनुमा होइन, नतिजा प्रकाशन र ओजेटीको समयतालिकाबीच समन्वय नहुनुमा हो। यदि नतिजा सार्वजनिक गर्ने निर्णयसँगै विश्वविद्यालयहरू, राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षासँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरिएको भए विद्यार्थीले यस्तो समस्या भोग्नुपर्ने अवस्था आउने थिएन।

बोर्डका अनुसार ओजेटी पूरा भएपछि विद्यालयले प्राप्ताङ्क पठाउने, त्यसपछि प्रयोगात्मक अङ्क समावेश गरी ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र जारी गर्ने प्रक्रिया अपनाइन्छ। तर यो प्रक्रिया पूरा हुन अझै केही महिना लाग्ने देखिएकाले यस वर्षका धेरै विद्यार्थीको उच्च शिक्षाको यात्रा प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

अभिभावकहरूले पनि समयमै नतिजा प्रकाशन सकारात्मक भए पनि त्यसअनुसार अन्य प्रक्रिया मिलाउन नसक्दा विद्यार्थी अन्यायमा परेको बताएका छन्। उनीहरूका अनुसार सरकारले नतिजा सार्वजनिक गर्ने समय मात्रै होइन, त्यसपछि आवश्यक पर्ने प्रमाणपत्र वितरण र विश्वविद्यालयको भर्ना तालिकाबीच पनि समन्वय गर्नुपर्थ्यो।

शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूले पनि तत्काल अन्तरिम समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार ग्रेडसिटका आधारमा प्रवेश परीक्षा तथा प्रारम्भिक भर्नामा सहभागी हुन दिने र ओजेटी पूरा भएपछि ट्रान्सक्रिप्ट तथा प्रोभिजनल प्रमाणपत्र बुझाउने व्यवस्था मिलाउन सके विद्यार्थीको एक वर्ष खेर जाने अवस्था टर्न सक्छ।

सरकारले प्राविधिक शिक्षालाई रोजगारी, उत्पादन र आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिँदै आएको छ। तर, नीतिगत समन्वयको अभावले अहिले त्यही प्राविधिक शिक्षाका विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

करिब १० हजार विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको यो समस्या समयमै समाधान नभए उनीहरूले एक शैक्षिक सत्र नै गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ।

लाइसेन्सको म्याद सकिँदै : अब के होला एनसेल ?

काठमाडौं। नेपालको सबैभन्दा ठूलो निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको २५ वर्षे दूरसञ्चार अनुमतिपत्र (लाइसेन्स) २०८६ भदौ १५ मा सकिने समय नजिकिँदै जाँदा कम्पनीको भविष्य फेरि चर्चाको केन्द्रमा आएको छ।

विगत केही वर्षदेखि उठ्दै आएको प्रश्न यसपटक झन् पेचिलो बनेको छ, लाइसेन्सको अवधि सकिएपछि एनसेलको भविष्य के हुन्छ? के कम्पनीका दूरसञ्चार पूर्वाधार सरकारको स्वामित्वमा जान्छन्, वा त्यसअघि नै नयाँ मोडालिटी तय हुन्छ?

विद्यमान दूरसञ्चार ऐन, २०५३ अनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र समाप्त भएपछि सेवा सञ्चालनमा प्रयोग भएका दूरसञ्चारसम्बन्धी पूर्वाधार तथा सम्पत्ति नेपाल सरकारमा जाने व्यवस्था छ। यही प्रावधानका आधारमा २०८६ पछि एनसेलको भविष्यबारे बहस हुँदै आएको हो।

तर कानुनी व्यवस्था यतिमै सीमित छैन। अनुमतिपत्रको अवधि समाप्त हुँदैमा कम्पनी स्वतः सरकारी स्वामित्वमा पुग्ने वा भोलिपल्टदेखि सरकारले मोबाइल सेवा सञ्चालन गर्ने भन्ने अर्थ कानुनले गर्दैन। सम्पत्ति हस्तान्तरण, मूल्याङ्कन, नियामकीय स्वीकृति, सञ्चालनको मोडालिटी तथा सेवा निरन्तरतासम्बन्धी निर्णय छुट्टै कानुनी र प्रशासनिक प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने हुन्छ।

दूरसञ्चार क्षेत्रका केही जानकारका अनुसार २०८६ नेपालको दूरसञ्चार बजारको स्वामित्व संरचना र प्रतिस्पर्धाको दिशा परिवर्तन हुन सक्ने महत्वपूर्ण मोड हुन सक्छ।

यही कारण केही व्यवसायिक समूह, लगानीकर्ता तथा शक्ति केन्द्रले सम्भावित नयाँ व्यवस्थापन मोडालिटीबारे आन्तरिक तयारी गरिरहेको चर्चा लामो समयदेखि हुँदै आएको छ। यद्यपि यस्ता दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित स्रोतहरूका अनुसार यदि विद्यमान कानुनअनुसार सम्पत्ति सरकारको स्वामित्वमा आयो भने त्यसपछि विदेशी रणनीतिक साझेदार भित्र्याउने वा नयाँ सञ्चालन मोडेल अपनाउने विषयमा समेत विभिन्न तहमा छलफल भइरहेको छ।

एनसेलसँग सम्बन्धित अर्को विवाद दूरसञ्चार नियमावली संशोधनसँग जोडिएको छ।

सरकारले २०८१ मा दूरसञ्चार नियमावली संशोधन गरेपछि एनसेलले त्यसप्रति असहमति जनाएको थियो। कम्पनीको दाबीअनुसार ऐनले अनुमतिपत्र समाप्त हुँदाको शेयर संरचनालाई आधार मानेको भए पनि संशोधित नियमावलीले अनुमतिपत्र लिँदाकै पूँजी संरचनालाई आधार बनाएको छ, जुन ऐनको मूल मर्मसँग मेल नखाने व्यवस्था हो।

यही कारण कम्पनीले नियमावली पुनरावलोकन, पछिल्लो शेयर कारोबारलाई वैधानिकता तथा आफ्ना कानुनी अधिकारको संरक्षणको माग गर्दै आएको छ।

दूरसञ्चार क्षेत्रभित्र अर्को चर्चा पनि चलिरहेको छ। केही व्यवसायिक समूहले २०८६ पछिको सम्भावित संरचनालाई आफ्नो पक्षमा पार्न विभिन्न तहमा प्रभाव विस्तार गर्न खोजिरहेको आरोप लाग्दै आएको छ।

यस क्रममा एनसेलका वर्तमान लगानीकर्ता तथा कम्पनीसँग सम्बन्धित विभिन्न निर्णयलाई विवादित बनाउने प्रयास भएको दाबी केही स्रोतहरूले गरेका छन्। स्मार्ट टेलिकमको सम्पत्ति लिलाम, शेयर कारोबार तथा त्यससँग सम्बन्धित अनुसन्धानलाई पनि त्यही सन्दर्भमा जोडेर हेरिएको छ। यद्यपि सम्बन्धित सरकारी निकायहरूले भने सबै अनुसन्धान कानुनबमोजिम अघि बढाइएको बताउँदै आएका छन्।

एनसेलको विषयलाई धेरैले एउटा कम्पनीको मुद्दामात्र मान्दैनन्। यसलाई नेपालको लगानी वातावरणसँग जोडिएको विषयका रूपमा पनि हेरिएको छ। सरकारले एकातिर विदेशी लगानी आकर्षित गर्ने नीति लिएको छ भने अर्कोतर्फ विदेशी लगानी रहेको ठूलो कम्पनीको भविष्यबारे देखिएको अन्योलले अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो पनि बढाएको छ।

अर्थशास्त्रीहरूका अनुसार नीतिगत स्थायित्व र कानुनी स्पष्टता कायम हुन नसके त्यसले भविष्यमा नेपालमा आउने विदेशी लगानीलाई समेत प्रभावित पार्न सक्छ।

२०८६ आउन अझै केही वर्ष बाँकी छन्। यसबीच संसद्ले दूरसञ्चार ऐन संशोधन गर्न सक्छ, सरकारले नयाँ नीति ल्याउन सक्छ वा अदालतबाट फरक कानुनी व्याख्या आउन सक्छ। त्यसैले अहिलेको कानुनी अवस्थालाई अन्तिम निष्कर्षका रूपमा लिन नमिल्ने जानकारहरूको भनाइ छ।

अर्कोतर्फ, कम्पनीले विदेशी शेयर स्वामित्व ५० प्रतिशतभन्दा कममा झारेर नेपाली लगानी ५१ प्रतिशतभन्दा बढी बनाउने विकल्प पनि कानुनी रूपमा सम्भव रहेको चर्चा हुने गरेको छ। तर त्यसका लागि नियामकीय स्वीकृति, आवश्यक कानुनी प्रक्रिया र सरकारी सहजीकरण आवश्यक पर्ने जानकारहरू बताउँछन्।

यसैले अहिलेको सबैभन्दा ठूलो प्रश्न ‘एनसेल सरकारको हुन्छ कि हुँदैन?’ भन्ने मात्र होइन। वास्तविक प्रश्न २०८६ पछि नेपालको दूरसञ्चार क्षेत्रको नेतृत्व कसले गर्ने भन्ने हो।

सरकारले आफैं सञ्चालन गर्ने, रणनीतिक साझेदार ल्याउने, वा कानुन संशोधन गरेर नयाँ सञ्चालन मोडेल अपनाउने भन्ने विषय त्यतिबेलाको कानुनी र नीतिगत निर्णयले तय गर्नेछ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बैठकले प्रशासन, खेलकुद, सुरक्षा, कृषि र मिटरब्याजसँग सम्बन्धित विभिन्न निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषद्का निर्णयअनुसार बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। यससँगै बीउबिजन व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था संशोधन भई कार्यान्वयनको बाटो खुलेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ। जोखिमपूर्ण उद्धार कार्यमा संलग्न जनशक्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको सरकारको भनाइ छ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलकर्मीलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। यससँगै निगमको नेतृत्व कार्यकारी मोडलबाट सञ्चालन हुने भएको छ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सरकारका अनुसार मिटरब्याज पीडितका समस्या समाधानका लागि आयोगहरूले दिएका सिफारिस कार्यान्वयनमा लैजाने प्रक्रिया अब अघि बढाइनेछ।

निष्कल राईले किन गरे हिरण्यकश्यपसँग बालेनको तुलना?

काठमाडाैं। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक निष्कल राईले नरसिंह अवतारका कुख्यात पात्र हिरण्यकश्यपसँग प्रधानमन्त्री बालेन शाहको तुलना गर्दै, ‘श्री ८’ को सरकारलाई प्रश्न गर्न नपाइने हो भने भन्ने टिप्पणी गरे। त्यसक्रममा उनले प्रधानमन्त्री शाह एउटै व्यक्ति हुन् कि फरक–फरक व्यक्ति हुन् भन्ने प्रश्नसमेत गरे।

राईले प्रश्न सोध्ने मानिसको मुख सरकारले थुन्न खोजेको आरोप लगाए। उनका अनुसार सोमबार मिडिया हाउसको अगाडि गाडी राखेर तर्साउन खोज्ने प्रवृत्ति, जेनजी अभियन्ता माजिद अन्सारीलाई गैरकानुनी रूपमा गिरफ्तार गर्ने कार्य बालेन सरकारको अधिनायकवादी चरित्र हो, जुन हिरण्यकश्यपको चरित्रसँग मेल खान्छ।

हिरण्यकश्यप त्यही पात्र हुन्, जसले आफ्नै छोरा प्रह्लादलाई मार्न होलिकासँग मिलेर विष पिलाउने षड्यन्त्र गरेका थिए। राईले पनि बालेनलाई उनै हिरण्यकश्यपसँग तुलना गर्दै ‘श्री ८’ को शैलीमा सुकुम्बासी नागरिकमाथि बज्रपात मच्चाइएको दाबी गरे। उनका अनुसार राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपाली प्रकरण पनि बालेनको हुकुमी शैलीका कारण घटेको हो।

अहिले सरकारको आलोचना गर्नेहरूमाथि कारबाहीको भय पैदा गर्न खोजिएको राईको दाबी छ। सरकारले नागरिकको पीडालाई एउटा अवसरका रूपमा प्रयोग गरिरहेको उनले जिकिर गरे।

‘यो सरकार भन्दैछ– तँ बोल त्यतिमात्र, जे म सुन्न चाहन्छु। तँ हेर यतिमात्र, जति म देखाउन चाहन्छु। तँ सुन् त्यतिमात्र, जति म सुनाउन चाहन्छु।’ हिरण्यकश्यपलाई उद्धृत गर्दै राईले प्रतिनिधिसभा बैठकमा भने, ‘यो राज्यमा मभन्दा ठूलो कोही छैन। मभन्दा माथि कुनै ईश्वर छैन। अहिले सरकारले त्यही ठानिरहेको छ।’

हिरण्यकश्यपको अन्त्य आफ्नै छोराको हत्या गर्न खोज्दा भएको थियो। राईले उक्त प्रसङ्गसँग जोड्दै बालेन सरकारले जनतालाई हत्या गर्न बाध्य पारिरहेको बताए। हिरण्यकश्यपले प्रह्लादलाई सत्य बोल्न नदिएझैँ बालेन सरकारले पनि प्रश्न र आलोचनाको हत्या गर्न खोजेको राईको आरोप छ।

को हुन् हिरण्यकश्यप?

हिन्दू धर्मग्रन्थहरूमा वर्णित हिरण्यकश्यप शक्तिशाली असुर राजा, अहंकारको प्रतीक र भगवान् विष्णुका कट्टर विरोधीका रूपमा परिचित छन्। उनको कथा विशेषगरी भागवत पुराण, विष्णु पुराण र अन्य पुराणहरूमा विस्तारपूर्वक उल्लेख गरिएको छ। हिरण्यकश्यपको जीवन, उनको वरदान, छोरा प्रह्लादप्रतिको व्यवहार र अन्ततः भगवान् विष्णुको नरसिंह अवतारद्वारा भएको उनको वध हिन्दू धार्मिक परम्पराका सबैभन्दा चर्चित कथामध्ये एक मानिन्छ।

पौराणिक कथाअनुसार हिरण्यकश्यप असुर ऋषि कश्यप र उनकी पत्नी दितिका पुत्र थिए। उनका भाइ हिरण्याक्षलाई भगवान् विष्णुले वराह अवतार धारण गरी वध गरेपछि हिरण्यकश्यप विष्णुप्रति अत्यन्त क्रोधित बने। उनले विष्णुसँग बदला लिने अठोट गर्दै कठोर तपस्या आरम्भ गरे। हजारौँ वर्षसम्म गरिएको तपस्याबाट प्रसन्न भएर सृष्टिकर्ता ब्रह्माले उनलाई वरदान प्रदान गरेका थिए।

हिरण्यकश्यपले आफू कुनै मानिस वा जनावरबाट नमर्ने, न दिनमा, न रातमा, न घरभित्र, न घरबाहिर, न जमिनमा, न आकाशमा, न कुनै अस्त्रबाट, न शस्त्रबाट मारिन सक्ने वरदान मागेका थिए। यो वरदानले आफूलाई लगभग अमर बनाएको विश्वास गर्दै उनले तीनै लोकमा आफ्नो प्रभुत्व स्थापित गरे। त्यसपछि उनले आफूलाई नै सर्वश्रेष्ठ घोषणा गर्दै आफ्नै पूजा गर्न आदेश दिए। भगवान् विष्णुको नाम लिन र पूजा गर्नसमेत उनले प्रतिबन्ध लगाएका थिए।

तर उनका छोरा प्रह्लाद भने बाल्यकालदेखि नै भगवान् विष्णुका अनन्य भक्त थिए। पिताको आदेशविपरीत प्रह्लादले विष्णुभक्ति त्याग्न अस्वीकार गरे। यसबाट रिसाएका हिरण्यकश्यपले उनलाई अनेक यातना दिए। कहिले विष खुवाउने, कहिले हात्तीले कुल्चाउने, कहिले सर्पको बीचमा फाल्ने, त कहिले अग्निमा जलाउने प्रयास गरियो। तर प्रत्येक पटक भगवान् विष्णुको कृपाले प्रह्लाद सकुशल बच्न सफल भए।

हिरण्यकश्यपसँग सम्बन्धित अर्को चर्चित पात्र उनकी बहिनी होलिका हुन्। होलिकालाई आगोले असर नगर्ने वरदान प्राप्त भएको मानिन्छ। उनले प्रह्लादलाई काखमा राखेर आगोमा बस्ने योजना बनाइन्, तर भगवान्प्रतिको सच्चा भक्तिका कारण प्रह्लाद सुरक्षित रहे भने होलिका स्वयं आगोमा जलेर नष्ट भइन्। यही घटनाको स्मरणमा आज पनि होलिका दहन गरिन्छ, जुन होली पर्वको महत्वपूर्ण परम्परा हो।

हिरण्यकश्यपले प्रह्लादलाई चुनौती दिँदै ‘तिम्रो विष्णु कहाँ छन्?’ भनेर सोधेका थिए। प्रह्लादले भगवान् सर्वत्र रहेको उत्तर दिएपछि हिरण्यकश्यपले दरबारको एउटा स्तम्भमा प्रहार गरे। त्यही स्तम्भबाट भगवान् विष्णु नरसिंह अवतारमा प्रकट भए। नरसिंह न पूर्ण मानिस थिए, न पूर्ण सिंह। उनले साँझको समयमा, महलको चौखटमा, हिरण्यकश्यपलाई आफ्नै काखमा राखी नङले चिरेर वध गरे। यसरी ब्रह्माबाट प्राप्त वरदानका सबै सर्तहरू यथावत् राख्दै हिरण्यकश्यपको अन्त्य भएको मानिन्छ।

मिटरब्याजसम्बन्धी विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितका समस्या समाधानका लागि यसअघि तयार गरिएका प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार नेपाल सरकारको निर्णयबमोजिम अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गरिनेछ।

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित बजेटसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्। यी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

विनियोजन विधेयक प्रमाणीकरणसँगै सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेटअनुसार सरकारी खर्च गर्ने कानुनी आधार प्राप्त गरेको छ। त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयकले आवश्यक परे आन्तरिक तथा बाह्य ऋण परिचालन गर्ने बाटो खुला गरेको छ भने आर्थिक विधेयक कार्यान्वयनमा आएपछि बजेटमा प्रस्ताव गरिएका कर तथा राजस्वसम्बन्धी व्यवस्थाहरू पनि लागू हुनेछन्।

तीनै विधेयक प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका बजेट तथा वित्तीय कार्यक्रम कार्यान्वयनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा पूरा भएको छ।

रहेनन् चर्चित अभिनेता ‘स्याम नील’

काठमाडौं । विश्व चलचित्र उद्योगका चर्चित अभिनेता स्याम नीलको ७८ वर्षको उमेरमा निधन भएको छ।

उनको परिवारले अस्ट्रेलियाको सिड्नीमा अचानक र अप्रत्याशित रूपमा निधन भएको पुष्टि गरेको हो। परिवारका अनुसार उनी पछिल्लो समय क्यान्सरमुक्त भएर सामान्य जीवन बिताइरहेका थिए।

केही वर्षअघि दुर्लभ प्रकारको नन–हजकिन्स लिम्फोमासँग संघर्ष गरेका नीलले सफल उपचारपछि क्यान्सरलाई जितेका थिए। परिवारले उनको निधनलाई अप्रत्याशित घटना भएको जनाएको छ।

स्याम नील पाँच दशकभन्दा लामो अभिनय यात्रामा विश्व चलचित्र उद्योगका सबैभन्दा सम्मानित कलाकारमध्ये एक मानिन्थे। गम्भीर पात्रलाई सहज ढंगले जीवन्त बनाउने क्षमता, प्रभावशाली अभिनय र सशक्त पर्दा उपस्थितिका कारण उनले फरक पहिचान स्थापित गरेका थिए।

सन् १९९३ मा प्रदर्शनमा आएको ‘जुरासिक पार्क’ मा पुरातत्त्वविद् डा. एलन ग्रान्टको भूमिका निर्वाह गरेपछि उनले अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए। उक्त चलचित्रले उनलाई विश्वभरका दर्शकमाझ लोकप्रिय बनाएको थियो र आज पनि त्यो पात्र उनको करियरको सबैभन्दा स्मरणीय भूमिकामध्ये एक मानिन्छ।

उनले ‘द पियानो’, ‘द हन्ट फर रेड अक्टोबर’, ‘डेड क्याम’, ‘इभेन्ट होराइजन’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका थिए। चलचित्रसँगै टेलिभिजन क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका थिए। विशेषगरी चर्चित श्रृंखला ‘पिकी ब्लाइन्डर्स’ मा निर्वाह गरेको भूमिकाले नयाँ पुस्ताका दर्शकमाझ पनि उनको लोकप्रियता कायम राखेको थियो।

निधनको खबर सार्वजनिक भएपछि विश्वभरका चलचित्रकर्मी, निर्देशक, कलाकार तथा लाखौं प्रशंसकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनीसँग काम गरेका धेरै कलाकारले उनको व्यावसायिकता, सरल स्वभाव र अभिनयप्रतिको समर्पणलाई स्मरण गरेका छन्।

स्याम नीलको निधनसँगै विश्व चलचित्र उद्योगले एक अनुभवी, बहुआयामिक र प्रभावशाली कलाकार गुमाएको छ।

उनले सिर्जना गरेका पात्र, अभिनयको शैली र सिनेमाप्रतिको समर्पणले विश्वभरका चलचित्रप्रेमी र भावी कलाकारलाई लामो समयसम्म प्रेरणा दिइरहने विश्वास गरिएको छ।

‘कार्यसमिति गाभ्ने’ माग : इतर पक्षको राजनीतिक च्याँखे ?

काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति संघर्ष अझै निष्कर्षमा पुग्न सकेको छैन।

संस्थापन र इतर पक्षबीच लगातार संवाद भइरहे पनि दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहट्दा पार्टीभित्रको विवाद थप पेचिलो बनेको छ।

विशेषगरी इतर पक्षले अघि सारेको १४ औँ महाधिवेशनको कार्यसमितिलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग गाभ्नुपर्ने प्रस्ताव नै अहिले सहमतिको सबैभन्दा ठूलो अवरोध बनेको छ।

इतर पक्षका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने वा थप विभाजनतर्फ धकेल्ने जिम्मेवारी अहिले संस्थापन नेतृत्वकै काँधमा रहेको बताएका छन्। उनीहरूका अनुसार नेतृत्वले सबै पक्षलाई सम्मानजनक ढंगले समेट्ने निर्णय नगरे विशेष महाधिवेशनबाहिर रहेका नेता-कार्यकर्ता पार्टी संरचनाबाट बाहिरिने अवस्था सिर्जना हुन सक्छ।

इतर पक्षका नेताहरूले सार्वजनिक रूपमा यस्तो धारणा राखिरहे पनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि संस्थापन निकट नेताहरूले भने इतर पक्षका केही माग व्यवहारिक र संगठनात्मक रूपमा सम्भव नभएको बताइरहेका छन्।

उपसभापति विश्वप्रकाश शर्माको सचिवालय सदस्य मदन कट्टेलले इतर पक्षले उठाएको सबैभन्दा विवादित प्रस्ताव कार्यसमिति गाभ्ने विषय भएको बताए। उनका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा समायोजन गर्नु भनेको विशेष महाधिवेशनको औचित्य नै समाप्त गर्नु हो।

उनले संस्थापन पक्ष अन्य अधिकांश विषयमा लचिलो रहेको दाबी गर्दै सबै समिति तथा संरचनामा इतर पक्षलाई पनि समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिसकेको बताए। तर सम्भव नै नहुने विषयलाई मुख्य एजेन्डा बनाएर सहमतिमा अवरोध सिर्जना गर्न खोजिएको उनको आरोप छ।

इतर पक्षका नेता पूर्णबहादुर खड्काले अघि सारेको आठबुँदे प्रस्तावमध्ये यही कार्यसमिति गाभ्ने मागले अहिले संस्थापन पक्षलाई सबैभन्दा बढी दबाबमा पारेको छ। अन्य विषयमा छलफलको सम्भावना देखिए पनि यही बुँदामा दुवै पक्षबीच सहमति जुट्न सकेको छैन।

इतर पक्षको राजनीतिक च्याँखे ?

विश्लेषकहरूले इतर पक्षको पछिल्लो रणनीतिलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। संस्थापन पक्षले पटक–पटक संवाद र सहकार्यको प्रस्ताव राखिरहे पनि इतर पक्ष नयाँ-नयाँ सर्त अघि सारेर सहमतिलाई जटिल बनाइरहेको छ।

अहिले पार्टीभित्रको शक्ति सन्तुलन युवा नेतृत्वतर्फ ढल्किएको छ। निर्वाचन आयोगले वर्तमान नेतृत्वलाई वैधानिकता दिएको छ भने अदालतले पनि त्यसलाई आधिकारिक ठहर गरिसकेको अवस्था छ। त्यसैले विगतको नेतृत्व संरचनालाई पुनःस्थापित गर्ने प्रयासभन्दा नयाँ नेतृत्वलाई सहयोग गरेर पार्टी बलियो बनाउनु आवश्यक रहेको धारणा छ।

विगतमा नेतृत्वमा रहेकाहरूले आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बेला आएको उल्लेख गर्दै व्यक्तिगत शक्ति र प्रभाव फर्काउने प्रयासले पार्टीलाई फाइदा नगर्ने बताइएको छ। पुरानो प्रभाव कायम राख्ने उद्देश्यले अघि सारिएका मागले कांग्रेसलाई दीर्घकालीन रूपमा कमजोर बनाउन सक्ने विश्लेषण गरिएको छ।

पार्टीभित्र निरन्तर भागबन्डाको संस्कृति कायम रहे त्यसले कांग्रेसको संगठन, विचार र जनविश्वासमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ। अस्वस्थ राजनीतिक सौदाबाजीले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा थप कमजोर बनाउने जोखिम बढाउने बताइएको छ।

पार्टी एक भएर अघि बढ्नु सबैभन्दा राम्रो विकल्प भए पनि अनन्तकालसम्म विवाद र शक्ति संघर्ष मात्रै चलिरहने हो भने स्पष्ट निर्णय लिनुपर्ने अवस्था आउने धारणा राखिएको छ। निरन्तर विवादभन्दा स्पष्ट राजनीतिक मार्ग रोज्नु उपयुक्त हुन सक्ने सुझाव दिइएको छ।

संस्थापन पक्षले अन्य अधिकांश विषयमा सहमति गरेर सबै पक्षलाई संगठनमा समेट्ने प्रयास जारी राखेको जनाएको छ। तर १४ औँ महाधिवेशनको कार्यसमितिलाई विशेष महाधिवेशनको कार्यसमितिमा गाभ्ने माग भने तत्काल स्वीकार गर्न नसकिने स्पष्ट संकेत दिएको छ।

यससँगै कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल समाधान हुने सम्भावना कमजोर देखिएको छ।

मानवअधिकार आयोग गुहार्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी[तस्वीरहरु]

काठमाडौं। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका प्रतिनिधिहरूले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर आफ्नो मानवअधिकार संरक्षण र स्थायी पुनःस्थापनाको माग गर्दै अपिलपत्र बुझाएका छन्।

मंगलबार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तपबहादुर मगरलाई उनको कार्यकक्षमा भेट गरी अपिलपत्र हस्तान्तरण गरेको हो। उक्त भेटमा आयोगका अन्य सदस्यहरू तथा सदस्य–सचिवसमेत उपस्थित थिए।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले भोगिरहेका समस्या, राहत वितरणमा भएको विभेद, सम्मानजनक आवासको अभाव तथा संविधानले प्रत्याभूत गरेको आवास र मानवअधिकारको संरक्षण सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण गराएको छ।

उनीहरूले आयोगसँग होल्डिङ सेन्टरको तत्काल स्थलगत अनुगमन गर्न, सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन तथा पीडित परिवारको भूस्वामित्वसहित स्थायी पुनःस्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीका अनुसार आयोगका अध्यक्ष तपबहादुर मगरले यसअघि पनि आयोगले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका अधिकार संरक्षणका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्दै आएको बताएका थिए।

अध्यक्ष मगरले प्रतिनिधिमण्डलबाट प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित सरकारी निकायलाई आवश्यक सुझाव तथा सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि संयोजक कामीले जानकारी दिए।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले लामो समयदेखि सुरक्षित आवास, भूस्वामित्वको अधिकार र सम्मानजनक पुनःस्थापनाको माग गर्दै विभिन्न निकायमा आवाज उठाउँदै आएका छन्।

 

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना [तस्वीरहरु]

काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको पहिलो चरणअन्तर्गत उनीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन्।

आन्दोलनमा सहभागी कर्मचारीहरूका अनुसार १८ वटै मन्त्रालयमा करार सेवामार्फत कार्यरत कर्मचारीहरू सरकारको प्रस्तावित निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेछन्। उनीहरूले वर्षौंदेखि विभिन्न सरकारी निकायमा सेवा दिँदै आएको उल्लेख गर्दै आउटसोर्सिङ प्रणाली लागू गरिए हजारौं कर्मचारीको रोजगारी संकटमा पर्ने बताएका छन्।

धर्नामा सहभागी कर्मचारीहरूले सरकारको तयारीप्रति गम्भीर असन्तुष्टि जनाउँदै करार सेवामा कार्यरत कर्मचारीलाई विस्थापित गरेर निजी कम्पनीमार्फत कर्मचारी आपूर्ति गर्ने नीति कर्मचारीमैत्री नभएको बताएका छन्। उनीहरूका अनुसार यस्तो निर्णयले सार्वजनिक सेवामा अनुभव हासिल गरेका कर्मचारीको भविष्य अन्योलमा पर्ने मात्र होइन, सरकारी सेवाको प्रभावकारितामासमेत असर पर्न सक्छ।

आन्दोलनरत कर्मचारीहरूले लामो समयदेखि राज्यलाई निरन्तर सेवा दिँदै आए पनि आफ्नो सेवाको कुनै सुनिश्चितता नभएको गुनासो गरेका छन्। उनीहरूले सरकारले करार कर्मचारीको व्यवस्थापन र सेवा सुरक्षाका लागि स्पष्ट नीति ल्याउनुपर्ने माग गरेका छन्।

उनीहरूको मुख्य माग सरकारले आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी तत्काल रोक्नु, हाल कार्यरत करार कर्मचारीको सेवाको निरन्तरता सुनिश्चित गर्नु तथा उनीहरूको भविष्य सुरक्षित हुने गरी आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्नु रहेको छ।

धर्नाका क्रममा कर्मचारीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए। उनीहरूले आफूहरूको माग बेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

आन्दोलनरत पक्षले सरकारले कर्मचारी व्यवस्थापनको नाममा लामो समयदेखि सेवा गरिरहेका करार कर्मचारीलाई विस्थापित गर्न खोजेको आरोप लगाएको छ। उनीहरूका अनुसार यस्तो निर्णय कार्यान्वयन भएमा हजारौं परिवारको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्नेछ।

यता, सरकारले भने आउटसोर्सिङ प्रणाली लागू गर्ने विषयमा औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। यद्यपि, प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै करार कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। उनीहरूले सरकारसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न र कर्मचारीको सेवासुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।

विपद् पूर्वतयारी नगरिए पूर्वी पहाडमा गम्भीर संकट निम्तिने सुब्बाकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेकी सांसद भूमिका सुब्बाले वर्षायाम सुरु भएसँगै हरेक वर्ष सडक अवरुद्ध हुने समस्या दोहोरिए पनि सरकार विपद् पूर्वतयारीमा गम्भीर नदेखिएकाे बताएकी छन् ।

प्रतिनिधिसभा बैठकमा मङ्‍गलबार बोल्दै उनले वर्षेनी सडक अवरुद्ध हुँदा खाद्यान्‍न, औषधि तथा अत्यावश्यक सेवाको आपूर्ति ठप्प हुने अवस्था आउने गरेको स्मरण गराउँदै यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि कुनै प्रभावकारी तयारी नदेखिएको बताइन्।

उनले भनिन्, ‘मैले यो सम्मानित सदनमार्फत विपद्को पूर्वतयारीबारे पटकपटक सरकारको ध्यानाकर्षण गरेको छु। तर, दुःखको कुरा आजसम्म सरकारको तयारी कहीँकतै देखिएको छैन। बरु सरकार यहीँ लापरबाही गर्दै पीडक बनेको छ।’

सुब्बाले यस वर्ष पनि मेची राजमार्ग र वैकल्पिक मार्ग तमोर करिडोर अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकको जनजीवन प्रभावित हुने गम्भीर जोखिम रहेको उल्लेख गरिन्।

हरेक वर्ष दोहोरिने समस्यालाई नयाँ विपत्तिजस्तो व्यवहार गर्नु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।

उनले सम्भावित थप विपत्तिले ठूलो संकट निम्त्याउनुअघि नै वैकल्पिक सडक सञ्‍चालन, अत्यावश्यक निर्माण सामग्रीको निर्वाध आपूर्ति, स्वास्थ्य सेवा, उद्धार तथा राहतका काम युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरिन्।

मिटरब्याज पिडित र गृहमन्त्रीबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुर आन्दोलनरत पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। वार्तामा प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्ष आएपछि तेस्रो चरणको वार्ता पुनः गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत पक्षबीच गर्ने सहमति भएको छ।

बाराको निजगढमा भएको छलफलमा आन्दोलनरत पक्षले मिटरब्याज समस्यासम्बन्धी आफ्ना ६ बुँदे माग पुनः सरकारसमक्ष प्रस्तुत गरेको थियो। दुवै पक्षले आ-आफ्नो तर्फबाट आवश्यक गृहकार्य गर्ने र प्रधानमन्त्रीस्तरीय बैठकको निष्कर्षका आधारमा अर्को चरणको वार्ता अघि बढाउने निर्णय गरेका छन्।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययनका लागि यसअघि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन्। सार्वजनिक गरिने प्रतिवेदनमा गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन रहेका छन्।

आन्दोलनरत पक्षका अनुसार प्रधानमन्त्री कार्यालयमा मिटरब्याज समस्याबारे उच्चस्तरीय छलफल जारी रहेकाले त्यसको निष्कर्ष प्राप्त भएपछि पुनः गृहमन्त्रीसँग तेस्रो चरणको वार्ता बस्नेछ।

मिटरब्याज पीडितहरूले तमसुक प्रणाली खारेज, पीडितको संरक्षणका लागि विशेष कानुन निर्माण, मिटरब्याजका कारण गुमेको चल-अचल सम्पत्ति फिर्ता तथा दोषीमाथि कडा कानुनी कारबाहीलगायत ६ बुँदे माग राख्दै जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल मार्च सञ्चालन गरिरहेका छन्।

एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की[भिडियाे]

काठमाडौं। नेकपा (एमाले)का सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत गोली हान्ने तथा ज्यान मार्ने धम्की आएको बताएका छन्।

उनले सरकारका कामको गुण र कमजोरीका आधारमा मात्र आलोचना गर्ने गरेको भए पनि त्यसकै कारण निरन्तर धम्की आइरहेको बताएका हुन्।

सांसद महरका अनुसार आफूले सरकारको अन्धाधुन्ध विरोध नगरेको भए पनि संसदमा सरकारका गतिविधिबारे धारणा राखेकै कारण सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिइएको हो।

‘मलाई लगातार धम्की आइरहेको छ। सामाजिक सञ्जालमार्फत ‘गोली हानेर मारिदिन्छु’ भन्ने सन्देश पठाइएको छ। ‘पराजुली राम’ नामको प्रोफाइलबाट यस्तो धम्की आएको हो,’ उनले भने, ‘उक्त प्रोफाइलमा बौद्ध क्षेत्रको ठेगाना उल्लेख गरिएको छ।’

…जब जितको खुसीमा अर्धनग्न युवती कारबाट खसिन्

काठमाडौं । सामाजिक सञ्जालमा फिफा विश्वकपसँग जोडेर एक पुरानो भिडियो पुनः भाइरल बनेको छ।

भिडियोसँगै ‘कोलम्बियाले घानालाई १-० ले पराजित गरेपछि खुसीयाली मनाउने क्रममा एक युवती चलिरहेको कारबाट सडकमा खसेकी हुन्’ भन्ने दाबी व्यापक रूपमा फैलाइएको छ।

भाइरल पोस्टमा फिफा विश्वकपको ‘राउन्ड अफ ३२’ खेलपछि समर्थकहरू सडकमा उत्सव मनाइरहेका बेला एक युवतीले चलिरहेको कारको ढोकाबाट शरीर बाहिर निकालेर रमाइलो गर्ने क्रममा सन्तुलन गुमाई सडकमा खसेको दाबी गरिएको छ।

भिडियोमा युवती सडकमा पछारिएपछि वरपर रहेका मानिसहरू तत्काल उनको सहयोगका लागि पुगेको दृश्य देखिन्छ।

तर, उक्त भिडियो हाल भइरहेको कुनै फिफा विश्वकप प्रतियोगितासँग सम्बन्धित भएको स्वतन्त्र रूपमा पुष्टि भएको छैन। सार्वजनिक रूपमा उपलब्ध तथ्यहरूले यो भिडियो कहिले, कहाँ र कुन घटनाको हो भन्ने स्पष्ट जानकारी दिएका छैनन्।

सामाजिक सञ्जालमा पुराना भिडियो वा तस्बिरलाई नयाँ घटनासँग जोडेर पुनः प्रसारण गर्ने प्रवृत्ति सामान्य भएकाले यस्ता सामग्रीलाई तथ्य पुष्टि नगरी विश्वास वा साझा नगर्न विज्ञहरूले सुझाव दिएका छन्।

भिडियोको वास्तविक सन्दर्भ र मिति पुष्टि नभएसम्म त्यसलाई हालैको घटना भनेर निष्कर्षमा पुग्न नहुने उनीहरूको भनाइ छ।

सरकारी विज्ञापनको एकद्वार प्रणाली सर्वोच्चले गर्यो खारेज

काठमाडौं। सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरेको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय कानुनसम्मत नरहेको ठहर गर्दै खारेज गर्ने आदेश दिएको हो।

सरकारले सरकारी निकायका विज्ञापन एकै माध्यमबाट प्रकाशन गराउने उद्देश्यले एकद्वार प्रणाली लागू गरेको थियो। तर उक्त निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारको निर्णय बदर गरेको हो।

सर्वोच्चको आदेशसँगै अब सरकारी विज्ञापन वितरणसम्बन्धी व्यवस्था पुनः पूर्ववत् प्रणालीअनुसार सञ्चालन हुने भएको छ।

एआई उत्पादनको विश्वव्यापी मागले उकास्यो चीनको निर्यात

एजेन्सी।कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र रूपमा बढ्दै जाँदा चीनको निर्यात उल्लेखनीय रूपमा विस्तार भएको छ। चीनको भन्सार प्रशासनका अनुसार जुन महिनामा चीनको निर्यात वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ, जुन मे महिनाको १९.४ प्रतिशत वृद्धिभन्दा उल्लेखनीय रूपमा बढी हो।

आयात पनि बलियो रहँदै जुनमा ३६ प्रतिशतले बढेको छ, जुन मे महिनाको २७.४ प्रतिशत वृद्धिको तुलनामा उच्च हो। विश्लेषकहरूका अनुसार इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा र कच्चा पदार्थको मूल्य बढेकाले आयातको लागतसमेत बढेको हो।

निर्यात र आयात दुवैमा भएको वृद्धिले चीनको व्यापार अधिशेषलाई पनि नयाँ उचाइमा पुर्‍याएको छ। जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ, जुन मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। यसले अन्तर्राष्ट्रिय व्यापारमा चीनको प्रतिस्पर्धात्मक क्षमता अझै बलियो रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

अर्थशास्त्रीहरूका अनुसार पछिल्लो वृद्धिको मुख्य कारण एआई प्रविधिको तीव्र विस्तार हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डका अनुसार एआई प्रणाली सञ्चालनका लागि आवश्यक सेमिकन्डक्टरको विश्वव्यापी माग बढेपछि त्यसको मूल्य पनि उकालो लागेको छ। यसले चीनका सेमिकन्डक्टर तथा प्रविधि उद्योगलाई प्रत्यक्ष लाभ पुगेको छ। उनका अनुसार प्रविधि क्षेत्रबाहेक अन्य चिनियाँ उत्पादनको अन्तर्राष्ट्रिय माग पनि सन्तोषजनक रूपमा कायम छ।

विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमिकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य उच्च प्रविधियुक्त सामग्रीको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। एआईसँग सम्बन्धित पूर्वाधार निर्माण विश्वभर तीव्र रूपमा अघि बढिरहेका कारण चीनका उद्योगहरूले उच्च प्रविधिका उपकरणको निर्यात बढाउन सफल भएका छन्। यसले लामो समयदेखि दबाबमा रहेको चीनको घरेलु अर्थतन्त्रलाई समेत राहत पुर्‍याएको विश्लेषण गरिएको छ।

चीनको रियल स्टेट क्षेत्र, निजी उपभोग र लगानी अपेक्षाकृत सुस्त रहे पनि निर्यात क्षेत्रको मजबुतीले समग्र अर्थतन्त्रलाई टेवा दिएको देखिएको छ। भन्सार विभागका अनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशतले बढेको छ भने आयात २६.६ प्रतिशतले विस्तार भएको छ।

चीनसँगको बढ्दो व्यापार असन्तुलनलाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उच्च भन्सार महसुललगायतका व्यापारिक अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपसहित अन्य देशमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन्। साथै दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि चीनले आफ्नो निर्यात उल्लेखनीय रूपमा बढाएको छ।

जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घतर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ। विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको उच्च भन्सार महसुलपछि निर्यातमा आएको गिरावटका कारण यस वर्षको वृद्धि केही हदसम्म आधार प्रभाव (बेस इफेक्ट) को परिणाम पनि हो।

बीएनपी पारिबास सेक्युरिटिजका विश्लेषक वेई लीका अनुसार आगामी महिनाहरूमा चीनको निर्यात वृद्धि कायम रहने सम्भावना रहे पनि यसको गति क्रमशः केही सुस्त हुन सक्छ। उनका अनुसार विशेषगरी अटोमोबाइल, एआई उपकरण र सेमिकन्डक्टरको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशले अपनाउने व्यापारिक र नियामकीय नीतिमा निर्भर रहनेछ।

यसैबीच चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ। चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ।

यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहेको भए पनि आर्थिक अनिश्चितताका कारण धेरै चिनियाँ उपभोक्ता अझै पनि महँगा वस्तु खरिदमा सतर्क देखिएका छन्।

शंकास्पद गाडी प्रकरणमा रास्वपाको शंकास्पद भूमिका

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले मिडिया हाउस, नेपाली कांग्रेसका सभापति गगन थापाको निवास र अन्य स्थानअघि भएको शंकास्पद गाडी पार्किङ प्रकरणबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू मुकदर्शक भए।

सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा आ-आफ्ना निर्वाचन क्षेत्रका समस्या, विद्युत् आपूर्ति, विदेशमा रहेका नेपालीको अवस्था तथा विभिन्न जनसरोकारका विषय उठाए। तर मिडिया हाउस र कांग्रेस सभापतिको घरअगाडि एकै शैलीमा गरिएको शंकास्पद पार्किङबारे कसैले पनि धारणा राखेनन्।

बरु विपक्षी सांसदहरूले उक्त घटनालाई लिएर सरकारमाथि प्रश्न उठाउँदा रास्वपाका सांसदहरूले नियमापत्तिमार्फत त्यसको प्रतिवाद गरे।

रास्वपाका सांसद अमरेशकुमार सिंहले सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहको विषय उठाउँदै पछिल्लो एक सातामै तीन युवाले आत्मदाह गरेको स्मरण गरे। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यले उपचारका लागि हेलिकोप्टरमार्फत प्रयास गरेको उल्लेख गरे।

देशमा बढ्दो निराशा कम गर्न संसद् र सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। आज कोही सत्तामा छन्, भोलि प्रतिपक्षमा हुन सक्छन्। तर लोकतन्त्र नै कमजोर भयो भने हामी कसैको पनि भविष्य रहँदैन।’

उनले देश चुनौतीपूर्ण अवस्थामा रहेको बताए पनि पछिल्लो समय सरकारमाथि उठिरहेका विवादबारे भने टिप्पणी गरेनन्।

यस्तै, सांसद लालविक्रम थापाले सुनसरीमा विद्युत् मर्मतका क्रममा गाडी दुर्घटनामा परी दुई प्राविधिकको मृत्यु भएको घटनामा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद दीपककुमार साहले सुनसरीका विभिन्न क्षेत्रमा एक सातादेखि दैनिक १२ देखि १८ घण्टासम्म विद्युत् अवरोध भइरहेको भन्दै त्यसले विद्यार्थी, खानेपानी, होटल, डेरी, आइसक्रिम व्यवसाय तथा साना उद्योग प्रभावित भएको बताए।

सांसद शम्भुकुमार यादवले सिरहाको गोलबजारमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको घटनालाई सार्वजनिक सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै सरकारको ध्यानाकर्षण गराए।

सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन, कान्तिपुर मिडिया हाउस तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। कार्यालय र घरमा प्रवेश अवरुद्ध हुने गरी एकै शैलीमा पार्किङ गरिएपछि प्रहरीले अनुसन्धान थालेको छ। घटनामा संलग्न व्यक्ति वा समूहबारे भने अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन।

प्रतिनिधिसभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले उक्त घटनालाई ‘राज्य संरक्षित व्यक्तिहरूको गतिविधि’ जस्तो देखिएको टिप्पणी गरे।

उनको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति जनाउँदै एउटा व्यक्तिको कार्यलाई आधार बनाएर सिंगो राज्यलाई दोष दिन नमिल्ने बताइन्।

उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै राज्यको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने जिकिर गरिन्।

उनको भनाइ थियो, ‘यदि राज्यकै संलग्नता रहेको आरोप लगाइन्छ भने त्यसको प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्छ। सरकारले अनुसन्धान र कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा त्यस प्रक्रियालाई विश्वास गर्नुपर्छ।’

बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र गगन थापाको घरअगाडि भएको शंकास्पद पार्किङलगायत घटनालाई जोड्दै सरकारको आलोचना गरे।

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारले प्रधानमन्त्रीलाई संविधान र कानुनभन्दा माथि राख्न खोजेको आरोप लगाए।

राईले सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्न खोजिरहेको दाबी पनि गरे।

लगत्तै रास्वपा सांसद शिवशंकर यादवले नियमापत्ति जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेर सम्बोधन गर्नु संविधान र संसदीय मर्यादाविपरीत रहेको बताए।

उनले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरे।

यसरी, विपक्षी दलहरूले सरकारसँग विभिन्न संवेदनशील घटनामा जवाफ मागिरहेका बेला रास्वपा सांसदहरूले ती विषयमा प्रत्यक्ष प्रतिक्रिया नदिई विपक्षीका अभिव्यक्तिमा प्रयोग भएका शब्द र शैलीप्रति नियमापत्ति जनाउनुलाई प्राथमिकता दिए।

बालेन : डेढ महिनामा सदन आए, डेढ मिनेटमा बाहिरिए [भिडियाे]

काठमाडौं। करिब डेढ महिनापछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बैठकमा डेढ मिनेट पनि नबसी बाहिरिएका छन्।

मंगलबार संसद्को बैठक चलिरहेकै बेला प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका थिए। उनको उपस्थितिलाई विपक्षी दलहरूले उठाउँदै आएका विभिन्न विषयमा जवाफ आउने अपेक्षासँग जोडेर हेरिएको थियो।

प्रधानमन्त्री शाह संसद् प्रवेश गरेलगत्तै केहीबेर आफ्नो सिटमा बसे पनि करिब डेढ मिनेटमै रवि लामिछानेसँगै बैठक कक्षबाट बाहिरिएका थिए। उनको बहिर्गमनपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो।

पछिल्ला केही दिनदेखि विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्। साथै, सुकुम्बासी व्यवस्थापनलगायत सरकारका विभिन्न निर्णय र गतिविधिमाथि पनि सांसदहरूले प्रश्न उठाइरहेका छन्।

प्रधानमन्त्री शाहले मंगलबारको बैठकमा ती विषयमा जवाफ दिने अपेक्षा गरिए पनि प्रतिनिधिसभाको कार्यसूचीमा उनको सम्बोधन समावेश थिएन। संसद्मा उपस्थित भएर पनि छोटो समयमै बाहिरिएपछि उनले आज कुनै सम्बोधन गरेनन्।

प्रधानमन्त्रीको संसद् प्रवेश र तत्कालै बहिर्गमनलाई लिएर संसद् परिसरमा विभिन्न टिप्पणी भइरहेका छन् भने उनी किन बाहिरिए भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

सदनमा बालेन [भिडियाे]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन्। संसद्को बैठक जारी रहेकै बेला प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका हुन्।

प्रधानमन्त्रीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि पछिल्ला केही दिनदेखि विपक्षी दलहरूले सरकारमाथि विभिन्न विषयमा निरन्तर प्रश्न उठाउँदै आएका छन्। विशेषगरी गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार विरोध जनाइरहेका छन्।

त्यसैगरी, सुकुम्बासी व्यवस्थापन, सरकारको कार्यशैली, सुरक्षा संवेदनशीलता तथा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि संसद्मा सरकारको आलोचना भइरहेको छ। यी विषयमा सांसदहरूले सरकारसँग जवाफदेहिता माग गरिरहेका छन्।

प्रधानमन्त्री शाहको संसद् उपस्थितिपछि आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको आकलन गरिएको छ। यद्यपि, प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीको सम्बोधन समावेश गरिएको छैन।

संसदीय अभ्यासअनुसार आवश्यक परे प्रधानमन्त्रीले विशेष वा आकस्मिक समय लिएर संसद्लाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेकाले उनी बैठकमा बोल्छन् वा बोल्दैनन् भन्ने विषयमा सांसदहरूको चासो बढेको छ।