`

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। महासभामा सहभागी हुन उनी असोज १८ गते तान्जानिया प्रस्थान गरेका थिए।

तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) गतेसम्म आयोजित महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपाली प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी पत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महतो तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी थिए।

भारतभर प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दै ‘हिमालयन गोल्ड’, सुनिल थापाको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिकतालाई विश्वमाझ चिनाउने उद्देश्य राखिएको यस फिल्मले कथावस्तुसँगै दिग्गज अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रूपमा पनि विशेष महत्त्व राखेको छ।

धिराज राजवंशीको निर्देशनमा बनेको सर्भाइभल कथामा आधारित फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको अभिनय रहेको छ।

‘हिमालयन गोल्ड’ को सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई मानिएको छ। निर्माण पक्षका अनुसार यो भारतभर एकसाथ प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्नेछ। यसका लागि भारतको चर्चित वितरण कम्पनी एए फिल्म्ससँग औपचारिक सम्झौता भइसकेको छ।

एए फिल्म्सले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ च्याप्टर २’ र ‘पुष्पा’ जस्ता चर्चित फिल्म वितरण गरिसकेको छ। यस कम्पनीसँगको सहकार्यले नेपाली फिल्मलाई भारतीय बजारमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

निर्देशक राजवंशीका अनुसार फिल्म भारत, जापान र अस्ट्रेलियालगायतका देशमा स्थानीय भाषाका सबटाइटलसहित नेपाली भाषामै प्रदर्शन गरिनेछ। फिल्मको मौलिकता जोगाउने उद्देश्यले हिन्दीमा डब गर्ने प्रस्ताव अस्वीकार गरिएको उनले बताएका छन्।

निर्माता तथा वितरक नकिम उद्दिनले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको सम्भावना राम्रो रहेको उल्लेख गर्दै ‘हिमालयन गोल्ड’को प्रदर्शनले नेपाली चलचित्रलाई विश्व बजारमा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘कबड्डी ५’ मा फेरिएको काजीको संसार, प्रेमसँगै परिवार र समाजको जिम्मेवारी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सफल शृङ्खला ‘कबड्डी’को पाँचौँ भाग ‘कबड्डी ५ः आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा यसपटक मुख्य पात्र काजीको जीवनमा प्रेमसँगै परिवार, समाज र साथीभाइप्रतिको जिम्मेवारीले पार्ने प्रभावलाई देखाइनेछ।

यसअघिका शृङ्खलामा प्रेम प्राप्तिका लागि सङ्घर्ष गर्दै आएका काजीको कथा पाँचौँ भागमा नयाँ मोडमा पुगेको छ। अभिनेता दयाहाङ राईका अनुसार प्रेम प्राप्त गरेपछि सुरु हुने व्यावहारिक जीवन र त्यसमा गर्नुपर्ने सम्झौता यसपटकको कथाको मुख्य पक्ष हो।

निर्देशक गुरुङले चौथो भागलाई ‘फाइनल म्याच’का रूपमा प्रस्तुत गरिए पनि पात्रहरूको कथा पूर्ण रूपमा टुङ्गिन नसकेकाले पाँचौँ शृङ्खला निर्माण गरिएको बताएका छन्। उनका अनुसार नयाँ भाग अघिल्लो शृङ्खलाकै कथाको निरन्तरता हो।

चलचित्रको फर्स्टलुक पोस्टरमा काजीको भूमिकामा दयाहाङ राई, बीकेको भूमिकामा विजय बराल र छन्त्यालको भूमिकामा बुद्धि तामाङ देखिएका छन्। पोस्टरमा काजी क्रिकेट ब्याट समातेर सोचमग्न अवस्थामा देखिन्छन् भने बीके र छन्त्यालले उनलाई नियालिरहेका छन्।

चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमाझ यसको चर्चा थप बढेको छ। टिजरमा दयाहाङ, विजय र बुद्धिसँगै विपिन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ पनि देखिएका छन्। टिजरमा अभिनेत्री मिरुना मगर नदेखिएपछि दर्शकले सामाजिक सञ्जालमा उनको भूमिकाबारे जिज्ञासा व्यक्त गरेका थिए। टिजर सार्वजनिक भएको १९ घण्टामै १० लाखभन्दा बढी पटक हेरिएको थियो।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ, विजय, बुद्धि, विपिन, रिश्मा र सिर्जनासहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

‘कबड्डी’का अघिल्ला चारवटै शृङ्खला व्यावसायिक रूपमा सफल भएका थिए। विशेषगरी चौथो भागले बक्स अफिसमा करिब २२ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको थियो। पाँचौँ भागले पनि पुराना पात्रको निरन्तरता र नयाँ कथावस्तुका माध्यमबाट दर्शकको अपेक्षा पूरा गर्ने चुनौती सामना गर्नुपर्नेछ।

श्रीलङ्कामा राजपाक्षे परिवारमाथि संकट, पत्नीको जमानत खारेज, महिन्दा अस्पतालमा

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका परिवारमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढिरहेका बेला उनकी पत्नी शिरान्ती राजपाक्षेको अग्रिम जमानत याचिका अदालतले खारेज गरेको छ। प्रहरीको नियन्त्रणमा रहेका राजपाक्षे पनि अस्वस्थ भएको जनाइएको छ।

घूसखोरी तथा भ्रष्टाचार अनुसन्धान आयोगका अधिकारीहरूले बयान लिएपछि शिरान्तीलाई किरुलापोनेस्थित निवासबाटै पक्राउ गरिएको थियो।

शिरान्तीमाथि कोलम्बोस्थित ‘लेडी रिडवे चिल्ड्रन्स हस्पिटल’लाई सीटी स्क्यानर मेसिन खरिद गरी हस्तान्तरण गर्ने उद्देश्यले ‘सिरिलिया सेविया’ नामक संस्थामार्फत सङ्कलन गरिएको १० मिलियन श्रीलङ्काली रुपैयाँ हिनामिना गरेको आरोप छ। उक्त रकमबाट खरिद गरिने भनिएको मेसिन अस्पताललाई उपलब्ध नगराइएको आरोप लगाइएको छ।

यसै मुद्दामा पक्राउ पर्ने सम्भावनाबाट बच्न शिरान्तीले अग्रिम जमानतका लागि अदालतमा निवेदन दिएकी थिइन्। तर, कोलम्बोका मजिस्ट्रेटले उक्त याचिका खारेज गरिदिएका छन्।

राजपाक्षे परिवारमाथि भइरहेको कानुनी अनुसन्धान शिरान्तीमा मात्र सीमित छैन। महिन्दा राजपाक्षेका जेठा छोरा, सांसदसमेत रहेका नमल राजपाक्षे पनि वित्तीय अनियमिततासम्बन्धी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा छन्।

चितवनमा स्क्रब टाइफसका २३४ संक्रमित, महिलाको संख्या बढी

काठमाडौ। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ। सङ्क्रमितमध्ये महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार जिल्लाभित्रका १४२ जना र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गरिएको छ। सङ्क्रमणका कारण जिल्लामा कसैको मृत्यु भएको छैन।

स्थानीय तहमध्ये रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ४६ जनामा सङ्क्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा ३२, खैरहनी नगरपालिकामा २२, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ।

जिल्लाभित्रका सङ्क्रमितमध्ये ५२ पुरुष र ९० महिला छन्। बाहिरी जिल्लाबाट उपचारका लागि आएका सङ्क्रमितमा ३४ पुरुष र ५८ महिला रहेका छन्।

स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो। सङ्क्रमित सूक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट यो रोग मानिसमा सर्छ। विशेषगरी घाँस, झाडी तथा खेतबारीमा काम गर्दा यसको जोखिम हुन्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

यसका मुख्य लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्यधिक कमजोरी, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिने रहेका छन्। किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ देखिनु पनि यसको प्रमुख सङ्केत हो। समयमै उपचार नभएमा फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पर्न सक्छ।

जनस्वास्थ्य कार्यालयका अनुसार स्क्रब टाइफसको जोखिमबाट बच्न घरवरपरका झाडी सफा राख्न, खेतबारीमा काम गर्दा शरीर ढाक्ने लुगा लगाउन र लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।

खगेन्द्र सुनार काठमाडौं फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार पार्टीको निर्देशनपछि काठमाडौं फर्किएका छन्।

कार्यक्रमका लागि दाङ पुगेका उनी मंगलबार नेपालगञ्ज हुँदै राजधानी आएको रास्वपा दाङका सभापति किरण खनालले जानकारी दिएका छन्।

खनालका अनुसार सुनारको पार्टी कार्यालयसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउने योजना थियो। तर, पार्टीबाट फर्किन निर्देशन आएपछि उनी निर्धारित कार्यक्रममा सहभागी नभई काठमाडौं फर्किएका हुन्।

बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको भनिएको अश्लील अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।

अडियो सार्वजनिक भएसँगै सुनारको अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ।

उखु किसानलाई अनुदान दिन नयाँ कार्यविधि, अब बैंक खातामै रकम

काठमाडौं । उखु किसानले अनुदान पाउन वर्षौं कुर्नुपर्ने र वितरणमा अनियमितता हुने समस्या रोक्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ असोज २१ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेको हो।

नयाँ कार्यविधिअनुसार अनुदान लिन किसानले प्रत्येक वर्ष साउनदेखि असोज मसान्तसम्म सम्बन्धित स्थानीय तहमा सूचीकृत हुन निवेदन दिनुपर्नेछ। स्थानीय तहले जाँचबुझ गरी कात्तिक मसान्तभित्र किसानको प्रमाणित सूची तयार गर्नुपर्नेछ।

चिनी मिलले किसानबाट खरिद गरेको उखुको विवरण प्रत्येक १५ दिनमा स्थानीय तहलाई बुझाउनुपर्नेछ। साथै, सरकारले तोकेको न्यूनतम मूल्यमा उखु खरिद गरी किसानलाई बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनुदान वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार सदस्यीय भुक्तानी समिति गठन हुनेछ। स्थानीय तहले किसानको सूची र मिलले उपलब्ध गराएको विवरण भिडान गरी समितिलाई सिफारिस गर्नेछ। समितिको निर्णयपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले किसानको बैंक खातामा अनुदान जम्मा गर्नेछ। भुक्तानी गर्दा पहिले उखु बिक्री गर्ने किसानलाई प्राथमिकता दिइनेछ।

सूचीकरणमा छुटेका तर चिनी मिललाई उखु बिक्री गरेका वास्तविक किसानले पनि पुनः जाँचबुझपछि अनुदानका लागि सिफारिस पाउन सक्नेछन्। सरकारी स्वामित्वका उखु उत्पादक संस्थाले भने अनुदान पाउने छैनन्। समूह वा सहकारीमार्फत खेती गरी उखु बिक्री गर्ने किसानको रकमसमेत व्यक्तिगत बैंक खातामै पठाइनेछ।

कार्यविधिले चिनी मिललाई प्रत्येक आर्थिक वर्षको मंसिर मसान्तभित्र उखु खरिद तथा क्रसिङ योजना कृषि विभागमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। अनुदान वितरणमा पारदर्शिता कायम गर्न विवरण सार्वजनिक गर्ने, अनुगमन गर्ने र झुटो विवरण पेस गरी अनुदान दुरुपयोग गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रावधान पनि राखिएको छ।

अनुदान वितरणसम्बन्धी गुनासो किसान तथा सरोकारवालाले कृषि विभागमा दिन सक्नेछन्। अनुदानका लागि आवश्यक बजेट मन्त्रालयले वार्षिक बजेटमा व्यवस्था गर्ने र अपुग भए अर्थ मन्त्रालयसँग समन्वय गरी थप निकासा मिलाउने कार्यविधिमा उल्लेख छ।

 

दसैँमा पनि ग्यासको हाहाकार, सिलिन्डर लिन उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौ । नेपाल आयल निगमले दसैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका छ स्थानबाट एलपी ग्यास वितरण सुरु गरे पनि आपूर्ति सहज हुन सकेको छैन। ग्यास लिन उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्।

आयल निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग सङ्घले असोज २५ देखि ३१ गतेसम्म ग्यास सिलिन्डर साटफेर तथा बिक्रीको व्यवस्था मिलाएको छ। तर, तोकिएका बिक्री केन्द्रमा लामो लाइन लाग्ने र एकै दिनमा ग्यास नपाउने समस्या कायमै रहेको उपभोक्ताहरूको गुनासो छ।

बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास वितरण गर्ने व्यवस्था गरिए पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्। सोही दिन ग्यास उपलब्ध गराउन नसकिएकालाई टोकन दिएर फर्काउने गरिएको छ। तर, टोकन पाएपछि पनि ग्यास कहिले पाइने भन्ने निश्चित नहुँदा उपभोक्ता अन्योलमा छन्।

नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका छ स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर साटफेर तथा बिक्री गर्ने व्यवस्था गरेको छ।

काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास उपलब्ध गराइएको छ। पेप्सीकोलाबाट सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री भइरहेको छ।

त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास वितरण भइरहेको छ।

दसैँको मुखमा ग्यास वितरणको व्यवस्था मिलाइए पनि लामो लाइन, पटक-पटक धाउनुपर्ने बाध्यता र वितरणमा देखिएको असहजताले उपभोक्तालाई सास्ती भएको छ।

सडक बन्द भएपछि आरुघाटमा यात्रुको बिजोग [तस्वीरहरू]

गोरखा । सडक अवरुद्ध भएपछि गृहजिल्ला फर्किंदै गरेका सर्वसाधारण गोरखाको आरुघाटमा अलपत्र परेका छन्। गाडी चल्न नसकेपछि उनीहरू हेलिकप्टरबाट गाउँ पुग्न पाइने आशामा आरुघाटको घरिलचौरमा पर्खिरहेका छन्।

आरुघाट गाउँपालिका–३ को छेपारे भन्ने स्थानबाट अगाडिको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। काठमाडौंलगायत विभिन्न स्थानबाट घर फर्किएका यात्रु सडक बन्द हुँदा बीच बाटोमै रोकिएका हुन्।

सडक खुल्ने टुंगो नलागेपछि केही यात्रु हेलिकप्टरबाट उद्धार हुने आशामा घरिलचौरमा बसिरहेका छन्। तर, हालसम्म त्यहाँ रोकिएका यात्रुलाई हेलिकप्टरमार्फत गन्तव्यसम्म पुर्‍याइएको छैन।

यता, नेपाली सेनाले भने प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्ने र बाढीमा फसेका व्यक्तिको उद्धार गर्ने काम गरिरहेको छ। सडक अवरुद्ध हुँदा घर फर्किन नपाएका सर्वसाधारण भने आफ्नो गाउँ पुग्ने प्रतीक्षामा छन्।

 

 

सुदूरपश्चिममा बजेट विवाद चर्किएपछि कात्तिक १५ भित्र पूरक बजेट ल्याउने सहमति

काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विनियोजनलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ।

मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र त्यसमा देखिएका कमजोरी सच्याउन पूरक बजेट ल्याउने निर्णय गरेको हो।

नेकपाका सांसद अक्कल रावलका अनुसार बैठकमा बजेट विनियोजन, योजना छनोट र बजेट निर्माण प्रक्रियालाई लिएर सांसदहरूले उठाएका असन्तुष्टिबारे छलफल भएको थियो। विवादित योजना र बजेटमा छुटेका आवश्यक विषयलाई सम्बोधन गर्ने सहमति जुटेको उनले बताए।

रावलले बजेटमा अनावश्यक योजना समावेश भएको वा आवश्यक विषय छुटेको भए पूरक बजेटमार्फत परिमार्जन गरिने जानकारी दिए।

बैठकमा बजेटका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र छानबिन प्रक्रिया पूरा नहुँदासम्म पुँजीगत खर्च रोक्ने सहमतिसमेत भएको रावलले बताए।

आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिनापछि सार्वजनिक भएको बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि बढेको थियो। नेकपाका सांसदहरूले बजेट निर्माणमा बिचौलियाको प्रभाव परेको, पहुँचका आधारमा योजना छनोट गरिएको र कमिसनको खेल भएको आरोप लगाउँदै आएका थिए। आवश्यकताभन्दा बाहिरका योजनालाई प्राथमिकता दिइएको र कतिपय आवश्यक योजना छुटेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएको छ। बजेट जनपक्षीय नभएको र सरकारले प्रतिपक्षीसँग समन्वय नगरेको आरोप लगाउँदै कांग्रेसले प्रदेशसभाका बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय भएको जानकारी दिएका छन्।

पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन? [सूचीसहित]

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम असोज २५ गतेको निर्णयअनुसार मंगलबार सूचना प्रकाशित गरी उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

कालोसूचीमा पर्नेमा कैलालीको धनगढीस्थित बराहा डेभलपर्स प्रा.लि. (साविक राजेन्द्र निर्माण सेवा प्रा.लि.) पनि छ। अछामको कमलबजार नगरपालिकाको सिफारिसमा कारबाहीमा परेको उक्त कम्पनीका मुख्य व्यक्ति भीमबहादुर साउँद हुन्। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिकाको सिफारिसमा महोत्तरीको जलेश्वरस्थित दिपक निर्माण सेवा कालोसूचीमा परेको छ। मुख्य व्यक्ति सोमन्त यादव रहेको उक्त कम्पनीलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ।

भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा बुटवलको अभियन्ता कन्स्ट्रक्सन प्रा.लि. पनि कारबाहीमा परेको छ। मुख्य व्यक्ति सजल नेपाल रहेको यस कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।

पशु रोग अन्वेषण प्रयोगशाला पोखराको सिफारिसमा तनहुँको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि. कालोसूचीमा परेको छ। मुख्य व्यक्ति राजकुमार श्रेष्ठ रहेको उक्त कम्पनीले पनि दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैन।

844838178_1109339911454236_7959382471042698160_n

यस्तै, बाराको प्रसौनी बहुप्राविधिक शिक्षालयको सिफारिसमा पर्साको प्रिन्स कन्स्ट्रक्सनलाई समेत दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति अरविन्द चौरसिया हुन्।

कार्यालयका अनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ। तोकिएको अवधिभर यी कम्पनी तथा व्यवसायीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

 

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न विद्यादेवी भण्डारी बेत्रावतीमा

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेकी छन्। उनी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न बेत्रावती पुगेकी हुन्।

भण्डारीले बाढी प्रभावित क्षेत्रसँगै फलाखू खोलामा निर्माण गरिएको बेलिब्रिजको समेत अवलोकन गरेकी छन्।

गत भदौ १० गते आएको बाढीले पुल बगाएपछि फलाखू खोलामा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

एआई कम्पनीको सुरक्षा जाँच गर्न अस्ट्रेलियाली संसदीय समितिको सुझाव

काठमाडौँ । अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको सुरक्षा अवस्था जाँच गर्न स्वतन्त्र विज्ञ खटाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूको सुरक्षा अवस्था र सुरक्षासम्बन्धी घटनाको स्वतन्त्र समीक्षा गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्न सिफारिस गरेको हो।

समितिका अनुसार गत जुनमा ओपनएआईको एआई एजेन्टले स्वास्थ्य सेवा प्रणालीसँग सम्बन्धित वेब पोर्टलमा सुरक्षा उल्लङ्घन गरेको घटना सेप्टेम्बरमा मात्रै सार्वजनिक भएको थियो। उक्त घटनाले अस्ट्रेलियाली नागरिकको व्यक्तिगत तथा संवेदनशील तथ्यांक सुरक्षित राख्न प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको देखाएको समितिको निष्कर्ष छ।

समितिले अस्ट्रेलियामा एआई मोडेललाई प्रशिक्षण दिन अनुमति दिनुअघि सुरक्षा निकायलाई नयाँ मोडेलको प्रारम्भिक पहुँच उपलब्ध गराउनुपर्ने सुझावसमेत दिएको छ। साथै, सरकारी तथ्यांक भण्डारण प्रणालीमा अपनाइएका सुरक्षा उपायहरूको तत्काल समीक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

अक्टोबरको सुरुवातमा संसदीय छानबिनका क्रममा उपस्थित ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले जुन महिनामा भएको सुरक्षा घटनाप्रति पुनः माफी मागेका थिए।

साथै, उनले यस्ता घटनाबारे अनिवार्य रूपमा प्रतिवेदन बुझाउनुपर्ने अस्ट्रेलियाको योजनालाई ओपनएआईले समर्थन गर्ने बताएका थिए।

अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक जाने भएका छन्।

वाग्ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन्। ती छलफलमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकासका प्राथमिकताका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी हुनेछन्।

साथै, वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

सडक अवरुद्ध हुँदा मुस्ताङको ७० प्रतिशत स्याउ निकासी हुन सकेन, दुई अर्बको उत्पादन जोखिममा

काठमाडौ । भारी वर्षा, बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा मुस्ताङको स्याउ निकासी प्रभावित भएको छ। यस वर्ष उत्पादन बढे पनि हालसम्म ३० प्रतिशत स्याउ मात्रै जिल्ला बाहिर पठाउन सकिएको छ।

असोज ११ गतेको भारी वर्षापछि अवरुद्ध बनेको सडकका कारण किसान तथा व्यापारीले समयमै स्याउ बजार पुर्‍याउन सकेनन्। सडक सञ्चालनमा आएपछि भने स्याउ टिप्ने र बिक्रीका लागि बजार पठाउने क्रम तीव्र पारिएको छ।

कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यतिबेलासम्म करिब ७० प्रतिशत स्याउ बजारमा पुगिसक्नुपर्ने थियो। तर, सडक अवरुद्ध हुँदा हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। मुस्ताङमा उत्पादित स्याउमध्ये करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो। उत्पादन बढेकाले यस वर्ष स्याउ बिक्रीबाट करिब दुई अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

सडक मर्मतपछि सञ्चालनमा आए पनि बेनी-जोमसोम सडक अझै पूर्ण रूपमा सहज भइसकेको छैन। स्याउ बिक्रीको मुख्य याम घर्किन लागेपछि किसानले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्।

मुस्ताङको स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। तर, यस वर्ष सडक लामो समय अवरुद्ध हुँदा किसान र व्यापारीले समयमा स्याउ बजार पुर्‍याउन सकेनन्। अहिले जिल्लाका पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ बाहिरी बजारमा पठाउन थालिएको छ।

घरपझोङ गाउँपालिका-५, ढुम्बास्थित चिम्ले अर्चार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालनमा आएको दुई दिनमै छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। उनका अनुसार हालसम्म करिब ३० प्रतिशत स्याउ मात्रै बजारमा पठाउन सकिएको छ।

जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो। तर, सडक अवरोधका कारण उत्पादन राम्रो हुँदाहुँदै पनि मुस्ताङका किसानले स्याउको बजारीकरणमा समस्या झेल्नुपरेको छ।

‘एआई भनेको गालीको खानी हो ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार पारिएको दाबी गरेपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले व्यंग्यात्मक प्रश्न उठाएका छन् ।

पाँच–पाँचवटा अडियोमा ठाउँ, ठेगाना र समयसमेत मिलाएर ठेट नेपाली गाली उत्पादन गर्न सक्ने एआईले गालीलाई समेत फिल्टर नगर्ने हो भन्दै श्रेष्ठले सुनारको दाबीमाथि कटाक्ष गरेका हुन् ।

श्रेष्ठले अडियोबारे प्रतिक्रिया लिन खोज्दा सांसद सुनारले पाँच मिनेटपछि कुरा गर्ने बताए पनि त्यसपछि उनी र उनका स्वकीय सचिव (पीए) को फोन स्विच अफ भएको प्रसंगसमेत उठाएका छन् । त्यसपछि मात्रै अडियो एआईबाट बनेको दाबी सार्वजनिक भएको भन्दै उनले घटनाक्रममाथि प्रश्न गरेका छन् ।

उनले मुख्यमन्त्रीका पीएसओमार्फत गरिएको भनिएको क्रस भेरिफिकेसनदेखि ६ वटा बैंकका ४८० पृष्ठका स्टेटमेन्टसम्मका प्रसंगलाई समेत व्यंग्यात्मक रूपमा जोड्दै बिपिन आचार्य, ज्वाला सङ्ग्रौला, राजीव खत्री, प्रकाशचन्द्र परियार र हिमेश पन्तलगायतका नाम उल्लेख गरेका छन् ।

खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौ । विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग पार्टीले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलाप्रति सुनारले आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो।

यस्तै, पार्टीको केन्द्रीय अनुशासन आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा सुनारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको आयोगका एक सदस्यले जानकारी दिएका छन्।

‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ। उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगले  भनेको छ।

यसअघि पार्टीका महामन्त्री विपिनकुमार आचार्यले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका थिए।

अडियो प्रकरण सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ। साथै, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सुनारमाथि घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न चौतर्फी दबाब बढिरहेको छ।

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही भारी मतान्तरले विजयी

काठमाडौं।  नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्। चार प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले सहमहामन्त्री पदमा जित निकालेका हुन्।

निर्वाचन पोर्टलमा उल्लेख भएअनुसार, कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत मात्रै पाएका छन्।

यस पदका अन्य प्रतिस्पर्धीमा नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट थिए। शाहीले उनीहरूलाई पनि पछि पारेका हुन्।

मतगणना सम्पन्न भए पनि निर्वाचन समितिले परिणामको औपचारिक घोषणा गरिसकेको छैन। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतगणना सकिएको छ र प्राप्त मतको यकिन गर्ने काम भइरहेको छ।

शाहीले यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि यही पदमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए। दोस्रो प्रयासमा भने शाही सहमहामन्त्री बन्न सफल भएका हुन्।

अडियो काण्डमा खगेन्द्र सुनारको प्रतिवाद : ‘दोषी ठहरिए हथकडी लगाएर जेल जान तयार छु’ [भिडियो]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले छताछुल्ल भएको विवादास्पद अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफूमाथि उठेका सबै आरोपको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन्। 

प्रहरीभित्रको भ्रष्टाचारबारे संसद्को सार्वजनिक लेखा समितिमा प्रश्न उठाएपछि आफूलाई नियोजित रूपमा घेराबन्दीमा पारेर चरित्रहत्या गर्न खोजिएको उनको आरोप छ।

दाङबाट आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले पछिल्लो समय आफूविरुद्ध विभिन्न आरोप, टीकाटिप्पणी र विवाद सिर्जना गर्ने प्रयास भइरहेको बताए। 

कहिले घुस खाएको, कहिले भ्रष्टाचार गरेको त कहिले विभिन्न व्यक्तिसँग जोडेर आरोप लगाइएको उल्लेख गर्दै उनले सार्वजनिक भएको पछिल्लो अडियोलाई पनि आफूलाई बदनाम गर्ने अभियानकै एउटा हिस्साका रूपमा व्याख्या गरे।

उनले अडियोमा सुनिएको आवाज र त्यसमा प्रस्तुत गरिएको पात्र आफू नभएको दाबी गरेका छन्। अडियोको सत्यता र त्यसमा आफ्नो संलग्नताबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। 

सुनारले आफूविरुद्ध अहिले भइरहेको गतिविधिलाई प्रहरी संगठनभित्रको भ्रष्टाचारबारे उठाएको प्रश्नसँग जोडेर हेरेका छन्। 

उनका अनुसार सार्वजनिक लेखा समितिमा प्रहरीभित्रको अनियमितताबारे निर्मम ढंगले प्रश्न उठाएपछि आफूलाई विभिन्न माध्यमबाट दबाबमा पार्ने प्रयास भएको हो।

उनले प्रहरी प्रधान कार्यालयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मका निकायले आफूविरुद्ध प्रमाण जुटाउने, मुद्दा हाल्न सक्ने व्यक्तिहरू खोज्ने र आफ्नो विपक्षमा बोल्न सक्ने मानिस पहिचान गर्ने काम गरेको आरोप लगाए।

आफ्नो सम्पर्कमा रहेका साथीभाइ, इष्टमित्र र अन्य व्यक्तिलाई समेत विभिन्न माध्यमबाट सम्पर्क गरी आफूविरुद्ध लाग्न प्रेरित गरिएको उनको दाबी छ। मुद्दा हालेमा पैसा, सम्मान तथा अन्य सहयोग उपलब्ध गराउने प्रलोभनसमेत दिइएको उनले आरोप लगाए।

सुनारका अनुसार, आफूविरुद्ध मुद्दा हाल्न तयार हुने व्यक्ति नभेटिएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई प्रयोग गरेर बदनाम गर्ने प्रयास भइरहेको छ। उनले यस्ता गतिविधिलाई सामान्य आरोपप्रत्यारोपभन्दा माथि उठेर हेर्नुपर्ने भन्दै राज्यका निकायको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोले विवाद चर्किएपछि सुनारले त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले आफूलाई एउटा काल्पनिक पात्रसँग जोडेर प्रस्तुत गरिएको र त्यस क्रममा महिलासमेत जोडेर चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाए।

उनका अनुसार, विभिन्न व्यक्तिका तस्बिर, आवाज वा अन्य सामग्रीलाई जोडेर आफूविरुद्ध भ्रम सिर्जना गर्ने काम भइरहेको छ। उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) वा अन्य व्यक्तिमार्फत आवाज तयार पारेर आफूलाई फसाउने प्रयास भएको हुन सक्ने आशंका व्यक्त गरे।

सुनारले आफूमाथि उठेका प्रश्नबाट भाग्ने मनसाय नरहेको स्पष्ट पारेका छन्। बरु आफू, आफूसँग सम्बन्धित व्यक्ति र आफ्नो सम्पर्कमा रहेका मानिसहरूका विषयमा समेत आवश्यक अनुसन्धान गर्न उनले राज्यलाई आग्रह गरेका छन्।

आफ्नो व्यक्तिगत सम्बन्ध, आर्थिक लेनदेन, झैझगडा, मेलमिलाप वा अन्य कुनै विषयमा प्रश्न उठेको भए त्यसको समेत छानबिन गर्नुपर्ने उनको भनाइ छ।

उनले आफूमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै राजनीतिक संरक्षण वा दयाको अपेक्षा नरहेको पनि बताएका छन्। आफू दोषी ठहरिए कानुनले तोकेको सजाय भोग्न तयार रहेको उनको दाबी छ।

यस क्रममा उनले आवश्यक परे रास्वपाको केन्द्रीय समितिबाट निलम्बित हुन वा सांसद पदबाट बाहिरिनसमेत तयार रहेको बताए। 

सुनारले आफ्नो प्रतिवादका क्रममा सबैभन्दा कडा अभिव्यक्ति दिँदै आफूले अपराध गरेको प्रमाणित भए तत्कालै कानुनी कारबाही भोग्न तयार रहेको बताए।

‘मैले भगवान्को आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने, म अहिले यहीँबाट हथकडी लगाएर जानलाई कुनै आपत्ति छैन,’ भन्ने उनको भनाइ छ।

उनले आफूविरुद्ध लगाइएका आरोपको सत्यता प्रमाणबाट स्थापित हुनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक पदमा बसेको व्यक्तिले प्रश्नको सामना गर्नुपर्ने भए पनि प्रमाणबिना कसैलाई दोषी करार गर्ने, व्यक्तिगत प्रतिष्ठामा आघात पुर्‍याउने वा दबाब सिर्जना गर्ने काम स्वीकार्य नहुने उनको तर्क छ।

सुनारले आफूमाथि कारबाही भए पनि आफूले प्रहरीभित्रको अनियमितताबारे उठाएको प्रश्न कमजोर नहुने दाबी गरेका छन्। बरु आफूलाई दबाबमा पार्ने प्रयासले भ्रष्टाचार र सार्वजनिक निकायको जवाफदेहिताबारे थप प्रश्न उठाएको उनको भनाइ छ।

सुनारले पछिल्लो विवादमा महिलासहित विभिन्न व्यक्तिलाई आफूहरूसँग जोडेर सार्वजनिक रूपमा प्रस्तुत गरिएको विषयमा पनि आपत्ति जनाएका छन्।

उनका अनुसार, केही व्यक्तिलाई आफूविरुद्ध मुद्दा हाल्न दबाब दिइएको, घरमा फोन गरेर आरोप लगाउन भनिएको तथा परिचितहरूमार्फत आफूविरुद्ध बोल्न प्रेरित गरिएको छ।

उनले कसैको तस्बिर वा अन्य सामग्रीलाई आफूले अस्वीकार गरेको घटनासँग जोडेर प्रस्तुत गरिएको आरोपसमेत लगाए। यस्ता गतिविधिले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा समेत क्षति पुग्न सक्ने उनको भनाइ छ।

उनले कुनै व्यक्तिमाथि अन्याय भएको भए त्यसको अनुसन्धान गर्नु राज्यको दायित्व भएको स्वीकार गरेका छन्। तर अनुसन्धानको नाममा कसैलाई जबर्जस्ती विवादमा तान्ने, धम्की दिने वा सार्वजनिक रूपमा बदनाम गर्ने काम हुन नहुने उनको तर्क छ।

सुनारले आफ्नो वर्तमान अवस्थालाई प्रहरीभित्रको भ्रष्टाचारबारे उठाएको प्रश्नसँग जोड्दै आएका छन्। 

उनले गरिब परिवारका छोराछोरीका लागि आवश्यक सामग्री तथा त्यससँग सम्बन्धित अनियमितताबारे आफूले आवाज उठाएको र त्यसपछि आफूविरुद्ध गतिविधि तीव्र भएको दाबी गरेका छन्।

उनको भनाइमा, सार्वजनिक निकायभित्र हुने अनियमितताबारे प्रश्न उठाउने व्यक्तिलाई नै उल्टै विवादमा तानेर कमजोर पार्ने प्रयास भइरहेको छ।

आफूले उठाएको प्रश्नको जवाफ दिनुको सट्टा आफूलाई बदनाम गर्न खोजिएको उनको आरोप छ।

खगेन्द्र सुनार अडियो काण्ड : आमा-छोराको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि सम्बन्धित महिला र उनका नाबालक छोराको सुरक्षामा ध्यान दिन माग उठेको छ।

अडियोमा एक महिला सांसद तथा पूर्वराज्यमन्त्री र उनका छोरालाई अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको सुनिन्छ। सामग्री सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सुनारको आलोचना भइरहेको छ।

सांसद रामकुमारी झाँक्रीले घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकार र नेपाल प्रहरीलाई आमा–छोराको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। उनले यसलाई सामान्य व्यक्तिगत विवादका रूपमा मात्र लिन नहुने भन्दै महिला र बालकको सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा हेर्नुपर्ने बताएकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत अपराधमा संलग्न व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि सम्भावित जोखिममा रहेका पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखेकी छन्। प्रहरीले तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने र त्यसपछि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

नाबालकलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिने र धम्की दिने कार्य कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने झाँक्रीको भनाइ छ। वयस्कबीचको विवादमा बालबालिकालाई मुछ्न नहुने उल्लेख गर्दै उनले सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित महिला र बालकको सुरक्षामा संवेदनशील हुन आग्रह गरेकी छन्।

झाँक्रीले रास्वपा सभापति रवि लामिछानेको पनि ध्यानाकर्षण गराउँदै पार्टीले घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्। अब सम्बन्धित पक्षको सुरक्षा, घटनाको निष्पक्ष छानबिन र कानुनी जवाफदेहिताबारे प्रहरी तथा पार्टी नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ।

फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (फोटो-फिचर)

काठमाडौं। कुनै समय पूर्वी नेपाल र काठमाडौँबीचको व्यापारिक सेतु बनेको काभ्रेपलाञ्चोकको दाप्चा बजार अहिले सुनसान छ।

नमोबुद्ध नगरपालिकामा पर्ने यो ऐतिहासिक बजारका पुराना घर र गल्ली उस्तै छन्, तर कुनै बेला यहाँ देखिने व्यापारिक चहलपहल भने इतिहास बनेको छ।

बीपी राजमार्ग निर्माण हुनुअघि दाप्चा पूर्वी नेपालबाट काठमाडौँ आउने र काठमाडौँबाट पूर्वतर्फ जाने व्यापारीहरूको प्रमुख बिसौनी थियो। यहाँ दाल, तोरी, गेडागुडी, भटमास, घिउ, खाद्यान्न, नुन र कपडालगायतका सामानको किनबेच हुन्थ्यो। भोजपुर, ओखलढुंगा, सिन्धुली र मिथिला क्षेत्रका मानिस पैदल यात्रा गर्दै व्यापारका लागि दाप्चा आइपुग्थे। काठमाडौँबाट पनि व्यापारीहरू सामानको कारोबार गर्न यहाँ पुग्थे।

भक्तपुरबाट बनेपा हुँदै व्यापार गर्न दाप्चा पुगेका नेवार परिवारले पनि बजारको आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याएका थिए। राणाकालीन समयदेखि नै व्यापारिक केन्द्रका रूपमा विकास भएको दाप्चा विसं २००० को दशकदेखि २०५० सालसम्म निकै गुल्जार बजारका रूपमा चिनिन्थ्यो।

तर, समयसँगै यातायातका नयाँ मार्ग खुले र दाप्चाको व्यापारिक महत्त्व घट्दै गयो। जापान सरकारको सहयोगमा विसं २०५३ मा निर्माण सुरु भएको बीपी राजमार्ग विसं २०७१ मा सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण भएपछि पूर्वी नेपाल र काठमाडौँबीचको आवागमन थप सहज बन्यो। व्यापारी र यात्रुहरू सीधै राजमार्गबाट आउजाउ गर्न थालेपछि दाप्चा ओहोरदोहोर गर्नेहरूको संख्या घट्यो। त्यसको असर बजारको व्यापारमा पनि पर्‍यो।

व्यापार सुस्ताउँदै गएपछि स्थानीय बासिन्दा पनि अन्यत्र बसाइँ सर्न थाले। पछिल्ला दुई दशकमा दाप्चाको पुरानो रौनक क्रमशः हराउँदै गएको छ। कुनै समय मानिसको भीडभाड र कारोबारले भरिने बजार अहिले प्रायः सुनसान देखिन्छ।

बजारमा चहलपहल घटे पनि दाप्चाका पुराना घर, साँघुरा गल्ली र स्थानीय संस्कृतिले विगतको वैभव सम्झाइरहेका छन्। तर, घरधनी अन्यत्र सर्नु र संरक्षणको अभावका कारण ढुंगा–माटोले बनेका कतिपय पुराना घर भत्किन थालेका छन्।

दाप्चाको कथा एउटा बजार सुनसान भएको घटनामात्र होइन, सडक सञ्जालको विस्तारसँगै पुराना व्यापारिक केन्द्रको स्वरूप कसरी बदलिन्छ भन्ने उदाहरण पनि हो।

कुनै समय व्यापारको धड्कन बनेको दाप्चा अहिले आफ्नो इतिहास र पुरानो पहिचान बोकेर परिवर्तनको साक्षी बनिरहेको छ।

 

 

सांसद खगेन्द्रको आपराधिक अडियो सुनेपछि पूर्वसांसद ईश्वरी जिएम भन्छिन्- रगत उम्लिएर आयो

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले एक महिलालाई आपराधिक, अश्लिल र धम्कीपूर्ण अभिव्यक्ति दिएको अडियो सुनिएपछि पूर्वसांसद ईश्वरी जिएमले रगत उम्लिएर आएको बताएकी छन् ।

त्यस्तो अभिव्यक्ति दिनेलाई ‘माननीय पनि के भन्नु’ भन्दै उनले पीडित महिला र उनका छोरालाई तत्काल सुरक्षित ठाउँमा राख्न सरकारसँग माग गरिन् ।

नत्र अडियोमा फिल्मको खलनायक जसरी प्रस्तुत हुने मान्छे (सुनार)ले जे पनि गर्न गर्ने बताएकी छन् ।

उनले सांसद सुनारलाई कारबाहीको माग गर्दै पीडित महिला पूर्वमन्त्री र सांसद नै भए उनीमाथि पनि उनको दलले छानबिन गर्नुपर्ने धारणा राखिन् ।

‘अडियोको निष्पक्ष छानबिन गरेर दोषिलाई कारबाही गर्ने, पीडितलाई न्याय दिने कुरा त छँदैछ,’ उनले फेसबुकमा स्टाटस लेखेर भनिन्, ‘समाचारमा जनाइएअनुसार ती महिला साँच्चै पूर्वमन्त्री र सांसद जिम्मेवार व्यक्ति नै हुन् भने उनिमाथि पनि उनी सम्बद्ध दलले छानबिन गर्नुपर्दछ ।’

अडियो सुन्दा सांसद सुनार र ती महिलाको सम्बन्ध अलिक लामो समयदेखि रहँदै आएको र अन्तिममा सहन नसक्ने भएपछि मात्रै सार्वजनिक गरेको आफूलाई लागेको उनको भनाइ छ ।

छानबिनमा दुबैलाई तान्नुपर्ने बताउँदै जिएमले सुन्नै नसकिने बोलेका खगेन्द्रलाई उनको निर्वाचन क्षेत्रका बहुमत मतदाताले हस्ताक्षर अभियान चलाएर राजीनामा दिने वातावरण बनाउनुपर्ने बताइन् ।

खगेन्द्र सुनारको अश्लिल र धम्कीपूर्ण बोली चिनेनन् हिमेश पन्तले

काठमाडौं । कमेडियनभन्दा रास्वपाको प्रचारक देखिएका हिमेश पन्तले उनकै दलका सांसद खगेन्द्र सुनारको विवादित अडियोमा आवाज नचिनेको बताएका छन् ।

सभापति रवि लामिछाने विगतमा विभिन्न सहकारीबाट ग्यालेक्सी फोरके टेलिभिजनमा बचतकर्ताको अर्बौँ पैसा आएको विषयमा प्रहरीलाई बयान दिँदा ‘थाहा भएन’ भन्थे ।

अहिले पन्तले अडियोमा खगेन्द्रको आवाज भए पनि ‘आवाज चै कसैको चिनिसिएन’ भनेका हुन् ।

उनले पीडित महिलालाई खिसिटिउरी पनि गरेका छन् । ‘आफूमाथि त्यति सारो अन्याय गर्नेलाई पनि कति मिजासले बोलिसेको छ, अडियो हामीले पनि सुनिसियो ।’

पीडित महिला अडियो सुन्दा निकै डराएको सुनिन्छ । सांसद खगेन्द्रबाट ज्यान तलमाथि हुने भय भएको अनुमान गर्न सकिन्छ । किनभने सांसद सुनारले पैसा साँझसम्म नभए रगत खाने भनेको प्रष्ट सुनिन्छ ।

यस्तोमा महिला डराउँदै सम्मानपूर्वक बोलेको विषयलाई रास्वपाको प्रचारक पन्तले पीडित महिलालाई गिज्याएका हुन् ।

अझ उनले मानवीय संवेदनाहीन हुँदै भनेका छन्, ‘भनिसियोस्, गरिसियोस्, हजुरले पिटिसिन्छ, नाङ्गो बनाइसिन्छ, भिडियो बनाइसियो, पैसा मागिसिन्छ, पूर्वमन्त्रीको बोल्ने तरिका राम्रो लाग्यो ।’

महिलाको पीडामा मजाक गर्ने पन्तलाई कमेन्टमा थुप्रैले गाली वर्र्षाएका छन् ।

खगेन्द्र सुनारको धम्कीपूर्ण र आपराधिक अडियोबारे ज्वाला संग्रौला : अश्लिल…सुन्नै नसकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिला नेतृलाई सम्बन्धमा रहँदा अश्लिल भिडियो खिचेको र मारेर रगत खाने भनिएको अडियो सार्वजनिक भएपछि सोही पार्टीकी सांसद ज्वाला संग्रौलाले ‘अश्लिल… सुन्नै नसकिने’ भन्दै टिप्पणी गरेकी छन् ।

हत्तपत्त आफ्ना दलका नेताहरूको विवादित मामिलामा नबोल्ने संग्रौलाले सुनारको हिंसाप्रेरित टेलिफोन धम्कीबारे भने छोटोमा टिप्पणी गरेकी हुन् ।

रगत खानेजस्तो धम्कीपूर्ण शब्द प्रयोगलाई उनले आपराधिक भन्न चाहिनन् । गत वर्षको प्रतिनिधिसभा निर्वाचनअघि उनले खगेन्द्रलाई भेटेकी थिइन् ।

यतिबेला खगेन्द्र गम्भीर विवादमा फसेपछि उनलाई नै लक्षित गरेर संग्रौलाले उनको अभिव्यक्ति अश्लिल भनेकी हुन् ।

सांसद सुनारले आफ्ना् विवादित अडियो सार्वजनिक भएपछि प्रतिक्रिया जनाएका छैनन् ।

अरुबेला उनी आफूसँग सम्बन्धित कुनै पनि विषय सार्वजनिक भए लगत्तै फेसबुकमार्फत् प्रक्रिया जनाइहाल्थे । यसपटक गम्भीर विवादमा फसेपछि उनी मौन देखिएका छन् ।

खगेन्द्र सुनारलाई रास्वपाको ‘अघोषित कारबाही’, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । आफ्नै सांसद खगेन्द्र सुनारको आपराधिक अभिव्यक्तियुक्त अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासनको प्रक्रिया अघि बढाएको छ ।

पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

सुनारबारे सार्वजनिक भएका विषयले पार्टीभित्रै छानबिनको आवश्यकता देखिएको रास्वपाको निर्णयबाट स्पष्ट हुन्छ । यद्यपि, पार्टीले यसलाई औपचारिक कारबाही नभई सत्यतथ्य पत्ता लगाउने प्रक्रियाका रूपमा अघि बढाएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार, केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको छ । अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको हो ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख छ । तर, यी विषयमा सुनार दोषी ठहर भइसकेका छैनन् । छानबिनको निष्कर्ष आउन बाँकी छ ।

रास्वपाले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत काम गर्नेलाई राजनीतिक संरक्षण नदिने पार्टीको भनाइ छ ।

सुनार प्रकरणमा अब रास्वपाको आन्तरिक छानबिन कति निष्पक्ष हुन्छ र त्यसको निष्कर्षका आधारमा पार्टीले कस्तो निर्णय लिन्छ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । सार्वजनिक रूपमा सुशासन र जवाफदेहिताको पक्षमा उभिने पार्टीका लागि आफ्नै सांसदसम्बन्धी विषयमा लिने निर्णय पनि परीक्षाको विषय बनेको छ ।

रास्वपा सांसद खगेन्द्र सुनार गम्भीर विवादमा, महिला नेतृको नग्न तस्बिर खिचेर मार्ने धम्की !

काठमाडौं । महिलामाथि धम्की दिएको, अश्लील गालीगलौज गरेको र पैसा मागेर दबाब दिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा परेका छन्।

जनआस्थाले सार्वजनिक गरेको विवरणमा सुनारसँग जोडिएका चारवटा अडियो संवादमा महिलालाई धम्की दिएको र पैसाको मागेको सुनिन्छ ।

विवरणअनुसार, ती महिलाले सुनारमाथि आफ्नो नग्न भिडियो बनाएको र त्यसपछि आफूलाई निरन्तर दुःख दिएको बताएकी छन् । अडियो संवादमा महिलाले आफ्नो पीडा सुनाउँदै यस्तो व्यवहार कहिलेसम्म सहने भन्दै प्रश्न गरेको सुनिन्छ।

सुनारले महिलालाई अश्लील शब्द प्रयोग गर्दै धम्क्याएको र पैसा मागेको सुनिन्छ। फोन संवादमा महिलाको फेसबुक खाता निष्क्रिय गरेको विषयमा सुनार आक्रोशित भएको र खाता पुनः सक्रिय नगरे परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेकी ती महिलालाई अडियोमा तत्काल राजीनामा दिन निर्देशन दिएको सुनिन्छ । महिलाले आफ्नो नग्न भिडियो बनाएको विषय उठाउँदा पनि आफूलाई किन यातना दिइरहेको भन्दै प्रश्न गरेकी छन्।

अडियोमा आपत्तिजनक अभिव्यक्ति

सार्वजनिक विवरणअनुसार, संवादमा महिलाले पैसा दिन नसकेको भन्दै आफूलाई दबाब दिइएको गुनासो गरेकी छन्। त्यसपछि सुनारले पैसा चाहिएको र साँझसम्म उपलब्ध गराउनुपर्ने चेतावनी दिएका छन् ।

अर्को संवादमा महिलालाई अपमानजनक शब्द प्रयोग गरेको र बलात्कारसम्बन्धी आपत्तिजनक टिप्पणी गरे।
यी संवादले सार्वजनिक पदमा रहेका व्यक्तिको भाषा र व्यवहारबारे प्रश्न उठाएका छन्।

अडियो सार्वजनिक भएपछि सुनारको भूमिकाबारे प्रश्न उठेका छन्। उनको प्रतिक्रिया लिन खोज्दा फोन अफ थियो। रास्वपाका प्रवक्ता जगदीश खरेलले पनि तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे।
गम्भीर आरोप सार्वजनिक भएपछि सम्बन्धित सांसदले आफ्नो धारणा राख्नु र पार्टीले घटनाबारे स्पष्ट पार्नु आवश्यक हुन्छ। आरोप लागेकै आधारमा दोषी ठहर गर्न मिल्दैन। तर आरोपको निष्पक्ष छानबिनबाट पन्छिनु पनि उचित हुँदैन।

सुनारसँग जोडिएको अडियोको सत्यता के हो? महिलाले लगाएका आरोपको वास्तविकता के हो? पैसा मागिएको भनिएको संवादको सन्दर्भ के हो? यी प्रश्नको उत्तर प्रमाण र निष्पक्ष अनुसन्धानबाट आउनुपर्छ।

जनताको प्रतिनिधि भएकाले सुनारले उठेका प्रश्नको तथ्यपूर्ण जवाफ दिनु र रास्वपाले निष्पक्ष छानबिनमा सहयोग गर्नु आवश्यक छ।

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

काठमाडौं । नेकपा संयुक्तका नेता डा.विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउने क्रममा पौडेलको निधन भएको हो।

एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट अलग भएको समूहसँगै एकीकृत समाजवादीमा आबद्ध भएका थिए। त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए।

साथै,पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए।

केयर गिभर ठगी प्रकरण : विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । केयर गिभरका रूपमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस प्रकरणमा खड्कासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा कांग्रेस नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।

अदालतले खड्कालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गरेको छ । अन्य प्रतिवादीको बयानमा समेत खड्काको संलग्नताबारे स्पष्ट पोल खुलेको नदेखिएको र पीडितहरूले दिएको जाहेरीमा उनले रकम लिएको वा ठगीमा संलग्न रहेको पुष्टि गर्ने तथ्य उल्लेख नभएको आदेशमा जनाइएको छ ।

सीआईबीले सुरुमा पक्राउ परेका व्यक्तिहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र घटना संगठित रूपमा भएको देखिएपछि प्रहरीले संगठित अपराधको कसुरसमेत जोडेर अनुसन्धान विस्तार गरेको थियो ।

अदालतको आदेशले खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न बाटो खुले पनि यसले उनीमाथिको अनुसन्धान अन्त्य भएको वा आरोपबाट सफाइ पाएको भने जनाउँदैन ।

अर्थशास्त्रमा हल र उडफोर्डले पाए नोबेल पुरस्कार

काठमाडौं। अर्थशास्त्रतर्फको सन् २०२६ को नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

समष्टिगत आर्थिक स्थिरता कायम गर्न आवश्यक नीतिको व्यष्टिगत आर्थिक आधार विकासमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई यो प्रतिष्ठित सम्मान दिइएको हो ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले सोमबार पुरस्कार घोषणा गर्दै दुवै अर्थशास्त्रीको अनुसन्धानले आर्थिक स्थिरीकरणका नीति प्रभावकारी बनाउन महत्त्वपूर्ण आधार दिएको जनाएको छ । उनीहरूको कामले अर्थतन्त्रमा आउने तीव्र उतारचढावलाई बुझ्न र त्यसको प्रभाव कम गर्न सरकार तथा केन्द्रीय बैंकले अपनाउने नीतिलाई थप व्यवस्थित बनाउन सहयोग गरेको छ ।

अर्थतन्त्रको समग्र अवस्था बुझ्न कुल उत्पादन, रोजगारी, मुद्रास्फीति र ब्याजदरजस्ता सूचक हेरिन्छन् । तर यी सूचकमा हुने परिवर्तनको पछाडि लाखौँ घरपरिवार र व्यवसायले गर्ने व्यक्तिगत निर्णयहरू पनि जिम्मेवार हुन्छन् ।

घरपरिवारले कति खर्च गर्ने, कति बचत गर्ने र भविष्यमा आम्दानी कस्तो होला भनेर के अपेक्षा गर्ने भन्ने निर्णयले बजारको मागमा असर पार्छ । त्यसैगरी व्यवसायले लगानी गर्ने वा नगर्ने, उत्पादन बढाउने वा घटाउने र कामदार नियुक्त गर्ने निर्णयले समग्र आर्थिक गतिविधि प्रभावित हुन्छ ।

हल र उडफोर्डको अनुसन्धानले यस्ता व्यक्तिगत निर्णय र समग्र अर्थतन्त्रबीचको सम्बन्ध बुझ्न मद्दत गर्ने आर्थिक मोडलहरूको विकासमा योगदान पुर्‍याएको छ । यसले समष्टिगत अर्थतन्त्रलाई केवल ठूला आर्थिक सूचकका आधारमा नभई ती सूचक निर्माण गर्ने व्यक्तिगत व्यवहारसमेत समेटेर विश्लेषण गर्न सकिने आधार बलियो बनाएको छ ।

अर्थतन्त्र सधैँ एउटै गतिमा अघि बढ्दैन । कुनै बेला उत्पादन र रोजगारी बढ्छन् भने कुनै बेला माग घट्छ, व्यवसायको लगानी सुस्ताउँछ र बेरोजगारी बढ्न सक्छ । अर्कोतर्फ, वस्तु तथा सेवाको मूल्य तीव्र रूपमा बढ्दा सर्वसाधारणको क्रयशक्ति कमजोर हुन्छ ।

यस्तो अवस्थामा सरकारले बजेट, कर र सार्वजनिक खर्चमार्फत वित्तीय नीति अपनाउन सक्छ । केन्द्रीय बैंकले ब्याजदर तथा अन्य मौद्रिक उपकरण प्रयोग गरेर आर्थिक गतिविधि र मूल्यवृद्धिमा प्रभाव पार्न सक्छ । तर यस्ता कदमको प्रभाव तत्काल र सबै क्षेत्रमा समान रूपमा देखिँदैन ।

आर्थिक मोडलहरूले नीतिगत निर्णयले घरपरिवार, व्यवसाय, लगानी र उपभोगमा कस्तो प्रभाव पार्न सक्छ भन्ने अनुमान गर्न सहयोग गर्छन् । हल र उडफोर्डको अनुसन्धानले यस्ता निर्णयको विश्लेषण गर्ने सैद्धान्तिक आधारलाई थप मजबुत बनाएको छ ।

उदाहरणका लागि, आर्थिक गतिविधि सुस्त भएको अवस्थामा ब्याजदर घटाउँदा ऋण लिन र लगानी गर्न प्रोत्साहन मिल्न सक्छ । तर मुद्रास्फीति उच्च भएको अवस्थामा ब्याजदर बढाउँदा मागको चाप कम गर्न सहयोग पुग्न सक्छ । कुन अवस्थामा कस्तो कदम उपयुक्त हुन्छ भन्ने निर्भरता अर्थतन्त्रको परिस्थिति, जनताको अपेक्षा र नीतिको सम्भावित प्रभावमा रहन्छ ।

हल र उडफोर्डको काम आधुनिक समष्टिगत अर्थशास्त्रको विकाससँग सम्बन्धित छ । विशेषगरी न्यु किन्सियन आर्थिक विश्लेषणमा व्यक्तिगत निर्णय, भविष्यप्रतिको अपेक्षा र मूल्य तथा ज्यालामा हुने परिवर्तनको ढिलाइलाई समेटेर मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव बुझ्ने प्रयास गरिन्छ ।

यस दृष्टिकोणअनुसार केन्द्रीय बैंकले ब्याजदर परिवर्तन गर्दा त्यसको प्रभाव ऋण र लगानीमा मात्र सीमित हुँदैन । भविष्यमा मूल्य कति बढ्ला, आम्दानी कस्तो होला र आर्थिक अवस्था कता जाला भन्ने मानिस तथा व्यवसायको अपेक्षाले पनि उनीहरूको निर्णय प्रभावित हुन्छ ।

त्यसैले नीतिगत घोषणाको विश्वसनीयता र भविष्यमा सरकार तथा केन्द्रीय बैंकले के गर्छन् भन्ने अपेक्षा महत्त्वपूर्ण हुन्छ । आर्थिक मोडलले यी पक्षलाई समेट्दा नीति निर्माताले सम्भावित परिणामको आकलन गर्न थप सहयोग पाउँछन् ।

कोभिड–१९ महामारी, ऊर्जा मूल्यमा आएको उछाल र विश्वव्यापी आपूर्ति अवरोधजस्ता घटनाले विभिन्न देशका अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरेका थिए । यस्ता परिस्थितिमा सरकार र केन्द्रीय बैंकले आर्थिक गतिविधि, रोजगारी र मूल्यवृद्धिबीच सन्तुलन कायम गर्न कठिन निर्णय लिनुपरेको थियो ।

आधुनिक समष्टिगत आर्थिक मोडलहरूले सङ्कटका सम्भावित प्रभाव विश्लेषण गर्न र नीतिगत विकल्पबीच तुलना गर्न मद्दत गर्छन् । यद्यपि, कुनै एउटा मोडलले मात्रै आर्थिक सङ्कटको समाधान गर्दैन । नीतिको प्रभाव देशको अवस्था, सङ्कटको प्रकृति र समयमै चालिएका कदममा समेत निर्भर हुन्छ ।

अर्थशास्त्रतर्फको पुरस्कारको औपचारिक नाम ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सब्याङ्क पुरस्कार’ हो । यो पुरस्कार सन् १९६९ देखि प्रदान गर्न थालिएको हो ।

विज्ञान, साहित्य र शान्तितर्फका मूल नोबेल पुरस्कारसँगै प्रदान गरिए पनि अर्थशास्त्रको पुरस्कार अल्फ्रेड नोबेलको मूल इच्छापत्रमा उल्लेख गरिएका पाँच पुरस्कारमध्ये पर्दैन ।

हल र उडफोर्डलाई प्रदान गरिएको यस वर्षको सम्मानले अर्थतन्त्रको स्थिरता कायम गर्न व्यक्तिगत आर्थिक निर्णय र समग्र नीतिबीचको सम्बन्ध बुझ्नु कति महत्त्वपूर्ण छ भन्ने कुरालाई फेरि उजागर गरेको छ।

पाकिस्तानमा तनाव : इमरान खानको पार्टीका २७८ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

खानको रिहाइको माग गर्दै भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा राजनीतिक तनाव थप चुलिएको हो ।

दुई प्रहरी अधिकारीका अनुसार आइतबारदेखि पीटीआईका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिन थालिएको हो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले प्रदर्शनपछि प्रान्तीय सुरक्षा व्यवस्थामा कडाइ गरिएको र पार्टीका सदस्यहरूलाई हिरासतमा राखिएको जानकारी दिएका छन् ।

खानका समर्थकहरूले उनको रिहाइको मागसँगै देशको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रासहित विरोध कार्यक्रममा सहभागी भइरहेका बेला सरकारले प्रान्तमा आपत्कालीन शासन लागू गर्ने निर्णय गरेको हो ।

राजनीतिक विरोध चर्किरहेका बेला खैबर पख्तुनख्वामा सुरक्षा चुनौतीसमेत बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँग जोडिएको सीमावर्ती क्षेत्रमा आतङ्कवादी हिंसाका घटना बढेको भन्दै पाकिस्तानी अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । सङ्घीय सरकारले प्रान्तीय प्रशासनले सुरक्षा चुनौती नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको आरोप लगाएको छ ।

पीटीआईले खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई पनि पक्राउ गरिएको जनाएको छ । राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि उनलाई नियन्त्रणमा लिइएको पार्टीको दाबी छ ।

एक प्रशासनिक अधिकारीका अनुसार अफ्रिदीलाई सुरुमा उनको आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखिएको थियो । त्यसपछि उनलाई अर्को स्थानमा सारिएको बताइए पनि ती अधिकारीले मुख्यमन्त्रीलाई कहाँ लगिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री नै नियन्त्रणमा परेको घटनाले प्रान्तको राजनीतिक अवस्थालाई थप संवेदनशील बनाएको छ । पीटीआईको बलियो जनाधार रहेको खैबर पख्तुनख्वामा पार्टी नेतृत्वको प्रान्तीय सरकार र सङ्घीय सरकारबीचको टकराव अब संवैधानिक विवादका रूपमा समेत अघि बढेको छ ।

पाकिस्तानको सङ्घीय सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म प्रान्तीय प्रशासनले प्रभावकारी रूपमा काम गर्न नसक्ने जनाएको छ । आतङ्कवादी गतिविधि नियन्त्रण गर्न प्रान्तीय नेतृत्व असफल भएको आरोप लगाउँदै उसले आपत्कालीन शासन आवश्यक भएको दाबी गरेको छ ।

तर, पीटीआईले सरकारको कदमलाई अस्वीकार गरेको छ । पार्टीले असाधारण संवैधानिक उपायको विरोध गर्दै यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारद्वारा प्रान्तीय सत्ता नियन्त्रणमा लिने प्रयासका रूपमा व्याख्या गरेको छ । यसरी सङ्घीय सरकार र पीटीआईबीचको विवाद सुरक्षा व्यवस्थापनको विषयबाट राजनीतिक अधिकार र संवैधानिक प्रक्रियासम्म फैलिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । पूर्वक्रिकेट खेलाडीसमेत रहेका खानको राजनीतिक यात्रा पछिल्ला वर्षमा कानुनी विवाद, विरोध प्रदर्शन र सरकारसँगको संघर्षले प्रभावित हुँदै आएको छ ।

सन् २०२३ मेमा सरकार तथा सैन्य प्रतिष्ठानको विरोधमा भएका हिंसात्मक प्रदर्शनपछि खानले भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहेका छन् । ती घटनापछि उनका समर्थक र सुरक्षा निकायबीच तनाव बढेको थियो । खानको गिरफ्तारी र उनीविरुद्धका कानुनी कारबाहीले पाकिस्तानी राजनीतिमा लामो समयदेखि विवाद सिर्जना गर्दै आएको छ ।

खान र उनको कानुनी टोलीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै ती राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएका छन् । पीटीआईले पनि खानलाई जेलमा राखिएको र उनका समर्थकविरुद्ध कारबाही गरिएको विषयलाई राजनीतिक दमनका रूपमा प्रस्तुत गर्दै आएको छ ।

खैबर पख्तुनख्वामा आपत्कालीन शासन लागू गर्ने निर्णयले पाकिस्तानमा सुरक्षा र राजनीतिक अधिकारबीचको बहसलाई फेरि सतहमा ल्याएको छ । सङ्घीय सरकारको तर्क आतङ्कवादी गतिविधि नियन्त्रण र प्रशासनिक प्रभावकारितामा केन्द्रित छ भने पीटीआईले निर्वाचित प्रान्तीय नेतृत्वलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाएको छ ।

ओलीकै कमाण्डमा चुनावी मैदानमा उत्रिने एमालेको तयारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धक्का बेहोरेपछि नेकपा एमाले आगामी स्थानीय तह निर्वाचनबाट राजनीतिक शक्ति फर्काउने तयारीमा जुटेको छ।

नेतृत्व परिवर्तनको बहसलाई थाती राख्दै अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा चुनावी अभियान अघि बढाउने र संगठनभित्रका कमजोरी सच्याएर जनमत फर्काउने एमालेको योजना छ ।

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएपछि एमालेमाथि नेतृत्व र कार्यशैली सुधार्नुपर्ने दबाब परेको थियो । पार्टीभित्रै ओलीको राजीनामा र नेतृत्व पुनर्गठनको आवाज उठे पनि संस्थापन पक्षले अहिले नेतृत्व परिवर्तनभन्दा संगठन सुदृढीकरण र आन्तरिक एकतालाई प्राथमिकतामा राखेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेले ७५३ पालिकामध्ये २०७ वटामा प्रमुख पद जितेको थियो । आगामी निर्वाचनमा उक्त परिणाम सुधार्ने लक्ष्यसहित पार्टीले दसैँ–तिहारलगायतका चाडपर्वपछि संगठनात्मक गतिविधि तीव्र बनाउने तयारी गरेको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीले जनतासँग बिग्रिएको सम्बन्ध सुधार्ने, आन्तरिक एकता कायम गर्ने र वडा तथा पालिका अधिवेशनमार्फत युवालाई नेतृत्वमा ल्याउने रणनीति बनाएको छ । नयाँ पुस्तालाई पार्टीका कमिटीमा जोडेर उनीहरूलाई स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर दिन खोजिएको उनको भनाइ छ ।

एमालेको केन्द्रीय कमिटीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा अघि सारेको छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारको विरोध मात्रै नगर्ने, आफ्ना कमजोरी सच्याउने, संगठन पुनर्निर्माण गर्ने र जनतामाझ नयाँ विश्वास स्थापित गर्ने नीति लिएको जनाएको छ ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा सफलता हासिल गर्न सिंगो पार्टी योजनाबद्ध रूपमा परिचालित हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा पार्टीलाई पराजित गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ । यद्यपि, चुनावी परिणाम सुधार्न नेतृत्वको निरन्तरता मात्रै पर्याप्त नहुने भएकाले जनतासँगको सम्बन्ध र संगठनात्मक कमजोरी सुधार्नुपर्ने चुनौती एमालेसामु छ ।

पार्टीभित्र एकताको सन्देश दिने प्रयासस्वरूप एमालेले स्थायी कमिटी गठन तथा केन्द्रीय कमिटीमा मनोनयनको काम अघि बढाएको छ । विद्या भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ भने अध्यक्ष ओलीसँग महाधिवेशनमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेललाई पनि स्थायी कमिटीमा समेटिएको छ । सबै धारका नेताहरूलाई पार्टी निर्माण र चुनावी अभियानमा जोडेर संगठनलाई एकढिक्का बनाउने संस्थापन पक्षको प्रयास छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार बदलिँदो जनमत र युवाको राजनीतिक मनोविज्ञानलाई सम्बोधन नगरी निर्वाचनमा सफलता हासिल गर्न कठिन हुन्छ । त्यसैले संगठनलाई चलायमान र युवामैत्री बनाउने नीति अघि सारिएको उनले बताएका छन् ।

अर्का सचिव भानुभक्त ढकालले पनि स्थानीय तहमा नयाँ नेतृत्व विकास र जनसम्बन्ध विस्तारलाई पार्टीको प्राथमिकता रहेको बताएका छन् । उनका अनुसार मंसिर र पुसमा वडा तथा पालिका अधिवेशन गरेर तल्लो तहको नेतृत्व चयन गरिनेछ । त्यसपछि पालिका तथा वडाका नेतृत्व सहभागी हुने प्रदेशस्तरीय भेला आयोजना गरी चुनावी अभियानलाई थप सक्रिय बनाउने योजना छ ।

वडा र पालिका अधिवेशनबाट आउने नयाँ नेतृत्वको सुझाव र सिफारिसका आधारमा उम्मेदवार छनोट गर्ने एमालेको तयारी छ । चुनावी प्रचारमा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरूलाई परिचालन गरिने पनि ढकालले बताएका छन् ।

स्थानीय निर्वाचनमा एमालेले विगतका कमजोरी स्वीकार्ने, जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने र बदलिएको राजनीतिक परिस्थितिबारे मतदातालाई बुझाउने दाबी गरेको छ ।

बाढीबाट जोगिएका सामान सुरक्षित स्थानमा सार्दै स्याउली बजारका बासिन्दा

काठमाडौं। त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका घरायसी सामान सुरक्षित स्थानमा सार्न जुटेका छन्।

बाढीका कारण प्रभावित स्थानीयवासी घर छाड्न बाध्य भएका छन्। उनीहरू अहिले चुलिदेवी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।

आफ्नो ज्यान जोगाउँदै बाढीबाट बचाउन सकिएका लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्री संकलन गरेर सुरक्षित स्थानमा पुर्‍याउने काममा स्थानीयवासी जुटिरहेका छन्। बाढीले घरमा क्षति पुर्‍याएपछि उनीहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामग्री जोगाउनसमेत कठिन भएको छ।

घर छाड्न बाध्य भएका स्थानीयका लागि चुलिदेवी माध्यमिक विद्यालय अहिले अस्थायी आश्रयस्थल बनेको छ। त्यहाँ प्रभावित परिवारका लागि खाना र बासको व्यवस्था मिलाइएको छ।

 

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको दबदबा,अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन् । २ हजार ८९ मत गणना हुँदा खतिवडा प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

निर्वाचन समितिका अनुसार खतिवडालाई पछ्याइरहेका अजयबाबु सिवाकोटीले ६९२ मत पाएका छन् । डिल्लीराम सुवेदीले ५१९, देवेन्द्रराज कँडेलले ४१८, विकास कोइरालाले ३४९ र रमेशप्रसाद धमलाले २४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, अमृतकुमार अर्यालले २०९ र राजीव ढुङ्गानाले २०३ मत पाएका छन् । विमलराज क्षेत्री भने ७७ मतसहित सबैभन्दा पछाडि छन् ।

खुलातर्फ सहमहामन्त्री पदमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार निर्वाचित हुनेछन् ।

भारततर्फ लागे गृहमन्त्री सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । बिमस्टेक बैठकमा सहभागी हुन उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा नेपालसहित सात देशका गृहमन्त्री सहभागी हुँदैछन् ।

बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ ।

क्षेत्रीय सहकार्यका विषयमा छलफल हुने बैठकमा सहभागी हुन गुरुङ भारत जान लागेका हुन् ।

गोरखाबाटै किन आउँछ फूलपाती?

काठमाडौं। दसैंको सप्तमी अर्थात् फूलपाती। बिहानैदेखि काठमाडौंको हनुमानढोका क्षेत्रमा चहलपहल हुन्छ। बाजागाजा, सैनिक टोली तयार र सर्वसाधारणको भीड हुन्छ। त्यतिबेला सबैको प्रतीक्षामा एउटै कुराको हुन्छ; गोरखाबाट ल्याइने  फूलपातीको।

गोरखाबाट काठमाडौंसम्म फूलपाती ल्याउने यो चलन आजको होइन। यसको इतिहास नेपालको राज्य विस्तार, शाहवंश र काठमाडौं विजयसँग जोडिएको छ। अझ रोचक कुरा, काठमाडौंमा फूलपाती भित्र्याउने चलन गोरखाबाट सुरु भएको पनि होइन। तर पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि हनुमानढोकाको राजकीय दसैंमा गोरखाको फूलपातीले विशेष स्थान पायो।

गोरखा दरबारमा फूलपाती भित्र्याउने परम्परा शाहवंशको प्रारम्भिक समयदेखि नै रहेको बताइन्छ। यसको सुरुवातबारे भने फरक फरक भनाइ छन्।

गोरखाका स्थानीय जानकार तथा दरबारसँग सम्बन्धित व्यक्तिहरूले द्रव्य शाहको पालादेखि नै फूलपाती भित्र्याउने परम्परा रहेको बताउने गरेका छन्। अर्कोतर्फ इतिहासकारहरू राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपछि त्यहाँबाट फूलपाती ल्याउने चलन चलेको बताउँछन्। 

यीमध्ये कतिपय कुरा लिखित इतिहासभन्दा स्थानीय अनुश्रुतिमा आधारित छन्। त्यसैले फूलपातीको सुरुवात ठ्याक्कै यही राजा वा यही वर्षबाट भयो भनेर निष्कर्ष निकाल्न कठिन छ। तर एउटा कुरा स्पष्ट छ। गोरखा दरबारमा शाहवंशको प्रारम्भिक कालदेखि नै दसैं र फूलपातीको विशेष परम्परा थियो।

गोरखामा फूलपाती भन्नाले फूल मात्र बुझिँदैन। विभिन्न शुभ वनस्पति तथा कृषि उत्पादन मिलाएर तयार गरिने नवपत्रिकालाई फूलपातीका रूपमा पूजा गरिन्छ।

यसको सम्बन्ध गोरखाको धार्मिक परम्परा र गोरखाकालीसँग पनि छ। शाहवंशका लागि गोरखा केवल एउटा राजनीतिक केन्द्र थिएन, धार्मिक र पुर्ख्यौली थलो पनि थियो।

यसको उत्तर पृथ्वीनारायण शाहसँग जोडिन्छ।

गोरखाबाट राज्य विस्तार गर्दै पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरे। काठमाडौं विजयपछि यहीँबाट शासन सञ्चालन हुन थाल्यो। नयाँ राजनीतिक राजधानी बनेपछि गोरखामा चलिआएका राजकीय परम्परा पनि काठमाडौंमा सर्दै गए।

दसैंको परम्परा पनि त्यसैको एउटा हिस्सा बन्यो।

गोरखामा शाहवंशको पुर्ख्यौली दरबारमा पूजा गरिने देवी तथा दसैंसँग सम्बन्धित परम्परालाई हनुमानढोका दरबारमा पनि निरन्तरता दिइयो। त्यसै क्रममा गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकाको दसैंघरमा भित्र्याउने चलन स्थापित भएको मानिन्छ।

यसलाई एउटा सांस्कृतिक सम्बन्धका रूपमा पनि बुझ्न सकिन्छ। राजधानी काठमाडौंमा पुगे पनि शाहवंशको धार्मिक जरा गोरखामै थियो। त्यसैले गोरखाको फूलपाती काठमाडौंको राजदरबारमा पुग्न थाल्यो।

फूलपातीको इतिहासमा यो पक्ष कम चर्चा हुने गर्छ।

पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नुअघि पनि हनुमानढोकामा फूलपाती भित्र्याउने परम्परा रहेको सांस्कृतिक अध्ययनहरूमा उल्लेख छ। त्यसबेला गुठ्येश्वर क्षेत्रबाट फूलपाती ल्याउने गरिएको बताइन्छ।

अर्थात् काठमाडौंमा फूलपाती भित्र्याउने चलन गोरखाले सुरु गरेको होइन।

पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि भने त्यसको राजकीय स्वरूपमा परिवर्तन आयो। गोरखाको शाहदरबारमा चलिआएको फूलपाती परम्परा हनुमानढोकासँग जोडियो।

यसरी काठमाडौंको पुरानो दसैं परम्परामा गोरखाको राजकीय परम्परा मिसियो।

यसको अर्थ धार्मिक मात्र छैन।

गोरखा शाहवंशको पुर्ख्यौली थलो थियो। त्यहीँबाट पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान अघि बढाए। काठमाडौं विजयपछि राजधानी काठमाडौंमा आयो।

त्यसैले गोरखाबाट फूलपाती काठमाडौं आउनु भनेको एउटा अर्थमा पुरानो राजकीय केन्द्रबाट नयाँ राजकीय केन्द्रमा परम्परा सर्नु पनि हो।

गोरखाको दरबारमा पूजिएको फूलपाती हनुमानढोकामा ल्याएर चढाउँदा गोरखा र काठमाडौंबीचको त्यो ऐतिहासिक सम्बन्ध पनि प्रत्येक वर्ष सम्झिइन्छ।

गोरखाबाट आउने फूलपाती वास्तवमा विभिन्न वनस्पतिको संयोजन हो। यसलाई नवपत्रिका पनि भनिन्छ।

परम्पराअनुसार केरा, दारिम, अशोक, धान, सामा, हलेदो, उखु, बेललगायतका वनस्पति प्रयोग गरिन्छ। देवीको पूजा गर्दा यी सामग्रीलाई शुभ मानिन्छ।

गोरखा दरबारमा विधिपूर्वक पूजा गरेपछि फूलपाती हनुमानढोकाका लागि पठाइन्छ।

अहिले गोरखाबाट काठमाडौं आउन केही घण्टा मात्र लाग्छ। पहिले अवस्था त्यस्तो थिएन।

गोरखाबाट फूलपाती बोकेर मानिसहरू पैदलै हिँड्थे। परम्परागत रूपमा गोरखाबाट धादिङको जीवनपुरसम्म फूलपाती ल्याइन्थ्यो। त्यहाँबाट काठमाडौंको टोलीले जिम्मा लिएर जमलसम्म ल्याउने र जमलबाट हनुमानढोकासम्म पुर्‍याउने चलन थियो।

यो सामान्य यात्रा थिएन। बाटोमा विभिन्न ठाउँमा फूलपातीको स्वागत हुन्थ्यो। जमल पुगेपछि बाजागाजा र सैनिक टोलीसहित फूलपातीलाई हनुमानढोका भित्र्याइन्थ्यो।

सडक विस्तार भएपछि पैदल यात्राको ठाउँ गाडीले लिएको छ। तर फूलपाती ल्याउने मूल परम्परा भने कायमै छ।

फूलपातीको यो परम्परा राजतन्त्रसँग निकै नजिक थियो। राजाको पालामा हनुमानढोकामा हुने फूलपाती समारोहमा राजपरिवारको विशेष सहभागिता हुन्थ्यो।

तर २०६५ सालमा नेपाल गणतन्त्रमा गएपछि पनि यो परम्परा रोकिएन।

बरु यसको अर्थ विस्तार भयो। पहिले राजकीय समारोहका रूपमा हेरिने फूलपाती अहिले राष्ट्रिय सांस्कृतिक परम्पराका रूपमा निरन्तर छ।

शासन व्यवस्था बदलियो। राजा रहेनन्। तर गोरखाबाट हनुमानढोका आउने फूलपातीको यात्रा रोकिएन।

दसैं आफैंमा विजयको पर्व हो। देवीले महिषासुरमाथि विजय प्राप्त गरेको कथासँग दसैं जोडिन्छ।

पुरानो राजकीय परम्परामा दसैंको समय राजा र राज्यको विजयसँग पनि जोडिन्थ्यो। त्यसैले फूलपातीलाई केवल धार्मिक सामग्रीका रूपमा होइन, विजय र शुभताको प्रतीकका रूपमा पनि बुझिन्छ।

गोरखाको सन्दर्भमा यो अर्थ अझ गहिरो देखिन्छ। यही गोरखाबाट पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान सुरु गरेका थिए। काठमाडौं विजयपछि नयाँ राजधानी बनेको थियो।

त्यसैले गोरखाबाट काठमाडौं आउने फूलपातीमा धर्म, राजकीय इतिहास र राज्य विस्तारको स्मृति तीनवटै जोडिएका छन्।

हरेक वर्ष दसैंमा घरघरमा फूलपाती भित्र्याइन्छ। कतिपयका लागि यो परम्परा मात्र हो। तर हनुमानढोकामा गोरखाबाट आउने फूलपातीको प्रसङ्ग अलि फरक छ।

यसमा गोरखाको पुरानो दरबार छ। गोरखाकालीको धार्मिक परम्परा छ। शाहवंशको इतिहास छ। पृथ्वीनारायण शाहको काठमाडौं विजय छ। राजधानी परिवर्तनको गाथा जोडिएको छ।

र सबैभन्दा महत्वपूर्ण कुरा, राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको यतिका वर्षपछि पनि त्यो परम्परा जीवित छ।

त्यसैले गोरखाबाट काठमाडौं आउने फूलपातीलाई केवल पूजा सामग्री भनेर हेर्नुभन्दा नेपालको राजनीतिक र सांस्कृतिक इतिहास बोकेको एउटा जीवित परम्पराका रूपमा बुझ्न सकिन्छ।

हरेक वर्ष सप्तमीमा गोरखाबाट काठमाडौं आइपुग्ने फूलपातीले यही पुरानो सम्बन्धलाई फेरि एकपटक सम्झाउँछ। राजधानी बदलियो, शासन व्यवस्था बदलियो, तर इतिहाससँग जोडिएको एउटा सांस्कृतिक यात्रा अझै जारी छ।

प्रहरी निरीक्षकलाई प्रधानमन्त्री शाहको निर्देशन : दबाब र प्रभावमा नपर्नू, व्यक्तिगत स्वार्थमा नलाग्नू

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

उनले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि प्रहरी अधिकृतहरूलाई सचेत गराएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिमको १ देखि १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्रहरी सेवाको सफलताको मुख्य आधारका रूपमा प्रस्तुत गरे।

उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही भएर काम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरे। प्रहरी सेवामा आबद्ध सबैले पेशागत आचरण कायम राख्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपाल प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान गर्नु र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्नु रहेको उल्लेख गरे। यी जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढंगले कर्तव्यमा अडिग रहनुपर्ने उनले बताए।

प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुका साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक क्षमता उनीहरूले हासिल गरेको विश्वास व्यक्त गर्दै उनले सफल कार्यकालको शुभकामना दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्तिसमेत परिवर्तन हुँदै गएको उल्लेख गरे। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

सूचना प्रविधिले प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्ने भन्दै उनले यसको प्रभावकारी प्रयोगमा जोड दिए। यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

प्रधानमन्त्री शाहले प्रहरी संगठनको नेतृत्व, प्रशिक्षक तथा समग्र संगठनको भूमिका पनि व्यावसायिक प्रहरी सेवा निर्माणका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे।

समारोहमा उनले प्रहरी निरीक्षकहरूलाई असल कर्ममार्फत आफ्नो भविष्य र संगठनको प्रतिष्ठा निर्माण गर्न आग्रह गरे।

तालिम पूरा गरी प्रहरी सेवामा प्रवेश गर्न लागेका अधिकृतहरूका अभिभावक तथा परिवारजनप्रति आभार व्यक्त गर्दै उनले समारोह आयोजना गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद दिए।

तीन राजमार्ग सुधार्न एडीबीको ४७ अर्ब सहायता, कहाँ कति खर्च हुँदैछ?

काठमाडौं। नेपालका तीन प्रमुख राजमार्ग सुधार्न एडीबीले करिब ४७ अर्ब रुपैयाँ बराबरको सहायता स्वीकृत गरेको छ।

नारायणगढ–हेटौंडा सडक चार लेनमा विस्तार हुने, मुग्लिन–आँबुखैरेनीमा दुईवटा नयाँ पुल बन्ने र कर्णाली राजमार्गको जोखिमपूर्ण सडक सुधार गरिने योजना छ।

नेपालका तीन प्रमुख राजमार्गको स्तरोन्नति र सडक सुरक्षा सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब ४७ अर्ब रुपैयाँ बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ।

यसअन्तर्गत पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र कर्णाली राजमार्गमा सुधारका काम गरिनेछन्। कुल सहायतामध्ये २८ करोड ५० लाख डलर ऋण, दुई करोड डलर अनुदान र सात लाख ५० हजार डलर प्राविधिक सहायता रहेको छ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौंडा खण्डको ७० किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्ने योजना छ। यसका लागि २४ करोड ५० लाख डलर छुट्याइएको छ। टिकौली जंगलमा वन्यजन्तुको सुरक्षित आवागमनका लागि करिब दुई किलोमिटर लामो एलिभेटेड भायडक्ट पनि निर्माण गरिने योजना छ।

त्यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको ८.७ किलोमिटर सडक विस्तारका लागि तीन करोड डलर छुट्याइएको छ। यस खण्डमा दुईवटा नयाँ पुल निर्माण गर्ने योजना छ।

उता, कर्णाली राजमार्गको ७३ किलोमिटर खण्डमा सडक सुरक्षा सुधार गर्न एक करोड डलर विनियोजन गरिएको छ। यसअन्तर्गत सडक चौडा गर्ने, जोखिमपूर्ण घुम्ती सुधार गर्ने र सुरक्षा ब्यारियर जडान गर्ने काम गरिनेछ।

नेपाल सरकारले सहायता स्वीकार गर्ने निर्णय गरिसकेको र आगामी नोभेम्बरमा नेपाल सरकार तथा एडीबीबीच औपचारिक सम्झौता गर्ने कार्यतालिका रहेको विवरणमा उल्लेख छ।

आयोजना कार्यान्वयनपछि सडक यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। तर, आयोजना समयमै सम्पन्न गर्नु, निर्माणको गुणस्तर कायम राख्नु र ऋण तथा अनुदानको प्रभावकारी उपयोग गर्नु महत्त्वपूर्ण हुनेछ।

…जब अमिताभ बच्चनले फ्यानसँग हात मिलाउन मानेनन्

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको जन्मदिनमा फ्यानसँगको एउटा व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिर प्रशंसकलाई भेट्न निस्किएका बच्चनले एक युवतीसँग हात मिलाउन अस्वीकार गरेको भिडियो भाइरल भएपछि उनको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् ।

आइतबार अक्टोबर ११ मा आफ्नो जन्मदिन मनाएका अमिताभलाई एक झलक हेर्न जुहुस्थित निवासबाहिर फ्यानहरूको ठूलो भीड लागेको थियो । सधैँझैँ घरबाहिर निस्किएर उनले हात जोड्दै प्रशंसकको अभिवादन फर्काएका थिए । मरुन रङको कुर्तामा देखिएका उनको यही भेटघाटको भिडियो अहिले चर्चामा छ ।

भिडियोमा एक बालक अमिताभनजिक जान खोज्दा सुरक्षाकर्मीले रोकेको देखिन्छ । त्यसपछि एक युवतीले उनीसँग हात मिलाउन खोज्छिन्, तर अमिताभले हात मिलाउँदैनन् । यही दृश्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच मत बाझिएको छ ।

केहीले अभिनेताको व्यवहारको बचाउ गरेका छन् । उनीहरूका अनुसार फ्यानले भन्दैमा कसैलाई जबर्जस्ती हात मिलाउन बाध्य पार्न मिल्दैन । एक प्रयोगकर्ताले अमिताभलाई चोट लागेको उल्लेख गर्दै यस्तो अवस्थामा जबर्जस्ती हात मिलाउन खोज्नु अनुचित भएको टिप्पणी गरेका छन् । अर्का प्रयोगकर्ताले पनि ‘जबरजस्ती कसले हात मिलाउँछ र?’ भन्दै उनको पक्ष लिएका छन् ।

तर, केहीले भने प्रशंसकसँग हात नमिलाएको भन्दै आलोचना गरेका छन् । कतिपयले अमिताभ र उनकी पत्नी जया बच्चनको व्यवहारलाई जोडेर व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका छन् । यद्यपि, भाइरल भिडियोको छोटो दृश्यबाट मात्रै घटनाको सम्पूर्ण सन्दर्भ स्पष्ट हुँदैन ।

अमिताभले करिब चार दशकदेखि हरेक आइतबार आफ्नो घरबाहिर आएर फ्यानलाई अभिवादन गर्ने परम्परा कायम राख्दै आएका छन् । जन्मदिनमा पनि प्रशंसकलाई भेट्ने उनको चलन यसपटक पनि दोहोरिएको थियो ।

सन् १९४२ अक्टोबर ११ मा उत्तर प्रदेशको इलाहावाद, हालको प्रयागराजमा जन्मिएका अमिताभलाई ‘बिग बी’ र ‘शहंशाह’का नामले समेत चिनिन्छ ।

पाँच दशकभन्दा लामो अभिनय यात्रामा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन् । चलचित्रसँगै टेलिभिजनमा पनि उनको लोकप्रियता कायम छ ।

तस्बिरमा हेर्नुहोस् बूढीगण्डकी बाढीको वितण्डा [तस्वीरहरू]

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका-६ हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार लेदो र गेग्रानसहित आएको आकस्मिक बाढीले नदी किनारका बस्ती, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

अचानक उर्लिएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो असर पारेको छ ।

बाढीपछि प्रभावित क्षेत्रको अवस्था क्षतिग्रस्त संरचना र नदी किनारमा थुप्रिएको लेदो तथा गेग्रानले देखाएको छ ।

बाढी आएको भोलिपल्ट सोमबार बिहान खिचिएका तस्बिरमा प्रभावित क्षेत्रको अवस्थासमेत देखिन्छ।

 

चीनमा भारतीय कम्पनीलाई सकस, ८ अर्ब डलरको व्यापारमै अनेक झमेला!

काठमाडौं । चीनमा व्यापार गर्न भारतीय कम्पनीलाई सजिलो छैन । कडा इजाजतपत्र, झन्झटिलो दर्ता, डेटा सुरक्षाका कडा नियमदेखि भिसा र कार्य अनुमतिसम्मका अवरोधले भारतीय सेवा निर्यातकहरूको बाटो छेकेपछि भारत सरकारले चिनियाँ बजारका समस्या केलाउन थालेको छ ।

भारतको वाणिज्य मन्त्रालयले चीनमा व्यवसाय गरिरहेका उद्योगी तथा सेवा प्रदायकसँग त्यहाँका कानुनी र प्रशासनिक अवरोधको विस्तृत विवरण मागेको छ । डेटा स्थानीयकरण, साइबर सुरक्षा, सीमापार तथ्यांक आदानप्रदान, भिसा, कार्य अनुमति र व्यावसायिक योग्यताको मान्यतासम्मका विषयलाई अध्ययनको दायरामा राखिएको छ ।

भारत सरकारको चासो स्पष्ट छ-चिनियाँ बजारमा भारतीय सेवाको हिस्सा किन अपेक्षाकृत सानो छ र त्यसलाई कसरी बढाउन सकिन्छ ? सन् २०२४ मा भारतले चीनमा ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरको सेवा निर्यात गरेको थियो । तर, चीनले विश्वभरबाट आयात गर्ने सेवाको तुलनामा यो हिस्सा अझै सीमित रहेको भारतीय उद्योग क्षेत्रको भनाइ छ ।

भारतीय कम्पनीका समस्या नियममा मात्रै सीमित छैनन् । चीनमा कर्मचारी पठाउँदा आवागमनसम्बन्धी कडाइ खेप्नुपर्ने, स्थानीय ग्राहकसँग सीधै कारोबार गर्न कठिन हुने र कर, भुक्तानी, विप्रेषण तथा ठेक्का सम्झौतासम्बन्धी प्रक्रियामा अवरोध आउने गुनासो व्यवसायीले गरेका छन् । कतिपय कम्पनीले ग्राहकसम्म पुग्न तेस्रो पक्षका मध्यस्थ संस्थाको सहारा लिनुपर्ने अवस्था रहेको बताइएको छ ।

भारतले मुख्यतः सूचना प्रविधि, आईटीसँग सम्बन्धित सेवा र डिजिटल समाधान चीनमा निर्यात गर्दै आएको छ । तर, बजारमा प्रवेश गर्न र स्थानीय रूपमा व्यवसाय सञ्चालन गर्न आवश्यक अनुमति तथा साझेदारीका सर्तले विस्तारको सम्भावना खुम्च्याएको भारतीय पक्षको बुझाइ छ । त्यसैले भर्चुअल माध्यमबाट सेवा दिने व्यवस्था, सीमापार आपूर्ति र चीनमा कम्पनी स्थापना, स्वामित्व तथा सञ्चालनका नियमबारे समेत विवरण संकलन भइरहेको छ ।

व्यावसायिक सेवा निर्यातमा भारतको विश्वव्यापी हिस्सा पनि बढ्दो छ । सन् २०१४ मा कुल विश्व सेवा निर्यातको ३ प्रतिशत हिस्सा ओगटेको भारत सन् २०२४ मा ४.३ प्रतिशतमा पुगेको छ । यही अवधिमा चीनको हिस्सा ४.२ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुगेको तथ्यांक छ । भारतको सेवा निर्यात सन् २०२२–२३ देखि २०२४–२५ सम्म औसत वार्षिक १४ प्रतिशतले बढेको बताइएको छ, जुन कोभिडअघि देखिएको ७.६ प्रतिशतको वृद्धिदरभन्दा उच्च हो ।

व्यापार विज्ञहरूका अनुसार भिसा र जनशक्तिको आवागमन राजनीतिक संवेदनशीलतासँग जोडिए पनि व्यावसायिक योग्यताको पारस्परिक मान्यता, प्रमाणीकरण र प्राविधिक मापदण्डका समस्या वार्ताबाट समाधान गर्न सकिने ठाउँ छ ।

भारतको व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुन र चीनको व्यक्तिगत सूचना संरक्षण कानुनबीच तालमेल कति सम्भव छ भन्ने विषय पनि अध्ययनको महत्त्वपूर्ण पाटो बनेको छ ।

चिनियाँ बजारमा रहेका अवरोधको सूची तयार पारेर भारतले अब तिनलाई व्यापार वार्ताको विषय बनाउन खोजेको देखिन्छ ।