सेनाले मात्र देशको रक्षा गर्न सक्दैन : प्रचण्ड
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि संकटमुक्त भइनसकेको अवस्थामा रहेको बताएका छन् ।
प्रचण्डले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’ सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’
कम्युनिष्ट पार्टीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको दाहालको दाबी छ । १६ वटा नेपाली कम्युनिष्ट पार्टी बनेर एउटा पार्टी बनेको इतिहासमा पहिलो चोटि भएको भन्दै उनले थपे, ‘हामी रूपान्तरण भएका छौँ । अब पुरानो तरिकाले चल्दैनौँ, नयाँ तरिकाले जान्छौँ भन्ने सन्देश हो ।’
यो एकतालाई हल्का रूपमा नलिन भन्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘हामी त निर्वाचनमा लागि सक्यौँ सरकारले पनि त्यतातिर ध्यान देओस् । यो सरकार पूर्णतया चुनावी सरकार हो । दीर्घकालीन महत्त्वका सन्धि सम्झौतातर्फ नलागोस् ।’
‘सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ’
संयोजक प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव हुनुपर्ने बताएका हुन् । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ, उनले भने ।
उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह समेत गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ छ । उनले देशको वर्तमान समस्य समाधानका लागि लोकतान्त्रिक पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् । नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको बताउँदै उनले जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि सहकार्य गर्नुपर्ने बताएका हुन् ।
