`

प्रचण्डले विप्लवलाई भने–यताउता नभौंतारिनुस्, एकतामा आउनुस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए । संयोजक दाहालले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए । उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘कमरेड विप्लवको नेतृत्वमा हामी समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाउँ भनेर धेरै प्रयास गरिएको हो । कमरेड विप्लव समेत सबै एकतामा आउन पटक पटक गम्भिर संवाद वार्ता, छलफल पनि नभएको होइनन् । पछिल्लो पटक त झण्डै टुंगियो भन्ने बुझेको थिएँ मैले । अब टुंगियो र आउनुहुन्छ, भन्ने बुझेको थिएँ जतिवेला म आफै उहाँको निवासमा गएर लामो र गम्भिर छलफलपछि अब एकतामा जाने भनिएको थियो । खुमलटारमा कमरेड प्रकाण्डलाई बोलाएर छलफल गरेपछि उहाँ निकै भावुक हुनुभयो र उठेर मलाई अंकमाल गर्नुभयो र अब हामी एक भईयो भन्नु भयो । त्यतिवेला हामीले सोचेका थियौँ, उहाँहरु अब एकतामा आउने हुनुभयो । तर दुर्भाग्य जेनजी आन्दोलन वरिपरि आईपुग्दा कता कता बैचारिक अन्यौलको भुमरीमा, निकै ठुलो तुवालोभित्र उहाँहरु हराएजस्तो, लिडरसीप हराए जस्तो महसुस मैले पनि गरे । जेनजी आन्दोलनपछि उहाँहरु धेरै नै भड्किनुभयो । धेरै नै विचलित हुनुभयो ।’

उनले भने, ‘ठुलो भुमरिमा निसासिए जस्तो देखियो, मुख्य नेतृत्व नै । अहिले पनि उहाँले आत्मसमीक्षा गर्नुपर्छ, जसरी हामीले गरेका छौँ । हामीले यो एकतामा आउन सबै घटकहरुले आ–आफ्नो आत्मसमीक्षा गरेर आफ्ना कमजोरी सच्याउने, यो राष्ट्रको स्वाधिनताको रक्षाको निम्ति, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि एकचोटी फेरि हामी एकताद्धारा तागत पैदा गर्ने भनेर आएको हो । म उहाँहरुलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरु पनि आत्मसमीक्षा गर्नुस्, तपाईहरुको रियल घर यही हो, तपाईहरु आउनुपर्ने ठाउँ यही हो । यता र उता गरिराख्नुभएको छ, आजभोली । त्यसले केही हुनेवाला छैन । म गम्भिर ढंगले मेरो पुरानो, संगै बसेको कमरेडहरु हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईहरुले आत्मसमीक्षा गर्ने यो बेला हो । अझै पनि तपाईहरुको पुरै अवसर गुमिसकेको छैन । तपाईहरुले आत्मसमीक्षा गनुभयो र एकतामा आउनु भयो भने तपाईहरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’ उनले कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडि नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताए । निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउन उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गरे ।

प्रचण्डको टिप्पणी : घण्टी बजाएर हुनेवाला केही छैन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।

संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनका बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए । उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढे मात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।

उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । बाँकी रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौं–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’ संयोजक दाहालले मोहन वैद्य ‘किरण’ लाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए ।

 

सिन्धुली–२ वागी विवाद : प्रचण्डको निर्देशन ठाडै अस्वीकार, गजुरेल अडिग

सिन्धुली । सिन्धुली–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ । पार्टीले नेता हरिबोल गजुरेललाई बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको भए पनि गजुरेलले निर्देशन अस्वीकार गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले गजुरेललाई लिखित रूपमा निर्देशन दिएका थिए कि उनी बागी उम्मेदवार खडा नगरी पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ लाई समर्थन गर्नुस् । तर गजुरेलले भने, ‘अब हामी पछाडि हट्ने अवस्था छैन । पछाडि भिर छ, अगाडि पहरो छ । महेश्वर दाहालको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ।’

सिन्धुली–२ मा गत निर्वाचनमा पनि राजन दाहाल विजयी भएका थिए । ०७९ को निर्वाचनमा राजनले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत पाएका थिए । ०७४ को निर्वाचनमा भने गजुरेल नै सांसद निर्वाचित भएका थिए । सिन्धुलीमा यस पटक देखिएको विवादले पार्टीभित्रको तनावलाई झल्काएको छ । गजुरेल हाल नेकपाको कोशी प्रदेश इन्चार्ज रहेका छन् र उनले आफ्नै जिल्ला क्षेत्रबाट राजन दाहालविरुद्ध महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएका छन् । पार्टीका सुनसरी भूगोल भएका केन्द्रीय सदस्यहरूले गजुरेलविरुद्ध कारबाही गर्न माग गरेका छन् ।

गजुरेलले प्रचण्डबाट पत्र आएको स्वीकार्दै पनि जवाफ दिएका छन् कि उनी राजन दाहाललाई ‘ब्याक’ गर्न तयार छैनन् । सिन्धुली–२ मा नेकपाभित्रको आन्तरिक प्रतिष्पर्धाले चुनावी रणनीति र नेतृत्व समेत चुनौतीपूर्ण बनाएको छ ।
यसअघि कालीकोटमा बागी उम्मेदवारले केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएका थिए । तर सिन्धुली–२ मा गजुरेलको अडानले पार्टी नेतृत्वका लागि नयाँ समस्या सिर्जना गरेको छ । प्रचण्डले गजुरेललाई काठमाडौं बोलाएर विवाद समाधान प्रयास गरेका थिए, तर गजुरेलको निर्णयले पार्टीभित्रको विवाद अझै स्थिर छैन ।

देश चलाउन विदेशी शक्ति सक्रिय, नयाँ आन्दोलनमा जानु पर्ने हुनसक्छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश असाधारण राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै विदेशी शक्तिको चलखेलविरुद्ध आवश्यक परे नयाँ आन्दोलन सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रको स्वाधीनता, जनताको आत्मनिर्णयको अधिकार र राजनीतिक स्थायित्वमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गरे ।

प्रचण्डका अनुसार हाल देश चलाउने प्रक्रियामा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन् । ती शक्तिहरूको प्रतिवाद शान्तिपूर्ण तर दृढ अठोटका साथ गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘जरुरी पर्‍यो भने राष्ट्र र जनताको पक्षमा नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन अघि बढाउनु पर्ने हुनसक्छ’, उनले भने, ‘भदौ २४ गते देखिएको जस्तो विध्वंसात्मक गतिविधिको जरो अझै सकिएको छैन ।’

आफू पुनः जनयुद्धको आधारभूमि मानिने रुकुम फर्किनुको अर्थ केवल विकासका योजना घोषणा गर्नु मात्र नभई समग्र देशलाई राजनीतिक निकासतर्फ लैजानु भएको प्रचण्डले स्पष्ट पारे । उनले आफ्नो उम्मेदवारी संसद् प्रवेशका लागि मात्र नभई देशलाई नयाँ राजनीतिक दिशातर्फ डोर्‍याउने उद्देश्यसहित रहेको दाबी गरे ।

विकासको सवालमा प्रचण्डले दाङ–रोल्पा–रुकुम पूर्व हुँदै डोल्पाको सहरतारा जोड्ने र त्यसलाई चीनसम्मको व्यापारिक मार्गका रूपमा विकास गर्ने योजना सुनाए । रुकुम पूर्व अब हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल गरिने र जिल्लालाई विकासको नयाँ मोडलमा अघि बढाइने उनको प्रतिबद्धता छ । ‘म जहाँबाट लडेको छु, त्यहींको मुहार फेरेको छु’, भन्दै प्रचण्डले आलोचकहरूलाई कामबाटै जवाफ दिने बताए । रुकुम पूर्वमा सुन्दर सहर निर्माण, ग्रामीण सडक स्तरोन्नति र समग्र पूर्वाधार विकाससँगै यो क्षेत्रलाई समाजवादतर्फको यात्राको नेतृत्व गर्ने केन्द्र बनाउने उनको धारणा छ ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै प्रचण्डले जेनजी भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिमा भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरी चुनावमा जाने निर्णय गरिएको जानकारी दिए । ‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो’, उनले भने । माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको ढोका खोलेको स्मरण गर्दै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको यात्रामा नयाँ दिशा दिने विश्वास व्यक्त गरे । देश अब चुनावमय भइसकेको उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउनकै लागि नेकपा निर्माण गरिएको पनि बताए ।

 

ढुक्क हुनुस्, कांग्रेस फुटेर चुनाव रोकिँदैन : प्रचण्ड

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक निर्धारित समयमै निर्वाचनतर्फ अघि बढ्नेमा कुनै शंका नरहेको स्पष्ट पारेका छन् । चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसभित्र देखिएको विभाजन र विवादले निर्वाचन प्रक्रियामा असर नपार्ने दाबी गर्दै सबैलाई ढुक्क हुन आग्रह गरे ।

भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नहुने हो कि भन्ने आशंका सर्वत्र देखिएको स्वीकार गरे । तर सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र कूटनीतिक क्षेत्र सबै निर्वाचनको पक्षमा रहेकाले चुनाव टार्ने कुनै आधार नरहेको उनको भनाइ थियो । ‘हामी निर्वाचनको मुखमै छौँ । सबैले सोधिरहेका छन्–हुन्छ कि हुँदैन चुनाव ? मैले स्पष्ट भनिरहेको छु, चुनाव हुन्छ,’ प्रचण्डले भने, ‘पहिला संविधानसभा चुनावको अघिल्लो दिनसम्म पनि अन्योल थियो, तर चुनाव भयो । अहिले पनि त्यही हुनेछ ।’ उनले निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाइसकिएको, प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिएको र आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरण समेत सुरु गरिसकेको जानकारी दिए । ‘हिजो काठमाडौंमै टिकट बाँडेर म चितवन आएको हुँ,’ उनले भने ।

प्रचण्डका अनुसार चुनावबाहेक अहिले देशका लागि अर्को कुनै विकल्प व्यवहारिक छैन । निर्वाचन नगर्दा राजनीतिक अस्थिरता र सम्भावित दुर्घटनाको जोखिम बढ्ने उनले चेतावनी दिए । ‘निर्धारित समयमा स्वच्छ र निष्पक्ष चुनाव गराउनु नै अहिलेको राष्ट्रिय दायित्व हो,’ उनले जोड दिए । भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि राष्ट्रपति र प्रधानसेनापतिसँग भएको छलफलमा पनि अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने सुझाव आफूले दिएको प्रचण्डले खुलासा गरे। राष्ट्रको गरिमा जोगाउन जनतामा जानु नै सबैभन्दा सुरक्षित बाटो भएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र विभाजनले निर्वाचन रोकिने हो कि भन्ने आशंकाबारे आफूले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग बुझ्दा कांग्रेसको आन्तरिक विवादले निर्वाचन प्रक्रियालाई असर नपर्ने प्रतिक्रिया पाएको उनले बताए । ‘भोलि–पर्सिसम्म कांग्रेसको आधिकारिकताको विषय टुंगो लाग्छ र निर्वाचन प्रक्रिया अघि बढ्छ,’ प्रचण्डको दाबी थियो । यसै अवसरमा प्रचण्डले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई ‘विकासप्रेमी’ को रूपमा आफूहरूले होइन, जनताले स्थापित गरेको बताए । ‘रेणुको नाम अब विकासवादी रेणु, विकासप्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो,’ उनले भने, ‘यसलाई आदर्श मानेर अगाडि बढ्नु पर्छ ।’

उनले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजी र हल्लाका कारण देश भड्किन सक्ने खतरा औंल्याउँदै भदौ २४ को घटनाक्रम त्यसैको उदाहरण भएको टिप्पणी गरे । ‘कुनै विचार, सिद्धान्त वा आदर्श नभएर स्टन्टबाजीकै कारण राष्ट्र झन्डै दुर्घटनामा परेको थियो,’ उनले भने । अहिले पनि सतर्कता नअपनाए देश फेरि दुर्घटनातर्फ जान सक्ने भन्दै उनले सबै नागरिकलाई जिम्मेवार र गम्भीर बन्न अपिल गरे । ‘सिद्धान्तहीन, विचारहीन, होहल्लाको पछि लाग्यौँ भने देश संकटमा पर्न सक्छ,’ प्रचण्डले चेतावनी दिए । चितवनवासी नागरिकको हैसियतले पनि आफूले जिम्मेवारी बोध गरेको उल्लेख गर्दै उनले समाजमा बढ्दो अराजकता नियन्त्रण गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्न राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गरे । उनले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहोर्‍याए । उनले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरुप अघि बढ्ने बताए ।

उनले भने, ‘सबै राजनीतिक दलहरुले आत्मसमीक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्‍यौं । हामी संकल्प लियौँ कि ती कमीहरु अब सच्याउनु पर्छ र रुपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । ’

उनले भने, ‘यो असाधारण परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीद्वारा मात्रै लिन सकिन्छ । परम्परागत ढंगले चल्ते चलाते ढंगले मात्रै मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकतावद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौँ ।’ उनले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरुलाई एकठाउँमा ल्याइएको जिकिर गरे ।

 

 

 

 

 

निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताएका हुन् । उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिए । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

उनले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरुलाई उच्च प्राथमिकता दिने हामीले कोशिस गरेका छौँ । हामीले जेन–जी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौं युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढि भन्दा बढी युवाहरुलाई र केन्द्रिय समितिमा पनि बढि भन्दा बढी युवाहरुलाई हामी समेट्दै छौँ ।’ संयोजक दाहालेले जेन–जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए । उनले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिए । उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए ।

रूकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पूर्वी रूकुमबाट उम्मेदवारी दिने तयारी लगभग निश्चित भइसकेको बताएका छन् । पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रूकुमलाई आफ्नो राजनीतिक गन्तव्य बनाउने स्पष्ट संकेत दिएका हुन् ।

सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘आगामी चुनावमा म रूकुममैबाट लड्ने सम्भावना निकै बलियो छ । तर यहाँ उपस्थित साथीहरूले यो अहिलेको पश्चिम रूकुम मात्र ठान्नु पर्ने छैन, पूर्वी रूकुम आउने करिब निश्चित भइसकेको छ ।’ उनका अनुसार पूर्वी रूकुमबाट उम्मेदवारी दिने निर्णय भए पनि पश्चिम रूकुमसँगको राजनीतिक र भावनात्मक सम्बन्ध भने निरन्तर रहनेछ ।

उनले रूकुमले सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक यात्रासम्म खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै जनताको भरोसा र समर्थन नै आफ्नो मुख्य शक्ति भएको बताए । ‘पूर्वी र पश्चिम दुवै रूकुम क्रान्तिको आधारभूमि हुन् । त्यसैले म जहाँबाट चुनाव लडे पनि रूकुमसँग मेरो सम्बन्ध टुट्दैन’, उनले थपे । प्रचण्डको यो घोषणासँगै रूकुम केन्द्रित राजनीतिक गतिविधि थप सक्रिय हुने संकेत देखिएको छ । स्थानीय नेता–कार्यकर्ताहरूले पनि उनको सम्भावित उम्मेदवारीलाई उत्साहका साथ स्वागत गरेका छन् । आगामी दिनमा पार्टीभित्रको औपचारिक निर्णयपछि उनको उम्मेदवारीबारे स्पष्टता आउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय एकता र समृद्धिको भार हाम्रो काँधमा छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ चरणमा लैजाने दावी गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट घटकहरूलाई एकीकृत गर्ने अभियानमा आफू सक्रिय रहेको बताएका छन् । राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धिलाई संस्थागत गर्न बृहत् कम्युनिष्ट एकताको आवश्यकता रहेको उनको जोड छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले देशको वर्तमान राजनीतिक र आर्थिक चुनौती एक्लो प्रयासले समाधान नहुने बताए । ‘देशलाई समृद्ध बनाउने र राष्ट्रिय एकतालाई मजबुत पार्ने जिम्मेवारी साझा हो’, उनले भने, ‘त्यसका लागि बृहत् राष्ट्रिय एकता अपरिहार्य छ ।’ उनले यही आवश्यकतालाई आत्मसात गर्दै विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको उल्लेख गरे । यो एकीकरण कुनै औपचारिक मिलन मात्र नभई, वैचारिक र संगठनात्मक मजबुतीको आधार भएको दाहालको दाबी छ ।

संयोजक दाहालले पछिल्लो समय देशभर—प्रदेश, जिल्ला र पालिकास्तरसम्म—युवापुस्ताको आकर्षण नेपाली कम्युनिष्ट पार्टीतर्फ बढ्दै गएको दाबी पनि गरे । विशेषगरी ‘जेन–जी’ युवाहरूले आफ्ना भावना, सोच र भविष्यका आकांक्षालाई सही ढंगले प्रतिनिधित्व गर्न सक्ने राजनीतिक शक्ति नेकपा नै भएको बुझ्दै गएको उनको भनाइ थियो ।

‘आज पार्टी प्रवेश गर्नेहरूमा अधिकांश जेन–जी युवाहरू हुनुहुन्छ’, उनले थपे, ‘यसले देशभर सकारात्मक सन्देश प्रवाह भएको छ । युवापुस्ताले राजनीतिलाई नयाँ दृष्टिकोणबाट हेर्न थालेको संकेत हो ।’ कार्यक्रममा पार्टी प्रवेश गर्ने जेन–जी युवापुस्तालाई स्वागत गर्दै दाहालले मुलुकको वृहत्तर हितका लागि सधैं जिम्मेवार र सक्रिय रहन आग्रह गरे । उनले युवाशक्तिलाई परिवर्तनको मुख्य आधारका रूपमा चित्रण गर्दै, राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा अग्रपंक्तिमा उभिन आह्वान गरे । समग्रमा, कम्युनिष्ट एकता, युवापुस्ताको सहभागिता र आर्थिक समृद्धिको एजेण्डालाई केन्द्रमा राख्दै प्रचण्डले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको विश्लेषकहरू बताउँछन् ।

 

पेरिसडाँडामा नेकपाका नेता परामर्शमा, ओलीपछि प्रचण्डलाई भेट्दै कांग्रेस नेता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टी शीर्ष नेताहरूसँग परामर्श सुरु गरेका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा केही समयदेखि बैठक जारी छ । प्रचण्डले हालै विभिन्न घटकहरूलाई एकताबद्ध गरेर नेकपा गठन गरेका थिए ।

बैठकको मुख्य एजेण्डा राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्नु रहेको छ । पार्टीभित्रको मत र रणनीति समेटेर आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग मिलेर जाने विषयमा नेताहरूको सुझाव लिइँदैछ । यसैबीच, नेपाली कांग्रेसका नेता रमेश लेखक माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन प्रस्ताव लिएर प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् । उनीसँगै उपसभापति पूर्णबहादुर खड्का, नेता नारायणकाजी श्रेष्ठ र नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि छलफलमा सहभागी भएका छन् ।

पूर्वमा कांग्रेस–एमले गठबन्धन गर्न चाहेको संकेत दिएका भए पनि नेकपाले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन । प्रचण्डले नयाँ दिल्ली भ्रमणपछि बाह्य जिल्लाका भ्रमण रोक्दै विभिन्न दलका नेतासँग लगातार छलफल गरिरहेका छन् । यसले आगामी राष्ट्रिय सभा निर्वाचनको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रचण्ड आज किन जाँदैछन् दिल्ली ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेकपा गठन गरेपछि प्रचण्ड पहिलो पटक दिल्ली यात्रामा निस्किन लागेका हुन् ।

तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । ‘‘एक महिनाअघि नै तय भएको सन्देश सभा कार्यक्रम हो, त्यही कार्यक्रमलाई सम्बोधन गर्न दिल्ली जान लाग्नु भएको हो,’ आचार्यले सुनाए ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने आचार्यले जानकारी दिएका छन् । ‘आज साँझ गएर भोलि साँझ फर्किने कार्यक्रम छ,’ आचार्यले भने। फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् । प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।

प्रचण्डको आशंका : रवि, बालेन र कुलमानबीचको एकतामा ‘अदृश्य शक्ति’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच देखिएको एकताको चर्चा प्रति गम्भीर आशंका व्यक्त गरेका छन् । उनले यस्तो एकता स्वेच्छिक नभई ‘अदृश्य शक्तिको दबाब’ मा जबरजस्ती गराइएको हुन सक्ने संकेत गरेका हुन् ।

संखुवासभामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले टेलिभिजन कार्यक्रममा सुनेको एक प्रसंग उल्लेख गर्दै भने, केही नेताहरूलाई मुद्दा, जेल, नागरिकता र पासपोर्ट जस्ता विषय देखाएर अपहरणको शैलीमा एकता गराउन खोजिएको चर्चा सार्वजनिक रूपमा आएको छ। यस्तो प्रवृत्तिप्रति गहिरो रूपमा सोच्न उनले आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘मैले आज बिहानै एउटा टेलिभिजन कार्यक्रममा हेर्दै थिएँ—एउटा नेताको डेराबाट झन्डै अपहरणकै शैलीमा ल्याएर एकता गराइयो रे । एकता नगरे मुद्दा लगाइ दिने, जेल हालिदिने जस्ता धम्की दिइएको भन्ने कुरा निकै गम्भीर छ ।’

प्रचण्डले आफ्नो पार्टीको पक्षमा भने एकता पूर्ण रूपमा स्वेच्छिक र वैचारिक आधारमा भइरहेको दाबी गरे। उनका अनुसार हालसम्म नेपाली कम्युनिस्ट पार्टीसँग औपचारिक रूपमा १७ वटा दल एकताबद्ध भइसकेका छन् । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीसँग पनि एकता भएको र त्यससम्बन्धी सबै कागजात निर्वाचन आयोगमा बुझाइसकिएको उनले जानकारी दिए । ‘धनगढीदेखि जनकपुर, सुर्खेत हुँदै काठमाडौंसम्म आयोजित सन्देश सभाहरूमा हजारौँ नेता–कार्यकर्ता विभिन्न पार्टीबाट हाम्रो पार्टीमा समाहित भएका छन्’, उनले भने । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दैनिक रूपमा पार्टी प्रवेशको लहर चलेको पनि उनले उल्लेख गरे ।

प्रचण्डले आफ्नो पार्टीले कुनै पनि व्यक्तिलाई जबरजस्ती एकतामा नल्याएको स्पष्ट पार्दै वैचारिक सहमतिका आधारमा स्वेच्छिक एकता भइरहेको बताए । तराई–मधेशदेखि पहाड र हिमालसम्म सबै जातजाति, भाषा, क्षेत्र र समुदायलाई समेटेर राष्ट्रिय एकताको बलियो आधार तयार गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो । सम्बोधनको क्रममा प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमतर्फ पनि ध्यानाकर्षण गराए । बंगलादेश, श्रीलंका र इन्डोनेसियाका पछिल्ला घटनालाई उदाहरण दिँदै उनले ‘जेन्जी’ को नाममा हुने सम्भावित घुसपैठ र अस्थिरता सिर्जनाको प्रयासप्रति सतर्क रहनुपर्ने बताए । यद्यपि उनले यस विषयमा नाम लिएर टिप्पणी गर्न उपयुक्त नठानेको स्पष्ट गरे । उनले भने, ‘कुन शक्ति कसरी भित्रिएर के गर्न खोज्दैछ भन्ने कुरा जनताले बुझ्न आवश्यक छ । भोलिका घटनाक्रमले के सत्य हो र के होइन भन्ने कुरा आफैं स्पष्ट गर्दै जानेछ ।’

 

 

यथास्थितिमा सीमित सोंच र परिवर्तनको चाहनाबीचको संघर्ष जारी छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’

नयाँ वर्ष २०२६ ले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वासका साथ यो वर्ष सबै नेपालीका लागि राजनीतिक स्थिरता, सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस् भन्ने कामना पनि उनले गरेका छन् ।

उनले भने, ‘हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ । साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ।यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ । वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।’

‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी छ । अहिले हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ,’ प्रचण्डले थप भनेका छन् ।

प्रचण्डको प्रश्न : नयाँ संकल्प गर्ने कि औचित्य सकियो भनेर पन्छिने ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताए ।

अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राखे । उनले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको बताए । उनले देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे ।

उनकाअनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष दाहालले भने, ‘जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो । हामी सबैका अगाडि आत्मसमीक्षा गर्न जरुरी छ । नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ । यो देश निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाट अघि बढ्नुपर्छ । सर्वपक्षीय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ।’

अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उनको भनाइ थियो । उनले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताए ।

पुराना पार्टी सिद्धिइसके भन्ने सोसल मिडियाको शहरिया होहल्ला मात्रै हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना पार्टी सिद्धिए अब नयाँहरू उदाउँछन् भन्ने शहरिया होहल्लामा सत्यता नभएको बताएका छन् । उनले गाउँ–गाउँमा स्थापित दलहरूप्रति नै आमजनताको भरोसा रहेको दाबी गरे । रूकुमबाट काठमाडौंसम्म पैदल यात्रा गरेका नेकपा युवा नेता केशव रावलको यात्रा समापनका लागि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालबाट उदाएकाहरूले देशको नेतृत्व गर्न नसक्ने बताएका हुन् ।

‘अहिले सोसल मिडिया र शहर बजारका मान्छेका होहल्ला हेर्‍यो भने विचारविहीन, निष्ठाविहीनले कब्जा गरे भन्ने जस्तो होहल्ला छ । पार्टी सिद्धिइसके भन्ने र्‍युमर छ’ प्रचण्डले भने, ‘जसले दशकौं लडाइँ लडेर आन्दोलन गरेर कीर्तिमान कायम गरेका, ती पार्टीको काम छैन भने जस्तो । त्यस्तै त्यस्तै सोसल मिडियाबाट होहल्ला गर्नेहरू तिनै नै मुक्तिदाता हुन् भने जस्तो शहर बजारमा या मोबाइल हेर्नेहरूको हातहातमा त्यस्तो हो कि भन्ने भ्रम पर्ने गर्छ । तर त्यसो होइन ।’

प्रचण्डले शहरमा भइरहेको भन्दा गाउँको माहौल पृथक रहेको दाबी गरेका छन् । ‘शहर बजारमा जे होहल्ला छ त्यस्तो होइन, गाउँमा पार्टीप्रति सकारात्मक भाव छ । सोसल मिडियामा जे जस्तो चर्चा छ, जनतामा त्यस्तो छैन । पार्टीप्रति जनतामा आशा–भरोसा कायमै छ भन्ने कुरा महसुस गथ्र्यो । तपाईंले पैदल यात्रामार्फत् त्यस्तै सन्देश ल्याउनुभयो धन्यवाद छ’ प्रचण्डले भने । नेकपा एकताको सन्देश दिन भन्दै युवा नेता रावलले रूकुमदेखि काठमाडौंसम्म १५ दिन यात्रा गरेका थिए ।

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन मात्र : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जान सक्ने चेतावनी दिए ।

उनले सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताए । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गरे । उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दुसूची प्रस्तुत गर्दैछौँ ।’

उनले भने, ‘सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ ।’ संयोजक दाहालले नयाँ युवाहरुले राजनीतिप्रति रुची बढ्दै जानु सकारात्मक पक्ष भएको बताए । शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने उनले बताएका छन् ।

संसद् पुनर्स्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटनामा पर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनर्स्थापना नहुने दाबी गरेका छन् । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनः स्थापनाको कुरामा लागेको आरोप लगाए ।

उनले भने, ‘न्यायालयमा पनि जानु भएको छ । तर म तपाई सबै र जनतालाई भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन । संसद् पुनर्स्थापना हुँदैन । निर्वाचन अब अगाडि आई नै सक्यो । निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन् ।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी समेत गरेका छन् । उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे । उनले भने, ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ । अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ ।’

सरकारका प्रवक्तालाई प्रचण्डले भने– फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौं

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मै चुनाव हुनुपर्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले चुनावको विकल्प नभएको बताएका हुन् ।

प्रचण्डलाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ । प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ ।’

नेकपा संयोजक प्रचण्डसँग सञ्चारमन्त्रीको भेटवार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहेका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।

 

सुनसरी–४ बाट प्रचण्डको नाम सिफारिस

मोरङ । आउँदो फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । बुधबारको बैठकले प्रचण्डको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिएका छन् । सो निर्वाचन क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।

यो क्षेत्रबाट पछिल्लो २ चुनावमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार विजयी भएका छन् । यस पटक पनि कांग्रेसबाट कार्कीसहितकै नाम सिफारिस गरिएको छ । यस्तै नेकपाले समानुपातिकतर्फ योगेन्द्र प्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनलाई सिफारिस गरेको छ । यस्तै मोरङ ४ बाट नेकपाले अमनलाल मोदीको एकल नाम सिफारिस गरेको छ । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । मोरङ ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस गरिएको छ । ७९ को निर्वाचनमा मण्डल यहाँ पराजित भएका थिए । मोरङका ६ वटा क्षेत्रबाट ८० जनाको नाम सिफारिस गरिएको छ ।

रवि लामिछानेलाई चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ । बिहीबार केही अनलाइन सञ्चारमाध्यममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने, ‘चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गर्नु भएको छैन ।’ सचिवालयले सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टिबिनै एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता ‘झुटा’ समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

प्रचण्ड र माधव नेपालले भेटे झलनाथ पत्नी रविलक्ष्मीलाई

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् । जेनजी आन्दोलनमा घर आगजनीमा पर्दा रविलक्ष्मी घाइते भएकी थिइन् । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराएर उनलाई उप उपचारका लागि भारतका अस्पताल लगिएको थियो ।

उपचार गराएर उनी हालै स्वदेश फर्केकी थिइन् । संयोजक र सहसंयोजकले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ । चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी प्राप्त भएको संयोजक प्रचण्डको सचिवालयको भनाइ छ ।

जनार्दनलाई २८ दिनमै छाडेर दम्पती नै प्रचण्डतिर

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र पत्नी सीता दाहाल फेरि प्रचण्डतिरै फर्किएका छन् । उनीहरुले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू फेरि नेपाली कम्युनिष्ट पार्टीमै फर्किएको जानकारी गराएका प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । गएको कात्तिक २९ गते बलंपाकी र दाहालले वक्तव्यमार्फत् माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका थिए ।

महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा छाडेर शर्मातिर लागेका उनीहरूले २८ दिनमै जनार्दनलाई पनि छाडेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरीराजमणि पोखरेलसँगै प्रचण्ड निवास पुगेका उनीहरूले आफूहरु पुनः नेकपामै फर्किएको जानकारी गराएका आचार्यले बताए । नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेको जानकारी दिए । ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा हामी भेट्न गएका थियौं । आजै उहाँको जन्म दिवस रहेछ । जन्मदिनको हार्दिक शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले यस्तो माग राखेका हुन् ।

‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह–पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरण लगायत ठूल–ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’ भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको संघर्ष भएको बताएका छन् ।

प्रचण्डको दावी : मधेश जस्तै अन्य प्रदेशमा पनि एमाले बाहेकको सत्ता समीकरण बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संरचनाले अब अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् । मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक समीकरण भत्किेर नयाँ समीकरण उदाएको उल्लेख गरे ।

उनका अनुसार देशमा गणतन्त्र आएपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको कारण जेनजी आन्दोलन उत्पन्न भयो, जसले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षाका लागि बाध्य बनाएको बताउँदै उनले त्यसलाई सुधारका अवसरका रूपमा व्याख्या गरे। जेनजी आन्दोलनपछि एकता र रूपान्तरणको नयाँ दृष्टिकोणसहित विकासतर्फ अघि बढ्न नेकपासहित वाम शक्तिहरू जुटेका उनले बताए ।

प्रचण्डले एमालेभित्रका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट शक्ति–समूहलाई समेत एउटै संगठनमा एकताबद्ध गर्ने लक्ष्य राखेको स्पष्ट पारे । देशलाई प्रतिगमन र प्रतिक्रियावादबाट जोगाउन सबै जनतामाथि आधारित वाम एकता अनिवार्य भएको उनको भनाइ थियो । मधेश प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिष्ट नेतृत्वका सरकारले नै सुरू गरेको उल्लेख गर्दै उनले ती योजनालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पनि कम्युनिष्ट सरकारकै रहने दाबी गरे ।

सेनाले मात्र देशको रक्षा गर्न सक्दैन : प्रचण्ड

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि संकटमुक्त भइनसकेको अवस्थामा रहेको बताएका छन् ।

प्रचण्डले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’ सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’

कम्युनिष्ट पार्टीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको दाहालको दाबी छ । १६ वटा नेपाली कम्युनिष्ट पार्टी बनेर एउटा पार्टी बनेको इतिहासमा पहिलो चोटि भएको भन्दै उनले थपे, ‘हामी रूपान्तरण भएका छौँ । अब पुरानो तरिकाले चल्दैनौँ, नयाँ तरिकाले जान्छौँ भन्ने सन्देश हो ।’

यो एकतालाई हल्का रूपमा नलिन भन्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘हामी त निर्वाचनमा लागि सक्यौँ सरकारले पनि त्यतातिर ध्यान देओस् । यो सरकार पूर्णतया चुनावी सरकार हो । दीर्घकालीन महत्त्वका सन्धि सम्झौतातर्फ नलागोस् ।’

‘सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ’
संयोजक प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव हुनुपर्ने बताएका हुन् । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ, उनले भने ।

उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह समेत गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ छ । उनले देशको वर्तमान समस्य समाधानका लागि लोकतान्त्रिक पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् । नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको बताउँदै उनले जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि सहकार्य गर्नुपर्ने बताएका हुन् ।

 

१५ पार्टी एकढिक्का भएर आत्मालोचना गर्न आएका छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपालसँगको सहकार्य हठात नभएको भन्दै यसको इतिहास झण्डै ४० वर्ष पुरानो रहेको बताएका छन् । उनले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दर्जनौं वाम घटकबीचको हालको एकतालाई केवल चुनाव जित्नको लागि नभई लामो समयदेखि चलेको सहकार्य र संवादको परिणाम भएको बताए ।

प्रचण्डले दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै भने, ‘२०४१-०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनमा संवाद र सहकार्य गर्दै आएका थियौं । ०४२ देखि ०४६ सालसम्म र जनयुद्धको क्रममा पनि लगातार संवादमा रह्यौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्‍यौं । आजको एकता हठात भएको होइन, झण्डै ४०–४१ वर्षको सहकार्य, संवाद र आन्दोलनको परिणाम हो ।’

प्रचण्डले हालैको जेनजी आन्दोलनले पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । उनले युवापुस्ताको भावना र जनताको चाहनाअनुसार आफूहरूलाई सच्याउनु पर्ने आवश्यकतालाई औँल्याउँदै भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौं । यो सन्देशसभा आफ्नो कमी कमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टी बनेका हौं ।’

प्रचण्डले हजारौं जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टीभित्र भित्रिरहेको उल्लेख गर्दै आफूहरू बदलिएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश कमजोर बनेको अवस्था र विगतका गल्ती–कमजोरीहरूको समीक्षा गर्न आवश्यक रहेको बताए ।

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौं, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ वाम घटकलाई एक ठाउँमा ल्याएर नयाँ रेकर्ड बनाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वामपन्थी एकताको आवश्यकतामा जोड दिँदै भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो । सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिष्ट पार्टी गठन गरेका हौं ।’

प्रचण्डले अब पार्टीमा कुनै माओवादी वा एकीकृत समाजवादी नछुटेको दावी गरेका छन् । उनले एमालेभित्र रहेका क्रान्तिकारी कार्यकर्ताहरूलाई गहिरो रुपमा सोच्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । धनगढीमा पहिलो पटक आयोजित सन्देश सभामा प्रचण्डले आर्थिक व्यवस्थापनको चुनौती समेत औंल्याए । उनले भने, ‘आजको सभा पहिले जस्तै ठूलो रकम खर्च गरेर आयोजना गर्न नसकिएकाले जनताको उपस्थिति कम हुन सक्छ भन्ने चिन्ता थियो । विगतमा यस्ता सभामा ठूलो खर्च हुन्थ्यो, तर यस पटक केन्द्रबाट कुनै रकम पठाउन सकिएन।’

उनले सुरक्षा व्यवस्थालाई पनि चुनौतीपूर्ण बताएका छन् । ‘धनगढीमा केही दिनअघि अन्य पार्टीका कार्यक्रममा व्यवधान आएको खबर हामीले सामाजिक सञ्जालबाट देखेका थियौं । तर यहाँका नेता–कार्यकर्ताले ती सबै चुनौतीहरूको बलियो उत्तर दिनुभयो र सभा सफल बनाउनु भयो’, प्रचण्डले भने । नेपाली कम्युनिष्ट पार्टीले देशका सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने योजना बनाएको छ ।

 

फेरि प्रधानमन्त्री बन्ने रुचि छैन, तर देशले मागे जिम्मेवारीबाट पन्छिन्न : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अब प्रधानमन्त्री बन्ने धेरै रुचि नभएको बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशले मागे जिम्मेवारीबाट भने नपन्छिने बताएका छन् ।

उनले भने, ‘राजेन्द्र पाण्डेजीले मलाई केही भारी बोकाउँछु भन्दै उठ्नु भएको थियो । बोकाउनु पनि भयो । उहाँले आगामी निर्वाचनपछि मलाई फेरि एक पटक प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र प्रधानमन्त्रीको रूपमा गर्नुपर्ने कामको बारेमा केही कुरा राख्नु भयो । प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन । तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन ।’

उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर गरे । उनले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै संख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको बताए ।

जेनजीले नेकपालाई अभिभावक ठान्न थालेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

संयोजक प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्‍यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उनले बताए ।

उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।

जेनजीलाई प्रचण्डले भने–अब तपाईहरुकाे हातमा जिम्मेवारी सुम्पिन्छु

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी राजनीतिक नेतृत्व र राष्ट्र निर्माणको जिम्मेवारी अब युवापुस्तालाई सुम्पिने बताएका छन् । वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मात्रै होइन, देशको समग्र परिवर्तनको यात्रालाई नयाँ पुस्ताको हातमा उभार्ने समय आएको बताए ।

प्रचण्डले पार्टीका समितीसम्म युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको जानकारी दिए । पार्टीभित्र आगामी निर्वाचनमा ‘सबैभन्दा धेरै अवसर युवालाई’ दिने विषयमा गम्भीर छलफल भईरहेको उल्लेख गर्दै उनले पुराना पुस्ताले अब उत्तराधिकारी निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले अर्को नयाँ सपना देख्नु पर्छ । अब जिम्मेवारी युवा पुस्तालाई सुम्पने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

युवापुस्तामा बढ्दो असन्तोष र परिवर्तनकारी भावनालाई स्वीकार गर्दै प्रचण्डले हालै भदौ २३–२४ मा उठेको ‘जेन–जी आन्दोलन’ले भ्रष्टाचारविरुद्धको अभियानलाई ठूलो ऊर्जा दिएको बताए । उनका अनुसार, भ्रष्टाचार अहिले राष्ट्रका लागि ‘विकाराल र दुर्भाग्यपूर्ण चुनौती’ का रूपमा उभिएको छ । सरकारमा हुँदा र सडकमा हुँदा दुवै अवस्थामा आफूहरूले आवाज उठाइरहे पनि अपेक्षित सुनुवाइ नभएको स्वीकार गर्दै उनले नयाँ पुस्ताले उठाएको आवाजले आफूहरूलाई पनि पुनः जागृत बनाएको बताए ।

प्रचण्डले आन्दोलनकारी युवाप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध, सुशासन र स्वतन्त्रताको पक्षमा जसरी आवाज उठाउनु भयो, त्यो आवाजले हाम्रो अभियानलाई नयाँ ऊर्जा दियो ।’ देशको वर्तमान चुनौती समाधान गर्न पुराना र नयाँ पुस्ता सबै मिलेर ‘राष्ट्र पहिलो’ भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको प्रचण्डको भनाइ थियो । उनले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्दै युवापक्षीय परिवर्तनलाई आत्मसात् गर्न तयार भएको सन्देश पनि दिएका छन् ।

जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन् ।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्‍याउनु हुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। ‘नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड तथा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ ।’

उनले भने, ‘यस अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपांग तथा वहाँहरुका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक आदरणीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गर्दछु ।’

नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ। उनले शान्ति सम्झौताको आत्मा अनुरूप आवश्यक परिमार्जन गर्न सकेमात्र युवाहरूको आकांक्षाको सम्बोधन हुने बताएका छन् ।

‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो । अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन् । शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ ।’प्रचण्डले भने, ‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपील गर्दछु ।’

 

सिमरा घटनाबारे प्रचण्ड : हिंसा होइन, संयम आवश्यक

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन् ।

प्रचण्डले लोकतन्त्रमा राजनीतिक र वैचारिक मतभिन्नता स्वाभाविक भएको भए पनि, त्यसलाई हिंसा र उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत भएको बताएका छन् । ‘सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

उनका अनुसार लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन् ।

उनले सबै दल र नेताहरूलाई राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यसैगरी प्रचण्डले आगामी निर्वाचनको शान्तिपूर्ण र निष्पक्षतामा कुनै पनि नकारात्मक प्रभाव नपार्नका लागि सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई घटनास्थलमा सहयोग र सहजीकरण गर्न निर्देशन दिएका छन् ।

 

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए ।

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’ उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ ।

शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो कुरा होइन : प्रचण्ड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरबाट जम्मा एक लाख रुपैयाँ भेटिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै रकम घरमै नराख्ने गरेको दाबी गरेका छन् । तर सुरक्षा कारण देखाउँदै १०–५ लाखका रुपैंयाँ साथीभाइका घरमा राख्ने गरेको स्वीकारोक्तिले भने राजनीतिक प्रश्न खडा गरेको छ ।

हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा प्रस्तोता निमेष बन्जाडेको लगातार कडा प्रश्नकाबीच प्रचण्डले पैसा व्यवस्थापनबारे खुलेर बोल्न बाध्य बनेका थिए । आफ्नो घरमा ठूलो परिमाणको पैसा भेटिएको हल्ला असत्य भएको जिकिर गर्दै प्रचण्डले भने, ‘प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । अरुको घरमा देखिएको पैसा मेरो भनिएको झूटो प्रचार हो ।’

अघिल्लो रात दुई ट्रक पैसा अन्यत्र लैजाने काम भएको भनी एक पूर्व प्रहरी अधिकारीले आरोप लगाएको विषयमा उनले कडै प्रतिक्रिया व्यक्त गर्दै यसलाई ‘१०० प्रतिशत झूटो’ र ‘नेपालका नेताहरूमाथिको ठूला षडयन्त्रको हिस्सा’ भनेका छन् । प्रस्तोताले राजनीतिक दल सञ्चालन, कार्यकर्ता व्यवस्थापन र दैनिक खर्चको सन्दर्भमा शीर्ष नेताको घरमा एकाध करोड हुनु असामान्य नहोला कि भन्ने प्रश्न उठाएपछि प्रचण्डले भने, ‘त्यो ठूलो कुरा होइन । तर मैले घरमा पैसा राख्दैनथें । विभिन्न साथीहरुकैमा १०–५ लाख गरेर राखिदिन्थें । यति गरे सुरक्षित पनि हुन्छ र पार्टीभित्र प्रश्न पनि उठ्दैन ।’

उनले साथीहरूलाई रकम कुन ठाउँमा छ भन्ने थाहा समेत रहेको बताएका छन् । यो स्वीकारोक्तिले शीर्ष नेतृत्वको वित्तीय पारदर्शिता कति अस्पष्ट छ भन्ने प्रश्न फेरि एक पटक उजागर गरेको छ । कार्यक्रममा प्रचण्डकी छोरी गंगा दाहालको घरमा भेटिएको शव तथा मृतकले पैसाको झोला समाएको भनिएको हल्लाबारे पनि प्रश्न उठ्यो । प्रचण्डले अनुसन्धान जारी रहेको भन्दै पूर्ण जानकारी खुलाउन नमिल्ने बताए । तर उनले त्यहाँ केही रकम भएको स्वीकार गरे । ‘केही पैसा थियो होला त्यहाँ । पक्कै थियो होला । मैले विभिन्न ठाउँमा पैसा राख्ने सन्दर्भमा त्यहाँ पनि पुगेको होला ।’

प्रचण्ड सचिवालयले भन्यो–महिला एक–तिहाइ पुर्‍याउन १३ जना थपिएको हो

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणका लागि सुरू भएको वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले स्पष्टीकरण दिएको छ । प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

आम चुनावका लागि दल दर्ता अनिवार्य भएपछि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही अनावश्यक भ्रम फैलाएको सचिवालयको जिकिर छ । ‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ’, आचार्यले भनेका छन् ।

उनका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो । कानुनअनुसार एक–तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको स्पष्ट गरिएको छ । उनले भने, ‘यसलाई नयाँ संरचना भनेर बुझ्नु गलत छ । विधानअनुसार पूर्ण संरचना पछि नै टुंगो लाग्नेछ ।’ सचिवालयले आयोगमा प्रस्तुत सूचीलाई लिएर कुनै पनि भ्रममा नपरी एकता अभियान पूरा गर्न दृढ रहन सबैमा आग्रह गरेको छ।

भावुक पत्र लेख्दै ‘सेक्युरिटी कमाण्डर’ ले छाडे प्रचण्डको साथ

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा कमाण्ड सम्हालेका पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाशचन्द्र पाण्डे ‘प्रलोप’ ले पदबाट राजीनामा दिएका छन् । उपत्यका विशेष प्रदेशका उपाध्यक्ष समेत रहेका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि प्रभावकारी निर्णय गर्न नसकेको भन्दै प्रचण्डको आलोचना समेत गरेका छन् ।

नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्व जनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो । संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन नसकेको प्रति असन्तुष्ट जनाउँदै उनले नेकपा माओवादी केन्द्र अर्थात नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा घोषणा गरेका छन् ।

उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन् । ‘… घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद सहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ पत्रमा भनिएको छ ।

‘घटनाक्रममा निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ उनले भने, ‘मलाई थाहा छ मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो । यो परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन । मलाई यो पनि थाहा छ ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छ । म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिनँ । मैले कुनै फाइदा लिइनँ । निःस्वार्थ विचार÷ नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ कतै कसैलाई मन दुखाएको भए यही पत्र मार्फतक्षमा माग्दछु ।’

उनले आज आफू भावुक बनेको पनि बताएका छन् । ‘के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्वेलित छ । पटक पटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु,’ उनले भनेका छन्, ‘आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई अलि बढी सम्झिएको छु । सायद उहाँहरू भइ दिएको भए मैले यो लेखिरहन पक्कै पर्दैन थियो, यो पनि मनमा खेल्छ ।’ उनी जनादर्न शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा छन् । उक्त समितिको आठ नम्बरमा उनको नाम छ ।

हेर्नुस् पत्र
कमरेड संयोजक

केन्द्रीय कार्यालय, काठमाडौं, कोटेश्वर

पेरिस डाँडा

अध्यक्ष कमरेड, मैले निकै सोचेर महान शहीदहरूलाई सम्झँदै म जस्तै तमाम घाइते शरीरभरि गोली र छर्रा बोकेर नियमित औषधि खाएर जीवन बचाउनुपर्ने सहयोद्दाहरूको पीडा अनुभूति गर्दै बेपत्ता साथीहरूलाई सम्झिएर माटो छोएर यो पत्र लेख्ने हिम्मत गरेको छु । मैले मेरो जिम्मेवारी भएको साङ्गठानिक फर्मेसनमा राजीनामा र सदस्यता परित्यागको पत्र दिएको जानकारी भयो होला भन्ने लाग्छ ।

आदरणीय संयोजक कमरेड

के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्वेलित छ। पटकपटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु । आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई अलि बढी सम्झिएको छु । सायद उहाँहरू भइदिएको भए मैले यो लेखिरहनुपर्ने पक्कै पर्दैन थियो, यो पनि मनमा खेल्छ । शान्ति प्रक्रियाको सुरुवाती समय कामीडाँडादेखि काठमाडौंका बौद्ध, ठमेल, भक्तपुरका होटलहरूमा बसेकोदेखि स्थायी रूपमा नयाँ बजारमा बस्न सुरु गरेको दिनहरू मानसपटलमा फनफनी घुमिरहेका छन् ।

बालुवाटारबाट सार्वजनिक हुँदा नेताहरूको एउटै ड्रेस, सुरक्षामा खटिएका जनमुक्ति सेनाको एउटै रङका सफारी सुट, पहिलो संविधानसभामा रोल्पादेखि काठमाडौं १० नम्बर क्षेत्रमा नेतृत्वको रक्षाको लागि गरिएको बन्दोवस्ती, ६ दिने हाम हड्ताल र कटुवाल प्रकरणमा नेताहरूको भागदौडमा तपाईंले हामी कमान्डरहरूलाई बरु म पनि मर्न तयार तर बालुवाटारबाटै संसारलाई दिएको हुँकार होस् वा गिरिजाप्रसाद कोइरालादेखि माधव नेपाल हुन् वा भारतका पूर्वराष्ट्रपति प्रतिभा पाटिलसम्मको भेटवार्ता ।

कूटनीतिक नियोगका विशिष्ट व्यक्तिदेखि सेना समायोजनको अन्तिम छलफल चल्दै गर्दा समायोजनको विषयमा रुकमांगद कटवालसँगका वार्तालापसम्म, अनि कटवाल र झलनाथले दिएको धोका हुन् वा भारतीय पक्षले यो वा त्यो नाममा पशुपति पुजारी काण्डमा दिएको तनावलाई कूटनीतिक प्रतिवाद र प्रतिरोधका निम्ति तयार प्रचण्ड । हरेक पटक पार्टी फुट्दा के म समस्या हो ? मसँगै रहेका तपाईं सचिवालय र फोर्सका कमरेडहरूले सुझाव दिनोस् है भन्ने प्रचण्ड म झलझल याद गरिरहेको छु । रेणु दिदी, अर्जुन र सागर भिनाजु जसले प्रचण्डलाई कहिले बेचेनन्, इमानमा अडिग ती दिनहरू रिल जस्तै फनफनी घुमिरहेका छन् ।

सँगै सुरक्षामा रहेका कमरेडहरूले खाजा÷खाना खाए वा खाएनन् सोध्ने प्रचण्ड, सीता आमाले आज भाषण गर्नुपर्छ चिल्लो–पिरो खाँदा गा¥हो हुन्छ भन्दा हामीलाई खुसुक्क मःम खान प¥यो भन्ने त्यो सरलताको प्रचण्ड आज म निकै विक्षिप्त छु, मैले यो लेख्न हुन्थ्यो वा हुँदैनथ्यो मलाई थाहा छैन । मसँग यस्ता अनुभूति र सत्य कथा कति छन् कति । मैले जीवनपर्यन्त नभन्दा देश र जनतालाई फाइदा पुग्ने अमिट छाप पनि अनगिन्ती छन् ।

नेपाली समाजको वर्गीय, क्षेत्रीय, जातीय, लैगिंक अधिकारका लागि जीवनलाई तिलाञ्जली दिन तयार प्रेरणाको स्रोत कोही छ भने त्यो प्रचण्ड नै हो । पुरातन अतिवादी संस्कार र मान्यताहरूको मूल जरोलाई हल्लाइदिने कोही हो भने तपाईं हो। इतिहासको कठघरामा उभिएर जन्मिएको माटोलाई छातीमा राखेर तमाम शहीदहरूलाई सम्झिएर कसम खानुपरेको दिन यो चाहिँ गर्वले भन्छु, प्रचण्ड इमानदार छन् ।

मडारिएको कालो बादल

केही वर्षदेखि पार्टीभित्र बढ्दै गएको आत्मकेन्द्रित व्यक्तिवाद, तपाईंलाई देखाएर आफ्ना कमिटी÷जवस मोर्चाहरूका नेताहरूले सहयोद्धा कमरेडहरूलाई गरेको छिःछिः दूरदूर, फरक विचारलाई कत्लेआम, अपमान यति असहिष्णु बढेको छ त्यो व्यक्ति हत्यासम्म नपुग्ला भन्न सकिन्न ।

तथ्य र सत्य रिपोर्टिङ तपाईंकहाँ आउने बाटोहरू पूर्ण रूपमा बन्द गराउँदै आइरहेका छन् । आफू, आफ्ना वा आफ्ना नश्लसमेत जोडिएकालाई खातमाथि खात पार्दै निमुखा, इमानदार कार्यकर्ता, जनतालाई धोका दिइरहेका छन्। तपाईंलाई खुसी पार्न गरिने जायज वा नाजायज पर्दा पछाडिका खेलहरू यति गम्भीर छन् कि सायद त्यसले भोलिका दिनहरूमा भौतिक शरीरमाथि पनि सजिलै धावा बोल्ने फराकिलो बाटो तय गरेका छन् ।

तपाईं पूर्व–पश्चिम जनताको घरदैलोमा रहँदा तराई कुनै जिल्लामा धारोमा सामान्य चिप्लिएको कुरा होस् वा तपाईंले प्रयोग गर्ने कपडा, खाने नुन होस् वा चामल, कफी होस् वा तरकारी त्यो निशानामा छ । छिनभरमै सूचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी ? यो मलाई राम्रो अनुभूत छ । आफ्नै भन्नेहरू वैरी छन् । अविश्वास पनि कसलाई किन कसरी गर्ने ? विस्तारै घेरा हाल्दै हाल्दै आज तपाईंलाई किरण, बाबुराम, विप्लव वा कठिन यात्रामा सँगसँगै रहेका बादल, जनार्दनभन्दा पहिला माधव, झलनाथ, वामदेवहरू प्रिय बनाइदिएका छन् ।

तपाईंको भावना, पिर, वेदना मजाले पोखेर मन शान्त पार्ने, कुरा सुनेर हामी छौं संयोजक कमरेड भनिदिने पात्र पनि म देख्दिनँ । लुछ्ने, खाने, बार्गेनिङ गर्ने, घुर्की लाउने, दिए प्रचण्ड महान नेता नदिए खत्तम्। यस्तै घेराको बीचमा तपाईं हुनुहुन्छ। तपाईं घेरा तोडेर बाहिर निस्कन अब ढिलो हुने क्रम बढ्दै छ । फरक मत राख्नेको उछितो काढेका छन् । लेलिनवादी सांगठनिक मान्यतासमेत मान्ने परिस्थिति कमिटीहरूमा छैन ।

संगठन मा वस्तुवादो विधि तयार, पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा तपाईंले बोड्ली लिन नसकेको डिसिजन पनि घेराबन्दी हो ।

राजीनामा र पार्टी परित्याग

अतः यी र यस्ता घट्नाक्रम निरन्तर हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (मा.के) अर्थात् हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु । मलाई थाहा छ, मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो। यो परीक्षा पास गर्न चानचुने मिहिनेत पर्दैन । मलाई यो पनि थाहा छ, ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छन्। म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं, मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिनँ। मैले कुनै फाइदा लिइनँ । निःस्वार्थ विचार-नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ, कतै, कसैलाई मन दुखाएको भए यही पत्रमार्फत क्षमा माग्दछु ।

प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’

उपाध्यक्ष

उपत्यका विशेष प्रदेश

प्रचण्डको प्रश्न : विद्यालाई सदस्यता नदिने पनि मदन भण्डारीको एमाले हुन सक्छ ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन् ।

आज (बुधबार) भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रममा उनले परिवारलाई समेत बदनाम गर्ने कोशिस भएको बताएका छन् । ‘जनताको बहुुदलीय जनवाद भनेर कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनु भएको छ,’ प्रचण्डले भने, ‘अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपमान गर्ने र त्यसलाई बदनाम गर्ने कोशिस भएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मदन भण्डारीबारे व्यक्तिगत कुरा गरेर अपमान गरेको उनले टिप्पणी गरे । ‘अहिले एमाले विल्कुल यो लाइनबाट त्यो लाइन गएर मदन भण्डारीले त सहकारी ठगीको आरोप लागेको थियो,’ प्रचण्डले भने, ‘बिहे पनि ३ वटा भएका थिए । चारवटा बिहे भएका थिए भनेर केपी ओलीले नै सार्वजनिक रुपमा भन्नु भनेको मदन भण्डारीको यो भन्दा ठूलो अपमान केही हुन सक्छ ?’

‘अहिले कमरेड विद्या भण्डारीेले पार्टी सदस्यता पाउँ भन्दा पार्टी सदस्यता नदिन जसरी गएको छ । त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्दछ त ? कुनै पनि हालतमा सक्दैन,’ उनले थपे ।

राष्ट्र बचाउने एकता हो, चुनाव जित्न होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल चुनाव जित्नको लागि नभई राष्ट्र बचाउनका लागि आफूहरूले एकता गरेको बताएका छन् ।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनु पर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर एकता भएको जिकिर गरे । उनले भने, ‘इतिहासमा यति संकटमा शायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन ।’ जेनजी आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए ।

‘जेनजी युवाहरूको हत्या गर्नेले हामीलाई वृद्ध आश्रम भन्दैछन्’
संयोजक ‘प्रचण्ड’ ले एमाले अध्यक्ष ओली ओलीले आफ्नो पार्टीलाई वृद्ध आश्रम भनेकोप्रति असन्तुष्टि जनाएका छन् । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्ध आश्रम भनेको भन्दै आक्रोश पोखे। ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धा आश्रमसँग तुलना गरेका थिए ।

त्यसको जवाफ दिँदै उनले भने, जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ । अब जेनजी युवाहरूले बिस्तारै बुझ्दै जाने बताए ।

एमालेका सबै नेता नेकपामा आउँछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए ।

उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताए । उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’ गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।