`

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन मात्र : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जान सक्ने चेतावनी दिए ।

उनले सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताए । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गरे । उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दुसूची प्रस्तुत गर्दैछौँ ।’

उनले भने, ‘सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ ।’ संयोजक दाहालले नयाँ युवाहरुले राजनीतिप्रति रुची बढ्दै जानु सकारात्मक पक्ष भएको बताए । शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने उनले बताएका छन् ।

संसद् पुनर्स्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटनामा पर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनर्स्थापना नहुने दाबी गरेका छन् । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनः स्थापनाको कुरामा लागेको आरोप लगाए ।

उनले भने, ‘न्यायालयमा पनि जानु भएको छ । तर म तपाई सबै र जनतालाई भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन । संसद् पुनर्स्थापना हुँदैन । निर्वाचन अब अगाडि आई नै सक्यो । निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन् ।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी समेत गरेका छन् । उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे । उनले भने, ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ । अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ ।’

सरकारका प्रवक्तालाई प्रचण्डले भने– फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौं

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मै चुनाव हुनुपर्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले चुनावको विकल्प नभएको बताएका हुन् ।

प्रचण्डलाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ । प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ ।’

नेकपा संयोजक प्रचण्डसँग सञ्चारमन्त्रीको भेटवार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहेका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।

 

सुनसरी–४ बाट प्रचण्डको नाम सिफारिस

मोरङ । आउँदो फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । बुधबारको बैठकले प्रचण्डको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिएका छन् । सो निर्वाचन क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।

यो क्षेत्रबाट पछिल्लो २ चुनावमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार विजयी भएका छन् । यस पटक पनि कांग्रेसबाट कार्कीसहितकै नाम सिफारिस गरिएको छ । यस्तै नेकपाले समानुपातिकतर्फ योगेन्द्र प्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनलाई सिफारिस गरेको छ । यस्तै मोरङ ४ बाट नेकपाले अमनलाल मोदीको एकल नाम सिफारिस गरेको छ । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । मोरङ ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस गरिएको छ । ७९ को निर्वाचनमा मण्डल यहाँ पराजित भएका थिए । मोरङका ६ वटा क्षेत्रबाट ८० जनाको नाम सिफारिस गरिएको छ ।

रवि लामिछानेलाई चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ । बिहीबार केही अनलाइन सञ्चारमाध्यममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने, ‘चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गर्नु भएको छैन ।’ सचिवालयले सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टिबिनै एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता ‘झुटा’ समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

प्रचण्ड र माधव नेपालले भेटे झलनाथ पत्नी रविलक्ष्मीलाई

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् । जेनजी आन्दोलनमा घर आगजनीमा पर्दा रविलक्ष्मी घाइते भएकी थिइन् । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराएर उनलाई उप उपचारका लागि भारतका अस्पताल लगिएको थियो ।

उपचार गराएर उनी हालै स्वदेश फर्केकी थिइन् । संयोजक र सहसंयोजकले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ । चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी प्राप्त भएको संयोजक प्रचण्डको सचिवालयको भनाइ छ ।

जनार्दनलाई २८ दिनमै छाडेर दम्पती नै प्रचण्डतिर

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र पत्नी सीता दाहाल फेरि प्रचण्डतिरै फर्किएका छन् । उनीहरुले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू फेरि नेपाली कम्युनिष्ट पार्टीमै फर्किएको जानकारी गराएका प्रचण्डको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । गएको कात्तिक २९ गते बलंपाकी र दाहालले वक्तव्यमार्फत् माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने निर्णय गर्दै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका थिए ।

महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि मात्रै एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा छाडेर शर्मातिर लागेका उनीहरूले २८ दिनमै जनार्दनलाई पनि छाडेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरीराजमणि पोखरेलसँगै प्रचण्ड निवास पुगेका उनीहरूले आफूहरु पुनः नेकपामै फर्किएको जानकारी गराएका आचार्यले बताए । नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमा पुगेको जानकारी दिए । ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा हामी भेट्न गएका थियौं । आजै उहाँको जन्म दिवस रहेछ । जन्मदिनको हार्दिक शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको २२ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले यस्तो माग राखेका हुन् ।

‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह–पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरण लगायत ठूल–ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’ भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको संघर्ष भएको बताएका छन् ।

प्रचण्डको दावी : मधेश जस्तै अन्य प्रदेशमा पनि एमाले बाहेकको सत्ता समीकरण बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संरचनाले अब अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् । मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक समीकरण भत्किेर नयाँ समीकरण उदाएको उल्लेख गरे ।

उनका अनुसार देशमा गणतन्त्र आएपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको कारण जेनजी आन्दोलन उत्पन्न भयो, जसले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षाका लागि बाध्य बनाएको बताउँदै उनले त्यसलाई सुधारका अवसरका रूपमा व्याख्या गरे। जेनजी आन्दोलनपछि एकता र रूपान्तरणको नयाँ दृष्टिकोणसहित विकासतर्फ अघि बढ्न नेकपासहित वाम शक्तिहरू जुटेका उनले बताए ।

प्रचण्डले एमालेभित्रका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट शक्ति–समूहलाई समेत एउटै संगठनमा एकताबद्ध गर्ने लक्ष्य राखेको स्पष्ट पारे । देशलाई प्रतिगमन र प्रतिक्रियावादबाट जोगाउन सबै जनतामाथि आधारित वाम एकता अनिवार्य भएको उनको भनाइ थियो । मधेश प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिष्ट नेतृत्वका सरकारले नै सुरू गरेको उल्लेख गर्दै उनले ती योजनालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पनि कम्युनिष्ट सरकारकै रहने दाबी गरे ।

सेनाले मात्र देशको रक्षा गर्न सक्दैन : प्रचण्ड

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि संकटमुक्त भइनसकेको अवस्थामा रहेको बताएका छन् ।

प्रचण्डले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’ सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’

कम्युनिष्ट पार्टीहरूको एकता र विभाजन हुने गरेको इतिहास उल्लेख गर्दै यो पटकको एकता त्यस्तो नभएको दाहालको दाबी छ । १६ वटा नेपाली कम्युनिष्ट पार्टी बनेर एउटा पार्टी बनेको इतिहासमा पहिलो चोटि भएको भन्दै उनले थपे, ‘हामी रूपान्तरण भएका छौँ । अब पुरानो तरिकाले चल्दैनौँ, नयाँ तरिकाले जान्छौँ भन्ने सन्देश हो ।’

यो एकतालाई हल्का रूपमा नलिन भन्दै प्रचण्डले शान्तिपूर्ण तरिकाले निर्वाचन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘हामी त निर्वाचनमा लागि सक्यौँ सरकारले पनि त्यतातिर ध्यान देओस् । यो सरकार पूर्णतया चुनावी सरकार हो । दीर्घकालीन महत्त्वका सन्धि सम्झौतातर्फ नलागोस् ।’

‘सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ’
संयोजक प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव हुनुपर्ने बताएका हुन् । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ, उनले भने ।

उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह समेत गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ छ । उनले देशको वर्तमान समस्य समाधानका लागि लोकतान्त्रिक पार्टीलाई सहकार्यका लागि आग्रह गरेका छन् । नेपालको शान्ति प्रक्रियामा कम्युनिस्ट र लोकतान्त्रिक पार्टी मिलेर अघि बढाएको बताउँदै उनले जेनजी आन्दोलनपछिको परिस्थितिको निकासका लागि सहकार्य गर्नुपर्ने बताएका हुन् ।

 

१५ पार्टी एकढिक्का भएर आत्मालोचना गर्न आएका छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपालसँगको सहकार्य हठात नभएको भन्दै यसको इतिहास झण्डै ४० वर्ष पुरानो रहेको बताएका छन् । उनले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दर्जनौं वाम घटकबीचको हालको एकतालाई केवल चुनाव जित्नको लागि नभई लामो समयदेखि चलेको सहकार्य र संवादको परिणाम भएको बताए ।

प्रचण्डले दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै भने, ‘२०४१-०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनमा संवाद र सहकार्य गर्दै आएका थियौं । ०४२ देखि ०४६ सालसम्म र जनयुद्धको क्रममा पनि लगातार संवादमा रह्यौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्‍यौं । आजको एकता हठात भएको होइन, झण्डै ४०–४१ वर्षको सहकार्य, संवाद र आन्दोलनको परिणाम हो ।’

प्रचण्डले हालैको जेनजी आन्दोलनले पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । उनले युवापुस्ताको भावना र जनताको चाहनाअनुसार आफूहरूलाई सच्याउनु पर्ने आवश्यकतालाई औँल्याउँदै भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौं । यो सन्देशसभा आफ्नो कमी कमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्ने अवसर हो । हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टी बनेका हौं ।’

प्रचण्डले हजारौं जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टीभित्र भित्रिरहेको उल्लेख गर्दै आफूहरू बदलिएर जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देश कमजोर बनेको अवस्था र विगतका गल्ती–कमजोरीहरूको समीक्षा गर्न आवश्यक रहेको बताए ।

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौं, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ वाम घटकलाई एक ठाउँमा ल्याएर नयाँ रेकर्ड बनाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वामपन्थी एकताको आवश्यकतामा जोड दिँदै भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो । सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिष्ट पार्टी गठन गरेका हौं ।’

प्रचण्डले अब पार्टीमा कुनै माओवादी वा एकीकृत समाजवादी नछुटेको दावी गरेका छन् । उनले एमालेभित्र रहेका क्रान्तिकारी कार्यकर्ताहरूलाई गहिरो रुपमा सोच्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । धनगढीमा पहिलो पटक आयोजित सन्देश सभामा प्रचण्डले आर्थिक व्यवस्थापनको चुनौती समेत औंल्याए । उनले भने, ‘आजको सभा पहिले जस्तै ठूलो रकम खर्च गरेर आयोजना गर्न नसकिएकाले जनताको उपस्थिति कम हुन सक्छ भन्ने चिन्ता थियो । विगतमा यस्ता सभामा ठूलो खर्च हुन्थ्यो, तर यस पटक केन्द्रबाट कुनै रकम पठाउन सकिएन।’

उनले सुरक्षा व्यवस्थालाई पनि चुनौतीपूर्ण बताएका छन् । ‘धनगढीमा केही दिनअघि अन्य पार्टीका कार्यक्रममा व्यवधान आएको खबर हामीले सामाजिक सञ्जालबाट देखेका थियौं । तर यहाँका नेता–कार्यकर्ताले ती सबै चुनौतीहरूको बलियो उत्तर दिनुभयो र सभा सफल बनाउनु भयो’, प्रचण्डले भने । नेपाली कम्युनिष्ट पार्टीले देशका सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने योजना बनाएको छ ।

 

फेरि प्रधानमन्त्री बन्ने रुचि छैन, तर देशले मागे जिम्मेवारीबाट पन्छिन्न : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अब प्रधानमन्त्री बन्ने धेरै रुचि नभएको बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशले मागे जिम्मेवारीबाट भने नपन्छिने बताएका छन् ।

उनले भने, ‘राजेन्द्र पाण्डेजीले मलाई केही भारी बोकाउँछु भन्दै उठ्नु भएको थियो । बोकाउनु पनि भयो । उहाँले आगामी निर्वाचनपछि मलाई फेरि एक पटक प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र प्रधानमन्त्रीको रूपमा गर्नुपर्ने कामको बारेमा केही कुरा राख्नु भयो । प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन । तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन ।’

उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर गरे । उनले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै संख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको बताए ।

जेनजीले नेकपालाई अभिभावक ठान्न थालेका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।

संयोजक प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको जिकिर गरे । ‘युवाका ती सही आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भनेर सबभन्दा पहिले सरकारलाई खबरदारी पनि गर्‍यौं, त्यहि पहलका कारण र विस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन्,’ उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधिनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्दै उनले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनीतिक दललाई अपिल गर्ने बताए । उनले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उनको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उनले बताए ।

उनले भने, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखी धनगढीबाट सभाहरु सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपिल पनि गर्नेछौँ । राजनीतिक दलहरुलाई अपिल गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भिर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहिँ न कहिँ दबाब पनि सृष्टि गर्नेछौँ । र देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’ उनले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दाबी गरे ।

जेनजीलाई प्रचण्डले भने–अब तपाईहरुकाे हातमा जिम्मेवारी सुम्पिन्छु

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी राजनीतिक नेतृत्व र राष्ट्र निर्माणको जिम्मेवारी अब युवापुस्तालाई सुम्पिने बताएका छन् । वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र मात्रै होइन, देशको समग्र परिवर्तनको यात्रालाई नयाँ पुस्ताको हातमा उभार्ने समय आएको बताए ।

प्रचण्डले पार्टीका समितीसम्म युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको जानकारी दिए । पार्टीभित्र आगामी निर्वाचनमा ‘सबैभन्दा धेरै अवसर युवालाई’ दिने विषयमा गम्भीर छलफल भईरहेको उल्लेख गर्दै उनले पुराना पुस्ताले अब उत्तराधिकारी निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘हामीले अर्को नयाँ सपना देख्नु पर्छ । अब जिम्मेवारी युवा पुस्तालाई सुम्पने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

युवापुस्तामा बढ्दो असन्तोष र परिवर्तनकारी भावनालाई स्वीकार गर्दै प्रचण्डले हालै भदौ २३–२४ मा उठेको ‘जेन–जी आन्दोलन’ले भ्रष्टाचारविरुद्धको अभियानलाई ठूलो ऊर्जा दिएको बताए । उनका अनुसार, भ्रष्टाचार अहिले राष्ट्रका लागि ‘विकाराल र दुर्भाग्यपूर्ण चुनौती’ का रूपमा उभिएको छ । सरकारमा हुँदा र सडकमा हुँदा दुवै अवस्थामा आफूहरूले आवाज उठाइरहे पनि अपेक्षित सुनुवाइ नभएको स्वीकार गर्दै उनले नयाँ पुस्ताले उठाएको आवाजले आफूहरूलाई पनि पुनः जागृत बनाएको बताए ।

प्रचण्डले आन्दोलनकारी युवाप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध, सुशासन र स्वतन्त्रताको पक्षमा जसरी आवाज उठाउनु भयो, त्यो आवाजले हाम्रो अभियानलाई नयाँ ऊर्जा दियो ।’ देशको वर्तमान चुनौती समाधान गर्न पुराना र नयाँ पुस्ता सबै मिलेर ‘राष्ट्र पहिलो’ भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको प्रचण्डको भनाइ थियो । उनले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा गर्दै युवापक्षीय परिवर्तनलाई आत्मसात् गर्न तयार भएको सन्देश पनि दिएका छन् ।

जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले उठान गरेका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन् । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन् ।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्‍याउनु हुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। ‘नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड तथा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ ।’

उनले भने, ‘यस अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपांग तथा वहाँहरुका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक आदरणीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गर्दछु ।’

नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ। उनले शान्ति सम्झौताको आत्मा अनुरूप आवश्यक परिमार्जन गर्न सकेमात्र युवाहरूको आकांक्षाको सम्बोधन हुने बताएका छन् ।

‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो । अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन् । शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ ।’प्रचण्डले भने, ‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपील गर्दछु ।’

 

सिमरा घटनाबारे प्रचण्ड : हिंसा होइन, संयम आवश्यक

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन् ।

प्रचण्डले लोकतन्त्रमा राजनीतिक र वैचारिक मतभिन्नता स्वाभाविक भएको भए पनि, त्यसलाई हिंसा र उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति विपरीत भएको बताएका छन् । ‘सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।’

उनका अनुसार लोकतन्त्रमा मतभिन्नता प्राकृतिक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको कदम हो । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन् ।

उनले सबै दल र नेताहरूलाई राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा हिँडडुल र सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यसैगरी प्रचण्डले आगामी निर्वाचनको शान्तिपूर्ण र निष्पक्षतामा कुनै पनि नकारात्मक प्रभाव नपार्नका लागि सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु,’ प्रचण्डले भने । अध्यक्ष प्रचण्डले स्थानीय पार्टी समितिहरूलाई घटनास्थलमा सहयोग र सहजीकरण गर्न निर्देशन दिएका छन् ।

 

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताएका छन् । उनले सबै राजनीतिक दलहरुको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् । उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए ।

उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भिरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’ उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मंगलबारको बैठकमा टुंग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रुपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ ।

शीर्ष नेताको घरमा एकाध करोड हुनु ठूलो कुरा होइन : प्रचण्ड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरबाट जम्मा एक लाख रुपैयाँ भेटिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै रकम घरमै नराख्ने गरेको दाबी गरेका छन् । तर सुरक्षा कारण देखाउँदै १०–५ लाखका रुपैंयाँ साथीभाइका घरमा राख्ने गरेको स्वीकारोक्तिले भने राजनीतिक प्रश्न खडा गरेको छ ।

हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा प्रस्तोता निमेष बन्जाडेको लगातार कडा प्रश्नकाबीच प्रचण्डले पैसा व्यवस्थापनबारे खुलेर बोल्न बाध्य बनेका थिए । आफ्नो घरमा ठूलो परिमाणको पैसा भेटिएको हल्ला असत्य भएको जिकिर गर्दै प्रचण्डले भने, ‘प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । अरुको घरमा देखिएको पैसा मेरो भनिएको झूटो प्रचार हो ।’

अघिल्लो रात दुई ट्रक पैसा अन्यत्र लैजाने काम भएको भनी एक पूर्व प्रहरी अधिकारीले आरोप लगाएको विषयमा उनले कडै प्रतिक्रिया व्यक्त गर्दै यसलाई ‘१०० प्रतिशत झूटो’ र ‘नेपालका नेताहरूमाथिको ठूला षडयन्त्रको हिस्सा’ भनेका छन् । प्रस्तोताले राजनीतिक दल सञ्चालन, कार्यकर्ता व्यवस्थापन र दैनिक खर्चको सन्दर्भमा शीर्ष नेताको घरमा एकाध करोड हुनु असामान्य नहोला कि भन्ने प्रश्न उठाएपछि प्रचण्डले भने, ‘त्यो ठूलो कुरा होइन । तर मैले घरमा पैसा राख्दैनथें । विभिन्न साथीहरुकैमा १०–५ लाख गरेर राखिदिन्थें । यति गरे सुरक्षित पनि हुन्छ र पार्टीभित्र प्रश्न पनि उठ्दैन ।’

उनले साथीहरूलाई रकम कुन ठाउँमा छ भन्ने थाहा समेत रहेको बताएका छन् । यो स्वीकारोक्तिले शीर्ष नेतृत्वको वित्तीय पारदर्शिता कति अस्पष्ट छ भन्ने प्रश्न फेरि एक पटक उजागर गरेको छ । कार्यक्रममा प्रचण्डकी छोरी गंगा दाहालको घरमा भेटिएको शव तथा मृतकले पैसाको झोला समाएको भनिएको हल्लाबारे पनि प्रश्न उठ्यो । प्रचण्डले अनुसन्धान जारी रहेको भन्दै पूर्ण जानकारी खुलाउन नमिल्ने बताए । तर उनले त्यहाँ केही रकम भएको स्वीकार गरे । ‘केही पैसा थियो होला त्यहाँ । पक्कै थियो होला । मैले विभिन्न ठाउँमा पैसा राख्ने सन्दर्भमा त्यहाँ पनि पुगेको होला ।’

प्रचण्ड सचिवालयले भन्यो–महिला एक–तिहाइ पुर्‍याउन १३ जना थपिएको हो

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणका लागि सुरू भएको वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले स्पष्टीकरण दिएको छ । प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

आम चुनावका लागि दल दर्ता अनिवार्य भएपछि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही अनावश्यक भ्रम फैलाएको सचिवालयको जिकिर छ । ‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ’, आचार्यले भनेका छन् ।

उनका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो । कानुनअनुसार एक–तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको स्पष्ट गरिएको छ । उनले भने, ‘यसलाई नयाँ संरचना भनेर बुझ्नु गलत छ । विधानअनुसार पूर्ण संरचना पछि नै टुंगो लाग्नेछ ।’ सचिवालयले आयोगमा प्रस्तुत सूचीलाई लिएर कुनै पनि भ्रममा नपरी एकता अभियान पूरा गर्न दृढ रहन सबैमा आग्रह गरेको छ।

भावुक पत्र लेख्दै ‘सेक्युरिटी कमाण्डर’ ले छाडे प्रचण्डको साथ

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा कमाण्ड सम्हालेका पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाशचन्द्र पाण्डे ‘प्रलोप’ ले पदबाट राजीनामा दिएका छन् । उपत्यका विशेष प्रदेशका उपाध्यक्ष समेत रहेका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि प्रभावकारी निर्णय गर्न नसकेको भन्दै प्रचण्डको आलोचना समेत गरेका छन् ।

नेकपा विभाजनपछि र सरकारले सुरक्षा दस्ता फिर्ता गरेपछि पाण्डे नेतृत्वमा १० जना पूर्व जनमुक्ति सेनाको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो । संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन नसकेको प्रति असन्तुष्ट जनाउँदै उनले नेकपा माओवादी केन्द्र अर्थात नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा घोषणा गरेका छन् ।

उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजकलाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन् । ‘… घट्ना क्रम निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पद सहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ पत्रमा भनिएको छ ।

‘घटनाक्रममा निरन्तरता हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (माओवादी केन्द्र) अर्थात हाल नेपाली कम्युनिस्ट पार्टीको साधरण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु,’ उनले भने, ‘मलाई थाहा छ मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो । यो परीक्षा पास गर्न चानचुने मेहनत पर्दैन । मलाई यो पनि थाहा छ ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छ । म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिनँ । मैले कुनै फाइदा लिइनँ । निःस्वार्थ विचार÷ नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ कतै कसैलाई मन दुखाएको भए यही पत्र मार्फतक्षमा माग्दछु ।’

उनले आज आफू भावुक बनेको पनि बताएका छन् । ‘के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्वेलित छ । पटक पटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु,’ उनले भनेका छन्, ‘आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई अलि बढी सम्झिएको छु । सायद उहाँहरू भइ दिएको भए मैले यो लेखिरहन पक्कै पर्दैन थियो, यो पनि मनमा खेल्छ ।’ उनी जनादर्न शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा छन् । उक्त समितिको आठ नम्बरमा उनको नाम छ ।

हेर्नुस् पत्र
कमरेड संयोजक

केन्द्रीय कार्यालय, काठमाडौं, कोटेश्वर

पेरिस डाँडा

अध्यक्ष कमरेड, मैले निकै सोचेर महान शहीदहरूलाई सम्झँदै म जस्तै तमाम घाइते शरीरभरि गोली र छर्रा बोकेर नियमित औषधि खाएर जीवन बचाउनुपर्ने सहयोद्दाहरूको पीडा अनुभूति गर्दै बेपत्ता साथीहरूलाई सम्झिएर माटो छोएर यो पत्र लेख्ने हिम्मत गरेको छु । मैले मेरो जिम्मेवारी भएको साङ्गठानिक फर्मेसनमा राजीनामा र सदस्यता परित्यागको पत्र दिएको जानकारी भयो होला भन्ने लाग्छ ।

आदरणीय संयोजक कमरेड

के प्रचण्ड ब्रिगिएकै हुन् त ? अन्तर हृदयदेखि मन उद्वेलित छ। पटकपटक गरी लामो समय तपाईंको सुरक्षाका लागि रहेको सिपाही, तपाईंका लागि मर्न तयार म आज निकै भावुक छु । आज सीता आमा, ज्ञानु दिदी र प्रकाश दाइलाई अलि बढी सम्झिएको छु । सायद उहाँहरू भइदिएको भए मैले यो लेखिरहनुपर्ने पक्कै पर्दैन थियो, यो पनि मनमा खेल्छ । शान्ति प्रक्रियाको सुरुवाती समय कामीडाँडादेखि काठमाडौंका बौद्ध, ठमेल, भक्तपुरका होटलहरूमा बसेकोदेखि स्थायी रूपमा नयाँ बजारमा बस्न सुरु गरेको दिनहरू मानसपटलमा फनफनी घुमिरहेका छन् ।

बालुवाटारबाट सार्वजनिक हुँदा नेताहरूको एउटै ड्रेस, सुरक्षामा खटिएका जनमुक्ति सेनाको एउटै रङका सफारी सुट, पहिलो संविधानसभामा रोल्पादेखि काठमाडौं १० नम्बर क्षेत्रमा नेतृत्वको रक्षाको लागि गरिएको बन्दोवस्ती, ६ दिने हाम हड्ताल र कटुवाल प्रकरणमा नेताहरूको भागदौडमा तपाईंले हामी कमान्डरहरूलाई बरु म पनि मर्न तयार तर बालुवाटारबाटै संसारलाई दिएको हुँकार होस् वा गिरिजाप्रसाद कोइरालादेखि माधव नेपाल हुन् वा भारतका पूर्वराष्ट्रपति प्रतिभा पाटिलसम्मको भेटवार्ता ।

कूटनीतिक नियोगका विशिष्ट व्यक्तिदेखि सेना समायोजनको अन्तिम छलफल चल्दै गर्दा समायोजनको विषयमा रुकमांगद कटवालसँगका वार्तालापसम्म, अनि कटवाल र झलनाथले दिएको धोका हुन् वा भारतीय पक्षले यो वा त्यो नाममा पशुपति पुजारी काण्डमा दिएको तनावलाई कूटनीतिक प्रतिवाद र प्रतिरोधका निम्ति तयार प्रचण्ड । हरेक पटक पार्टी फुट्दा के म समस्या हो ? मसँगै रहेका तपाईं सचिवालय र फोर्सका कमरेडहरूले सुझाव दिनोस् है भन्ने प्रचण्ड म झलझल याद गरिरहेको छु । रेणु दिदी, अर्जुन र सागर भिनाजु जसले प्रचण्डलाई कहिले बेचेनन्, इमानमा अडिग ती दिनहरू रिल जस्तै फनफनी घुमिरहेका छन् ।

सँगै सुरक्षामा रहेका कमरेडहरूले खाजा÷खाना खाए वा खाएनन् सोध्ने प्रचण्ड, सीता आमाले आज भाषण गर्नुपर्छ चिल्लो–पिरो खाँदा गा¥हो हुन्छ भन्दा हामीलाई खुसुक्क मःम खान प¥यो भन्ने त्यो सरलताको प्रचण्ड आज म निकै विक्षिप्त छु, मैले यो लेख्न हुन्थ्यो वा हुँदैनथ्यो मलाई थाहा छैन । मसँग यस्ता अनुभूति र सत्य कथा कति छन् कति । मैले जीवनपर्यन्त नभन्दा देश र जनतालाई फाइदा पुग्ने अमिट छाप पनि अनगिन्ती छन् ।

नेपाली समाजको वर्गीय, क्षेत्रीय, जातीय, लैगिंक अधिकारका लागि जीवनलाई तिलाञ्जली दिन तयार प्रेरणाको स्रोत कोही छ भने त्यो प्रचण्ड नै हो । पुरातन अतिवादी संस्कार र मान्यताहरूको मूल जरोलाई हल्लाइदिने कोही हो भने तपाईं हो। इतिहासको कठघरामा उभिएर जन्मिएको माटोलाई छातीमा राखेर तमाम शहीदहरूलाई सम्झिएर कसम खानुपरेको दिन यो चाहिँ गर्वले भन्छु, प्रचण्ड इमानदार छन् ।

मडारिएको कालो बादल

केही वर्षदेखि पार्टीभित्र बढ्दै गएको आत्मकेन्द्रित व्यक्तिवाद, तपाईंलाई देखाएर आफ्ना कमिटी÷जवस मोर्चाहरूका नेताहरूले सहयोद्धा कमरेडहरूलाई गरेको छिःछिः दूरदूर, फरक विचारलाई कत्लेआम, अपमान यति असहिष्णु बढेको छ त्यो व्यक्ति हत्यासम्म नपुग्ला भन्न सकिन्न ।

तथ्य र सत्य रिपोर्टिङ तपाईंकहाँ आउने बाटोहरू पूर्ण रूपमा बन्द गराउँदै आइरहेका छन् । आफू, आफ्ना वा आफ्ना नश्लसमेत जोडिएकालाई खातमाथि खात पार्दै निमुखा, इमानदार कार्यकर्ता, जनतालाई धोका दिइरहेका छन्। तपाईंलाई खुसी पार्न गरिने जायज वा नाजायज पर्दा पछाडिका खेलहरू यति गम्भीर छन् कि सायद त्यसले भोलिका दिनहरूमा भौतिक शरीरमाथि पनि सजिलै धावा बोल्ने फराकिलो बाटो तय गरेका छन् ।

तपाईं पूर्व–पश्चिम जनताको घरदैलोमा रहँदा तराई कुनै जिल्लामा धारोमा सामान्य चिप्लिएको कुरा होस् वा तपाईंले प्रयोग गर्ने कपडा, खाने नुन होस् वा चामल, कफी होस् वा तरकारी त्यो निशानामा छ । छिनभरमै सूचना लाजिम्पाट वा चक्रपथ पुग्छ कसरी ? यो मलाई राम्रो अनुभूत छ । आफ्नै भन्नेहरू वैरी छन् । अविश्वास पनि कसलाई किन कसरी गर्ने ? विस्तारै घेरा हाल्दै हाल्दै आज तपाईंलाई किरण, बाबुराम, विप्लव वा कठिन यात्रामा सँगसँगै रहेका बादल, जनार्दनभन्दा पहिला माधव, झलनाथ, वामदेवहरू प्रिय बनाइदिएका छन् ।

तपाईंको भावना, पिर, वेदना मजाले पोखेर मन शान्त पार्ने, कुरा सुनेर हामी छौं संयोजक कमरेड भनिदिने पात्र पनि म देख्दिनँ । लुछ्ने, खाने, बार्गेनिङ गर्ने, घुर्की लाउने, दिए प्रचण्ड महान नेता नदिए खत्तम्। यस्तै घेराको बीचमा तपाईं हुनुहुन्छ। तपाईं घेरा तोडेर बाहिर निस्कन अब ढिलो हुने क्रम बढ्दै छ । फरक मत राख्नेको उछितो काढेका छन् । लेलिनवादी सांगठनिक मान्यतासमेत मान्ने परिस्थिति कमिटीहरूमा छैन ।

संगठन मा वस्तुवादो विधि तयार, पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा तपाईंले बोड्ली लिन नसकेको डिसिजन पनि घेराबन्दी हो ।

राजीनामा र पार्टी परित्याग

अतः यी र यस्ता घट्नाक्रम निरन्तर हुन थालेपछि मलाई उपत्यका विशेष प्रदेशको निर्वाचित उपाध्यक्ष पदसहित नेकपा (मा.के) अर्थात् हाल नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्य समेतमा बसिरहनु उचित नलागेपछि राजीनामा पेस गरेको छु । मलाई थाहा छ, मेरो यो निर्णय मेरो ठूलो परीक्षा पनि हो। यो परीक्षा पास गर्न चानचुने मिहिनेत पर्दैन । मलाई यो पनि थाहा छ, ममाथि कस्ता आरोप वा शब्द प्रयोग हुन्छन्। म ती सबै आरोपको राजनीतिक प्रतिवादका लागि तयार छु । यो पत्रमा यत्ति चाहिँ भनौं, मैले तपाईं र यो पार्टीमा रहँदासम्म तपाईं र पार्टीको इमान बेचिनँ। मैले कुनै फाइदा लिइनँ । निःस्वार्थ विचार-नेतृत्वको रक्षा गरें । स्वभाव जन्य व्यवहारले कहीँ, कतै, कसैलाई मन दुखाएको भए यही पत्रमार्फत क्षमा माग्दछु ।

प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’

उपाध्यक्ष

उपत्यका विशेष प्रदेश

प्रचण्डको प्रश्न : विद्यालाई सदस्यता नदिने पनि मदन भण्डारीको एमाले हुन सक्छ ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन् ।

आज (बुधबार) भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रममा उनले परिवारलाई समेत बदनाम गर्ने कोशिस भएको बताएका छन् । ‘जनताको बहुुदलीय जनवाद भनेर कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनु भएको छ,’ प्रचण्डले भने, ‘अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपमान गर्ने र त्यसलाई बदनाम गर्ने कोशिस भएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मदन भण्डारीबारे व्यक्तिगत कुरा गरेर अपमान गरेको उनले टिप्पणी गरे । ‘अहिले एमाले विल्कुल यो लाइनबाट त्यो लाइन गएर मदन भण्डारीले त सहकारी ठगीको आरोप लागेको थियो,’ प्रचण्डले भने, ‘बिहे पनि ३ वटा भएका थिए । चारवटा बिहे भएका थिए भनेर केपी ओलीले नै सार्वजनिक रुपमा भन्नु भनेको मदन भण्डारीको यो भन्दा ठूलो अपमान केही हुन सक्छ ?’

‘अहिले कमरेड विद्या भण्डारीेले पार्टी सदस्यता पाउँ भन्दा पार्टी सदस्यता नदिन जसरी गएको छ । त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्दछ त ? कुनै पनि हालतमा सक्दैन,’ उनले थपे ।

राष्ट्र बचाउने एकता हो, चुनाव जित्न होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल चुनाव जित्नको लागि नभई राष्ट्र बचाउनका लागि आफूहरूले एकता गरेको बताएका छन् ।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै राष्ट्र बचाउनु पर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर एकता भएको जिकिर गरे । उनले भने, ‘इतिहासमा यति संकटमा शायद कहिल्यै परेको थिएन, सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । त्यसैले यो एकता गरिहालौँ चुनाव जित्नको लागि भनेर गरिएको होइन ।’ जेनजी आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकै कारणले एकता प्रक्रिया चाँडो भएको बताए ।

‘जेनजी युवाहरूको हत्या गर्नेले हामीलाई वृद्ध आश्रम भन्दैछन्’
संयोजक ‘प्रचण्ड’ ले एमाले अध्यक्ष ओली ओलीले आफ्नो पार्टीलाई वृद्ध आश्रम भनेकोप्रति असन्तुष्टि जनाएका छन् । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्ध आश्रम भनेको भन्दै आक्रोश पोखे। ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धा आश्रमसँग तुलना गरेका थिए ।

त्यसको जवाफ दिँदै उनले भने, जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ । अब जेनजी युवाहरूले बिस्तारै बुझ्दै जाने बताए ।

एमालेका सबै नेता नेकपामा आउँछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए ।

उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताए । उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’ गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।

आजको दिन अब कसैले बिर्साएर बिर्सने छैन : प्रचण्ड

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले आफूहरूलाई कमजोरी केलाउने र असाधारण एकताको लागि बल दिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी घोषणाको कार्यक्रममा बुधबार प्रचण्डले जेनजी आन्दोलन भएकै कारण १० वटा कम्युनिष्ट दलले ऐतिहासिक एकता घोषणा गरेको बताए ।

‘दलहरूलाई सच्याउनका लागि जेनजीले ऊर्जा दिनु भयो । आजको एकता नेताको संकल्पको पछाडि जेनजी आन्दोलन र सहिदको भूमिका छ । उहाँहरूले त्यसो नगरेको भए कमजोरीबाट सच्चिने र एकतातिर यति छिट्टै जानेमा आउने थिएनौं । बरु विभाजनतिर जाने स्थिति हुन्थ्यो,’ प्रचण्डले भने, ‘हाम्रा कमजोरी उजागार गरिदिनु भयो । हामी कहाँ चुक्यौ भन्ने कुरालाई आन्दोलनले, प्रविधिमार्फत् भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा आवाज बुलन्द गर्नुभयो । हामी सच्चिनुको विकल्पै छैन ।’

प्रचण्डले १० वटा कम्युनिष्ट दल एकै पटक मिलेको ऐतिहासिक दिन भएको पनि बताए । ‘नेपाली कम्युनिष्ट इतिहास कहिल्यै नबिर्सने दिन आज बनेको छ । १० वटा कम्युनिष्ट पार्टी एकै दिन मिलेको इतिहास छैन । त्यस कारण आजको दिन अविष्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको छ । यो दिन अब कसैले बिर्साएर बिर्सने छैन,’ प्रचण्डले थपे, ‘नेपाली राजनीतिमा देखिएका चुनौतीलाई समाधान गर्ने दिन हो । राष्ट्रमा देखिएको संकट र दलमाथि आक्षेप लगाउने कोशिसविरुद्ध राष्ट्रिय एकता स्वाधीनताको दिशामा अगाडि बढ्ने दिन हो ।’ एकै दिनको आन्दोलनले सुगौली सन्धीपछि सबैभन्दा ठूलो संकट ल्याइदिएको भन्दै आफूहरू एकतामा गएको उनले बताए । राष्ट्र संकटमा गएकोले कम्युनिस्टहरू एक भएर जवाफ दिन खोजेको प्रचण्डको दाबी छ ।

 

प्रचण्ड ‘नेपाली कम्युनिष्ट पार्टी’ को संयोजक, माधव नेपाल सहसंयोजक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन् । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए । विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ। १० पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

 

प्रचण्ड–खनाल र भुसालको भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौं । वामपन्थी एकता प्रक्रियालाई तीव्र बनाउने प्रयासका बीच आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच महत्वपूर्ण भेटवार्ता भएको छ । खनालसँगै पार्टी महासचिव धनश्याम भुसाल पनि प्रचण्ड निवास पुगेर करिब एक घण्टा लामो छलफलमा सहभागी भएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार भेटवार्ता अझै जारी रहे पनि प्रारम्भिक वातावरण सकारात्मक रहेको छ । ‘हामी एउटै केन्द्रमा एकताबद्ध हुनुपर्छ भन्ने आग्रह गरेका छौँ,’ श्रेष्ठले सुनाए, ‘उहाँहरूले पनि पदीय बार्गेनिङ होइन, नीतिगत सहमतिको आधारमा अघि बढ्ने संकेत गर्नु भएको छ ।’ श्रेष्ठका अनुसार छलफलमा केही नीतिगत विषय अझै खुल्न बाँकी भए पनि आगामी एकदेखि डेढ घण्टाभित्र निर्णय आउने अपेक्षा गरिएको छ ।

श्रेष्ठले दिउँसो तय गरिएको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा खनाल र भुसाल पनि सहभागी हुन सक्ने सम्भावना प्रबल रहेको बताए । ‘अन्तिम टुंगो नलागे पनि वार्ता सकारात्मक दिशातर्फ छ,’ उनले भने, ‘एकता प्रक्रियामा उहाँहरू सहभागी हुनुहुने सम्भावना छ ।’ पूर्व प्रधानमन्त्री खनालले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वाम एकताको विषयमा संवाद गरेका थिए । तर, ओलीसँग सहमतिको सम्भावना नरहेको भन्दै खनाल माओवादी केन्द्रसँगको संवादमा जोडिएका हुन् । यस भेटवार्तालाई वामपन्थी एकता प्रक्रियामा नयाँ गतिका रूपमा हेरिएको छ । भेटवार्ता सकारात्मक रहेको भन्दै श्रेष्ठको अबको एक डेढ घण्टामा निर्णय आउने बताए ।

‘एक–डेढ घण्टामा निर्णय आउँला । हामीले एउटै केन्द्रमा बस्नु पर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले भने, ‘उहाँहरूले हाम्रो पदीय बार्गेनिङ होइन भन्नु भएको छ । नीतिगत रुपमा केही विषयमा छलफल भइरहेको छ । त्यो छलफलपछि मात्रै निष्कर्ष आउँछ । एक–डेढ घण्टाजति समय लाग्ला । सकारात्मक निर्णय आउने छ भन्ने आशा गरौं ।’

छलफल सकारात्मक भएको भन्दै उनले आज दिउँसो हुन लागेको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा पनि खनाल र भुसाल सहभागी हुन सक्ने संकेत गरे । ‘विषय टुंगिसकेको त छैन, तर सकारात्मक छ । एकता प्रक्रियामा आउनु होला भन्ने आशा गरौँ,’ श्रेष्ठले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वामपन्थी एकताको विषयमा कुराकानी गरेका थिए । तर, ओलीसँग एकता सम्भव नभएको खनालले बताएका छन् ।

 

ओलीपछि आज प्रचण्डसँग भेट्दै झलनाथ खनाल

काठमाडौं । वामपन्थी दलहरूबीच एकताको बहस चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र बनाएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै आज उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग वार्ता गर्दैछन् ।

नेता खनालले वाम एकताका लागि चार वटा वैचारिक शर्त अघि सारेका छन् । जसमा माक्र्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशामा स्पष्ट हुनुपर्ने र समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने जस्ता विषय प्रमुख छन् । ‘यी शर्तहरू मान्ने जोसुकैसँग पार्टी एकता हुनसक्छ,’ खनालले भने ।

खनाल बृहत् वाम एकताको खोजीमा रहँदा उनकै पार्टी एकीकृत समाजवादी भने विभाजनको संघारमा छ । अध्यक्ष माधवकुमार नेपाल पक्ष माओवादीसँग एकता गर्ने निर्णयमा पुगिसकेको छ भने खनाल, घनश्याम भूसाल र रामकुमारी झाँक्री पक्ष यसमा असहमत छ । झाँक्री नेतृत्वको समूह आजै पत्रकार सम्मेलन गरेर नेकपा (एमाले) फर्कने तयारीमा रहेको बुझिएको छ ।

माधव नेपाल भेट्न नारायणकाजीसहित आलोकनगर पुगे प्रचण्ड

काठमाडौं । एकताको सहमतिपछि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । माओवादी र नेकपा एससहित आठ पार्टीबीच एकता सहमति भइसकेको छ ।

एकीकृत पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ । यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैनन् । पार्टी एकताको निर्णयसँग एकीकृत समाजवादी विभाजित भइसकेको छ, भने नेकपा माओवादी पनि

‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा ‘प्रचण्ड’

काठमाडौं । नेपालको राजनीतिको केन्द्र बिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजकको हैसियतमा उनी शक्ति सन्तुलनको प्रमुख खेलाडी बनेका छन् ।

२०२४ जुलाईमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर बाहिरिएका प्रचण्डले त्यसयता पार्टीभित्र र बाहिर एकताको सन्देश दिँदै आएका छन् । हालैका घटनाक्रमहरूले उनलाई फेरि शक्ति केन्द्रको प्रमुख पात्र बनाएको छ । जसमा युवा आन्दोलनको प्रभाव, भ्रष्टाचारविरुद्धको संघर्ष र कम्युनिष्ट दलहरूबीचको एकीकरण प्रक्रिया प्रमुख छन्।

युवा आन्दोलन र प्रचण्डको प्रतिक्रिया
२०२५ को सेप्टेम्बरमा नेपालमा भएको ‘जन जेड’ (जेन जी) आन्दोलनले राजनीतिक उथलपुथल निम्त्यायो । बेरोजगारी, भ्रष्टाचार र विकास मोडेलको असफलताकाविरुद्ध युवाहरू सडकमा उत्रिए । जसले तत्कालीन सरकारलाई नै विस्थापन ग¥यो । यस आन्दोलनमा प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने ।

पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थीय एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहोर्‍याए । यो घटनाले प्रचण्डलाई विपक्षी भूमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो ।

वाम एकीकरणको ऐतिहासिक कदम : १८ बुँदे सम्झौता
हालैको सबैभन्दा चर्चित गतिविधि भनेको आठ कम्युनिष्ट दलहरूबीच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आइतबार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी) जनसमाजवादी पार्टी, नेपाल, नेकपा (साम्यवादी) र नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ ।

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो । यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्ड पथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिष्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ ।

प्रचण्डको भूमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रिय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह ‘पञ्चकुण्डलिय तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ ।

आन्तरिक असहमति र चुनौतीहरू
एकता प्रक्रियामा प्रचण्डको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाएका छन् । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गरेका छन् । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भनेका थिए, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’

प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गरेका छन् । उनले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिएका छन् । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

फेरि शक्ति केन्द्रमा प्रचण्ड
२०८२ को भदौदेखि नै नेपालमा राजनीतिक अस्थिरता चर्किएको छ । जसमा प्रचण्डको भुमिका निर्णायक छ । जेन जेड क्रान्तिपछि प्रचण्डले विशेष महाधिवेशनको प्रश्ताव गरेर पार्टी पुनर्संरचना गर्न खोजेका थिए । कार्तिक १९ मा एकीकरणले उनलाई वाम शक्तिको नायक बनाउन सक्छ । तर आन्तरिक र वाह्य चुनौतीहरू कायम छन् । प्रचण्डको यो यात्राले नेपालको राजनीतिलाई नयाँ दिशा दिनसक्ने सम्भावना छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सामाजिक न्यायको सुनिश्चितता गर्ने विश्वास गरिएको छ । प्रचण्डको हालका गतिविधिहरूले देखाउँछन् – उनी शक्ति केन्द्रमा मात्र होइनन्, परिवर्तनको इञ्जिन पनि बनेका छन् । वाम एकीकरणको यो प्रयास सफल भए नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउन सक्छ ।

प्रचण्ड–नेपालबीच पेरिसडाँडामा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् । दुई नेताहरूबीच अहिले माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल जारी छ । दुई नेताबीच पार्टी एकताको विषयमा छलफलभइरहेको नेताहरूले बताएका छन् । अहिले पेरिसडाँडामा एकता कार्यदलको बैठक पनि जारी छ ।

यी दुईसहितका केही कम्युनिष्ट पार्टीबीच एकताकको टुंगो लागिसकेको छ । माओवादी, एकीकृत समाजवादीसहितको पार्टी मिलेपछि के नाम राख्ने, चुनाव चिह्न के हुने र नेताहरूको जिम्मेवारी कसरी विभाजन हुने भन्ने विषय टुंगिन बाँकी छ । यसैबीच, पार्टी एकता घोषणा यही कात्तिक २० गते हुने भएको छ । माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कात्तिक २० मा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

 

 

 

 

 

जनार्दनबारे प्रचण्ड- आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।

सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।

शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’

प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए । ‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’

पार्टी एकतापछि प्रचण्ड संयोजक, माधव नेपाल सहसंयोजक, अरुलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व परित्याग गर्नुपर्ने बताएका छन् । पार्टी एकताको तयारीमा रहेका माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले छोडेमा मात्र एकता सार्थक हुने भुसालको भनाई छ।

एकताको विषयमा निर्णय गर्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दैछ । कात्तिक १४ गतेसम्म बस्ने बैठकले औपचारिक निर्णय गरे लगत्तै माओवादीसँग एकता हुने सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । घनश्याम लगायतका केही नेताले प्रचण्ड र माधव नेपालको बहिर्गमन नहुने हो भने एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन् । भुसालले यसका लागि एकीकृत समाजवादीका केही नेता, माओवादी केन्द्रका जनार्दन शर्मा र एमालेका केही नेतासँग छलफल पनि गरेका छन् ।

महासचिव भुसाल लगायत नेताले केन्द्रीय कमिटीको बैठकमा यसबारे कुरा उठाउँदै छन् । प्रचण्ड–नेपालको बहिर्गमनको खाका प्रस्तुत नभए एकतामा नजाने उनीहरूको योजना छ । अहिलेको समाजवादी पार्टीभित्रका तमाम समस्या र माओवादीभित्रको समस्याको समाधान नगरी गरिने एकताले समस्या झन् बढाउने र त्यसले वाम आन्दोलनलाई, आम कार्यकर्तालाई उत्साह प्रदान नगर्ने भुसालको निचोड छ । ‘आफ्नो पार्टीमा शुद्धीकरण गरेर पुनर्गठन भएपछि मात्र एकता गर्नुपर्छ,’ भूसाल निकट नेता भन्छन्, ‘आजको माओवादी र हाम्रो नेतृत्वले गर्ने एकताले कार्यकर्तालाई पनि उत्साह दिँदैन, जेन–जी आन्दोलनको भावनाको पनि सम्बोधन हुँदैन र रूपान्तरणको पनि कुरा हुँदैन भने त्यो एकतामा गइरहनुपर्छ भन्ने पक्षमा हामी छैनौं ।’

यही कुरा केन्द्रीय कमिटीमा राख्ने र त्यहाँ समझदारी नजुटे एकता प्रक्रियामा सहभागी नहुने उनले बताए । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल समेत एकताप्रति सन्तुष्ट देखिएका छैनन् । एकता प्रक्रियामा महिन्द्र यादव नेतृत्वको समूह पनि सामेल हुने तयारी छ ।एकतापछिको पार्टीमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक हुने कुरा लगभग निश्चित भइसकेको एकता वार्तामा रहेका नेताहरूको दाबी छ । दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामबारे छलफल भइरहेको छ । माओवादी नछोड्न प्रचण्डलाई दबाब छ । उता माओवादी नाम मान्न एकीकृत समाजवादीका नेताहरू तयार छैनन् ।

एकताका विषयमा सहमति गर्न मंगलबार साँझ एकता वार्ता कमिटीको बैठक बसेको छ । यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई एकतामा सामेल गर्ने प्रयास भएपनि विप्लवको पार्टी बेग्लै निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । यस्तै पार्टी एकताको विपक्षमा रहेका एकीकृत समाजवादी, माओवादी, एमाले र विश्वभक्त दुलाल आहुती नेतउत्वको समूहबीच छुट्टै पार्टी बनाउने चर्चा चलेको छ ।

‘नारायणकाजी, जनार्दन, विप्लव, विश्वभक्त दुलाल आहुति, एमालेका केही नेताहरू यी सबैसँग छलफल चलेको छ, कुरा सबैले सबै ठाउँमा गरेका छन्, तर आकार लिइसकेको छैन,’ भुसालसँग निकट एक नेता भन्छन्, ‘उपयुक्त विकल्प दिनेगरी छलफल भइरहे पनि त्यो निर्णायक तहमा पुगिसकेको छैन । नारायणकाजी र जनार्दनहरू माओवादीबाट निस्किन सक्छन् कि सक्तैनन् भन्ने हो, यो निष्कर्ष निस्किसकेको छैन ।’

गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल अवस्थामा रहेको भन्दै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत साझा आन्दोलनमार्फत अघि बढ्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ । यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी सक्तीहरूबिच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।’

राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रचण्डले भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु ।’

 

अहिलेको परिस्थिति सम्हाल्न चुनावको विकल्प छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज चितनवमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।’

उनले थपे, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनले बताए । यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने ।

प्रचण्डको आह्वान : परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपाल निर्माण गरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन् । आज छठ पर्वको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ ।’, प्रचण्डले भने, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रचण्डले मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन् । उनले पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरे । छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने उनले कामना गरे । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने कामना गरेका छन् ।

लोकतन्त्र खोस्ने प्रयास हुँदैछ : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै रहेको दावी गरेका छन् । गोरखामा आयोजित कार्यक्रममा प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले मात्रै बोक्न सक्ने बताए । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ’, प्रचण्डले भने ।

‘अब जेन–जी युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ’, प्रचण्डले भने । प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन’, उनले भने । कार्यक्रममा प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भने, ‘अहिले पनि प्रतिगामी खतरा कायम छ । तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन् । त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ ।’

छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

जनकपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताए । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनको दाबी छ ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । मंगलवार मात्रै संसदीय दलहरुसँग सरकारले वार्ता गरेको र सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको बताए ।

उनले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनु पर्छ । हिजो मात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो । जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ । वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नु हुनेछ, वामपन्थी एकताको ।’ उनले जेन—जी आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गरे ।

शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ’, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहेका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन् । संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।