प्रचण्डको दावी : मधेश जस्तै अन्य प्रदेशमा पनि एमाले बाहेकको सत्ता समीकरण बन्छ
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संरचनाले अब अन्य प्रदेशहरूमा पनि प्रभाव पार्ने दाबी गरेका छन् । मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक समीकरण भत्किेर नयाँ समीकरण उदाएको उल्लेख गरे ।
उनका अनुसार देशमा गणतन्त्र आएपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको कारण जेनजी आन्दोलन उत्पन्न भयो, जसले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षाका लागि बाध्य बनाएको बताउँदै उनले त्यसलाई सुधारका अवसरका रूपमा व्याख्या गरे। जेनजी आन्दोलनपछि एकता र रूपान्तरणको नयाँ दृष्टिकोणसहित विकासतर्फ अघि बढ्न नेकपासहित वाम शक्तिहरू जुटेका उनले बताए ।
प्रचण्डले एमालेभित्रका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट शक्ति–समूहलाई समेत एउटै संगठनमा एकताबद्ध गर्ने लक्ष्य राखेको स्पष्ट पारे । देशलाई प्रतिगमन र प्रतिक्रियावादबाट जोगाउन सबै जनतामाथि आधारित वाम एकता अनिवार्य भएको उनको भनाइ थियो । मधेश प्रदेशका प्रमुख विकास आयोजनाहरू कम्युनिष्ट नेतृत्वका सरकारले नै सुरू गरेको उल्लेख गर्दै उनले ती योजनालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि कम्युनिष्ट सरकारकै रहने दाबी गरे ।
