सिन्धुली–२ वागी विवाद : प्रचण्डको निर्देशन ठाडै अस्वीकार, गजुरेल अडिग
सिन्धुली । सिन्धुली–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ । पार्टीले नेता हरिबोल गजुरेललाई बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको भए पनि गजुरेलले निर्देशन अस्वीकार गरेका छन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले गजुरेललाई लिखित रूपमा निर्देशन दिएका थिए कि उनी बागी उम्मेदवार खडा नगरी पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ लाई समर्थन गर्नुस् । तर गजुरेलले भने, ‘अब हामी पछाडि हट्ने अवस्था छैन । पछाडि भिर छ, अगाडि पहरो छ । महेश्वर दाहालको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ।’
सिन्धुली–२ मा गत निर्वाचनमा पनि राजन दाहाल विजयी भएका थिए । ०७९ को निर्वाचनमा राजनले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत पाएका थिए । ०७४ को निर्वाचनमा भने गजुरेल नै सांसद निर्वाचित भएका थिए । सिन्धुलीमा यस पटक देखिएको विवादले पार्टीभित्रको तनावलाई झल्काएको छ । गजुरेल हाल नेकपाको कोशी प्रदेश इन्चार्ज रहेका छन् र उनले आफ्नै जिल्ला क्षेत्रबाट राजन दाहालविरुद्ध महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएका छन् । पार्टीका सुनसरी भूगोल भएका केन्द्रीय सदस्यहरूले गजुरेलविरुद्ध कारबाही गर्न माग गरेका छन् ।
गजुरेलले प्रचण्डबाट पत्र आएको स्वीकार्दै पनि जवाफ दिएका छन् कि उनी राजन दाहाललाई ‘ब्याक’ गर्न तयार छैनन् । सिन्धुली–२ मा नेकपाभित्रको आन्तरिक प्रतिष्पर्धाले चुनावी रणनीति र नेतृत्व समेत चुनौतीपूर्ण बनाएको छ ।
यसअघि कालीकोटमा बागी उम्मेदवारले केन्द्रको निर्देशनपछि उम्मेदवारी फिर्ता लिएका थिए । तर सिन्धुली–२ मा गजुरेलको अडानले पार्टी नेतृत्वका लागि नयाँ समस्या सिर्जना गरेको छ । प्रचण्डले गजुरेललाई काठमाडौं बोलाएर विवाद समाधान प्रयास गरेका थिए, तर गजुरेलको निर्णयले पार्टीभित्रको विवाद अझै स्थिर छैन ।

