संसद् पुनर्स्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटनामा पर्छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनर्स्थापना नहुने दाबी गरेका छन् । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनः स्थापनाको कुरामा लागेको आरोप लगाए ।
उनले भने, ‘न्यायालयमा पनि जानु भएको छ । तर म तपाई सबै र जनतालाई भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन । संसद् पुनर्स्थापना हुँदैन । निर्वाचन अब अगाडि आई नै सक्यो । निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन् ।’
उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी समेत गरेका छन् । उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे । उनले भने, ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ । अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ ।’
