`

फागुन २१ को चुनावमा आम्रो अग्नी परीक्षा हुनेछ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् । मंगलवार काठमाडौंमा पार्टी केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता–कार्यकर्तालाई सचेत गराए । उनले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम शुरु गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने पनि बताए । उनले निर्वाचन पार्टीका लागि अग्नी परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताए ।

सहसंयोजक नेपालले भने, ‘चुनावमा हाम्रो अग्नी परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ ।’

उनले भने, ‘त्यसै गरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ । हाम्रो संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा त्यो हामी बनाउनेछौँ । त्यसपछि निर्वाचनसँग जोडिएका अरु कामहरु हुनेछन् । निर्वाचनका लागि सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन दिइनेछ । चुनावमा हाम्रो मतको कसरी रक्षा गर्ने, चुनावमा देखा परेका विकृतिहरुको कसरी सामना गर्ने, पैसाको लेनदेनलाई रोक्ने कसरी ? यी सबै कुराको सामना गर्न पनि हामी बीचमा एकताको आवश्यकता पर्दछ ।’ सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेनलगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

 

 

 

नेकपाका २५ सय केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । डेढ दर्जन बढी कम्युनिष्ट घटक र विभिन्न राजनीतिक समूहहरूको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज आफ्नो केन्द्रीय समिति औपचारिक रूपमा घोषणा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे विशेष कार्यक्रमसहित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुँदैछ ।

कात्तिक १९ गते तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकबीच एकता भएर गठन भएको नेकपामा त्यसयता थप दल तथा व्यक्तिहरू समाहित हुँदै आएका छन् । हालसम्म पार्टीमा १७ भन्दा बढी घटक र स्वतन्त्र राजनीतिक समूहहरू जोडिइसकेका छन् । वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसम्म पार्टीमा आबद्ध भइसकेका छन् । आइतबार मात्रै मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी (जसपा) उपाध्यक्ष शिवलाल थापाको समूह पनि नेकपामा समाहित भएको थियो ।

पार्टी नेतृत्वका अनुसार आज घोषणा हुने केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीका रूपमा रहनेछ । नेकपाका उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंखडाका अनुसार कुल २,४९९ जना केन्द्रीय सदस्य घोषणा गर्ने तयारी छ । यद्यपि, पूर्व माओवादी केन्द्रतर्फबाट करिब २०० भन्दा बढी केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी रहेकाले आज झण्डै साढे २२ सय सदस्यले मात्रै शपथ लिनेछन् ।

केन्द्रीय सदस्यहरूलाई पार्टीका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहण भौतिक र भर्चुअल दुवै माध्यमबाट हुनेछ । काठमाडौंमा उपलब्ध सदस्यहरू पेरिसडाँडामै उपस्थित हुनेछन् भने बाहिर रहेका सदस्यहरूका लागि अनलाइन माध्यमको व्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यका अनुसार एकता प्रक्रियामा सहभागी दलका केन्द्रीय सदस्यहरू स्वतः नेकपाको केन्द्रीय सदस्य बन्ने नीति लिइएकाले केन्द्रीय समितिको आकार ठूलो भएको हो । उनका अनुसार पार्टीमा हाल झण्डै २५ सय केन्द्रीय सदस्य छन् ।

सिंखडाका अनुसार केन्द्रीय समितिमा पूर्व माओवादी केन्द्रबाट ६० प्रतिशत र नेकपा एकीकृत समाजवादीसहित अन्य घटकबाट ४० प्रतिशत सदस्य समावेश गरिएको छ । पार्टी एकता घोषणा गर्दा ६ महिनाभित्र महाधिवेशन गर्ने र निर्वाचित केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय बनाउने सहमति भएको थियो । अहिले घोषणा हुने सबै सदस्यहरू महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा रहनेछन् र महाधिवेशनपछि केन्द्रीय समिति १९९ सदस्यीय नै बनाइने पार्टीको दाबी छ । शपथ ग्रहणपछि केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क बुझाएपछि पार्टीको परिचयपत्र पाउने व्यवस्था गरिएको छ । आजको कार्यक्रमलाई नेकपाले पार्टी एकतापछिको महत्वपूर्ण संगठनात्मक शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

 

नेकपाले पञ्चा सिंहलाई बन्दसूचीबाट हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीमा परिमार्जन गर्दै ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी पञ्चा सिंहको नाम हटाएको छ । पौष १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा समावेश पञ्चा सिंहको नाम पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बैठकको निर्णय अनुसार हटाइएको हो ।

पार्टीले परिमार्जित बन्दसूची पुनः निर्वाचन आयोगमा पेस गरेको र यो प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको पञ्चा सिंहले फेसबुक स्टाटसमार्फत जानकारी दिएकी छन् । उनले राजनीति व्यक्तिगत अवसरको विषय नभई त्याग, निष्ठा र जनसेवाको मार्ग भएको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत पद गौण हुने बताएकी छन् । साथै आगामी निर्वाचनमा पार्टी र उम्मेदवारलाई जिताउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेकपामा समाहित

काठमाडौं । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनीहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् । काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गरेका छन् ।

समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत छन् । स्वतन्त्र वाम समूह मार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने छ ।

कांग्रेस–एमाले सहकार्य जनताले रुचाएका छैनन्, नेकपा एक्लै चुनावमा जान्छ : अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्ने विषयलाई पार्टी पंक्ति तथा आम नागरिकले नरुचाएको टिप्पणी गरेका छन् । पछिल्लो समय चलेको राजनीतिक सहकार्यको बहस जनस्तरबाट सकारात्मक रूपमा नलिइएको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वभाविक प्रक्रिया भए पनि हालको सन्दर्भमा कांग्रेस–एमालेसँगको सहकार्यले पार्टीको पहिचान कमजोर बनाउने जोखिम देखिएको बताए ।

उनका अनुसार, राष्ट्रिय सभा निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव नेकपाले अघि सारे पनि कांग्रेस र एमाले त्यसमा सहमत हुन सकेनन् । ‘राष्ट्रिय सभा निर्वाचनको प्रकृति आम निर्वाचनभन्दा फरक छ । त्यसैले केही समझदारीको प्रयास स्वाभाविक थियो’, सापकोटाले भने, ‘तर ठूला दलहरूबीच मिल्ने छाँट नदेखिएपछि त्यो प्रक्रिया अघि बढ्न सकेन ।’ उनले स्पष्ट रूपमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरे । विगतमा विभिन्न दलसँग गठबन्धन गर्दा पार्टीको वैचारिक र राजनीतिक पहिचान मजबुत रूपमा स्थापित हुन नसकेको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ ।

‘कांग्रेस र एमालेसँग मिल्ने कुरा बाहिर आउँदा पार्टीभित्र र आम जनतामा आलोचना बढ्यो’, उनले भने, ‘अब हामी स्वतन्त्र ढंगले जनतामाझ जान्छौँ । एक्लै चुनाव लड्नुपर्ने सुझाव पार्टी पंक्ति र आम नागरिकबाट पनि आएको छ ।’ सापकोटाले नेकपाले मुलुकको अग्रगामी एजेन्डा तथा ‘जेनजी’ अर्थात् नयाँ पुस्ताले उठाएका सवालहरूलाई निरन्तर सम्बोधन गर्दै आएको दाबी गरे । सो क्रममा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा स्पष्ट विचार र दीर्घकालीन दृष्टिकोणको अभाव रहेको टिप्पणी गरे । राजनीतिक दलहरूमा देखिएको यही विचारशून्यताका कारण देश संकटको अवस्थाबाट गुज्रिरहेको उनको तर्क छ ।

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको आन्तरिक किचलोबारे प्रतिक्रिया दिँदै सापकोटाले त्यसले नेकपा वा समग्र राष्ट्रिय राजनीतिमा कुनै ठोस असर नपर्ने बताए। तर, कुनै पनि पार्टी फुटभन्दा एकता लोकतन्त्रका लागि हितकर हुने उनको सुझाव छ। ‘कांग्रेसको आन्तरिक मामिला उनीहरूकै विषय हो,” उनले भने, “तर लोकतन्त्रका लागि पार्टीहरू विभाजन होइन, एकताबद्ध हुनु नै राम्रो हो ।’ त्यसैगरी, उनले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दालाई यथाशीघ्र टुंग्याउनुपर्ने आवश्यकता औंल्याए । देशले भोगिरहेको राजनीतिक संकटको निकास अन्ततः निर्वाचनमार्फत नै सम्भव हुने सापकोटाको निष्कर्ष छ । उनका अनुसार, स्थिर राजनीतिको आधार तयार गर्न जनताको मतबाट नयाँ जनादेश लिनु नै अहिलेको प्रमुख आवश्यकता हो।

नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, बाँड्न थालियो ‘टिकट’

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उम्मेदवार चयन गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेकपाले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका हुन् । नेकपाले ३ सिटमा चित्त नबुझाएपछि कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन् ।

यी हुन् नेकपाका उम्मेदवारहरु–
कोशी–खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने ।
मधेश–रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल ।
बागमती
प्रेमप्रसाद सापकोटा, सरोजकुमारी झा ।
गण्डकी–कपिल लामा
लुम्बिनी–दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक ।
कर्णाली–बुद्धिप्रसाद शर्मा, अन्जु महतरा ।
सुदूरपश्चिम–टीकाराम जैसी, रोजी बस्नेत सुनार ।

 

नेकपाले सापकोटालाई दियो राष्ट्रियसभा सदस्य उम्मेदवारको ‘टिकट’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकका नेता प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराउने गरी सापकोटालाई उम्मेदवार चयन गरेको हो।

नेकपाका अनुसार सापकोटाले जनयुद्ध, जनआन्दोलन तथा पछिल्ला सबै परिवर्तनकारी आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टीप्रति निष्ठापूर्वक योगदान पुर्‍याउँदै आएका छन् । लामो समयदेखि संगठन निर्माण र जनसम्पर्कमा खटिँदै आएका अनुभवी र प्रतिबद्ध नेताका रूपमा उनलाई उम्मेदवार बनाइएको नेता माधव सापकोटाले जानकारी दिए ।

आज बिहान पार्टी नेतृत्वको उपस्थितिमा उम्मेदवारी प्रक्रिया अघि बढाइएको हो । सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेकपा संयोजक प्रचण्डले प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवारीको टिकट प्रदान गरेका हुन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नै मनोनयन दर्ता हुँदैछ । नेकपाले बागमती प्रदेशमा आफ्नो प्रभाव र संगठनात्मक बललाई थप सुदृढ बनाउने उद्देश्यसहित अनुभवी र संघर्षशील नेतालाई अघि सारेको पार्टी स्रोतको भनाइ छ । पार्टी निर्णयसँगै सिन्धुपाल्चोक र बागमती प्रदेशका कार्यकर्ता तथा समर्थकहरूमा उत्साह बढेको देखिएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीले देशमा अर्को ‘जंगबहादुर’ जन्माउँछ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मुलुकलाई अस्थिरता र तानाशाहीको दलदलमा फसाउने दाबी गरेका छन् । धनकुटामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसलाई ‘व्यर्थको कसरत’ भन्दै यसले मुलुकमा अर्को ‘जंगबहादुर’ जन्माउने खतरा औंल्याएका हुन् ।

नेपालको ऐतिहासिक र राजनीतिक पृष्ठभूमिमा निरंकुशताको छायाँ अझै बाँकी रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘जंगबहादुरको देशमा फेरि अर्को जंगबहादुरकै कल्पना गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु हो । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाउनु भनेको तानाशाही प्रवृत्तिलाई मलजल गर्नु मात्रै हो ।’

उनले यस सन्दर्भमा श्रीलंका र विभिन्न अफ्रिकी मुलुकहरूको उदाहरण दिँदै शक्ति केन्द्रित हुँदा लोकतन्त्र समाप्त हुने तर्क गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विगतको कार्यकाललाई स्मरण गर्दै उनले दुई–तिहाइ बहुमत प्राप्त गर्दा त ओलीमा स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै प्रत्यक्ष कार्यकारी हुँदा स्थिति झन् भयावह हुने बताए । ‘अहिले त प्रत्यक्ष निर्वाचित मेयर वा वडाध्यक्षले कसैको कुरा सुन्दैनन् भने देशकै कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित भए उसले कसलाई टेर्ला ?’ नेपालले प्रश्न गरे ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेता नेपालले ठूला दलहरूसँग सहकार्यको ढोका खुल्ला रहेको संकेत गरे । उनले नेपाली कांग्रेस र एमालेसँग चुनावी तालमेलका लागि आफ्नो पार्टी छलफल गर्न तयार रहेको बताए । यद्यपि, तालमेलको पहलकदमी ठूला दलहरूबाटै हुनुपर्ने उनको अडान छ । ‘हामी वार्ता र संवादका लागि सकारात्मक छौं, तर ताली एक हातले मात्र बज्दैन,’ उनले थपे, ‘कांग्रेस र एमाले ठूला दल हुन्, उनीहरूले औपचारिक प्रस्ताव ल्याएमा हामी सहकार्य गर्न तयार छौं । निर्णायक भूमिका उनीहरूकै हातमा छ ।’

पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनका सन्दर्भमा बोल्दै नेता नेपालले यो आन्दोलन कसको उक्साहटमा भइरहेको छ भन्नेबारे आफू जानकार रहेको दाबी गरे । उनले उचित समय आएपछि यसको भित्री रहस्य र पर्दा पछाडिका शक्तिहरूबारे खुलासा गर्ने बताए । मुलुकको वर्तमान राजनीतिक अन्योल चिर्न दलहरूबीच न्यूनतम सहमति र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

प्रचण्ड दिल्ली उड्नु अघि ओलीलाई भेट्दै

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका दुई शीर्ष नेताबीच पुनः संवाद हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (आइतबार) भेटवार्ता तय भएको छ । भेट एमालेको केन्द्रीय कार्यालय, च्यासलमा हुने तयारी छ ।

एमालेका एक नेताका अनुसार यसअघि शनिबार नै भेट गर्ने योजना रहे पनि प्रचण्ड तुम्लिङटारबाट काठमाडौं फर्किन ढिलाइ भएपछि भेट हुन सकेन । कार्यालय सचिव डा. भीष्म अधिकारीले समेत भेटका लागि व्यवस्थापन मिलाउन तयारी गरेका थिए । नेकपा नेता वर्षमान पुनले पनि भेटवार्ता हुने कुराको पुष्टि गरेका छन् । यसबीच संयोजक प्रचण्ड आइतबार साँझ नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यसअघि नै ओलीसँग भेट्ने सहमति बनेको हो । प्रचण्ड संखुवासभाबाट फर्किसकेपछि आजै पार्टी केन्द्रीय कार्यालयमा भेट गर्ने तय भएको ती नेताले जानकारी दिए ।

भेटको केन्द्रमा राष्ट्रियसभा निर्वाचन रहने संकेत देखिएको छ । एमाले स्रोतका अनुसार राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य गर्ने अनौपचारिक सहमति यसअघि नै भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच देउवा निवासमा भएको भेटमा यसबारे छलफल टुंगिएको दाबी गरिएको छ । तर सो सहकार्यमा नेपाली कम्युनिष्ट पार्टीलाई पनि समेट्ने कि नसमेट्ने भन्ने विषयले अन्तिम निर्णयमा ढिलाइ भएको बताइएको छ । ‘राष्ट्रियसभामा कांग्रेस–एमाले मिल्ने विषय लगभग निश्चित छ । तर नेकपालाई पनि सँगै लैजाने प्रस्ताव आएपछि अन्तिम टुंगो लाग्न सकेको छैन’, एमालेका ती नेताले भने ।

राष्ट्रियसभा निर्वाचनका लागि आगामी बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका छ । माघ ११ गते हुने निर्वाचनमा रिक्त १९ सिटमध्ये १८ सिटका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । यता, एमालेका एक पदाधिकारी तहका नेताका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेलको सम्भावनाबारे गहिरो छलफल भइरहेको छ ।

यद्यपि अध्यक्ष ओली यस विषयमा पूर्णतः सकारात्मक नभए पनि पार्टीभित्रबाट संविधान पक्षधर शक्तिहरू एकजुट भएर जानुपर्ने दबाब बढ्दै गएको बताइएको छ । यसै सन्दर्भमा शनिबार लम्जुङमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच क्रमशः ७०, ७० र २५ सिटको तालमेल गरेर निर्वाचन लड्न सकिने धारणा सार्वजनिक गरेका थिए । आजको ओली–प्रचण्ड भेटलाई राष्ट्रियसभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।

 

नेकपाका यी हुन् ११० समानुपातिक उम्मेदवार, अधिकांश नयाँ अनुहार (नामावली)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यस पटकको सूचीको विशेषता भनेको—अघिल्ला संघीय वा प्रदेशसभा सांसदहरूलाई समावेश नगरी अधिकांश नयाँ अनुहारलाई अवसर दिनु हो ।

नेकपाले पार्टीभित्र लिइएको नीतिगत निर्णयअनुसार यसअघि सांसद भइसकेका नेताहरूलाई समानुपातिक सूचीमा नदोहोर्‍याउने रणनीति अपनाएको जनाएको छ। सोही कारण पार्टीको बन्दसूची विभिन्न समुदाय, वर्ग र पेसाबाट आएका नयाँ प्रतिनिधित्वले भरिएको देखिन्छ । समानुपातिक सूचीमा पार्टी एकता प्रक्रियामा आएका चिरण पुनदेखि हालै मात्र पार्टी प्रवेश गरेका डा. मित्र परियारसम्मलाई समेटिएको छ ।

यसले नेकपाले संगठन विस्तारसँगै नयाँ कार्यकर्ता र विज्ञ व्यक्तित्वलाई समेत राजनीतिक मूलधारमा ल्याउन खोजेको संकेत गर्छ । समानुपातिक सूचीमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको सन्तुलित सहभागिता देखिन्छ । खस आर्यतर्फ महिलामा करुणा बस्नेत र पुरुषतर्फ पूर्व राजदूत प्रमेश हमाल शीर्ष स्थानमा छन् ।

आदिवासी जनजातितर्फ दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति र मंगलसिंह प्रजा समेटिएका छन् । मधेशी समुदायबाट तारा महतो, रामसखी देवी, जोगकुमार बर्बरिया यादव र सुरेन्द्रकुमार जयसवाल सूचीमा छन् । दलित समुदायबाट गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा तथा डा. मित्र परियारको नाम परेको छ ।

थारु समुदायतर्फ निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु र रामअवतार थारु अग्रस्थानमा छन् भने मुस्लिम समुदायबाट केसर जहा (सकिना मुस्लिम), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँ समावेश छन् । सूचीमा क्रान्तिकारी महिला नेतृ पञ्चा सिंह, पूर्व लडाकु कमाण्डर कमला नहर्की, बीबी खनाल जस्ता नामहरू पनि परेका छन् । यसले राजनीतिक प्रतिनिधित्वमा महिला, पूर्व संघर्षका सहभागी र सामाजिक अभियन्तालाई समेत स्थान दिन खोजिएको देखाउँछ ।

हेर्नुहोस् नामावली
खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा.पुष्पराज कर्णिकार

मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा.मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ

 

नेकपासँग नाउपाको एकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ । सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै विविधतामा एकतालाई राष्ट्रिय विशेषता भनिएको छ ।

सहमति अनुसार दुवै पार्टीले विगतका कमजोरी सच्याउँदै सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन् ।

साथै, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सम्पूर्ण संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिने छ । सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

निर्वाचनमा एमालेसँग सहकार्य गरेर जान सकिन्छ : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले) सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन् । सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताएका हुन् । नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पारे ।

उनले भने, ‘नेकपा एमालेसँग एकताको कुरा केही भएको भए विस्तारै आइहाल्छ । आज म भन्न सक्दिनँ, भन्दिनँ । रोकिँदैन । अरु दलहरुसँग पनि सहकार्य गर्ने कुरा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको रक्षा, देशको रक्षा गर्ने कुरामा जो जो पार्टीहरु हामीसँग सहकार्य गर्न आउँछन् । उनीहरुसँग सहकार्य हुन्छ ।’

उनले भने, ‘हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरुलाई समानुपातिकमा आउने नदिने गरी निर्णय गर्‍यौँ । युवा पुस्तालाई पनि ध्यान दिएका छौ । ११० जना हामीले पेश गर्ने हो । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारु, खसआर्य । यी सबै क्लष्टरबाट नेपालको संविधान र निर्वाचन कानूनअनुसार जो व्यवस्था गरिएको छ । र हालसालै सरकारले ल्याएको अध्यादेशअनुसार पनि हामीले ल्याएका छौँ ।’ नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरुलाई समानुपातिक सूचीमा नराख्ने पार्टीका निर्णयअनुसार बन्द सूची निर्वाचन आयोगमा बुझाएको पनि बताए ।

 

नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार मात्रै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री बनेका कसैलाई पनि समावेश नगर्ने निर्णय गरेको छ । पार्टीको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार यस पटक समानुपातिक सूचीमा पूर्ण रूपमा नयाँ अनुहारहरू मात्रै पठाइने भएका छन् ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित पार्टीका शीर्ष नेताहरूबीच आज बिहान भएको छलफलले उक्त मापदण्डलाई अन्तिम रूप दिएको हो । सो निर्णयअनुसार अघिल्ला निर्वाचनमा प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट निर्वाचित भएका नेताहरूलाई यसपटक सिफारिस सूचीमा नराखिने स्पष्ट गरिएको छ ।
पार्टीका एक नेताका अनुसार, नयाँ मापदण्ड लागू भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न सहज भएको छ । आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले नेकपाले अन्य दलभन्दा फरक अभ्यास गर्दै सबै नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेको जनाएको छ।

समानुपातिक उम्मेदवारको अन्तिम टुंगो संयोजक दाहाल र सहसंयोजक नेपालले लगाइरहेका छन् । पार्टीको यो निर्णयलाई आन्तरिक लोकतन्त्र सुदृढ गर्ने र नयाँ नेतृत्व विकास गर्ने प्रयासका रूपमा हेरिएको छ । यसअघि २०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत माओवादी केन्द्रबाट १४, एमालेबाट ३४, कांग्रेसबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ८ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७ जना उम्मेदवार निर्वाचित भएका थिए । यस पटक नेकपाको निर्णयले समानुपातिक राजनीतिमा नयाँ अनुहारको प्रवेशलाई प्राथमिकता दिएको संकेत गरेको छ ।

देशलाई निकास दिने उत्तम विकल्प निर्वाचन मात्र : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनमा जान सक्ने चेतावनी दिए ।

उनले सबै राजनीतिक दलहरु पनि निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर निर्वाचनमा लागेको बताए । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गरे । उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दुसूची प्रस्तुत गर्दैछौँ ।’

उनले भने, ‘सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ ।’ संयोजक दाहालले नयाँ युवाहरुले राजनीतिप्रति रुची बढ्दै जानु सकारात्मक पक्ष भएको बताए । शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट देशलाई निकास दिनुपर्ने उनले बताएका छन् ।

मन्त्रीहरूको अभिव्यक्तिकै कारण चुनाव भाँडिदैछ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताएका छन् । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीहरूले अहिले धेरै बोल्ने नभई सरासर काम गर्ने भएको बताए । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताए । उनले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताए । उनले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताए ।

उनले भने, ‘यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईहरूका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नु पर्छ र ? मैले मन्त्रीहरूलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरू भनेको बलेँनी जस्तै हो । बलेनीको ढुङ्गा जस्तो हो मन्त्री भनेको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरुलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईँहरूको हो। नत्र भने मन्त्री भएर नबस्नुस् ।’ उनले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गरे । सरकारले नयाँ नयाँ कुराहरू गर्न सुरु गरे काम नहुने बताए ।

 

 

 

नेकपा त्यागेका गुरूङ ‘उज्यालो नेपाल पार्टी’ को गण्डकी संयोजक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) त्यागेका तनहुँका मनराज गुरूङ भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको गण्डकी संयोजक बनेका छन् । पार्टीको गत शनिबार भएको गण्डकी प्रदेश भेलामा सामान्य छलफल चले पनि गुरूङलाई सोमबार पार्टीले प्रदेश संयोजक तोकेको हो ।

गुरूङ यसअघि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य थिए । २०६२/६३ को जनआन्दोलनपछि गुरूङ माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए । त्यसपछि तनहुँको तत्कालीन फिरफिरे गाविसको पार्टी कमिटी अध्यक्ष, राज्य पुनर्संरचनापछि शुक्लागण्डकी नगरपालिका कमिटीको अध्यक्ष हुँदै प्रदेश कमिटी सचिव बनेका थिए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष निर्वाचित गुरूङले गत मंसिर १६ गते नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

जेनजी आन्दोलनपछि माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरे पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकता गर्ने र नेतृत्वमा पुराना नेताहरू नै रहने भएपछि पार्टी परित्याग गरेको उनले बताएका थिए ।
‘माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर नेतृत्वले विभिन्न पार्टीसँग एकता गर्ने नाममा महाधिवेशन र नेतृत्व हस्तान्तरणको एजेन्डा पाखा परेपछि मैले पार्टी परित्याग गरेँ,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदादेखि नै कुलमान घिसिङको काम गर्ने शैली मन परेर अहिले उज्यालो नेपाल पार्टीमा आबद्ध भएको गुरूङले बताए । ‘पुरानो पार्टीमा असन्तुष्टि पालेर बस्नुभन्दा नयाँ पार्टीमा आबद्ध हुनु ठिक लाग्यो । कुलमान घिसिङको काम गर्ने शैलीप्रति पहिलेदेखि झुकाव थियो। अहिले उनकै पार्टीमा जोडिए,’ उनले भने । पार्टीको नाम कम्युनिष्ट भए मात्र उत्पीडित समुदाय र वर्गको हित गर्ने कुरा गलत हुने भन्दै जुनसुकै पार्टीमा लागे पनि उक्त वर्गको उत्थानमा लाग्न सकिने उनले बताए ।

उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक तोकिएसँगै गुरूङले अब गण्डकीका ११ वटै जिल्ला, १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८५ वटा पालिकामा तदर्थ समिति गठन गर्ने अभियान चलाउने बताएका छन् । यसअघि उज्यालो नेपाल पार्टीका गण्डकी संयोजकमा केन्द्रीय सदस्य कुशल गुरूङ तोकिएका थिए । गण्डकी भेलामार्फत प्रदेश संयोजक मनराज गुरूङलाई तोकेर जिल्ला र पालिकासम्म पार्टीको संगठन विस्तार गर्न लागेका उनले बताए ।

 

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौँमा सन्देश सभा गर्ने भएको छ । भृकुटीमण्डपमा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा ‘एकता सन्देश सभा’ गर्ने निर्णय नेकपाले गरेको हो । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कम्युनिष्ट पार्टीले अहिलेसम्म मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ । अब बागमतीको हेटौँडामा मंसिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ ।

भ्रष्टाचार र अराजकतालाई नेकपामा ठाउँ छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पार्टीमा भ्रष्टाचार गर्ने र अराजकता मच्याउनेलाई ठाउँ नभएको दावी गरेका छन्। मधेश प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बताए।

उनले भने, ‘पार्टी एकता गरेर मात्रै हुँदैन, पार्टीलाई सुदृढ बनाउनु पर्छ । हामीले विधि र पद्धतिमा पार्टी चलाउनु पर्छ, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन हुनुपर्छ।भ्रष्टाचार गर्ने र घुस खाने नेकपामा छैनन् भन्ने बनाउनु पर्छ, कुशासन र अराजकहरू पार्टी टिक्दैनन् भन्ने बनाउनु पर्छ ।’ उनले विगतको आत्मसमीक्षासहित जनतामा जानुपर्ने बताएका छन्।

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरु

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ । माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान सञ्चालन गरिरहेको छ ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडा लगायतका शीर्ष नेताहरू उपस्थित छन् ।

सभामा तीन जना पूर्व प्रधानमन्त्रीहरु दाहाल, नेपाल र खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्नेछन् । राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ । एकता अभियानलाई जनस्तरमा सुदृढ बनाउने उद्देश्यले आयोजित सभामा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू विराटनगर आइपुगेका छन् ।

नेकपाको आज दाङमा एकता सन्देश सभा

रूपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ता आउने क्रम जारी छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

माधव नेपालको दाबी : सुदूरपश्चिममा २० हजार मान्छे उतार्छौं

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिन प्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने ।

शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै उनले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा बीसौं हजार उतार्ने दाबी समेत गरेका छन् । ‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौं, बीसौं हजार बढी संख्यामा उपस्थित गराउने गरी लाग्नु भएको छ । आशावादी हुनु भएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरू तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ,’ उनले भने ।

 

एमालेका पूर्व सचिव नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व पार्टी सचिव र शैलुङ गाउँपालिकाका पहिलो अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार नेकपाका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरेका थिए । दुलालले एमालेबाट कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसकिने र वर्तमान अवस्थामा सबै कम्युनिस्ट शक्ति एक हुनुपर्ने कारण आफू नेकपामा लागेको बताए ।

दोलखामा प्रभावशाली नेता मानिने दुलाल दुई कार्यकाल एमाले जिल्ला सचिव बनिसकेका थिए । उनी ९ औं र १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बने पनि पराजित भएका थिए । स्थानीय तहको २०७४ को निर्वाचनमा उनी शैलुङ गाउँपालिकाका अध्यक्ष भारी मतले विजयी भएका थिए, जहाँ उनका विकास कार्य आज पनि उल्लेखनीय मानिन्छन् ।

 

 

कार्की सरकार गठनको पछाडि गम्भीर षड्यन्त्र छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गरे । उनले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे । उनले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताए । महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए । प्रशासनिक सुधार, विश्व विद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उनको माग छ ।

उनले भने, ‘नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो । जेनजीले नै संसद र सरकारविरुद्ध नारा लगाए । हामीले पनि साथ दियौं । तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ । यदि जेनजीको मागहरु पुरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहको रुपमा अघि बढ्नसक्छ । त्यसैले समयमै हामी सबैले साच्नुपर्छ । आफ्नो आफ्नो रोटि सेक्ने होइन अधुरो क्रान्ति पुरा गर्ने समय छ । संसद विघटन त भएको छ तर देशलाई लुटेका लुटेराहरु खुला रुपमा भाषण गर्दै हिँडिरहेका छन् ।’

उनले भने, ‘हामीे जेनजी आन्दोलनलाई पुर्णतः सफल बनाउन हामीले केही अपिल गर्दै आएका छौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ । सरकारमा कार्कीसहितका मन्त्रीहरुलाई कसले ल्यायो । रहस्यमय तरिकाले सरकार गठन गरियो ? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ । संविधान संशोधन र पुर्नलेखन गर्नुपर्छ, त्यहीअनुसार राज्यको पुर्नसंरचना गर्नुपर्छ । अहिले पनि राज्यका संरचनाहरु नेपाली जनताका भएका छैनन् । आज नेताको सम्पतीहरु त जल्यो तर त्यो सम्पती कसरी आर्जन गरियो भन्ने कुराको खोजि गर्नुपर्छ कि पर्दैन ? प्रशासनिक संरचनाको सुधार गर्नुपर्छ । विश्वविद्यालयका विद्यार्थीहरुले प्रशासन चलाउनेगरी तयार बनाउनु पर्छ ।’ उनले जेनजी आन्दोदनका मागहरुप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए ।

 

एमाले सचिवालय बैठक शुरु (तस्बिरसहित)

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक शुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।

साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने पार्टीले बताएको छ ।

विप्लवको टिप्पणी : सेवा–सुविधा लिन्नँ भन्ने मन्त्रीले कुनै बेला अकुत कमाएको हुनसक्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मन्त्रीले सेवा–सुविधा लिन्न भन्नु ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति मात्र भएको टिप्पणी गरेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा–सुविधा नलिने घोषणा गरेका छन् । मन्त्रीहरुको सरकारी सुविधा र तलबभत्ता नलिने घोषणाको धेरैले प्रशंसा गरेका छन् । मन्त्रीद्वयको यस निर्णयलाई सबैले प्रशंसा गरिरहेका बेला नेकपा महासचिव विप्लवको भने फरक धारणा आएको हो ।

सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीले शपथ र कार्यभार सम्हाल्दै गर्दा कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनें– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छन् ?’ विप्लव यत्तिमै रोकिएनन् । उनले थप व्याख्या गर्दै भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । …यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’

यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’ उनले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थसिद्ध गर्ने गरेको सुनाए ।

‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थसिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ विप्लवले भने ।
उनले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नु पर्छ,’ उनले भने । विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि जनाएका छन् । ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ विप्लवले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

कार्यक्रममा विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिए । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नु भयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस्,’ उनले भने, ‘तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्नेतिरबाट सोच्नु पर्छ ।’

विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएका थिए । ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी उनले गरेका थिए ।