`

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्काशित

Nepal One HD १० माघ २०८२ १३:२१
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्काशित गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित सात जनालाई नेकपाले निष्काशन गरेको हो।

निष्काशित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह छन् । सिन्धुली–२ मा पार्टीले केन्द्रबाट निर्णय गरी लेखनाथ दाहाललाई उम्मेदवार बनाएको थियो ।

यद्यपि सिन्धुली–२ मा हरिबोल गजुरेलसहितको समर्थनमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेको थियो । संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले हरिबोललाई पत्रै पठाएर उम्मेदवारी फिर्ता गर्न भनेका थिए । उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो ।

त्यस अवधिमा उम्मेदवारी फिर्ता नभएपछि शनिबार संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले कारबाही गरिएको सूचना जारी गरेका हुन् । दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो । त्यसमा असन्तुष्ट पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए । उनलाई पनि शनिबार पार्टीबाट निस्कासश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *