माधव नेपालको दाबी : सुदूरपश्चिममा २० हजार मान्छे उतार्छौं
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिन प्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने ।
शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै उनले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा बीसौं हजार उतार्ने दाबी समेत गरेका छन् । ‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौं, बीसौं हजार बढी संख्यामा उपस्थित गराउने गरी लाग्नु भएको छ । आशावादी हुनु भएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरू तपाईंहरूको परीक्षा त्यहीँ हुन्छ,’ उनले भने ।
