`

कांग्रेस–एमाले सहकार्य जनताले रुचाएका छैनन्, नेकपा एक्लै चुनावमा जान्छ : अग्नि सापकोटा

Nepal One HD २५ पुष २०८२ ११:५५
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्ने विषयलाई पार्टी पंक्ति तथा आम नागरिकले नरुचाएको टिप्पणी गरेका छन् । पछिल्लो समय चलेको राजनीतिक सहकार्यको बहस जनस्तरबाट सकारात्मक रूपमा नलिइएको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वभाविक प्रक्रिया भए पनि हालको सन्दर्भमा कांग्रेस–एमालेसँगको सहकार्यले पार्टीको पहिचान कमजोर बनाउने जोखिम देखिएको बताए ।

उनका अनुसार, राष्ट्रिय सभा निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव नेकपाले अघि सारे पनि कांग्रेस र एमाले त्यसमा सहमत हुन सकेनन् । ‘राष्ट्रिय सभा निर्वाचनको प्रकृति आम निर्वाचनभन्दा फरक छ । त्यसैले केही समझदारीको प्रयास स्वाभाविक थियो’, सापकोटाले भने, ‘तर ठूला दलहरूबीच मिल्ने छाँट नदेखिएपछि त्यो प्रक्रिया अघि बढ्न सकेन ।’ उनले स्पष्ट रूपमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरे । विगतमा विभिन्न दलसँग गठबन्धन गर्दा पार्टीको वैचारिक र राजनीतिक पहिचान मजबुत रूपमा स्थापित हुन नसकेको निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ ।

‘कांग्रेस र एमालेसँग मिल्ने कुरा बाहिर आउँदा पार्टीभित्र र आम जनतामा आलोचना बढ्यो’, उनले भने, ‘अब हामी स्वतन्त्र ढंगले जनतामाझ जान्छौँ । एक्लै चुनाव लड्नुपर्ने सुझाव पार्टी पंक्ति र आम नागरिकबाट पनि आएको छ ।’ सापकोटाले नेकपाले मुलुकको अग्रगामी एजेन्डा तथा ‘जेनजी’ अर्थात् नयाँ पुस्ताले उठाएका सवालहरूलाई निरन्तर सम्बोधन गर्दै आएको दाबी गरे । सो क्रममा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा स्पष्ट विचार र दीर्घकालीन दृष्टिकोणको अभाव रहेको टिप्पणी गरे । राजनीतिक दलहरूमा देखिएको यही विचारशून्यताका कारण देश संकटको अवस्थाबाट गुज्रिरहेको उनको तर्क छ ।

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको आन्तरिक किचलोबारे प्रतिक्रिया दिँदै सापकोटाले त्यसले नेकपा वा समग्र राष्ट्रिय राजनीतिमा कुनै ठोस असर नपर्ने बताए। तर, कुनै पनि पार्टी फुटभन्दा एकता लोकतन्त्रका लागि हितकर हुने उनको सुझाव छ। ‘कांग्रेसको आन्तरिक मामिला उनीहरूकै विषय हो,” उनले भने, “तर लोकतन्त्रका लागि पार्टीहरू विभाजन होइन, एकताबद्ध हुनु नै राम्रो हो ।’ त्यसैगरी, उनले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दालाई यथाशीघ्र टुंग्याउनुपर्ने आवश्यकता औंल्याए । देशले भोगिरहेको राजनीतिक संकटको निकास अन्ततः निर्वाचनमार्फत नै सम्भव हुने सापकोटाको निष्कर्ष छ । उनका अनुसार, स्थिर राजनीतिको आधार तयार गर्न जनताको मतबाट नयाँ जनादेश लिनु नै अहिलेको प्रमुख आवश्यकता हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *