नेकपा त्यागेका गुरूङ ‘उज्यालो नेपाल पार्टी’ को गण्डकी संयोजक
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) त्यागेका तनहुँका मनराज गुरूङ भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको गण्डकी संयोजक बनेका छन् । पार्टीको गत शनिबार भएको गण्डकी प्रदेश भेलामा सामान्य छलफल चले पनि गुरूङलाई सोमबार पार्टीले प्रदेश संयोजक तोकेको हो ।
गुरूङ यसअघि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य थिए । २०६२/६३ को जनआन्दोलनपछि गुरूङ माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए । त्यसपछि तनहुँको तत्कालीन फिरफिरे गाविसको पार्टी कमिटी अध्यक्ष, राज्य पुनर्संरचनापछि शुक्लागण्डकी नगरपालिका कमिटीको अध्यक्ष हुँदै प्रदेश कमिटी सचिव बनेका थिए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष निर्वाचित गुरूङले गत मंसिर १६ गते नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
जेनजी आन्दोलनपछि माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरे पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकता गर्ने र नेतृत्वमा पुराना नेताहरू नै रहने भएपछि पार्टी परित्याग गरेको उनले बताएका थिए ।
‘माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर नेतृत्वले विभिन्न पार्टीसँग एकता गर्ने नाममा महाधिवेशन र नेतृत्व हस्तान्तरणको एजेन्डा पाखा परेपछि मैले पार्टी परित्याग गरेँ,’ उनले भने ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदादेखि नै कुलमान घिसिङको काम गर्ने शैली मन परेर अहिले उज्यालो नेपाल पार्टीमा आबद्ध भएको गुरूङले बताए । ‘पुरानो पार्टीमा असन्तुष्टि पालेर बस्नुभन्दा नयाँ पार्टीमा आबद्ध हुनु ठिक लाग्यो । कुलमान घिसिङको काम गर्ने शैलीप्रति पहिलेदेखि झुकाव थियो। अहिले उनकै पार्टीमा जोडिए,’ उनले भने । पार्टीको नाम कम्युनिष्ट भए मात्र उत्पीडित समुदाय र वर्गको हित गर्ने कुरा गलत हुने भन्दै जुनसुकै पार्टीमा लागे पनि उक्त वर्गको उत्थानमा लाग्न सकिने उनले बताए ।
उज्यालो नेपाल पार्टीको प्रदेश संयोजक तोकिएसँगै गुरूङले अब गण्डकीका ११ वटै जिल्ला, १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८५ वटा पालिकामा तदर्थ समिति गठन गर्ने अभियान चलाउने बताएका छन् । यसअघि उज्यालो नेपाल पार्टीका गण्डकी संयोजकमा केन्द्रीय सदस्य कुशल गुरूङ तोकिएका थिए । गण्डकी भेलामार्फत प्रदेश संयोजक मनराज गुरूङलाई तोकेर जिल्ला र पालिकासम्म पार्टीको संगठन विस्तार गर्न लागेका उनले बताए ।
