`

नेकपाका २५ सय केन्द्रीय सदस्यले आज शपथ लिँदै

Nepal One HD २९ पुष २०८२ ११:५४
बिशेष

काठमाडौं । डेढ दर्जन बढी कम्युनिष्ट घटक र विभिन्न राजनीतिक समूहहरूको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज आफ्नो केन्द्रीय समिति औपचारिक रूपमा घोषणा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे विशेष कार्यक्रमसहित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुँदैछ ।

कात्तिक १९ गते तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकबीच एकता भएर गठन भएको नेकपामा त्यसयता थप दल तथा व्यक्तिहरू समाहित हुँदै आएका छन् । हालसम्म पार्टीमा १७ भन्दा बढी घटक र स्वतन्त्र राजनीतिक समूहहरू जोडिइसकेका छन् । वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसम्म पार्टीमा आबद्ध भइसकेका छन् । आइतबार मात्रै मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी (जसपा) उपाध्यक्ष शिवलाल थापाको समूह पनि नेकपामा समाहित भएको थियो ।

पार्टी नेतृत्वका अनुसार आज घोषणा हुने केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीका रूपमा रहनेछ । नेकपाका उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंखडाका अनुसार कुल २,४९९ जना केन्द्रीय सदस्य घोषणा गर्ने तयारी छ । यद्यपि, पूर्व माओवादी केन्द्रतर्फबाट करिब २०० भन्दा बढी केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी रहेकाले आज झण्डै साढे २२ सय सदस्यले मात्रै शपथ लिनेछन् ।

केन्द्रीय सदस्यहरूलाई पार्टीका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहण भौतिक र भर्चुअल दुवै माध्यमबाट हुनेछ । काठमाडौंमा उपलब्ध सदस्यहरू पेरिसडाँडामै उपस्थित हुनेछन् भने बाहिर रहेका सदस्यहरूका लागि अनलाइन माध्यमको व्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यका अनुसार एकता प्रक्रियामा सहभागी दलका केन्द्रीय सदस्यहरू स्वतः नेकपाको केन्द्रीय सदस्य बन्ने नीति लिइएकाले केन्द्रीय समितिको आकार ठूलो भएको हो । उनका अनुसार पार्टीमा हाल झण्डै २५ सय केन्द्रीय सदस्य छन् ।

सिंखडाका अनुसार केन्द्रीय समितिमा पूर्व माओवादी केन्द्रबाट ६० प्रतिशत र नेकपा एकीकृत समाजवादीसहित अन्य घटकबाट ४० प्रतिशत सदस्य समावेश गरिएको छ । पार्टी एकता घोषणा गर्दा ६ महिनाभित्र महाधिवेशन गर्ने र निर्वाचित केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय बनाउने सहमति भएको थियो । अहिले घोषणा हुने सबै सदस्यहरू महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा रहनेछन् र महाधिवेशनपछि केन्द्रीय समिति १९९ सदस्यीय नै बनाइने पार्टीको दाबी छ । शपथ ग्रहणपछि केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ शुल्क बुझाएपछि पार्टीको परिचयपत्र पाउने व्यवस्था गरिएको छ । आजको कार्यक्रमलाई नेकपाले पार्टी एकतापछिको महत्वपूर्ण संगठनात्मक शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *