चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस् : गंगाकुमारी बेलवासे
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् ।
उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् । उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् ।
उनले भनिन्, ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । टोटल ढंगले रोक्नु पर्छ । यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झण्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजविन गर्न सकिने अवस्था छैन । त्यसैले यो झण्डाको दुरुपयोग भईराखेको कुरालाई टोटल सरकारले रोक्नु पर्छ ।’ उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।
