`

नेकपा छाडेर पूर्वमन्त्री राय जसपा नेपालमा, नारायणकाजीसँग चुनाव भिड्ने

Nepal One HD ४ माघ २०८२ १५:०७
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा, यादवसहित दर्जनौं नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले औपचारिक रूपमा स्वागत गरेका छन् ।

रामेश्वर रायले सर्लाही–३ बाट प्रतिनिधिसभा निर्वाचनमा टिकटको आकांक्षा राखेका थिए । तर, नेकपाले यहाँ नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका थिए । यही असन्तुष्टिका कारण उनले नेकपा छोडेर जसपा नेपालमा प्रवेश गरेका हुन् । उनसँगै चक्रघट्टा गाउँपालिका पूर्वअध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् । राजनीतिक जीवनमा मधेसवादी दलबाट सुरु गरेका यादव ०७४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यसपछि उनले संघीय सरकारमा श्रममन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

तर, ०७९ को निर्वाचनमा माओवादीले उनलाई सर्लाही–३ मा टिकट नदिएपछि यादव प्रचण्डसँग रुष्ट बनेका थिए । त्यतिबेला यादवले माओवादी उम्मेदवार नरेन्द्र साहको पराजयमा भूमिका खेलेको आरोप सामना गर्नु परेको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा, जसपा नेपालबाट यादव र नेकपाबाट नारायणकाजी श्रेष्ठबीच सर्लाही–३ मा प्रतिष्पर्धा हुने सम्भावना बढेको छ । यसै क्षेत्रमा एमालेले हरि उप्रेतीलाई उम्मेदवार बनाइसकेको छ । ०७९ को निर्वाचनमा उप्रेतीले माओवादी उम्मेदवार नरेन्द्र साहलाई करिब ७७० मतान्तरले पराजित गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा पनि यादवको प्रभाव देखिएको थियो। चक्रघट्ट गाउँपालिकामा उनले आफ्नै छोरा विक्रम यादवलाई उम्मेदवार बनाएका थिए । तर, जसपाका कृष्णकुमार यादव विजयी भएका थिए । यसले स्पष्ट संकेत गर्दछ कि रायको गृहनगरमा माओवादीको प्रभाव केही कमजोर बन्दै गएको छ । राजनीतिक विश्लेषकहरूले आगामी चुनावमा सर्लाही–३ लाई ‘तीन दलको प्रतिस्पर्धा’ को मुख्य केन्द्रबिन्दुका रूपमा हेरेका छन् । यादवको जसपा प्रवेशले यस क्षेत्रको राजनीतिक समीकरणमा महत्वपूर्ण असर पार्ने सम्भावना देखिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *