प्रचण्ड सचिवालयले भन्यो–महिला एक–तिहाइ पुर्याउन १३ जना थपिएको हो
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणका लागि सुरू भएको वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले स्पष्टीकरण दिएको छ । प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।
आम चुनावका लागि दल दर्ता अनिवार्य भएपछि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही अनावश्यक भ्रम फैलाएको सचिवालयको जिकिर छ । ‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ’, आचार्यले भनेका छन् ।
उनका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो । कानुनअनुसार एक–तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको स्पष्ट गरिएको छ । उनले भने, ‘यसलाई नयाँ संरचना भनेर बुझ्नु गलत छ । विधानअनुसार पूर्ण संरचना पछि नै टुंगो लाग्नेछ ।’ सचिवालयले आयोगमा प्रस्तुत सूचीलाई लिएर कुनै पनि भ्रममा नपरी एकता अभियान पूरा गर्न दृढ रहन सबैमा आग्रह गरेको छ।
