प्रचण्डको टिप्पणी : घण्टी बजाएर हुनेवाला केही छैन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।
संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनका बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए । उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढे मात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।
उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । बाँकी रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौं–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’ संयोजक दाहालले मोहन वैद्य ‘किरण’ लाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए ।
