`

ढुक्क हुनुस्, कांग्रेस फुटेर चुनाव रोकिँदैन : प्रचण्ड

Nepal One HD २ माघ २०८२ १४:४६
बिशेष

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक निर्धारित समयमै निर्वाचनतर्फ अघि बढ्नेमा कुनै शंका नरहेको स्पष्ट पारेका छन् । चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसभित्र देखिएको विभाजन र विवादले निर्वाचन प्रक्रियामा असर नपार्ने दाबी गर्दै सबैलाई ढुक्क हुन आग्रह गरे ।

भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन नहुने हो कि भन्ने आशंका सर्वत्र देखिएको स्वीकार गरे । तर सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र कूटनीतिक क्षेत्र सबै निर्वाचनको पक्षमा रहेकाले चुनाव टार्ने कुनै आधार नरहेको उनको भनाइ थियो । ‘हामी निर्वाचनको मुखमै छौँ । सबैले सोधिरहेका छन्–हुन्छ कि हुँदैन चुनाव ? मैले स्पष्ट भनिरहेको छु, चुनाव हुन्छ,’ प्रचण्डले भने, ‘पहिला संविधानसभा चुनावको अघिल्लो दिनसम्म पनि अन्योल थियो, तर चुनाव भयो । अहिले पनि त्यही हुनेछ ।’ उनले निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाइसकिएको, प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिएको र आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरण समेत सुरु गरिसकेको जानकारी दिए । ‘हिजो काठमाडौंमै टिकट बाँडेर म चितवन आएको हुँ,’ उनले भने ।

प्रचण्डका अनुसार चुनावबाहेक अहिले देशका लागि अर्को कुनै विकल्प व्यवहारिक छैन । निर्वाचन नगर्दा राजनीतिक अस्थिरता र सम्भावित दुर्घटनाको जोखिम बढ्ने उनले चेतावनी दिए । ‘निर्धारित समयमा स्वच्छ र निष्पक्ष चुनाव गराउनु नै अहिलेको राष्ट्रिय दायित्व हो,’ उनले जोड दिए । भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि राष्ट्रपति र प्रधानसेनापतिसँग भएको छलफलमा पनि अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने सुझाव आफूले दिएको प्रचण्डले खुलासा गरे। राष्ट्रको गरिमा जोगाउन जनतामा जानु नै सबैभन्दा सुरक्षित बाटो भएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र विभाजनले निर्वाचन रोकिने हो कि भन्ने आशंकाबारे आफूले सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग बुझ्दा कांग्रेसको आन्तरिक विवादले निर्वाचन प्रक्रियालाई असर नपर्ने प्रतिक्रिया पाएको उनले बताए । ‘भोलि–पर्सिसम्म कांग्रेसको आधिकारिकताको विषय टुंगो लाग्छ र निर्वाचन प्रक्रिया अघि बढ्छ,’ प्रचण्डको दाबी थियो । यसै अवसरमा प्रचण्डले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई ‘विकासप्रेमी’ को रूपमा आफूहरूले होइन, जनताले स्थापित गरेको बताए । ‘रेणुको नाम अब विकासवादी रेणु, विकासप्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो,’ उनले भने, ‘यसलाई आदर्श मानेर अगाडि बढ्नु पर्छ ।’

उनले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजी र हल्लाका कारण देश भड्किन सक्ने खतरा औंल्याउँदै भदौ २४ को घटनाक्रम त्यसैको उदाहरण भएको टिप्पणी गरे । ‘कुनै विचार, सिद्धान्त वा आदर्श नभएर स्टन्टबाजीकै कारण राष्ट्र झन्डै दुर्घटनामा परेको थियो,’ उनले भने । अहिले पनि सतर्कता नअपनाए देश फेरि दुर्घटनातर्फ जान सक्ने भन्दै उनले सबै नागरिकलाई जिम्मेवार र गम्भीर बन्न अपिल गरे । ‘सिद्धान्तहीन, विचारहीन, होहल्लाको पछि लाग्यौँ भने देश संकटमा पर्न सक्छ,’ प्रचण्डले चेतावनी दिए । चितवनवासी नागरिकको हैसियतले पनि आफूले जिम्मेवारी बोध गरेको उल्लेख गर्दै उनले समाजमा बढ्दो अराजकता नियन्त्रण गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *