`

एशियामा बाढी–पहिरो र आँधीबेहरीबाट एक हप्तामै साढे ११ सयले गुमाए ज्यान

काठमाडौं । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्याण्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोबाट एक हप्तामै साढे ११ सय बढीको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।

इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्याण्ड र मलेशियामा लगातार वर्षा र चक्रवातका कारण बाढी पहिरोमा परी लाखौं मानिस विस्थापित भएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इन्डोनेशियामा मात्रै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ ।

श्रीलङ्कामा साढे ३ सय जना, थाइल्याण्डमा १७६ जना र मलेशियामा ३ जनाको ज्यान गएको खबरमा उल्लेख छ । इन्डोनेशिया र श्रीलङ्का दुवै देशले सेना परिचालन गरी उद्धार तथा राहत कार्य भइरहेको जनाएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ भने विद्युत् तथा सञ्चार अवरुद्ध हुँदा हवाई तथा डुङ्गामार्फत आपतकालीन सामग्री पुर्‍याइँदैछ ।

श्रीलङ्कामा झण्डै ११ लाख मानिस प्रभावित भएका खबरमा उल्लेख छ । श्रीलङ्का सरकारले यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ। धेरै ठाउँमा विद्यालय, पुल, घर र खेतबारी बगाएको छ । हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । त्यहाँको मौसम विभागका अनुसार केही ठाउँमा अझै ठूलो वर्षाको सम्भावना कायमै रहेकोले उद्धार तथा राहतमा थप समस्या भइरहेको छ ।

कोशी सरकारले बाढी–पहिरोले विस्थापितको घर बनाई दिने

मोरङ । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी–पहिरोले विस्थापितहरुको सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइ दिने निर्णय गरेको हो । विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद बैठकले निर्णय गरेको छ ।

त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सात पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिनेछ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् । झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिएका छन् ।

बाढी–पहिरो : यी हुन् इलाममा ज्यान गुमाउने (नामावली)

विराटनगर । शनिबार साँझदेखिको अविरल भारी वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ । पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाउँपालिकाका छन् । त्यहाँ ८÷८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ । शनिबार साँझबाट परेको अबिरल बर्षका कारण एक जना बेपत्ता भएका छन्। ८ जना घाइते भएका छन् ।

हेर्नुस् ज्यान गुमाउनेहरुको नामावली