चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेकपा (संयुक्त) भित्र जिम्मेवारी फेरबदल भएको छ । अध्यक्ष चन्द्रदेव जोशीले औपचारिकरूपमा घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेसँगै दलभित्र नयाँ नेतृत्व–दिशा स्पष्ट हुँदै गएको छ । जोशीले पत्रकार सम्मेलनमार्फत आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्दै आन्दोलनलाई सुदृढ बनाउने उद्देश्यले पद छाडेको बताए । एकीकृत समाजवादीभित्र सुरु भएको पुनर्गठन अभियानपछि ‘नेकपा संयुक्त’ नाम र हँसिया चुनाव चिन्हमा सहमति भइसकेको छ ।
भुसालको नेतृत्वमा बसेको नयाँ कार्यदलले सुशासन केन्द्रीत राजनीतिक मार्गरेखा सार्वजनिक गर्दै पार्टीलाई ‘घुस नखानेहरूको पार्टी’ बनाउने घोषणा गरेको छ । पार्टी प्रचार विभाग प्रमुख दामोदर अर्यालका अनुसार जेनजी आन्दोलनले व्यक्त गरेको चाहनासँग मेल खाने गरी भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने, वामपन्थीहरूलाई पुनः एउटै प्लेटफर्ममा ल्याउने र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने लक्ष्य राखिएको छ । उनले राज्यका उच्च पदस्थ नेता, न्यायालय, सुरक्षा निकाय तथा निजामती सेवामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने पार्टीको माग पनि दोहोर्याए ।
यसैबीच, भुसालले आज आयोजित पत्रकार सम्मेलनमा समसामयिक राजनीतिप्रतिको असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरे । उनका अनुसार प्रमुख पुराना दलहरू फेरि ‘त्यहि पुरानै अनुहार’ सँगै राजनीतिमा फर्कदा मुलुक निराशातर्फ धकेलिने खतरा बढ्दै गएको छ । उनले विगतमा देशलाई गलत दिशातर्फ मोड्नेहरू नै पुनः सक्रिय हुँदै जाँदा दलाल, पुँजीपति र बिचौलिया संरचना पुनर्जीवित हुने चिन्ता व्यक्त गरे ।
नयाँ बनेका पार्टीहरू समेत योजनाविहीन रूपमा अघि बढिरहेको उनको टिप्पणी थियो । भुसालका अनुसार नयाँ शक्ति भनिएका दलहरूमा ‘उत्ताउलोपन, भुईफुट्टापन र क्षणिक नारा बाहेक दीर्घकालीन वैचारिक योजना’ देखिँदैन। देशभक्त र परिवर्तन चाहने नागरिकलाई संगठित गर्ने उद्देश्यले उनले वामपन्थीहरूलाई पुनर्गठन अभियानमा जोडिन आह्वान गरे ।
नेकपा (संयुक्त) ले आगामी फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारलाई दबाब दिने घोषणा पनि गरेको छ । पार्टीले जेनजी आन्दोलनमा दमन गर्ने निर्णय गर्ने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न माग दोहो¥याउँदै राजनीतिक शुद्धीकरण बिना देश अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ । नयाँ नेतृत्वसहित घनश्याम भुसालको सक्रियताले नेपाली वाम राजनीतिमा नयाँ समीकरण र प्रतिस्पर्धा सुरु भएको संकेत दिएको छ ।
