`

बूढीगण्डकीमा पहिरोमा पर्ने मध्ये नौ जना विदेशी नागरिक रहेका छन्

काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान लेदोसहितको बाढी आउनुको मुख्य कारण पहिरोले खोला थुनिनुलाई मानिएको छ। जगत र सल्लेरीभन्दा माथिको सानो खोलामा ठूलो पहिरो गएर पानी थुनिएपछि आएको बाढीले १३४ वटा साना–ठूला घर तथा गोठ बगाएको छ। बाढीमा परी हालसम्म १२ जना बेपत्ता रहेको बुझिए पनि उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन।

खोला थुनिएको क्षेत्र तल्लो भेगमा रहेकाले माथिल्लो क्षेत्रका सुन्दर गाउँ तथा बस्ती भने बाढीबाट जोगिएका छन्। जगत र सल्लेरीभन्दा माथिका गाउँबस्ती यतिबेला निकै आकर्षक देखिन्छन्।

पहिरोका कारण बूढीगण्डकीमा ठूलो बाढी आएपछि नदी किनार हुँदै हिमालतर्फ जाने पदमार्गमा रहेका साना बजार संकटमा परेका छन्। अहिले पदयात्राको मुख्य सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक त्यस क्षेत्रमा जान थालेका थिए। पर्यटकको चहलपहल बढेसँगै त्यहाँका साना तथा ठूला होटलसमेत सञ्चालनमा आइसकेका थिए।

यद्यपि, रसुवा र नुवाकोटको भोटेकोशी तथा त्रिशूली नदी किनारमा जस्तो ठूलो बस्ती, बजार र भौतिक संरचना यस क्षेत्रमा नरहेकाले तुलनात्मक रूपमा कम क्षति भएको बताइएको छ। उद्धारमा संलग्न एक टोलीले संकलन गरेको विवरणअनुसार बाढीले पक्की घरभन्दा बढी छाप्रा तथा कच्ची घर बगाएको छ।

बाढीका कारण आरुघाटमा रहेको पक्की पुलसमेत बगेपछि आवागमनमा थप समस्या भएको छ। पुलको विकल्पमा बेलिब्रिज जडान गर्न नेपाली सेनाले आवश्यक विवरणसहितको प्रतिवेदन तयार पार्ने तयारी गरेको छ। बेलिब्रिजका सामग्री हेटौँडाबाट आइतबार नै आरुघाटतर्फ पठाइसकिएको स्रोतले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएको नेपाली सेनाको हेलिकोप्टर आरुघाटमा रोकिएको थियो। सेनाको हेलिकोप्टरमार्फत उक्त क्षेत्रबाट ८० जनालाई काठमाडौं ल्याइएको छ। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिक रहेका छन्।

ब्रह्मचारिणी : तपस्या, त्याग र अटल संकल्पकी देवी

काठमाडौं। नवरात्रि देवी दुर्गाको पूजा गर्ने पर्व मात्र होइन, यो शक्ति, साधना, आत्मअनुशासन र आध्यात्मिक चेतनाको उत्सव पनि हो।

नवदुर्गाका नौ स्वरूपमध्ये दोस्रो स्वरूप माता ब्रह्मचारिणीको हो। नवरात्रिको दोस्रो दिन उनको विशेष पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार माता ब्रह्मचारिणी तपस्या, त्याग, धैर्य, संयम र दृढ संकल्पकी प्रतीक हुन्। उनको कथा भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न माता पार्वतीले गरेको कठोर साधनासँग जोडिएको छ।

‘ब्रह्मचारिणी’ शब्द संस्कृत भाषाबाट आएको हो। ‘ब्रह्म’ ले परम सत्य, आध्यात्मिक ज्ञान वा परम चेतनालाई जनाउँछ भने ‘चारिणी’ ले त्यसको खोजीमा लाग्ने वा त्यस मार्गमा आचरण गर्ने भन्ने अर्थ दिन्छ। यस अर्थमा ब्रह्मचारिणी त्यस्ती साधिकाको प्रतीक हुन्, जसले आफ्नो जीवनलाई ज्ञान, साधना र आत्मसंयमको मार्गमा समर्पित गरेकी छन्।

पौराणिक कथाअनुसार, हिमालयका राजा हिमवान् र रानी मैनाकी पुत्री पार्वतीले भगवान् शिवलाई पति बनाउने संकल्प गरिन्।

शिव गहिरो ध्यान र तपस्यामा लीन रहने भएकाले उनलाई प्राप्त गर्नु सामान्य कुरा थिएन। तर पार्वती आफ्नो उद्देश्यप्रति दृढ थिइन्। परिवारले उनलाई आफ्नो संकल्प त्याग्न आग्रह गरे पनि उनले आफ्नो निर्णय बदलिनन्। अन्ततः उनले कठोर तपस्या सुरु गरिन्।

कथाका विभिन्न संस्करणमा पार्वतीले लामो समयसम्म फलफूल, कन्दमूल र पात खाएर साधना गरेको तथा पछि भोजनसमेत त्यागेको उल्लेख पाइन्छ। उनको तपस्या, त्याग र अटल निष्ठाले उनलाई ब्रह्मचारिणीका रूपमा प्रतिष्ठित गरायो। यही साधनासँग सम्बन्धित अर्को नाम ‘अपर्णा’ पनि प्रचलित छ। धार्मिक कथाअनुसार, पार्वतीको कठोर तपस्यापछि भगवान् शिव र उनको विवाह सम्पन्न भयो।

माता ब्रह्मचारिणीको स्वरूप पनि विशेष अर्थपूर्ण छ। उनी सामान्यतया सेतो वस्त्र धारण गरेकी, एक हातमा जपमाला र अर्को हातमा कमण्डलु लिएकी तपस्विनीका रूपमा चित्रित हुन्छिन्। जपमालाले ध्यान, भक्ति र एकाग्रताको सन्देश दिन्छ भने कमण्डलुले सादगी, त्याग र संयमित जीवनको प्रतीकात्मक अर्थ बोकेको छ। उनको शान्त स्वरूपले बाहिरी प्रदर्शनभन्दा आन्तरिक शक्ति, धैर्य र आत्मविश्वास महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिन्छ।

नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गर्नुको उद्देश्य देवीप्रति श्रद्धा व्यक्त गर्नुका साथै जीवनमा धैर्य, ज्ञान र आत्मबलको कामना गर्नु पनि हो। भक्तजनले यस दिन पूजा, ध्यान, मन्त्रजप र प्रार्थनामार्फत देवीको आराधना गर्छन्। उनको मूल मन्त्र ‘ॐ देवी ब्रह्मचारिण्यै नमः’ हो। धार्मिक विश्वासअनुसार, श्रद्धापूर्वक उनको स्मरण गर्दा मनमा शान्ति, आत्मविश्वास र कठिनाइ सामना गर्ने शक्ति प्राप्त हुन्छ।

ब्रह्मचारिणीको महत्त्व धार्मिक आस्थामा मात्र सीमित छैन। उनको कथाले आधुनिक जीवनमा पनि उत्तिकै सान्दर्भिक सन्देश दिन्छ। आजको प्रतिस्पर्धात्मक समाजमा मानिसहरू छिटो सफलता प्राप्त गर्न चाहन्छन्। तत्काल परिणाम नआए निराश हुने, लक्ष्य परिवर्तन गर्ने वा बीचैमा प्रयास छाड्ने प्रवृत्ति पनि देखिन्छ। यस्तो अवस्थामा ब्रह्मचारिणीको जीवनकथाले सफलता प्राप्त गर्न निरन्तर प्रयास, धैर्य र अनुशासन आवश्यक हुन्छ भन्ने सम्झाउँछ।

उनको तपस्यालाई शारीरिक कष्ट सहनुको उदाहरणका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यसको गहिरो सन्देश आफ्नो उद्देश्यप्रति इमानदार रहनु, मनलाई अनुशासित बनाउनु र कठिन परिस्थितिमा पनि संकल्पबाट विचलित नहुनु हो। जीवनमा शिक्षा, व्यवसाय, सामाजिक सेवा वा व्यक्तिगत विकास जुनसुकै क्षेत्रमा अघि बढ्न पनि निरन्तरता र आत्मविश्वास आवश्यक पर्छ। ब्रह्मचारिणीको प्रतीकात्मकताले यिनै गुणको महत्त्व उजागर गर्छ।

माता ब्रह्मचारिणी त्यागको अर्थ आफ्नो अस्तित्वलाई नकार्नु होइन, बरु महत्त्वपूर्ण उद्देश्यका लागि अनावश्यक आकर्षण र कमजोरीमाथि नियन्त्रण राख्नु हो भन्ने प्रेरणा दिन्छिन्। त्यस्तै, धैर्यको अर्थ निष्क्रिय भएर बस्नु होइन, कठिनाइबीच पनि सही दिशामा प्रयास जारी राख्नु हो। उनको कथा संकल्प र साधनाबीचको सम्बन्ध बुझाउने धार्मिक आख्यानका रूपमा लिन सकिन्छ।

यसरी माता ब्रह्मचारिणी नवदुर्गाको दोस्रो स्वरूप मात्र नभई तपस्या, ज्ञान, आत्मसंयम र दृढ इच्छाशक्तिको प्रतीक पनि हुन्। नवरात्रिको दोस्रो दिन उनको पूजा गर्दा भक्तजनले देवीको कृपा प्राप्त हुने विश्वास राख्छन्।

उनको कथाबाट ग्रहण गर्न सकिने मुख्य शिक्षा भनेको लक्ष्यप्रति समर्पित रहनु, धैर्य कायम राख्नु र कठिनाइका बीच पनि आफ्नो मार्गबाट विचलित नहुनु हो।

यही कारण ब्रह्मचारिणीको महिमा धार्मिक परम्परामा मात्र होइन, जीवनलाई अनुशासित र उद्देश्यपूर्ण बनाउन चाहने प्रत्येक व्यक्तिका लागि प्रेरणाको स्रोत बनेको छ।

सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै बखेडा, विपक्षमा भोट हाल्ने चेतावनीपछि बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटले आफ्नै सत्तापक्षमा भुइँचालो ल्याएको छ ।

बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक नै स्थगित भएको छ ।

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बजेट पारित गर्ने तयारीमा रहेको सरकारलाई आफ्नै सांसदहरूको असहयोगको चेतावनीले अप्ठ्यारोमा पारेको छ ।

बजेट निर्माणमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको स्रोतको दाबी छ । केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ । यद्यपि, कमिसनसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।

बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप पनि लागेको छ । पर्याप्त छलफल नगरी सीमित व्यक्तिले बजेटका निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू रुष्ट बनेका हुन् ।

विवाद बढेपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । बजेटप्रति उठेका असन्तुष्टि सम्बोधन गर्दै प्रदेशसभाबाट बजेट पारित गराउने उपाय खोज्न छलफल हुन लागेको बताइएको छ ।

सत्तापक्षकै सांसदहरू विपक्षमा उभिने चेतावनीमा अडिग रहे सरकारलाई बजेट पारित गराउन थप सकस पर्नेछ ।

विवाद मिलाउन नसके बजेट पारित गर्ने प्रक्रिया अझै लम्बिने देखिएको छ ।

लोक दोहोरी स्टारको टप-२४ मा सञ्चपाल राई, निर्णायकले गरे प्रशंसा, मागे राईले भोट

काठमाडौं । गायक सञ्चपाल राई लोक दोहोरी स्टार सिजन-२ को टप २४ मा प्रवेश गरेका छन् । ग्रान्ड प्रिमियरमा चर्चित लोकगीत ‘आलुदम चना’ गाएका उनले निर्णायकहरूको प्रशंसा पाएका छन् । अघिल्लो चरणमा पुग्न उनले देशविदेशमा रहेका नेपालीसँग भोट मागेका छन् ।

राईले पूर्वेली लोकगायनका शिखर व्यक्तित्व शम्भु राईको स्वर रहेको चर्चित गीत ‘आलुदम चना’ गाएका थिए । उनको प्रस्तुतिमा गायनसँगै हाउभाउ र नृत्य पनि समेटिएको थियो ।

निर्णायक कोमल वलीले राईको प्रस्तुतिमा पहिलेको तुलनामा सुधार आएको बताइन् । उनले गायकी, हाउभाउ र नृत्यको प्रशंसा गर्दै स्वरमा स्थिरता कायम गर्न सुझाव दिइन् ।

‘वाउ धेरै परिवर्तन । पहिलेको भन्दा सञ्चपालजी तपाईंको उपस्थिति त राम्रो छ नै । हाउभाउ, नाचगान वा । धेरै प्रभावित भएँ म त । तर, अलिकति स्वरमा स्थिरता चाहिन्छ,’ वलीले भनिन् ।

उनले राईको आत्मविश्वासको पनि प्रशंसा गर्दै ‘स्याबास’ भनेकी थिइन् ।

अर्का निर्णायक चन्द्रप्रसाद शर्माले राईको प्रस्तुतिमा आत्मविश्वास र सुधार देखिएको बताए । उनले मेला-महोत्सवमा गाएजस्तै आत्मविश्वासका साथ प्रस्तुत भएको भन्दै आगामी चरणमा अझ राम्रो गर्न सुझाव दिए ।

त्यस्तै, निर्णायक राजु परियारले पनि राईको गायन र प्रस्तुतिको प्रशंसा गरे । उनले स्वरको मूल्याङ्कन दर्शक तथा स्रोताले समेत गर्ने उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।

टप २४ मा पुगेपछि राईले आफ्नो गायन यात्रालाई अघि बढाउन दर्शकको साथ खोजेका छन् । उनले देश तथा विदेशमा रहेका नेपालीलाई भोट गर्न आग्रह गरेका हुन् ।

‘देश विदेशमा रहनु हुने आमाबुबा, दिदीबहिनी आफ्ना आफन्त साथीभाइ र सङ्गितप्रेमी महानुभावहरू, मेरो गायन यात्रामा साथ दिनु हुने सम्पूर्णमा हार्दिक अनुरोध छ । तपाईंहरूको अमूल्य भोट र माया नै मेरो हौसला हो,’ उनले भने, ‘मलाई भोट गरेर साथ दिनुहोला ।’

ताप्लेजुङका राई ७० को दशकतिर पाँचथरमा आयोजित याङनाम तारा भएका थिए । अहिले लोक दोहोरी स्टार सिजन–२ मा टप २४ सम्मको यात्रा तय गरेका उनी थप अघि बढ्न दर्शकको मतको प्रतीक्षामा छन् ।

उनलाई AVENTOJ APP वा ESEWA APP वा AVENTOJ.COM गएर लोक दोहोरी स्टार सिजन-२ छनोट गरी भोट दिन सकिन्छ ।

४ हजार १०० मत गन्दा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। ४ हजार १०० मत गणनाको विवरणअनुसार भण्डारीले उपसभापतिमा २ हजार ४५ र पौडेलले महामन्त्रीमा २ हजार ३९१ मत प्राप्त गरेका छन्।

उपसभापतिको खुलातर्फ भण्डारीका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार २७८ मत पाएका छन्। गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५ र धनराज गुरुङले ९०८ मत प्राप्त गरेका छन्। दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत पाएका छन्।

महामन्त्रीको खुलातर्फ पौडेलपछि उदयशमशेर राणाले १ हजार ३३३ र डा. सुनिलकुमार शर्माले १ हजार १७५ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३ र नैनसिंह महरले ५३९ मत पाएका छन्। शंकर तिवारी र डा. सन्तोष उपाध्यायले क्रमशः ७१ र ५७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रीता खनालले ४२० मत प्राप्त गरेकी छन्।

उपसभापतिको समावेशीतर्फ बिनोदकुमार चौधरीले १ हजार २६, जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मंसुरले ५६५ र रंजीत कर्णले ३११ मत पाएका छन्।

मतगणना जारी रहेकाले यी परिणाम अन्तिम भने होइनन्।

बुढीगण्डकी बाढी वितण्डा : ५ जना बेपत्ता, ४५ घरमा पूर्ण क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहानै आएको आकस्मिक बाढीपछि ५ जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय विपद् प्राधिकरणका अनुसार ४५ वटा निजी घरमा पूर्ण क्षति पुगेको छ । २७ वटा घरमा आंशिक क्षति भएको छ । दुई वटा पक्की पुल र दुई वटा झोलुङ्गे पुल बाढीले बगाएको छ ।

तीन वटा जलविद्युत् परियोजनामा क्षति पुगेको छ । ९ जना विदेशीसहित ८२ जनाको हवाई उद्धार गरिएको छ ।
बाढी आउनुको कारण भने अझै खुलेको छैन ।

गार्गी अनि गार्गीका प्रश्न

काठमाडौं। सृष्टिको आधार के हो? सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्ने शक्ति कुन हो? हजारौँ वर्षअघि यस्ता जटिल प्रश्नमाथि बहस गर्ने साहस राख्ने गार्गी वाचक्नवी आज पनि ज्ञान, तर्क र निर्भीकताको प्रतीकका रूपमा स्मरण गरिन्छिन्।

प्रश्न गर्नु सामान्य कुरा हो। यसैपनि मानिसभित्र तमाम् प्रश्नहरू क्षणभर निर्माण हुन्छन् अनि क्षण भरमै समाप्त पनि हुन्छन्। प्रश्न यसर्थपर्नी महत्वपूर्ण छ, प्रश्नले स्थापित मान्यतालाई चुनौती दिन्छ र ज्ञानको सीमासम्म पुग्न खोज्छ भने त्यसको महत्त्व असाधारण हुन्छ।

सनातनिय इतिहासमा गार्गी वाचक्नवी यस्तै प्रश्न गर्ने व्यक्तित्व थिइन्। उनले आफ्ना जिज्ञासामार्फत तत्कालीन विद्वत् परम्परामा आफ्नो विशिष्ट स्थान बनाएकी थिइन्।

मिथिलाका राजा जनकको राजसभामा याज्ञवल्क्यसँग भएको उनको शास्त्रार्थ यसको उल्लेखनीय उदाहरण हो। सामान्य जिज्ञासाबाट सुरु भएको संवाद क्रमशः सृष्टिको उत्पत्ति, अस्तित्वको आधार र अविनाशी तत्त्वको खोजीसम्म पुगेको थियो। गार्गीका प्रश्नले याज्ञवल्क्यजस्ता प्रख्यात दार्शनिकलाई समेत गम्भीर जवाफ दिनुपर्ने अवस्थामा पुर्‍याएका थिए।

प्राचीन पुरात्वयिक साहित्यमा महिलाको बौद्धिक योगदानबारे चर्चा गर्दा सूर्या सावित्री र गार्गी वाचक्नवीलाई फरक सन्दर्भमा सम्झन सकिन्छ। सूर्या सावित्रीसँग सम्बन्धित विवाह सूक्त वैदिक साहित्यमा महत्त्वपूर्ण मानिन्छ। यसले तत्कालीन विवाह परम्परा र सामाजिक जीवनबारे अध्ययन गर्न आधार प्रदान गर्छ।

गार्गीको व्यक्तित्व भने मुख्यतः दार्शनिक विमर्शसँग जोडिएको छ। वैदिक मन्त्र रचनाको परम्परापछि ब्रह्म, आत्मा र जगत्को स्वरूपबारे गम्भीर बहस भइरहेको समयमा उनको बौद्धिक उपस्थिति देखिन्छ। त्यसबेलाको दार्शनिक बहसमा याज्ञवल्क्य प्रमुख व्यक्तित्वमध्ये एक थिए।

यही बौद्धिक वातावरणमा गार्गीले आफ्नो तर्कशक्ति प्रस्तुत गरिन्। पुरुष विद्वान्हरूको वर्चस्व रहेको राजसभामा उनले निर्भीकतापूर्वक प्रश्न उठाउनु आफैँमा उल्लेखनीय थियो।

को थिइन् गार्गी वाचक्नवी?

गार्गीको जीवनबारे विस्तृत जानकारी उपलब्ध छैन। यद्यपि उनको व्यक्तित्व र दार्शनिक क्षमताबारे जान्ने प्रमुख आधार बृहदारण्यक उपनिषद्मा उल्लेख गरिएको छ। यस ग्रन्थको तेस्रो अध्यायमा राजा जनकको सभामा याज्ञवल्क्यसँग भएको उनको संवाद वर्णन गरिएको छ। 

बृहदारण्यक उपनिषद् मा वर्णित पहिलो संवादमा गार्गीले पदार्थ र तत्त्वहरूको आधार खोज्दै प्रश्न अघि बढाएकी छन्।

उनको जिज्ञासा पानी कहाँ समाहित हुन्छ भन्ने प्रश्नबाट सुरु हुन्छ। याज्ञवल्क्यले पानी वायुमा समाहित हुने बताउँछन्। त्यसपछि गार्गीले वायुको आधार के हो भनेर सोध्छिन्। उत्तरमा अन्तरिक्षको चर्चा आउँछ।

गार्गी प्रत्येक उत्तरमा सन्तुष्ट भएर रोकिन्नन्। एउटा तत्त्वको आधार बताएपछि अर्को तत्त्वको आधार के हो भन्ने प्रश्न उठाउँदै जान्छिन्। संवादमा गन्धर्वलोक, आदित्यलोक, चन्द्रलोक, नक्षत्रलोक, देवलोक, इन्द्रलोक, प्रजापतिलोक र ब्रह्मलोकसम्मका प्रसङ्ग आउँछन्।

अन्ततः उनी ब्रह्मलोकको आधारबारे प्रश्न गर्छिन्।

यही बिन्दुमा संवाद तनावपूर्ण बन्छ। याज्ञवल्क्यले उनलाई थप प्रश्न नगर्न चेतावनी दिन्छन्। उपनिषद्मा उनको चेतावनीलाई गार्गीको टाउको फुट्न सक्ने अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।

यो प्रसङ्गले गार्गीको जिज्ञासा कति टाढासम्म पुगेको थियो भन्ने देखाउँछ। उनी कुनै एउटा प्राकृतिक तत्त्व वा लोकको व्याख्यामा सीमित थिइनन्। उनको खोज समग्र अस्तित्वको अन्तिम आधारसम्म पुग्न चाहन्थ्यो।

तर यस संवादलाई याज्ञवल्क्यको पराजय वा गार्गीको विजयका रूपमा हेर्नु पर्याप्त हुँदैन। यसको महत्त्व उनीहरूले उठाएका प्रश्न र ती प्रश्नले दार्शनिक चिन्तनलाई पुर्‍याएको गहिराइमा छ।

पहिलो संवादपछि गार्गी फेरि याज्ञवल्क्यसँग प्रश्न गर्न अघि सर्छिन्। यसपटक उनी आफ्नो प्रश्न गर्ने तयारीलाई धनुषमा बाण चढाएर निशाना लगाउन तयार योद्धासँग तुलना गर्छिन्।

याज्ञवल्क्यले पनि उनलाई प्रश्न गर्न अनुमति दिन्छन्।

गार्गीले आकाशभन्दा माथि, पृथ्वीभन्दा तल र यी दुईबीच रहेका सम्पूर्ण वस्तु केमा ओतप्रोत छन् भनेर सोध्छिन्। विगतमा भइसकेका र भविष्यमा हुन बाँकी रहेका सबै कुरा कुन आधारमा टिकेका छन् भन्ने उनको अर्को जिज्ञासा हुन्छ।

यी प्रश्न भौतिक संसारको संरचनामा मात्र सीमित थिएनन्। तिनको केन्द्रमा सम्पूर्ण अस्तित्वलाई एकसाथ धारण गर्ने तत्त्वको खोज थियो।

याज्ञवल्क्यले यसको उत्तरमा ‘अक्षर’ अर्थात् अविनाशी तत्त्वको व्याख्या गर्छन्। उनका अनुसार देखिने संसार र समयको प्रवाहमा रहेका सम्पूर्ण वस्तुको आधार त्यही नाश नहुने तत्त्व हो।

उपनिषद्को दार्शनिक चिन्तनमा अक्षरलाई बुझ्नु ब्रह्मज्ञानसँग सम्बन्धित विषय हो। याज्ञवल्क्यले यस तत्त्वको ज्ञानबिना धार्मिक कर्मकाण्डको गहिरो आध्यात्मिक अर्थ बुझ्न नसकिने आशय पनि प्रस्तुत गर्छन्।

यसपटक गार्गीले उत्तर स्वीकार गर्छिन्। उनले सभामा उपस्थित विद्वान्हरूलाई याज्ञवल्क्यको विद्वत्ता स्वीकार गर्न र उनीसँगको शास्त्रार्थमा विजयको आशा नराख्न आग्रह गर्छिन्।

गार्गीको व्यक्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष उनको प्रश्न गर्ने साहसमा मात्र सीमित छैन। आफूलाई चित्त बुझ्ने उत्तर प्राप्त भएपछि त्यसलाई स्वीकार गर्ने क्षमता पनि उत्तिकै उल्लेखनीय छ।

शास्त्रार्थमा सहभागी हुनुको उद्देश्य प्रतिद्वन्द्वीलाई जसरी पनि हराउनु होइन। विचारको परीक्षण गर्नु, तर्कको सीमा पहिचान गर्नु र प्रमाण वा व्याख्याका आधारमा निष्कर्षमा पुग्नु बौद्धिक बहसका आधार हुन्। गार्गीको दोस्रो संवादले यही गुणलाई उजागर गर्छ।

उनले याज्ञवल्क्यका उत्तरलाई चुनौती दिइन्, थप स्पष्टीकरण खोजिन् र अन्ततः आफ्नो निष्कर्ष सार्वजनिक गरिन्। यस प्रक्रियामा आत्मविश्वाससँगै बौद्धिक विनम्रता पनि देखिन्छ।

यही कारण गार्गीलाई प्रश्न उठाउने विदुषीका रूपमा मात्र सीमित गर्न मिल्दैन। उनी प्रश्न, तर्क, संवाद र स्वीकारोक्तिलाई ज्ञानको यात्राका अभिन्न पक्षका रूपमा प्रस्तुत गर्ने दार्शनिक व्यक्तित्व हुन्।

वडा दसैँका लागि दुर्गाको मूर्तिलाई अन्तिम रूप दिँदै कलाकार

ललितपुर । दसैँ नजिकिँदै गर्दा ललितपुरको गुसिँगलमा दुर्गा भवानीको मूर्ति निर्माण र सजावटले तीव्रता पाएको छ ।

कलाकारहरू मूर्तिमा रङ भर्न, गहना सजाउन र देवीको आकर्षक स्वरूप तयार पार्न व्यस्त छन् ।

दसैँमा शक्तिकी प्रतीक दुर्गा भवानीको पूजा आराधना गरी मूर्ति स्थापना गर्ने परम्पराअनुसार यहाँ मूर्ति तयार पार्ने काम अन्तिम चरणमा पुगेको हो । कलाकारहरू देवीको मूर्तिलाई अन्तिम रूप दिन दिनरात खटिएका छन् ।

मूर्ति निर्माण र सजावटको चटारोसँगै गुसिँगल क्षेत्रमा दसैँको रौनक पनि बढ्न थालेको छ । चाड नजिकिएसँगै देवीको आराधना र उत्सवको तयारीले स्थानीय वातावरण दसैँमय बन्दै गएको छ ।

सुदूरपश्चिममा बजेटको रडाको समाप्त, पुरानै आकारको बजेट आयो

काठमाडौं । बजेटकै कारण लामो समयदेखि अल्झिएको सुदूरपश्चिम प्रदेश सरकारले पुरानै आकारको बजेट फेरि प्रदेशसभामा पेस गरेको छ ।

चालू आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गरेका हुन् ।

गत असार १ गते ल्याइएको बजेटकै आकारलाई पुनः अघि सारिएको हो । बजेट पारित नहुँदा सरकारी कामकाजदेखि विकास आयोजना र सेवा प्रवाहसम्म प्रभावित हुँदै आएका थिए । अब बजेटको बाटो खुलेसँगै रोकिएका काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार र वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । सशर्त अनुदानमा ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानमा ३८ करोड ८० लाख, विशेष अनुदानमा ५२ करोड ७६ लाख र रोयल्टी बाँडफाँटमा ७ करोड रुपैयाँ समेटिएको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ । तर, यत्रो बजेटको पोको खोल्दा पनि चालु र पुँजीगत खर्चको छुट्टाछुट्टै विवरण भने सार्वजनिक गरिएन । यसअघि असारमा बजेट ल्याउँदासमेत खर्चको यस्तो विवरण दिइएको थिएन ।

स्थानीय उत्पादनको प्रचार र बजार विस्तारका लागि ‘मेड इन सुदूरपश्चिम’ कार्यक्रमलाई १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । उत्पादनको प्रशोधन, ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा रकम खर्च गर्ने सरकारको योजना छ ।

विपद्का बेला हवाई उद्धार गर्न प्रत्येक जिल्लालाई ५० लाखका दरले कुल ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सिँचाइ विस्तारका लागि भने २ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । बाढीले क्षति पुर्‍याएको कञ्चनपुरको दोधारा चाँदनीस्थित झोलुङ्गे पुलको मर्मत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ राखिएको छ ।

स्वास्थ्यतर्फ दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने योजना छ । समुदायमा आधारित स्वास्थ्य सेवा कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ ।

तर, सबैभन्दा चासोको विषय प्रदेश राजधानी गोदावरीको पूर्वाधार निर्माणमा छुट्याइएको रकम हो, जम्मा १ करोड रुपैयाँ ! राजधानी निर्माणका लागि आवश्यक जग्गाको भोगाधिकार नपाउँदा काम अघि बढ्न सकेको छैन । मन्त्री मल्लले जग्गाको भोगाधिकार उपलब्ध गराउन संघीय सरकारसँग पहल गर्ने बताएका छन् ।

हेडमास्टर कुट्ने दुईजना पक्राउ

काठमाडौं । बूढानीलकण्ठको बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालयभित्रै हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुटपिटमा संलग्न निशान दाहाललाई विद्यालयका निवर्तमान अध्यक्ष ध्रुव घिमिरेले निर्देशन दिएको आशंका गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुव घिमिरे छन् । दुवै जना हाल काठमाडौंको कपनमा बस्दै आएका थिए ।

गत बिहीबार बिहान साढे १० बजेतिर विद्यालय परिसरमै प्रधानाध्यापक पण्डितमाथि हातपात भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विद्यालयभित्र भएको दुर्व्यवहारबारे चर्चा चुलिएको छ । दाहालले एक महिला शिक्षकमाथि समेत अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र धम्की दिएको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पण्डितमाथि कुटपिट गर्न दाहाललाई घिमिरेले निर्देशन दिएको आशंका छ । स्रोतका अनुसार घिमिरे विद्यालयका निवर्तमान अध्यक्ष हुन् । केही दिनअघि उनी र प्रधानाध्यापक पण्डितबीच विवाद भएको थियो । त्यही विवादको बदला लिन घिमिरेले दाहाललाई परिचालन गरेको हुन सक्ने स्रोतको दाबी छ ।

यद्यपि, कुटपिटको निर्देशन र बदला लिने योजनासम्बन्धी विषय अनुसन्धानकै क्रममा छन् ।

प्रहरीले दुवै जनालाई जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी अभद्र व्यवहार गर्न नहुने कसुरमा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

 ‘कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ! तर म ढल्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् ।

बाहिरका विरोधीभन्दा आफ्नै नजिकका भनिएका व्यक्तिबाट धोका पाएको संकेत गर्दै उनले जति प्रहार भए पनि आफू नढल्ने उद्घोष गरेका छन् ।

पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सहकर्मीको व्यवहारप्रति असन्तुष्टि पोखे । ‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, अनि ग्याम्म छुरी हान्छ,’ उनले भने, ‘कता जोगिने, कता नजोगिने ?’

आफूलाई कमजोर ठानेर ढाल्ने सपना देख्नेहरूलाई चुनौती दिँदै ओलीले भीष्म पिताको प्रसंगसमेत जोडे । ‘भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ,’ उनको भनाइ थियो ।

ओलीले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा लागेको बताए । त्यसक्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न आरोप तथा मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै उनले आफू संघर्षबाट पछि नहटेको सन्देश दिए ।

‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन,’ ओलीले भने, ‘लडिन्छ यो देशका लागि । मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु ।’

ओलीका अभिव्यक्तिले एमालेभित्रको असन्तुष्टि र नेतृत्वमाथिको दबाबलाई संकेत गरेका छन् ।

आफ्नै सहयात्रीबाट धोका भएको उनको टिप्पणीले पार्टीभित्रको शक्ति संघर्षबारे थप चासो बढाएको छ । तर उनले ‘छुरी हान्ने’ भनेर कसलाई लक्षित गरेका हुन् भन्ने कुरा सम्बोधनमा स्पष्ट पारेका छैनन् ।

मस्क–अम्बानीको पानी बाराबार, के हो लफडा?

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी छन्, तर अमेरिकी अर्बपति एलन मस्कले भने मुकेश अम्बानीलाई नै ‘प्रधानमन्त्री’ बनाइदिएका छन् ! त्यो पनि व्यङ्ग्य गरेर । भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक भित्र्याउन अनुमति प्रक्रियामा ढिलाइ भएपछि मस्कले अम्बानीमाथि यस्तो कटाक्ष गरेका हुन् ।

मस्कले सामाजिक सञ्जाल एक्समा लेखे, ‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतको वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा बुझ्न नसकेकोमा मेरो विनम्र क्षमायाचना ।’ त्यसपछि उनले भारतीय जनतालाई एकाधिकारको चंगुलमा राखिरहन चाहेको आशय व्यक्त गर्दै स्टारलिंकलाई पनि प्रतिस्पर्धा गर्न दिन आग्रह गरे ।

लफडा के हो?

भारतको इन्टरनेट बजारमा अम्बानीको रिलायन्स जियो बलियो खेलाडी हो । मोबाइल डेटा र दूरसञ्चार क्षेत्रमा ठूलो उपस्थिति बनाएको जियोको बजारमा अब मस्कको स्टारलिंक प्रवेश गर्न खोज्दैछ । फरक यति हो—जियोले मुख्यतः मोबाइल नेटवर्कमार्फत सेवा दिन्छ भने स्टारलिंकले उपग्रहको सहायताले इन्टरनेट पुर्‍याउँछ । विशेषगरी दुर्गम क्षेत्रमा यस्तो सेवा उपयोगी हुन सक्छ ।

तर भारतमा स्टारलिंकले व्यावसायिक सेवा सुरु गर्न सरकारी अनुमति र सुरक्षा मूल्यांकनलगायतका प्रक्रिया पूरा गर्नुपर्छ । यही प्रक्रिया लम्बिएको भन्दै मस्कले असन्तुष्टि पोखेका हुन् । उनको कटाक्षको निशाना अम्बानीको आर्थिक प्रभाव र भारतको इन्टरनेट बजारमा स्थापित कम्पनीहरूको दबदबातर्फ देखिन्छ ।

मस्कको दाबी छ,स्टारलिंकलाई अनुमति दिए दुर्गम क्षेत्रका बालबालिकाले शिक्षामा पहुँच पाउनेछन्, साना व्यवसाय विश्व बजारसँग जोडिन सक्नेछन् र प्राकृतिक विपत्तिका बेला सञ्चार सुविधा उपयोगी हुनेछ । तर सेवा विस्तारको यो तर्कसँगै भारतको ठूलो बजारमा आफ्नो कम्पनीलाई प्रवेश गराउने व्यावसायिक स्वार्थ पनि जोडिएको छ ।

भारत सरकारले भने स्याटेलाइट इन्टरनेट सेवाको अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको बताउँदै आएको छ । सुरक्षा मूल्यांकन र आवश्यक सर्त पूरा नगरी कुनै पनि कम्पनीले सेवा सञ्चालन गर्न पाउँदैन । स्टारलिंकको अनुमति ढिलाइ हुनुमा अम्बानीकै हात छ भन्ने मस्कको कटाक्षबाट मात्रै प्रमाणित हुँदैन ।

तर मस्कले अम्बानीलाई ‘प्रधानमन्त्री’ किन भने त ? भारतको संविधानले होइन, व्यङ्ग्यले ! आर्थिक शक्तिको प्रभाव कति ठूलो छ भन्ने प्रश्न उठाउँदै उनले अम्बानीलाई देशकै वास्तविक मालिकजस्तो चित्रण गरेका हुन् ।

बुढीगण्डकी बाढीमा पाँच गोठाला अझै बेपत्ता

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीपछि चुमनुब्री गाउँपालिका–६, चुन्तेतका पाँच जना सम्पर्कविहीन भएका छन् । उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडीगोठमा बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा छन् ।

प्रहरीका अनुसार पहिरोले उइनगुलुङ खोलाको पानीको बहाव रोकेपछि बनेको अस्थायी बाँध फुटेको थियो । त्यसपछि एक्कासि उर्लिएको पानी बुढीगण्डकी नदीमा मिसिँदा बाढी आएको हो ।

बाढीपछि भेडीगोठमा रहेका पाँचै जनाको अवस्था अज्ञात छ । उनीहरूको खोजी तथा उद्धारबारे थप विवरण आउन बाँकी छ ।

सिरिङ्गे हिमालमा पहिरो, खोला थुनिएर बनेको बाँध फुट्दा बुढीगण्डकीमा बाढी

गोरखा । गोरखाको बुढीगण्डकीमा आइतबार बिहान आएको विनाशकारी बाढीको कारण पहिरोले खोला थुनेर बनाएको अस्थायी बाँध फुट्नु रहेको प्रारम्भिक विवरणले देखाएको छ।

सिरिङ्गे हिमालमा पहिरो खसेपछि बुढीगण्डकीमा मिसिने उइनगुलुङ खोला थुनिएको र त्यसपछि बाँध फुटेर लेदो तथा गेग्रानसहितको बाढी आएको सुरक्षाकर्मीले बताएका छन्।

आइतबार बिहान करिब साढे ५ बजे सिरिङ्गे हिमालतिर ठूलो आवाज आएको भन्दै स्थानीय होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलका अनुसार सूचना पाएलगत्तै चुनचेतबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

प्रहरी टोली प्रभावित क्षेत्रमा पुग्दा पहिरोले खोला थुनेर बनेको अस्थायी बाँध फुटिसकेको थियो। त्यसपछि आएको बाढीले पाँचवटा भेडीगोठ बगाएको इन्स्पेक्टर कँडेलले जानकारी दिएका छन्।

बाँध बनेको स्थान चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा पर्छ। उइनगुलुङ खोला बुढीगण्डकीमा मिसिने भएकाले त्यहाँ बनेको अस्थायी बाँध फुट्दा लेदो र गेग्रानसहितको ठूलो बहाव बुढीगण्डकीमा मिसिएको प्रहरीको भनाइ छ।

घटनापछि नेपाली सेनाका अधिकारीहरूले पनि हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। निरीक्षणपछि सेनाले पहिरोका कारण नदीको बहाव थुनिएर बाँध फुट्दा बाढी आएको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको छ।

पहिरोले खोला थुनेर अस्थायी बाँध बन्नु र त्यसपछि एक्कासि फुट्नुले हिमाली क्षेत्रमा पहिरो तथा नदीको बहावमा हुने परिवर्तनको जोखिम फेरि उजागर गरेको छ।

मेरो नेतृत्वदायी पहल नभएको भए कोशीमा भाषा विधेयक यही कार्यकालमा पारित हुँदैनथ्यो (फोन वार्ता)

कोशी प्रदेश संसद्ले प्रदेशको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक पारित गरेर प्रदेशका बहुसंख्यक वक्ता भएका मैथिली र लिम्बूसँगै एक प्रतिशत भन्दा बढी वक्ता भएका ११ वटा गरी १३ वटा मातृभाषाहरूको संरक्षणमा ऐतिहासिक कदम चालेको छ ।

नेकपा एमाले र नेकपाको संयुक्त सरकार छँदा संसदबाट यो विधेयक पारित भएको हो । विधेयक पारित भएपछि खासगरी नेकपा संसदीय दलका नेता रहेका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)लाई प्रदेशका मातृभाषीहरूले प्रशंसा गरिरेहका छन् । उनलाई बधाई तथा धन्यवाद दिइरहेका छन् ।

खासमा कोशीको प्रादेशिक कामकाजी भाषा मैथिली, लिम्बू र अन्य ११ वटा मातृभाषालाई बनाउन उनको भूमिका के रह्यो ? अनि, प्रदेशको कामकाजी भाषा कार्यान्वयन कसरी हुन्छ ?

यिनै सन्दर्भमा केन्द्रित रहेर नेपालवान एचडीका कार्यकारी सम्पादक जंग तामाङले नेता मौसमसँग टेलिफोनमार्फत् गरेको संवादको सम्पादित अंश :-

कोशी प्रदेश सभाबाट सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पारित भएको छ। यो विधेयक पारित भएसँगै कोशी प्रदेशमा के हुन्छ ?

करिब चार वर्षदेखि हामी कोशी प्रदेशको सरकारी कामकाजको भाषाको बारेमा निरन्तर छलफलमा थियौँ । खासगरेर भाषा आयोगले मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा सिफारिस गरिसकेपछि । तर, हाम्रो कोशी प्रदेशको बहुभाषिक विविधतालाई त्यति मात्रैले सम्बोधन गर्न सक्दैन भन्ने कुरा भयो ।

त्यही ढंगबाट सरोकारवालाहरूबाट पनि निरन्तर माग भइसकेपछि हामी यस बीचमा लामो समयसम्म छलफलमा थियौँ । र, सबै दलको सहमति र सरोकारवालाहरूको समेत सहमतिमा भाषा आयोगले सिफारिस गरेको हाम्रो प्रदेश (कोशी)को बहुसंख्यक वक्ता रहेको मैथिली र लिम्बू भाषाको साथै एक प्रतिशतभन्दा बढी वक्ता रहेको बाँकी ११ वटा भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा मान्यता दिनेगरी प्रदेश सभाले भाषा विधेयक पारित गरेको छ ।

सुरुमा मैथिली र लिम्बू भाषालाई मात्रै सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव थियो । तर, १३ वटा भाषाले मान्यता पाए। यो कसरी भयो ?

फेरि भन्छु । भाषा आयोगले आफ्नो विभिन्न सूचकहरूको आधारमा प्रदेशमा दुईवटा भाषा मैथिली र लिम्बूलाई सिफारिस गर्‍यो । तर, पनि हाम्रो संवैधानिक व्यवस्था र भाषा आयोगले प्रदेशमा एक प्रतिशतभन्दा बढी वक्ता हुने भाषाहरूलाई प्रदेशले आफ्नो कानुनअनुसार कामकाजको भाषाको रूपमा राख्ने व्यवस्था छ । त्यसैलाई लिएर हामीले संवैधानिक व्यवस्था, भाषा आयोगको सिफारिस र प्रदेशको बहुभाषिक विविधिता र समाजको मनोविज्ञानलाई ख्यालमा राखेर यहाँको भाषाहरूलाई लोप हुन दिन हुँदैन, मर्न दिनु हुँदैन, यसलाई अझ बढी कामकाजी बनाउँदै लानुपर्छ भन्ने आधारमा हाम्रो प्रदेश (कोशी)मा १ प्रतिशतले भन्दा बढी बोल्ने भाषालाई पनि मान्यता दियौँ ।

बहुसंख्यक वक्ता रहेको मैथिली र लिम्बू तथा एक प्रतिशत भन्दा बढी वक्ता रहेका भाषाहरूलाई प्रदेशको कामकाजको भाषाको रूपमा हामीले अगाडि बढाउने निर्णय प्रदेश सभा र सरारोकारवालाबाट गरेर प्रदेशसभामार्फत पारित गर्‍यौँ ।

राई जातिको सामाजिक संस्था किरात राई यायोख्खाको दबाबमा परेर बाँकी ११ वटा भाषालाई सरकारी कामकाजी भाषा बनाइयो भन्ने छ ? त्यो सत्य हो ?

अहिले मात्रै होइन, हामी त चार वर्षदेखि सामाजिक संघसंस्था, भाषिक संघसंस्था र जातीय संघसंस्थासँग निरन्तर संवादमै छौँ नि । हामीले प्रस्तुत गरेको प्रस्तावमै दुईवटा मूल भाषा र बाँकी ११ वटा भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने सन्दर्भमा सरकार, संसद् र राजनीतिक दलहरू सहमत भइसकेकै कुरा हो ।

उहाँहरूको केही भाषिक कुरा, केही व्याकरणीय कुरा र केही शब्दावली मिलाउनुपर्छ भन्नेमा जोड थियो । लिपिको सन्दर्भमा लिम्बूहरूले सिरिजंगा लिपि लेख्ने हो भने हामी किरात लिपि लेख्छौँ भन्ने उहाँहरूको भनाइ थियो । त्यही कुरालाई हामीले परिवर्तन गरेका छौँ । उहाँहरूको दबाब र आन्दोलनलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।

र, त्यो आन्दोलन र दबाबले भन्दा पनि पहिल्यै सरकार, प्रदेशस्थित सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरेर हामीले दुईवटा मूल भाषासहित बाँकी ११ वटा भाषालाई प्रदेशको कामकाजको भाषाको रूपमा स्वीकृत गर्ने प्रक्रिया अघि बढिसकेका थियौँ ।

तपाईंले यो विधेयक पारित हुनुलाई ऐतिहासिक क्षण भन्नुभयो, यसलाई ऐतिहासिक मान्नुपर्ने आधार के के हुन् ?

वास्तवमा भाषा हाम्रो समुदायको मूल जरा हो । पहिचानको मुख्य आधार हो । हिजो हामीले प्रदेशवासीले माग्दामाग्दै पनि पहिचानसहितको प्रदेशको नाम दिन सकेनौँ । हाम्रा केही त्रुटि रहे । संसदमा हाम्रो गणितीय समस्या पनि भयो । हामीले प्राप्त गरेको जनादेश पनि कमजोर भयो । तर, कम्तिमा अहिले हामीले भाषिक पहिचान दिन सक्यौँ ।

विविधतायुक्त बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समाजलाई सम्बोधन गर्नेगरी भाषासम्बन्धी ऐन बनाउन सफल भयौँ । यी मातृभाषाहरूले न्याय पाएका छन् । आगामी दिनमा सरकारी कामकाजकै भाषाको रूपमा यसलाई लैजान सकिने स्थिति सिर्जना हुनु भनेको असाध्यै ठूलो उपलब्धि हो ।

लामो समयदेखि हाम्रा पुर्खाहरूले र अग्रजहरूले भाषाका निम्ति संघर्ष गरेका थिए । थुप्रै बौद्धिक र राजनीतिक कसरत गरेका थिए । ती सबैको उपज आज हाम्रो प्रदेशको उत्पीडित समुदायहरूको भाषालाई सरकारी कामकाजी भाषा बनाउन सक्नु ऐतिहासिक र गौरवपूर्ण क्षण हो । सिंगो प्रदेशवासीका लागि गर्वको क्षण हो । त्यसलाई नै मैले ऐतिहासिक क्षण र उपलब्धिको रूपमा लिएको छु ।

अब सरकारी कामकाजको भाषाको मान्यता पाएका भाषाका वक्ताले प्रदेश सरकारका कार्यालयबाट आफ्नो भाषामा कसरी सेवा लिन सक्छन् ? के उनीहरूले निवेदन दिने, पत्राचार गर्ने र सरकारी कागजात प्राप्त गर्ने सुविधा पनि पाउँछन् ?

यी सबै सुविधा पाउने विषय हामीले ऐनमै गरेका छौँ । सबै भाषाको लिपि पनि ठोस छ । अझ नियमावलीमा थप स्पष्ट पार्दै १९ जना भाषा विज्ञ नियुक्त गर्ने प्रावधान ऐनमै राखेका छौँ । सबै भाषाका भाषाविद्हरूलाई अवसर हुन्छ । सबै सरकारी कार्यालय र आवश्यक परेमा व्यक्ति-व्यक्तिको प्रयोजनको निम्ति पनि प्रादेशिक सरकारी कामकाजी भाषाको लिपिमा लेख्न, प्रश्न गर्न र जवाफ लिन पाउनेगरिको व्यवस्था ऐनमा राखेका छौँ ।

कात्तिक २५ गते महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा प्रदेशको सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनमा आउँछ । त्यसपछि सम्पूर्ण सरकारी कार्यालय, निकायहरू र अन्य गैरसरकारी निकायहरूमा समेत कामकाजी भाषा बनाउने प्रबन्धको सुरुवात गर्छौँ । त्यो कुरा ऐनमै व्यवस्था गरेका छौँ ।

भाषा विधेयक पारित भइसकेपछि कतिपयबाट तपाईंको प्रसंशा भइरहेको छ, खासमा यो विधेयक पारित गराउन नेकपा संसदीय दलको नेताको हैसियतमा तपाईंको व्यक्तिगत तथा राजनीतिक भूमिका के रह्यो ? विधेयकको पक्षमा सहमति जुटाउन र सबै भाषालाई समेट्न तपाईंले कस्तो पहल गर्नुभयो ?

२०७९ सालमा भाषा आयोगले प्रादेशिक भाषा सिफारिस गरिसकेपछि हामी निरन्तर छलफलमा थियौँ । तर, यति लामो समयसम्म भाषा विधेयक पारित हुन सकेको थिएन । उत्पीडित समुदायको भाषाले सरकारी कामकाजी भाषाको रूपमा मान्यता पाउने स्थिति बनेको थिएन । अहिले खास गरेर नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बन्ने बेलामै मैले एउटा शर्त के सारेको थिएँ भने भाषा विधेयक संसदबाट पारित गर्नुपर्छ । यो बटमलाइन हुन्छ भनेपछि एमाले सहमत भएको थियो ।

त्यसपछि सत्ता गठबन्धन गरेका दुई दल एमाले र नेकपाबीच सहमति जुटायौँ । भाषा विधेयकलाई पारित गराउन मलाई जिम्मेवारी दिइयो । त्यसपछि मैले सम्पूर्ण भाषिक समुदायसँग, सरोकारवालासँग र प्रदेश सभामा सहभागी दलसँग र भाषाको अपनत्व लिने प्रदेशसभा सदस्यहरूसँग पटकपटक छलफल र संवाद गरेर हामीले भाषा विधेयक पारित गर्ने प्रक्रियासम्म पुग्यौँ । हिजो अन्तिम समय पनि किरात राई यायोख्याको टिम मसँगै संवाद गर्न आउनुभयो र उहाँहरूलाई पनि चित्त बुझ्नेगरी भाषा, व्याकरण र कतिपय शब्दावली मिलाउने सन्दर्भमा मैले नै नेतृत्व लिएँ ।

सबैलाई न्याय हुनेगरी भाषा विधेयक टुंगोमा पुर्‍याएँ । दुईवटा मूल भाषाले पनि न्याय पाउनेगरी र प्रदेशमा एक प्रतिशतभन्दा बढी वक्ता रहेका भाषाहरूले न्याय पाउनेगरी र कम वक्ता संख्या भएको भाषालाई पनि स्थानीय तहले संरक्षण गर्नेगरी कानुनी व्यवस्था गर्‍यौँ । र, म दावाका साथ भन्छु कि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी गरी दुई वामपन्थी पार्टीको सत्ता सहकार्य नभएको भए र मैले पहल नगरेको भए भाषा विधेयक संसदको यो कार्यकालमा पारित हुँदैनथ्यो । र, मलाई जुन जिम्मेवारी दिनुभयो । त्यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर भाषा विधेयक पारित गर्‍यौँ ।

विधेयकलाई पारित गराउन मुख्यमन्त्री, प्रदेश सरकार र पार्टीहरूले मलाई महत्वपूर्ण भूमिका दिनु भएको थियो । त्यो जिम्मेवारीका निम्ति आभारी छु । त्यो जिम्मेवारी सबैको सहमतिमा न्यायपूर्ण ढंगबाट निष्कर्षमा पुर्‍याउन सफल भयौँ । यसलाई मैले ऐतिहासिक क्षणको रुपमा लिएको छु ।

१३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न दक्ष जनशक्ति, अनुवादक, बजेट र आवश्यक संरचना कसरी व्यवस्थापन गरिन्छ ?

अहिले हाम्रो सत्तारूढ वाम गठबन्धनको प्रष्ट धारणा छ कि भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा आवश्यक बजेट कमी हुन दिनु हुँदैन र बजेट अभाव हुँदैन पनि । हामीले १९ जना भाषा विज्ञ राख्ने भएका छौँ र जहाँ एक तिहाई महिला भाषाविद् हुनेछन् । त्यसपछि विज्ञहरूले सरकारी कामकाजी भाषाको कार्यान्वयन प्रक्रियाबारे थप खुलाउनु हुन्छ ।

हामीले त राजनीतिक दृष्टिकोण पस्किने हो । नीति तुर्जमा गर्ने हो । यसलाई गन्तव्यमा पुर्‍याउने काम चाहिँ विज्ञहरूले गर्ने हुन् । विज्ञहरूको नियुक्तिको ठाउँ राखेका छौँ । भाषा अनुवादकहरूलाई पनि सूचीकृत गर्छौँ । उहाँहरूलाई पनि रोजगारी हुने र भाषा क्षेत्रमा काम गर्नेगरी काम दिन्छौँ । यसलाई व्यवस्थित ढंगले नियमावलीमा राखेर भाषालाई कतिपय सन्दर्भमा बाहुलियता वा सबै प्रदेशमा वक्ताको संख्याको आधारमा व्यवस्थित ढंगले कार्यान्वयनको सुरुवात गर्छौँ ।

उसो भए कोशी प्रदेशमा लिम्बू, राई, तामाङ लगायत मातृभाषीले आफ्नै भाषामा सरकारी कार्यालयबाट सेवा लिन पाउने अवसर आयो हैन ?

उम् प्रक्रियामा आयो । तर, एकैपटक सबै व्यवस्थित हुँदैन । कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीको अवसरबाट यो प्रक्रियाको सुरुवात गर्छौँ । अनि, क्रमशः व्यवस्थित रूप लिँदा १३ वटा भाषाले नै सरकारी कामकाजको भाषामा प्रयोग हुने अवसर पाउँछन् ।

१७ फागुन २०७९ तत्कालीन १ नम्बर प्रदेशको नाम कोशी राखियो । त्यसपछि पुनःनामङ्कनको लागि पहिचान पक्षधरहरु आन्दोलनमा छन् । तपाईंले भाषा विधेयक पारित भइसकेपछि प्रदेश पुनःनामङ्कनको आधार पनि बन्यो भनेर जसरी तपाईंले आफ्नो विचार राख्नुभयो, यो भाषा विधेयक र नामकरणबीच के सम्बन्ध छ ?

हिजो दुईवटा महत्वपूर्ण कानुन बनायौँ । एउटा भाषा विधेयक । यसले सबै उत्पीडित समुदायको खुम्चिएको र सकिन लागेका भाषाले प्रादेशिक भाषाको मान्यता पायो ।
दोस्रो कुरा, २०७९ सालमा पास गर्नुपर्ने प्रदेशसभाको नियमावली पास गर्न सकेका थिएनौँ । खास गरेर तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आजको नेकपाले हामीले राम्रो गर्‍यौँ या नराम्रो गर्‍यौँ, जे भए पनि प्रदेशको नाम कोशी प्रदेश भइसक्यो, बाहिर आन्दोलन छ सडकमा, असन्तुष्टि छ र प्रदेशसभाको निश्चित प्रतिशतले चाह्यो भने प्रदेश सभामा पुनःनामङ्कनको निम्ति बाटो खुला राख्नुपर्छ भनेर संशोधन पेश गरेका थियौँ । त्यो पास हुन सकेको थिएन ।

यो नेकपा र एमालेको संयुक्त सरकार बन्ने क्रममा त्यो पनि एउटा शर्त राखेको थिएँ कि पुनःनामङ्कनको बाटो खुला राख्नुपर्छ । त्यसमा सहमति भएको थियो र हिजो प्रदेश सभाले एक तिहाइ प्रदेश सभा सदस्यले चाहेमा वा संशोधन चाहेमा प्रदेशको नाम हेरफेर वा पुनःनामङ्कनको बारेमा छलफल गर्ने र दुई तिहाईले निर्णय गर्ने बाटो खुला गर्नेगरी नियमावली पास गरिएको छ । त्यसो हुँदा अब प्रदेशको पुननामङ्कनको बाटो हिजोको नियमावली पाससँगै खुला भएको छ ।

महामन्त्रीमा प्रदीप पौडेल पक्का!

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणामले चुनावी प्रतिस्पर्धा थप रोचक बनाएको छ । उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

महिला महामन्त्रीमा भने डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’बीचको प्रतिस्पर्धा झिनो मतको अन्तरमा पुगेको छ ।

२ हजार २ सय ३१ मतको गणना सकिँदा उपसभापतिको खुलातर्फ भण्डारीले १ हजार ५७ मत पाएका छन् । मधु आचार्य ७ सय १२ मतसहित दोस्रो र सुरेन्द्रराज पाण्डे ६ सय ८० मतसहित तेस्रो स्थानमा छन् । आचार्य र पाण्डेको मतान्तर ३२ मात्रै छ । गोविन्द भट्टराईले ६ सय ९ मत ल्याएका छन् । अन्य उम्मेदवारमा धनराज गुरुङले ४ सय ६, दीपक गिरीले ३ सय १ र चन्द्रमोहन यादवले १ सय ९३ मत प्राप्त गरेका छन् ।

उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरीले ६ सय १५ मतसहित अग्रता लिएका छन् । जीवन परियार ५ सय ७८ मतका साथ उनलाई पछ्याइरहेका छन् । दुईबीच ३७ मतको दूरी छ । सीता गुरुङले ३ सय ३४, फरमुल्लाह मन्सुरले २ सय ८५ र रञ्जित कर्णले १ सय ८३ मत पाएका छन् ।

महामन्त्रीको खुलातर्फ पौडेलले १ हजार ३ सय ८१ मतसहित बलियो पकड बनाएका छन् । उदयशमशेर राणाले ७ सय ८६ र अमरसिंह पुनले ६ सय ९५ मत प्राप्त गरेका छन् । राणा र पुनबीच ९१ मतको अन्तर छ । पौडेललाई भने राणाले पछ्याउन ५ सय ९५ मतको दूरी घटाउनुपर्ने देखिएको छ ।

महामन्त्रीका अन्य प्रत्याशीमध्ये सुनिलकुमार शर्माले ५ सय २६, गुरुराज घिमिरेले ३ सय २८, नैनसिंह महरले २ सय ७०, शंकर तिवारीले ४६ र सन्तोष उपाध्यायले २८ मत ल्याएका छन् ।

महिला महामन्त्रीको नतिजा भने अन्तिम समयसम्म रोमाञ्चक बन्ने संकेत देखिएको छ । संग्रौलाले ९ सय ६५ मत प्राप्त गर्दा डिनाको पक्षमा ९ सय ५२ मत परेको छ । जम्मा १३ मतको अन्तरले दुई उम्मेदवारबीचको प्रतिस्पर्धा निकै कडा बनेको छ । रिता खनालले २ सय ५१ मत पाएकी छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । बाँकी मतले विशेषगरी महिला महामन्त्री र उपसभापतिको प्रतिस्पर्धामा थप उतारचढाव ल्याउन सक्नेछ ।

घटस्थापनासँगै बडादशैं सुरु, हनुमानढोकामा राखियो जमरा

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरेर माटोमा जौ, मकै, गहुँलगायत अन्न छर्ने र जमरा उमार्ने परम्परा छ। यससँगै घरघरमा नवदुर्गाको पूजा–आराधना सुरु हुन्छ। दशैंका नौ दिन देवी दुर्गाको उपासना गरिने भएकाले घटस्थापनालाई पर्वको महत्त्वपूर्ण सुरुवाती दिनका रूपमा लिइन्छ।

हनुमानढोकाको दशैंघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ। दशैंको मुख्य दिन मानिने विजयादशमीमा परिवारका सदस्य तथा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ।

घटस्थापनादेखि सुरु हुने धार्मिक अनुष्ठानसँगै नेपाली घरपरिवारमा दशैंको उल्लास छाउने गर्दछ। नवदुर्गाको आराधना, पारिवारिक भेटघाट र मान्यजनको हातबाट टीका–जमरा ग्रहण गर्ने परम्पराले बडादशैंलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाएको छ।


 

बूढीगण्डकी बाढीमा शिशु र विदेशी नागरिकसहित ३६ जनाको उद्धार

गोरखा। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धारमा नेपाली सेना परिचालित भएको छ।

बाढी र पहिरोको जोखिमबीच दुर्गम क्षेत्रमा फसेका ३६ जनालाई हेलिकप्टर र स्थलमार्गबाट सुरक्षित स्थानमा सारिएको छ।

आइतबार बिहान आएको बाढीबाट प्रभावित चुमनुब्री गाउँपालिकामा उद्धारका लागि एमआई–१७ हेलिकप्टर प्रयोग गरिएको थियो। हेलिकप्टरमार्फत चार जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दुर्गम बस्तीमा पैदलमार्गबाट पुगेको सैनिक टोलीले पनि उद्धार अभियान चलाएको छ। जगतबाट छ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुबाट १२ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ।

उद्धार गरिएकामध्ये यारुबाट एक जना शिशु र एक जना विदेशी नागरिकसमेत रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा जोखिम कायमै रहेकाले नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग समन्वय गरेर खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

कांग्रेसको मतगणनामै रडाको ! प्रदीप-उदय पक्ष भिडेपछि गणना रोकियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना विवादमा फसेको छ। महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र उदयशमशेर राणा पक्षका प्रतिनिधिबीच भनाभन र नाराबाजी भएपछि मतगणना रोकिएको हो।

मतगणनास्थलमा दुवै पक्षका प्रतिनिधिबीच विवाद चर्किएको र त्यस क्रममा निर्वाचन अधिकृतमाथि दुर्व्यवहार, धम्की तथा घम्साघम्सी भएको दाबी गरिएको छ। विवादका कारण गणना प्रक्रिया अवरुद्ध बनेको छ। अब मतगणना कहिले सुचारु हुन्छ भन्ने टुंगो लागेको छैन।

गणना रोकिँदासम्म महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ५९५ मतसहित अगाडि छन्। अमरसिंह पुन मगरले ३९९ मत पाउँदा उदयशमशेर राणाले ३२३ मत प्राप्त गरेका छन्। डा. सुनिलकुमार शर्माको २५९, गुरुराज घिमिरेको १४९, नैनसिंह महरको १११, शंकर तिवारीको १७ र डा. सन्तोष उपाध्यायको १६ मत रहेको छ।

उपसभापतिको खुला प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारी ५४३ मतसहित पहिलो स्थानमा छन्। एक हजार २५ मत गणना हुँदा ई. मधु आचार्यले २९५ र गोविन्द भट्टराईले २४५ मत पाएका छन्। सुरेन्द्रराज पाण्डेको २४४, दीपक गिरीको २१२, धनराज गुरुङको १७६ र प्रा. डा. चन्द्रमोहन यादवको ११८ मत छ।

समावेशी उपसभापतिमा बिनोदकुमार चौधरी ३०१ मतसहित अगाडि छन्। जीवन परियारले २४६, फरमुल्लाह मन्सुरले १४३, सीता गुरुङले १३१ र रन्जित कर्णले ८७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले ४८१ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४३६ र रीता खनालले १२६ मत पाएकी छन्।

मतगणना रोकिएपछि उम्मेदवारहरूको मतपरिणाम पर्खिरहेका प्रतिनिधि र कार्यकर्तामाझ अन्योल बढेको छ।

अहिले शान्त देखिन्छ बूढीगण्डकी, तर क्षति भयावह!

काठमाडौं। न गडगडाहट, न ठूलो आवाज ! बूढीगण्डकीको बाढीमा बालुवा र माटोको लेदो मात्रै देखिन्छ।

हेर्दा नदी शान्तजस्तै छ, तर बाढीले तटीय बस्तीमा भने ठूलो क्षति पुर्‍याइरहेको छ।

बाहिर शान्त देखिएको बूढीगण्डकीको भित्री वेग कति विनाशकारी छ भन्ने कुरा बगाएका पुल र जोखिममा परेका बस्तीले देखाइरहेका छन्।


 

बूढीगण्डकी बाढीपीडितलाई सहयोग गर्न शशांक कोइरालाको आग्रह

काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुःख व्यक्त गरेका छन्।

१५औँ महाधिवेशन आयोजक तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनीहरूको सुरक्षा र सहजताको कामना गरेका हुन्।

उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमबाट जोगिन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

कोइरालाले विपद्का बेला उद्धार, राहत र मानवीय सहयोगमा सक्रिय हुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि आह्वान गरेका छन्। प्रभावित नागरिकको पीडामा साथ दिनु र आवश्यक सहयोग पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विपद्को घडीमा एकजुट भएर नागरिकको जीवन रक्षा र सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा क्षति पुर्‍याएपछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

उनले प्रभावित नागरिकको उद्धार र राहतमा तत्काल जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देउवाले बाढीका कारण स्थानीय बासिन्दाको जनजीवन र भौतिक संरचनामा परेको असरप्रति सहानुभूति व्यक्त गरेका हुन्।

नदीमा जलस्तर बढिरहेको अवस्थालाई ध्यानमा राख्दै उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

‘विपद्को यो कठिन समयमा बाढी प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि पार्टीका साथीहरूले तत्कालै सक्रिय भएर सहयोग गर्नुपर्छ,’ देउवाले फेसबुकमा लेखेका छन्।

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने जोखिम रहेकाले स्थानीय प्रशासनले पनि नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदी तटको नजिक नजान सचेत गराएको छ।

बूढीगण्डकीको बाढीले मच्चाएको वितण्डाप्रति प्रचण्ड दुःखी, उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले घर र पुल बगाउँदै विभिन्न बस्तीमा क्षति पुर्‍याएपछि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले चुमनुब्री, धार्चे र आरुघाटलगायत क्षेत्रमा बाढीले पुर्‍याएको क्षति र घरपुल बगाएको खबरले आफू मर्माहत भएको बताएका छन्।

उनले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग गर्न र उद्धार तथा राहतका काममा एकजुट हुन सबैसँग अपिल गरेका छन्। बाढीको जोखिम अझै रहन सक्ने भएकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत उनले अनुरोध गरेका छन्।

‘यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ,’ प्रचण्डले भनेका छन्।

रियाद विमानस्थलमा हुथीको धावा ! १२ जनाको मृत्यु, ३०९ घाइते भएको दाबी

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणले खाडी क्षेत्रको सुरक्षा व्यवस्था धर्मर बनाएको छ।

शनिबार भएको भनिएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ। यसै साता विमानस्थललाई निशाना बनाइएको यो तेस्रो घटना भएको बताइएको छ।

सार्वजनिक विवरणअनुसार मृतकमा चार साउदी नागरिक, दुई बङ्गलादेशी र अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान तथा इजिप्टका एक–एक जना नागरिक छन्। घाइतेहरूलाई एम्बुलेन्स र हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको जनाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिएको र उडानहरू रद्द वा अन्यत्र मोडिएको विवरण छ। रियादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थल र आसपासका क्षेत्रमा नजान आग्रह गरेको जनाइएको छ।

यसअघि यसै साता भएका दुई आक्रमणमा चार जनाको मृत्यु भएको र विमानस्थलमा पार्क गरिएको साउदीको व्यावसायिक विमानमा क्षति पुगेको दाबी गरिएको थियो। लगातारका घटनाले साउदी अरबको हवाई सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

हुथी पक्षका एक सञ्चार अधिकारीले सामाजिक सञ्जालमार्फत रियाद विमानस्थल बन्द गराएको दाबी गरेका छन्। यता साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणको जवाफ दिने चेतावनी दिएको बताइएको छ। साउदी र यमनको सरकारसमर्थक पक्षले हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरेको दाबी गरेका छन् भने हुथी पक्षले ती आक्रमणमा सर्वसाधारण, महिला र बालबालिकासमेत मारिएको आरोप लगाएको छ।

सन् २०१५ देखि यमनको द्वन्द्वमा संलग्न साउदी अरब र हुथी विद्रोहीबीचको तनाव फेरि चर्किँदै गएको छ। लामो समयदेखि जारी युद्धले यमनमा गम्भीर मानवीय संकट निम्त्याएको छ। पछिल्लो घटनाक्रमले क्षेत्रीय सुरक्षासँगै अन्तर्राष्ट्रिय हवाई यातायात र व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ।

रियादमा ऊर्जा तथा लगानीसम्बन्धी महत्त्वपूर्ण सम्मेलनहरू आयोजना हुने तयारी भइरहेका बेला विमानस्थललाई लक्षित गरी आक्रमण भएको विवरण सार्वजनिक भएको हो।

तर घटनाको पूर्ण विवरण, हताहतीको अवस्था र आक्रमणको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि आवश्यक छ।

दशैंमा ग्यास साट्ने ६ ठाउँ, कहाँ-कहाँ?

काठमाडौं। दशैंमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका ६ स्थानबाट एलपी ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले घटस्थापनादेखि फूलपातीसम्मका लागि यो सुविधा सञ्चालनमा ल्याएको हो।

संघका अनुसार उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन, तर भरिएको ग्यासको तोकिएको मूल्य भने बुझाउनुपर्नेछ।

ग्यास साट्ने सुविधा कलंकी, बालाजु, पेप्सिकोला, सुकेधारा, सिफल र हरिसिद्धि गरी ६ स्थानमा उपलब्ध हुनेछ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण गरिनेछ। बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम र सुकेधारास्थित बाबा ग्यासको डिपोबाट पनि सेवा लिन सकिनेछ।

त्यस्तै, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ।

यी केन्द्रबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्म ग्यास वितरण तथा सिलिन्डर साट्ने काम हुनेछ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा व्यवस्था कार्यान्वयन गरिएको हो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा ५८ वटा उद्योगका फरक-फरक ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीमा साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले त्यसबाट राहत दिन यस्तो व्यवस्था गरिएको हो।

विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दशैंका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्नु यसको उद्देश्य हो। सुविधाको दुरुपयोग रोक्न एक जना उपभोक्तालाई एउटा मात्र सिलिन्डर साट्न दिइनेछ। सेवा लिने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।

तर, जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताको गुनासो छ।

त्यसैले घोषित व्यवस्था सबै वितरण केन्द्रमा प्रभावकारी रूपमा लागू भएमा मात्रै उपभोक्ताले यसको वास्तविक लाभ लिन सक्नेछन्।

कहिले पुग्छ रसुवागढीमा गाडी?

काठमाडौं । बाढी र पहिरोले क्षतिग्रस्त बनाएको रसुवागढी नाका जोड्ने सडक दसैँको फूलपातीअघि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ।

नेपाली सेना र सडक विभागको टोली पुल निर्माण तथा सडकको ट्र्याक खुलाउने काममा जुटे पनि क्षतिको व्यापकता र कठिन भूगोलका कारण निर्धारित समयमै यातायात सञ्चालन हुने विषय अझै चुनौतीपूर्ण छ।

भदौ १० गते भोटेकोसीलगायतका नदीमा आएको बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएपछि चीनसँगको व्यापारिक नाका रसुवागढी पुग्ने यातायात प्रभावित भएको छ। स्थानीय बासिन्दा र व्यवसायीलाई सहज बनाउन अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकतामा राखिएको छ।

नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। पुल निर्माण तथा पुनःस्थापनाका लागि गठित कार्यदलका संयोजक एवं नेपाली सेनाका पूर्वउपरथी धर्मेन्द्र झाका अनुसार बेत्रावतीमा पुल सञ्चालनमा आएपछि स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क सहज हुनेछ। त्यसपछि स्याफ्रुबेँसीमा अर्को पुल राखेर सीमासम्मको बाटो खुलाउने योजना छ।

मौसम अनुकूल रहे दसैँअघि नै रसुवागढीसम्म यातायात सञ्चालन गर्न सकिने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ। यसअघि नुवाकोटको देवीघाटस्थित तादी खोलामा ६० मिटर लामो बेलीब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ। स्याफ्रुबेँसीमा ७० मिटर लामो पुल राख्ने र आवश्यक ठाउँमा पहाड काटेर सडकको बाटो खोल्ने तयारी पनि भइरहेको छ।

यद्यपि स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १५ किलोमिटर सडक खण्डमा क्षति धेरै भएकाले काम सहज छैन। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार उक्त क्षेत्रमा प्रत्यक्ष पुगेर क्षतिको अवस्था निरीक्षण गर्न नसकिएकाले हेलिकोप्टरबाट अनुगमन गरिएको छ। त्यसैले सडक खुल्ने समय मौसम र निर्माण कार्यको प्रगतिमा निर्भर रहने देखिन्छ।

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने प्रयाससँगै दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको छ। सडक विभागको प्रारम्भिक आकलनअनुसार क्षतिग्रस्त संरचनालाई बाढीअघिको अवस्थामा फर्काउन करिब ४० अर्ब रुपैयाँ लाग्नेछ। नयाँ संरचना र वैकल्पिक सडकसमेत निर्माण गर्न अर्थ मन्त्रालयसँग करिब ५३ अर्ब रुपैयाँको बजेट माग गरिएको छ। विश्व बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि पुनर्निर्माणमा सहयोग गर्ने विषयमा चासो देखाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले पुनर्निर्माणको आवश्यकता अझ ठूलो रहेको देखाएको छ। प्रतिवेदनअनुसार क्षतिग्रस्त सडक, पूर्ण रूपमा नष्ट भएका ३३ वटा मोटरेबल पुल, आंशिक क्षति पुगेका चार पुल र ५३ वटा झोलुङ्गे पुलको स्थायी पुनर्निर्माणका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।

यस विपद्ले सडक र पुल निर्माणको मापदण्डसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ। सडक विभागले यसअघि पुलको डिजाइन गर्दा सय वर्षमा आउन सक्ने बाढीलाई आधार मान्दै आएकोमा अब जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई थप गम्भीरतापूर्वक समेट्नुपर्ने भएको छ। पुलको उचाइ बढाउने र लेदो, माटो तथा ढुंगामुढासहित आउने बाढीले पार्ने अतिरिक्त दबाबलाई समेत डिजाइनमा समावेश गर्ने तयारी छ।

विपद्का बेला एउटै सडकमा निर्भर हुँदा जिल्ला नै सम्पर्कविहीन हुन सक्ने समस्या देखिएपछि सरकारले वैकल्पिक मार्ग निर्माणमा पनि जोड दिने भएको छ। सबै ७७ जिल्ला सदरमुकामलाई कम्तीमा दुईदेखि तीनवटा सडकमार्गबाट जोड्ने योजना अघि सारिएको छ। विपद्का बेला तत्काल काम गर्न सक्ने गरी सडक विभागअन्तर्गत छुट्टै विपद् व्यवस्थापन एकाइ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ।

अहिलेको प्राथमिकता भने दसैँअघि रसुवागढीसम्म यातायात पुर्‍याउनु हो। बेलीब्रिज निर्माण र सडक खुलाउने कामले सम्भावना देखाए पनि मौसम तथा भौगोलिक कठिनाइले अन्तिम नतिजा निर्धारण गर्नेछ।

तत्काल सडक सञ्चालनमा ल्याउनुका साथै भविष्यमा विपद्का कारण देशका महत्त्वपूर्ण व्यापारिक नाका र बस्तीको सम्पर्क नटुट्ने गरी भरपर्दो पूर्वाधार निर्माण गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ।

बुढीगण्डकीको बाढीले ४० घर बगाएको प्रारम्भिक अनुमान, ४/५ गोठाला सम्पर्कविहीन

काठमाडौं। बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकामा ३५ देखि ४० वटासम्म घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले गाउँपालिकाका जगत बगर, सल्लेरी र घट्टेखोलाका घर बगाएको गाउँपालिकाका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन्।

गाउँपालिकाको केन्द्र सिर्दिबासमा रहेका सापकोटाका अनुसार बाढीको अवस्था अहिले सामान्य हुँदै गएको छ। उद्धार कार्य जारी रहेको र हेलिकप्टरमार्फत पनि उद्धार भइरहेको उनले बताए।

‘बाढीको अवस्थाचाहिँ सामान्य हुँदै गएको छ। अहिले उद्धारमा खटिएका छौं। हेलिकप्टर आएर उद्धार गरिरहेको छ,’ उनले भने।

यसैबीच, सिर्दिबासबाट चुम्लिङ अर्थात् चुम उपत्यकातर्फ जाने बाटोमा रहेका चारदेखि पाँच जना गोठाला सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको अवस्था र बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

बाढीको जोखिमपछि आरुघाट बजार खाली [तस्वीरहरू]

काठमाडाैं । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि जोखिम बढेको भन्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ।

नदीमा आएको ठूलो बाढीले तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकापछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

 

बाढी खतरा तहभन्दा माथि, चितवन र नवलपरासीमा सतर्कता अपनाउन आग्रह

काठमाडौं।बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासी आसपासका स्थानीयलाई समेत सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार नदीको जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले जोखिम कायमै छ। त्रिशूली नदीको बेनिघाटसम्म बाढीको अति उच्च जोखिम रहेकाले स्थानीयलाई सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ।

त्यस्तै, मुग्लिनसम्म उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा पनि बाढीको मध्यम जोखिम रहेकाले सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काटिएका छैनन् औँलाहरू

औँलाहरू काटिएका छैनन्

औँलाहरू, बगाइएका पनि छैनन्

कोशीको उर्लिँदाे पानीमा ।

सुरक्षित छन् दशै औँलाहरू।

सिञ्चित हुँदै थिए औँलाहरूमा

पुर्खाहरूको रगत लेखिनलाई

एउटा अमर इतिहास।

विरोध, घृणा र बेइज्जतिकाे छाती चिरेर

औँलाहरूमा उम्रिएका छन्

लिम्बुवानी सहिदहरूको सपना ।

सिरिजंगाले देखेको अन्तिम सपना

इमानसिंको मिहेनत ।

औँलाहरू काटिनु हुँदैन,

वीर नेम्बाङले जेलको भित्तामा

चिथोर्दै लेखेका अक्षरहरूलाई आकार दिनु छ-

लाजेहाङका कविताहरू

मातृभाषामा उल्था गर्नु छ

सुनाउनु छ-सरकारलाई

जिब्रो काटिँदाको पीडा।

लेख्नु छ-

मातृभाषा बोल्न पाउनुपर्छ भन्दा

दागिएका तातो गोलीहरूको

रक्तरञ्जित कथा ।

अब, अड्डा अदालतमा

मेरो आमा चिच्याउनेछिन् लिम्बु भाषाबाट ।

थर्किनेछन् भित्ताहरू ।

हल्लिनेछ राष्ट्रकाे झण्डा ।

नेपाली भाषा बोल्न नजान्ने मेरो काकाको,

नागरिकतामा थर अशुद्ध लेखिएपछि,

लाहुर, हापेका मेरो काका-

अब वडा कार्यालयको फाँटमा

लिम्बु भाषामा धारावाहिक गर्जिनेछन् ।

हल्लिनेछन् भित्तामा झुन्डिएका तस्बिरहरू,

काँप्नेछ हाकिमको कुर्सी,

सात दिन, सात रात

सृष्टिको आदिम मुन्धुम फलाक्न सक्ने

येबा, साम्बा र फेदाङ्माहरूले

अब दाबी गर्नेछन्- महाकविको उपाधि,

आदिकविको सम्मान र युगकविको पहिचान।

हो,

काटिएका छैनन् औँलाहरू,

बगाइएका पनि छैनन् कोशीको उर्लिँदाे पानीमा-

अब ती औँलाहरू-

अड्डा-अदालतमा मातृभाषा बनेर बोल्नेछन्।

अब ती औँलाहरू-

दबाइएका औँलाहरू डोर्‍याएर संगै जानेछन्

सत्ताका बन्द ढोकाहरूमा ।

र, लेख्नेछन्- आफ्नै मातृभाषामा

`लिम्बु भाषा´ अमर रहोस् ।

प्रमोद खरेलको गीत गाएर ‘भ्वाइस नेपाल’मा छनोट भए पाँचथरका राजु तामाङ

काठमाडौं । पाँचथरका गायक राजु तामाङ ‘द भ्वाइस अफ नेपाल’ सिजन–८ को ब्लाइन्ड अडिसनबाट छनोट भएका छन्। उनले गायक प्रमोद खरेलको गीत ‘लाग्छ तिमी सागर सरी’ गाएका थिए। उनको प्रस्तुतिबाट प्रभावित भएका खरेलले नै उनलाई आफ्नो टिममा छनोट गरे।

खरेलले गीतमा सास फेर्ने ठाउँमा समेत राम्रो प्रस्तुति दिएको र एक ठाउँमा नोट पनि राम्रो गरेको भन्दै राजुलाई छनोट गरेको बताए।

आफूले विगतमा सांगीतिक क्षेत्रमा अघि बढ्न गरेको संघर्षको कथा सुनाउँदै खरेलले आफ्नो एउटा ‘बज’ले राजुलाई हौसला दिन सक्ने बताए।

उनले भने, ‘हिजो मैले सांगितिक क्षेत्रमा अगाडि बढाइरहेको पाइलालाई कठिन हुँदै अगाडि बढेँ, तपाईंलाई पनि मेरो एउटा बजले लाइफमा धेरै हौसला दिन्छ र अगाडि बढ्न प्रेरित गर्न सक्छ भन्ने कनेक्सनले यो गीतले गराई दियो ।’

राजु पाँचथरको फिदिम नगरपालिका–४, जोरसालका बासिन्दा हुन्। सानैदेखि नाच्न रुचाउने उनी उमेर बढ्दै जाँदा लाज लाग्न थालेपछि गायनतर्फ मोडिएका थिए।

‘पाँचथरमा गीत संगीतप्रेमी धेरै छन्। माहोल पनि राम्रो छ। सानोमा डान्स गर्थेँ। विस्तारै उमेर बढ्दै जाँदा लाज लागेर डान्स गर्न छाडेँ,’ उनले भने।

राजुका अनुसार गीतसंगीतले दुःख र सुख दुवै अवस्थामा साथ दिन्छ। यसले मनोरञ्जन दिनुका साथै आफूलाई आनन्दसमेत दिने उनी बताउँछन्।

कोशीमा भाषा विधेयक पारित, आङ्बोले भने- ऐतिहासिक क्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले कोशी प्रदेश सभाबाट सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पारित हुनुलाई ऐतिहासिक उपलब्धि भनेका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै आङ्बोले विधेयक पारित हुनुलाई प्रदेशको भाषिक पहिचान र सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण निर्णयका रूपमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘ऐतिहासिक क्षण, सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित।’

उनका अनुसार विधेयक पारित हुनु प्रदेशको भाषिक पहिचान, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवको संरक्षण तथा प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हो।

उनले भने, ‘प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि उक्त विधेयकमा उल्लेख भए बमोजिम आगामी २०८३ कार्तिक २५ गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको जन्मजयन्तीको अवसरमा यसको औपचारिक कार्यान्वयन प्रारम्भ गरिनेछ।’

विधेयक कार्यान्वयनमा आएपछि कोशी प्रदेशमा विभिन्न मातृभाषाको सरकारी कामकाजमा प्रयोगलाई कानुनी आधार प्राप्त हुनेछ।

कोशीमा भाषा विधेयक पारित हुनु मातृभाषा, पहिचान र समुदायको जित : कांग्रेस सचेतक लावती

काठमाडौं । कोशी प्रदेश सभाबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित भएपछि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक मैया श्रेष्ठ लावतीले खुसी व्यक्त गरेकी छन्।

उनले विधेयक पारित हुनुलाई मातृभाषा, पहिचान र समुदायको आत्मसम्मानको जितका रूपमा व्याख्या गरेकी छन्।

लावतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोशी प्रदेशमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने व्यवस्था हुनु ऐतिहासिक उपलब्धि भएको बताएकी छन्।

विधेयकले प्रदेशभित्रका स्थानीय तहलाई पनि बहुसङ्ख्यक जनताले बोल्ने राष्ट्रभाषा स्थानीय कानुन बनाएर सरकारी कामकाजमा प्रयोग गर्न सक्ने व्यवस्था गरेको उनले उल्लेख गरेकी छन्।

‘आफ्नै मातृभाषामा सरकारी सेवा पाउनु कुनै दया वा कृपा होइन, यो प्रत्येक नागरिकको आत्मसम्मान र नैसर्गिक अधिकारको विषय हो,’ उनले लेखेकी छन्।

लावतीले विधेयक प्रदेश सभामा पेस भएदेखि पारित गराउने प्रक्रियासम्म आफूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेकी छन्। नेपाली कांग्रेस विविधताभित्रको एकता र सबै समुदायको पहिचानको पक्षमा उभिँदै आएको उनको भनाइ छ।

‘यो जित कुनै एउटा पार्टी वा व्यक्तिको मात्र होइन, यो त हाम्रा पुर्खाहरूको सपनाको जित हो,’ उनले लेखेकी छन्।

उनले विधेयक पारित भएको अवसरमा सम्पूर्ण भाषाभाषी, जाति र समुदायलाई बधाई तथा शुभकामना पनि दिएकी छन्।

नरेन्द्र मोदीको टाउको दुखाई बन्यो कक्रोज पार्टी (भिडियो)

काठमाडौं । भारतमा नरेन्द्र मोदीको शक्तिशाली सरकारलाई कक्रोज जनता पार्टी टाउको दुखाई बनेको छ ।

कांग्रेस आईलगायत विपक्षी गठबन्धन कमजोर बनेको बेला कक्रोज जनता पार्टीले मोदी सरकारलाई फेरि कडा चुनौती दिइरहेको हो ।

कक्रोजको प्रदर्शन रोक्न मोदी सरकारले उक्त पार्टीका नेता पक्राउ गर्ने देखि राजधानी नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । कक्रोच जनता पार्टी (सीजेपी)ले अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ ।

सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको हो । प्रहरीको यो कदमलाई सीजेपीले तानाशाही कदम भनेका छन् र आफ्ना नेताहरुको रिहा मागेको छ ।

यसअघि चर्चित युट्युबर ध्रुव राठीसहित दुई जना पक्राउ परेका थिए ।

यसबीच मोदी सरकारले ३० हजार प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रदर्शन चर्किने देखिएपछि विपक्षी नेताहरूले राष्ट्रपति द्रोपदी मुर्मुसँग भेट गरेका छन् ।

प्रदर्शन गर्न राजधानी दिल्लीतर्फ अगाडि बढिरहेका कक्रोज पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले भने मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा मागेका छन् ।

बालेन-सुधनले सोचेभन्दा ठूलो आन्दोलन हुन्छ : महेश बस्नेत (भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सोचेको भन्दा निकै ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् ।

चाडबाड लगत्तै उनले आन्दोलन हुने र आन्दोलनमा सरकारले गरेको कुकर्मको विरोध गर्ने सबै शक्तिसँग सहकार्य हुने पनि बताए ।

‘यो सरकारको प्रतिशोधी, जनविरोधी र यो सरकारको कुकर्मको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्छौं,’ उनले पार्टी बैठकपछि भने ।

आन्दोलनकै तयारी स्वरुप पार्टीको वडा तह र पालिका तहको अधिवेशनसँगै प्रदेश र केन्द्रीय भेला आयोजना गरिएको बताए ।

सत्ताको आडमा आईजीपीलाई बदनाम गर्दै खगेन्द्र सुनार (भिडियो)

काठमाडौं । आईजीपी दानबहादुर कार्कीविरुद्ध सत्ताको आडमा भ्रष्टाचारी करार गरिरहने रास्वपा सांसद हुन्– खगेन्द्र सुनार ।

जबकि, कार्की भ्रष्टाचारी हुन् कि होइनन् ? छिनोफानो गर्ने विशेष अदालतले हो । त्यहाँका न्यायाधीशले हुन् । सांसद खगेन्द्र सुनारले होइनन् ।

तर, उनी किन आईजीपी कार्कीलाई भ्रष्टाचार करार गर्न तम्सिएका हुन् ? उनलाई कसको आड भरोसा छ ? त्यो प्रष्ट छ ।

उनी प्रधानमन्त्री बालेनको काँध चढेका छन् । गृहमन्त्री सुधन गुरुङले पनि काँध हालेका छन् र त जेनजी विद्रोहको बेला विद्रोहीहरूले आक्रमण गरेर मनोबल गिराएको प्रहरी र प्रहरी संगठनका प्रमुख कार्कीमाथि लगातार बदनाम गर्ने र भ्रष्टाचारी भन्दै नैतिक रूपमा कमजोर बनाउन उद्धत छन् ।

देशको आन्तरिक सुरक्षा व्यवस्थाको जिम्मा प्रहरीलाई छ । तर, रास्वपा सांसद सुनार प्रहरीका एसपीलाई बाटामा घिसार्ने चेतावनी दिन्छन् ।

केही महिना यता भने सत्ताको आडमा आईजीपी कार्कीलाई म्यादी प्रहरीको पोशाक र जुत्ता खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइरहेका छन् । मानौँ यतिबेला सांसद सुनारका लागि प्रधान शत्रू नै भएको छ र तिनको छविलाई धुलिसात् पार्नु उनको मुल कर्तव्य हो ।

जबकि, यतिबेला उनकै दल रास्वपाको सरकार छ । त्यो पनि झण्डै दुई तिहाई बहुमतको । तर, छानबिन गरी कारबाही गर्न किन सकेको छैन ? के आरोप मात्रै लगाएर बस्ने ? कि छानबिन गरी दोषी देखिए कारबाही गर्ने ?

यो प्रश्न सांसद सुनारलाई छ । नभए उनलाई आरोप मात्रै लगाउने छुट नभएको बताउँछिन्– राप्रपा सांसद खुश्बु ओली ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक केही भिडियोमा सांसद सुनारले विगतमा अभियन्ता छँदा प्रहरीको कुटाई खाएको देखिन्छ । उनलाई लछारपछार गरेको देखिन्छ ।

सायद, त्यही भएर पनि उनलाई सिंगो प्रहरी संगठन नै मन नपरेको हुन सक्छ । अर्थात्, प्रहरी संगठनको नेतृत्व बालेन सत्ता अनुकूलको तत्काल ल्याउन आईजीपी कार्कीको बदनाम गरेको हुन सक्ने कतिपयको टिप्पणी छ ।

७९ हजार ५३१ जना प्रहरी संगठन र त्यसका नेतृत्वमाथिको हिलो छ्याप्ने उनको प्रयासको विरोध भइरहेको छ ।

गोहीले बर्दियामा एक महिलाको ज्यान लियो (भिडियो)

काठमाडौं । गोहीले एक महिलाको ज्यान लिएको छ । यो खबर बर्दियाको गेरुवा नदीको हो । नदीमा माछा मार्न गएकी पुष्पा लामिछानेको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।

उनको घर मधुवन नगरपालिका–३ कि हुन् । अन्दाजी ५२ वर्षीया पुष्पा शुक्रबार बिहान करिब ७ बजे माछा मार्न नदीमा गएकी थिइन् । तर, उनी घर फर्किइनन् । त्यसपछि घर परिवार र स्थानीयले उनको खोजी गरे ।

खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि परिचालन भए ।

दिनभरको खोजीपछि राति करिब साढे १० देखि ११ बजेको बीचमा नदी किनारमा पुष्पाको शव फेला पर्‍यो । शव क्षतविक्षत अवस्थामा भेटिएको र शवलाई पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको छ ।

यो घटनापछि प्रशासनले गोही देखिएको नदी किनारबाट टाढा रहन आग्रह गरेको छ । कोठियाघाट क्षेत्रको नदीमा नुहाउन, माछा मार्न तथा दाउरा संकलन गर्न जाँदा सावधानी अपनाउन पनि प्रशासनले सुझाव दिएको छ ।

गगन थापाको उदय, कांग्रेसको नयाँ युग !

काठमाडौं ।राजतन्त्रविरुद्ध सडकमा उत्रिए। गणतन्त्रका पक्षमा आवाज उठाए। प्रहरीको लाठी खाए। टाउको फुट्यो। रगत बग्यो। तर, राजनीतिक अडानबाट पछि हटेनन्।

त्यतिबेला उनको दल नेपाली कांग्रेससमेत गणतन्त्रको पक्षमा उभिइसकेको थिएन। तर, गगन थापा गणतन्त्रको पक्षमा सडकमा थिए। आज तिनै गगन थापा नेपाली कांग्रेसको सर्वोच्च नेतृत्वमा पुगेका छन्।

आठ दशक लामो इतिहास बोकेको पार्टीको सभापति बनेका छन्। यो एउटा राजनीतिक पदमा भएको परिवर्तन मात्रै होइन। कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको एउटा महत्त्वपूर्ण अध्याय हो ।

२०६२/६३ को जनआन्दोलनमा गगन थापा गणतन्त्रका पक्षमा सडकमा उत्रिएका चर्चित युवा नेतामध्ये एक थिए। कांग्रेसभित्रै गणतन्त्रको बहस सुषुप्त हुँदा नेता नरहरि आचार्यले वैचारिक र राजनीतिक तहबाट गणतन्त्रको पक्षमा माहोल बनाइरहेका थिए। गगन भने सडकबाट गणतन्त्रको आवाज बुलन्द गरिरहेका थिए।

उता, नेकपा एमालेकी तत्कालीन युवा नेतृ रामकुमारी झाँक्री पनि राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय थिइन्। अर्कोतिर, नेकपा माओवादी सशस्त्र युद्धमार्फत राजतन्त्रको अन्त्यलाई आफ्नो राजनीतिक एजेन्डा बनाइरहेको थियो।

अन्ततः माओवादी र कांग्रेस, एमालेसहितका सात राजनीतिक दल एकै ठाउँमा उभिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध १९ दिनसम्म जनआन्दोलन भयो। त्यसको परिणामस्वरूप राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको बाटो खुल्यो।

नेपालको राजनीतिक इतिहासमा गगन थापाको परिचय यही आन्दोलनबाट थप स्थापित भयो। उनी गणतन्त्रका पक्षमा सडकमा उत्रिने युवा नेताका रूपमा चिनिए। अहिले उनै थापा गणतन्त्र स्थापनाको आन्दोलनमा सहभागी राजनीतिक शक्तिमध्येको प्रमुख दल कांग्रेसको सभापति बनेका छन्।

तर, गगनको राजनीतिक यात्रा सहज थिएन। उनी पार्टीभित्र सधैँ प्रश्न गर्ने र फरक मत राख्ने नेताका रूपमा देखिए। आफ्नै पार्टीका नेतृत्वसँग असहमति जनाउन उनी पछि हटेनन्। सरकारका गलत निर्णयको आलोचना गर्न पनि उनी हिचकिचाएनन्।

२०८१ असार १७ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सातबुँदे सहमति भयो। त्यसपछि ओलीको नेतृत्वमा सरकार गठन भयो।

संसद्का पहिलो र दोस्रो ठूला दल मिलेर सरकार बनाउनु संसदीय अभ्यासका दृष्टिले उपयुक्त नहुने भन्दै गगनले असन्तुष्टि जनाए। उनको तर्क थियो– संसदीय प्रणाली बलियो हुन प्रभावकारी प्रतिपक्ष आवश्यक हुन्छ।

१८ असोजमा काठमाडौंको टुँडिखेलमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै पनि गगनले विगतमा सत्ताका लागि गरिएको राजनीतिक भागबन्डाको आलोचना गरे।

कांग्रेस र एमाले नेतृत्वबीच भएको सत्ता साझेदारीले जनतामा असन्तुष्टि बढाएको र त्यसले जेनजी विद्रोहको वातावरण निर्माण गर्न भूमिका खेलेको उनको भनाइ थियो।

जेनजी विद्रोहपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग झन् बलियो बन्यो। तत्कालीन सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि समेत विद्रोहका क्रममा आक्रमण भयो।

यही परिस्थितिमा गगनले विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा परिवर्तनको अभियान अघि बढाए। गत वर्षको पुसमा भएको विशेष महाधिवेशनबाट उनी सभापति निर्वाचित भए। त्यससँगै देउवा नेतृत्वको अध्याय समाप्त भयो।

यद्यपि, देउवा पक्षको राजनीतिक गतिविधि पूर्ण रूपमा समाप्त भएको छैन। कांग्रेसभित्र नेतृत्व र संगठनको आधिकारिकताबारे विवादका अवशेष बाँकी छन्।

अहिले १५औँ महाधिवेशनबाट गगन पुनः सभापतिमा निर्वाचित भएका छन्। उनी कांग्रेसका नवौँ सभापति बनेका छन्। यो उपलब्धि उनका लागि व्यक्तिगत सफलता मात्र होइन। लामो समयदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्दै आएका नेता तथा कार्यकर्ताका लागि पनि महत्त्वपूर्ण घटनाक्रम हो।

गगनको राजनीतिक परिचय भाषण र विरोधमा मात्र सीमित छैन। उनी संविधानसभाका सदस्य हुँदै प्रतिनिधिसभामा पुगे। २०६४ सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका उनी २०७० सालमा प्रत्यक्ष निर्वाचित भए।

त्यसपछि २०७४ र २०७९ सालका प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भए। तर, गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भए। निर्वाचनमा पराजित भए पनि पार्टी नेतृत्वमा उनको प्रभाव भने कमजोर भएन।

प्रचण्ड सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि गगनले केही महत्त्वपूर्ण पहल गरेका थिए। मिर्गौला रोगको उपचार तथा प्रत्यारोपणमा सहुलियत, स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात, सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन, ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था र क्यान्सरलगायत गम्भीर रोगका बिरामीलाई एक लाख रुपैयाँसम्मको आर्थिक सहायता दिने कार्यक्रम उनका कार्यकालसँग जोडिएका छन्।

गगनको राजनीतिक छविमा प्रश्न नै छैनन् भन्ने पनि होइन। नुवाकोटमा साथीहरूसँग मिलेर बाख्रापालनका लागि फार्म खोलेर सरकारी अनुदान लिएको तर बाख्रा नपालेको आरोप उनीमाथि लाग्दै आएको छ।

गगनले भने अनुदान दुरुपयोग नगरेको बताउँदै आएका छन्। उपलब्ध विवरणअनुसार सरकारी निकायबाट अनुदान दुरुपयोग गरेको ठहर भएको देखिँदैन। त्यसैले यस विषयमा आरोप र प्रमाणित तथ्यलाई अलग राखेर हेर्न आवश्यक छ।

नेपाली कांग्रेसको इतिहास आन्दोलन र राजनीतिक परिवर्तनसँग जोडिएको छ। २००७ सालमा राणाशासनको अन्त्यका लागि भएको सशस्त्र क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको थियो। कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो।

अब यही इतिहास बोकेको दलको नेतृत्व गगनको काँधमा आएको छ। उनीसँग नेता विश्वप्रकाश शर्माको सहकार्यले पार्टीभित्र नयाँ नेतृत्वको अभ्यासलाई थप अर्थपूर्ण बनाएको छ। जेनजी पुस्ताको राजनीतिक चासो र कांग्रेसको संगठन परिवर्तनप्रतिको अपेक्षाले पनि नयाँ नेतृत्वमाथि दबाब बढाएको छ।

तर, कांग्रेसको सभापति बन्नु र कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनु फरक कुरा हुन्। संगठनलाई चलायमान बनाउनु, भ्रष्टाचारविरुद्धको अडान व्यवहारमा देखाउनु र युवालाई अवसर दिनु उनका अगाडिका मुख्य चुनौती हुन्।

गगनले विगतमा अरूलाई प्रश्न गरे। अब उनलाई प्रश्न गरिनेछ। उनले अरूको नेतृत्वमाथि जवाफदेहिताको माग गरे। अब आफ्नै नेतृत्वलाई जवाफदेही बनाउनुपर्नेछ।

गणतन्त्रका लागि सडकमा आवाज उठाएका गगन थापाले अब कांग्रेसलाई कति बदल्न सक्छन्? के उनको नेतृत्वमा कांग्रेस फेरि जनताको विश्वास जितेर राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा स्थापित होला? यसको उत्तर भाषणले होइन, कामले दिनेछ।

एनपिएलमा काठमाण्डु गोर्खाजबाट खेल्ने भए विल बोसिस्टो

काठमाडौं । अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्। गोर्खाजले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।

एनपिएलका अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका बोसिस्टोले तेस्रो संस्करणमा भने नयाँ टोलीबाट प्रतिस्पर्धा गर्नेछन्।

काठमाण्डु गोर्खाजले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।

त्यस्तै, ३३ वर्षीय बोसिस्टो ब्याटिङ र अफब्रेक बलिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन्। उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। सन् २०१२ मा अष्ट्रेलियाको यू-१९ टोलीको कप्तानी गरेका उनले सोही वर्ष यू-१९ विश्वकपमा पनि सहभागिता जनाएका थिए।

बोसिस्टोले अष्ट्रेलियाको घरेलु क्रिकेटमा फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन्। साथै, उनले फर्स्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दा बढी रन बनाउनुका साथै अफब्रेक बलिङमार्फत १७ विकेटसमेत लिएका छन्।

हेर्नुहोस् सानेपामा सभापति गगनको भव्य स्वागत [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुग्दा नेता–कार्यकर्ता र समर्थकले स्वागत गरेका छन्। स्वागत ग्रहण गर्दै थापाले कांग्रेस बदल्ने र नागरिकको विश्वास जित्ने उद्घोष गरे।

सभापतिको कुर्सीमा पुग्दैमा पार्टी परिवर्तन नहुने भन्दै उनले अब भाषणमा होइन, काम र व्यवहारमै परिवर्तन देखाउने प्रतिबद्धता जनाए। पार्टीको नेतृत्व सम्हाल्ने अवसरलाई अधिकारका रूपमा नभई नागरिकप्रतिको जवाफदेहिताका रूपमा लिएको उनको भनाइ थियो।

‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु,’ थापाले भने।