`

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारत महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एवं प्रभावशाली नेता अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । बुधबार बिहान महाराष्ट्रको बारामतीमा उनी सवार निजी विमान दुर्घटनामा परेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ६६ वर्षीय पवार मुम्बईबाट आफ्नो गृहनगर बारामतीका लागि उडेका थिए । बिहान करिब ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो।

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले दिएको जानकारी अनुसार दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबै ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा उनका स्वकीय सचिव, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू रहेका छन् । डिजिसीएले दुर्घटनाको प्रकृति हेर्दा विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको पुष्टि गरेको छ ।

बीबीसी मराठीसँग कुरा गर्दै पवारका स्वकीय सचिव अनिल ढिकले दुर्घटनाको खबरको पुष्टि गरेका छन् । मुम्बईबाट उडेको ‘ख्त्क्क्प्, ीव्४५’ कलसाइन रहेको उक्त चार्टर विमान अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महाराष्ट्रको राजनीतिमा ‘दादा’ उपनामले चिनिने पवारको आकस्मिक निधनले भारतीय राजनीतिमा शोक छाएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता समेत रहेका पवारको निधनलाई महाराष्ट्रको राजनीतिमा एक अपूरणीय क्षतिको रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

 

कुलेखानी सडकमा खोल्सामा खस्यो बोलेरो, सहचालकको मृत्यु

काठमाडौं । कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी गए राति १ बजे दुर्घटना भएको थियो । कुखुरा लोड भएको उक्त गाडीको ब्रेक फेल भएर अनियन्त्रित भई सडकबाट ५÷७ मिटर तलको खोल्सामा खसेको थियो ।

गाडीमा चालकसहित ३ जना सवार रहेकोमा तीनै जना घाइते भएका थिए । चालक सर्लाही बहरथवा नगरपालिका–१ का २५ वर्षीय रामवलि साह, दुई सहयोगीहरू १७ वर्षीय रोहन मण्डल र १६ वर्षीय छोटे पासवान घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौं पठाइएको थियो । डिएसपी बोगटीका अनुसार गम्भीर घाइते भएका रोहन मण्डलको उपचारकै क्रममा पौने ५ बजे मृत्यु भएको हो । बाँकी दुई जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीमा ५०० कुखुरा रहेको ३०० वटा मरेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा आमा–छोराको मृत्यु, बस चालक फरार

झापा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको छ ।

उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ । बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

 

सोलुखुम्बुमा जीप दुर्घटना, दुईको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका ६ वाकुबाट वडा नम्बर ७ बरौदीतर्फ जाँदै गरेको बागमती प्रदेश बी एडी ७७४२ नम्बरको जीप सोमबार दिउँसो नयाँपाटी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय चालक प्रदीप राई र कुसुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका र बाँकी ३ जनाको वाकु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु्

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए । उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।’ जीपमा कति जना सवार रहेका थिए भन्ने समेत खुल्न सकेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस

डेढ वर्षअघि त्रिशूली नदीमा खसेको बसको अवशेष भेटियो

काठमाडौं । चितवनको सिमलताल नजिकै त्रिशूली नदीमा बस जस्तै सवारीसाधनको टुक्रा देखिएको छ । सिमलतालबाट करिब २ सय मिटर तल पारितर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जनाएका छन् । ‘बस जस्तै कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । हाम्रो इन्स्पेक्टरको टोली घटनास्थल जाँदैछ । त्यसपछि मात्रै यकिन होला,’ डीएसपी खनालले भने । २८ असार २०८१ मा सिमलतालस्थित त्रिशुलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेको थियो । बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएकाे छ । दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशुली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन् ।

आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ । आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गरिने प्रहरीले जनाएको छ । दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो । बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन् । बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो । लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो ।

जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे छेडागाड नगरपालिका–८, बार्न नाउरिघाट नजिक बोलेरो दुर्घटना भएको हो । छेडागाड नगरपालिका–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोट प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए । दुर्घटनामा बोलेरो चालक छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका–९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते भएका छन् । घाइते सबैको अवस्था मध्यम रहेको खड्काले बताए । उनीहरूलाई उपचारका लागि छेडागाडको अस्पतालमा लगिएको छ ।

वनभोजबाट फर्किएको बस दुर्घटना : चारको मृत्यु, २२ जना घाइते

काठमाडौं । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उनले बताए । साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ । उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सेनाको गाडी दुर्घटना, अमलदारको मृत्यु

सुर्खेत । मुगुमा नेपाली सेनाको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्‍याउन गएको जीप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको खबर पाउने बित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो । उनलाई उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेका हुन् । मृतक ऐडीको शव पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ । डीएसपी थपलियाले दुर्घटनाको कारण नखुलेको बताए । उनले सडकको भित्ता साइटबाट चलाइरहेको गाडी डिलतिर कसरी पुगेर दुर्घटनमा पुग्यो भन्ने विषयामा अनुसन्धान भइरहेको जानकारी दिए ।

 

विद्यार्थी बोकेको जीप दुर्घटना : दुईको मृत्यु, नौं जना घाइते

रोल्पा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु गएको छ भने नौं जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए । मृतक दुवै जना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् । दुर्घटनामा सुनछहरी गाउँपालिका–४ सिउरी का १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन् । घाइते ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलको लुम्बिनी सिटी अस्पताल बुटवलका रिफर गरिएको छ ।

विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुईको मृत्यु

गुल्मी । विद्यार्थी बोकेर वनभोज (पिकनिक) हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो ।

बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको गुल्मी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौं जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिव २०३ किलोमिटर उत्तर–पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीवार भएको थियो । प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो । बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ । भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी (इन्धन बोकेको ट्रक) ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो । दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए । हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ ।

राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको सञ्चारमाध्यम द स्टेट्मेन्ट्सले लेखेको छ । समाचार अनुसार ट्रक सडकको डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो र आउँदै गरेको बसमा ठोक्कियो । ठोक्किँदा आगो लाग्यो र धेरै यात्रुहरू जिउँदै जले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

क्रिकेट खेलाडी मिनष थापाको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । २७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोशी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी कवित कटवालले जानकारी दिए । उनी कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए । उनी ब्याट्सम्यानका रूपमा चिनिन्थे।

बिजुली बजारमा दुर्घटना, पैदल यात्रीलाई ठक्कर दिएर चालक फरार

काठमाडौं । काठमाडौंको बिजुली बजारस्थित धोबीखोला पुल नजिकै दुर्घटना भएको छ । हाइसले पैदल यात्रीलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार घाइते पैदलयात्रीलाई उपचारका लागि लगिएको छ । दुर्घटना गराउने सवारी चालक फरार रहेको हुँदा खोजी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

रौतहटमा बसको ठक्करबाट एकको मृत्यु, आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन् । दुर्घटनाको बेला मोटरसाइकलमा मृतकसँगै उनका तीन सन्तान पनि सवार थिए । उनीहरूको अस्पतालमा उपचार हुँदै छ ।

चन्द्रपुर नगरपालिका– ६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका– २, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।

चालकसहित म्याग्दी नदीमा खस्यो ट्रक

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो ।

ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए । प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो । निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।
फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो ।

पत्रकार आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्त आन्दोलित

कालिकोट । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको घटनामा आफन्तहरू आन्दोलित बनेका छन् । गए राति आचार्य सवार स्कुटर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को कार्यालय अगाडि मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत मूलपानीबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते शुभकालिका गाउँपालिका– १, घर भई हाल वीरेन्द्रनगर– १, बस्ने आचार्यको उपचारको क्रममा गए राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै अहिले मूलपानी चोकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तले घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कारबाही र मृतक आचार्यका परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तर आचार्यका आफन्तलाई घटनास्थलमै गम्भीर त्रुटि भएको शंका छ । प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको, मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप उनीहरूले सार्वजनिक गरेका छन् । यही कारण शनिबार बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन् । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाएको हुँदा अहिले उल्टै आरोप लगाएको बताएका छन् ।

पत्रकार आचार्यको दुर्घटनामा मृत्यु

सुर्खेत । कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष समेत हुन् ।रेडियो तिला आवाजका स्टेसन म्यानेजर आचार्य चढेको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर–२ वडा कार्यालय अगाडि शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो ।

मुलपानीबाट भुरेलीतर्फ गइरहेको यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्य चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शाही पनि घाइते छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको शाहीको स्वास्थ्य मध्यम छ ।

ललितपुरमा ट्रक र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

काठमाडौं । ललितपुरको चापागाउँमा आज (बुधबार) ट्रक र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५, चापागाउँ दोबाटोस्थित सडकमा ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान एकआपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर नगरपालिका–५ भत्केको पाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषा । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा

मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबास अस्पताल पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

धनकुटामा माइक्रो दुर्घटना : एकको मृत्यु, १४ जना घाइते (नामावली)

धनकुटा । काठमाडौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् घाइते

– प्रहरी जवान सुजता गिरी (धनकुटा महालक्ष्मी–३) : मेरुदण्डमा चोट ।
– सगिता राई (संखुवासभा सिलिचुङ–३) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– नरेन्द्र राई ः बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– लमु शेर्पा (संखुवासभा पाँचखपन–९) : टाउकोमा चोट, अवस्था मध्यम ।
– निर्जला राई (उदयपुर लिम्चुङबुङ–१) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– बिनिता राई (११ वर्ष) : टाउकोमा चोट, अवस्था मध्यम ।
– जेसन राई (१४ वर्ष) : बाहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
– सन्त बहादुर तामाङ (सिन्धुली) : दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
– पासाङ शेर्पा (भोजपुर सिलिचुङ–५) : टाउकोमा चोट, अवस्था मध्यम ।
– रत्नबहादुर विक (खाँदबारी–७) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर ।
– दिपेन्द्र बुढाथोकी (हाइस चालक, ठेगाना नखुलेको) : शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर, घोपा रेफर ।

 

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’ गर्दै आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्याएको थियो ।

यसैबीच, उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ, भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । नगर प्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

ट्रकसँग अटो ठोकिँदा महिलाको मृत्यु

झापा । ट्रकसँग अटो ठोकिँदा झापामा एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ । सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गए राति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक हवल्दारको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा दुई वटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित शुद्धोधन गाउँपालिका–३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको हो ।

दुर्घटनामा परी कपिलवस्तुका वाणगंगा नगरपालिका–४ कोपवामा कार्यरत प्रहरी सहायक हवल्दार रामविलास यादवको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका–७ टिकर निवासी यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए ।

प्रहरीका अनुसार शुक्रवार दिउसो ३ बजेतिर लवनीबाट तौलिहवातर्फ जाँदै गरेको यादव बसेको लु २७ प २०८५ नं. को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुई वटा मोटरसाइकल ठोक्किँदा लु २७ प २०८५ नं. को मोटरसाइकलको पछाडि बसेका यादव सडकमा पल्टिए लगत्तै लवनीबाट तौलिहवा तर्फ जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको थियो । मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्‍याइएकोमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादव चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका–५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते छन् ।

प्रहरीले यादवलाई ठक्कर दिने मोटरसाइकल, ट्रक र ट्रकका चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–२ बडहराका ३२ वर्षीय शम्भु थारुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले दुर्घटनामा परी मृत्यु भएका यादवको शवलाई पोस्टमर्टम र जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जलीपछि अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाएको जनाएको छ ।

ट्याक्टर भिरबाट खस्दा दुईको मृत्यु, चालक गम्भीर घाइते

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई वृद्धको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खाती रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्ररीले जनाएको छ ।

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अरु दुई जना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए । दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

रुखका ठोक्किएर इभी दुर्घटना : तीनको मृत्यु, चार जना गम्भीर

बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी रुखमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनाका चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा छन् । उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको जनाइएको छ । प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

बीपी राजमार्गबाट कार खस्दा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

सिन्धुली । सुनशोसी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा आज (मंगलबार) बिहान करिब ११ः १५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्जेललाई उपचारका क्रममा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक रामकाजी कार्की र सहायक प्रहरी निरीक्षक धर्मराज फुयालको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको थियो । प्रहरीले घाइतेको तत्काल उद्धार गरी नजिकैको आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्‍याएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिंदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

हेटौँडा । मकवानपुरमा स्कुटरलाई ग्यास बुलेटले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार (आज) बिहान ९ः३० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ छन् । दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दि ए। मृतक केदारको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

स्कुटरमा श्रेष्ठसहित उनको २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ समेत सवार थिए । दुर्घटनाका क्रममा सरस्वती गम्भीर घाइते भएकी छन् भने छोराको अवस्था सामान्य छ । उनको हाल चितवन स्थित एलाईभ अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए। प्रविन पनि उनकै साथमा रहेको प्रहरीको भनाइ छ । यता, ग्यास बुलेट चालक भारतको बिहार बस्ने ५५ वर्षीय मोहमद मतिन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहरेको बताएको छ ।

जीपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
यता दार्चुलामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ बांगाबगरमा जीप दुर्घटना भएको हो । व्यास गाउँपालिका–३ सिनाका ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुपप्र ०४०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारलाई ठक्कर दिँदा घाइते भएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

दुर्घटनामा नगरपालिका कर्मचारी राईको निधन

इलाम । इलामको सूर्योदय नगरपालिका कार्यालयकी कर्मचारी रूपा राईको सवारी दुर्घटनापछि उपचारका क्रममा निधन भएको छ । गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिकै अटो र पिकअप भ्यान ठोक्किँदा राई गम्भीर घाइते भएकी थिइन् । उनलाई बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल ल्याइएको थियो ।

फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको ‘पल्स’ भेटिएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । सोमबार बिहान करिब ४ बजे उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनी दुर्घटनामा परेर घाइते अवस्थामा रहेकै बेला कतिपयले निधन भइसकेको भन्दै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जली’ लेखेका थिए । त्यसको व्यापक आलोचना भएको थियो ।

 

रुकुम जीप दुर्घटना अपडेट : मृत्तकको संख्या आठ पुग्यो

रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडानम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडानम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली छन्।

घाइते हुनेमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय जीप चालक टोपजंग बुढासहित १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता बिक छन् ।

घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रा १ ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमाना पर्ने झारमारे लिस्नेको लेकमा दुर्घटनाग्रस्त भएको थियो । प्रहरीका अनुसार जीप सडकबाट करिब ७ सय मिटर तल खसेको छ । क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दानीखेतमा जीप दुर्घटना, एकको मृत्यु

खलङ्गा । मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीीप दानीखेतमा आज बिहान दुर्घटना जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो । जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालकको खोजी एवम् अनुसन्धान गरिरहेको छ ।

 

 

सोलुखुम्बु गाडी दुर्घटना : तीन मृतकमध्ये दुई किशोरीको मात्रै सनाखत

सोलुखुम्बु । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सीमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको कुँवरले जानकारी दिए । ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने ।

दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ–३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ । त्यस्तै महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते छन् ।

घाइतेहरुको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना भने सकुशल छन् । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना गम्भीर

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका–१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा ४ः४४ बजेको समयमा मृत्यु भएको हो । यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्दै आएका २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन् । उनको उपचार अहिले नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

बस र कार ठोक्किँदा एक महिलाको मृत्यु, नौं जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार मंगबार साँझ आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित नौ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ । त्यसैगरी सामान्य घाइते हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उनका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उनकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन्।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई अनुसन्धानका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

 

मलामी बोकेको ट्याक्टर दुर्घटना : तीनको मृत्यु, नौं जना घाइते

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

 

सात गाडी ठोक्किँदा २१ जना घाइते, नारायणघाट–मुग्लिन सडक बन्द

चितवन । नारायणघाट–मुग्लिन सडकमा सात वटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर खाएका थिए ।

सो क्रममा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको माइक्रो, त्यसको पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि रहेको ना ३ च ३२५६ नम्बरको भ्यान, त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए । घाइतेहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले बताए। दुर्घटनास्थलमा सडक पूर्ण रूपमा अवरुद्ध भएको र दुर्घटनामा परेका सवारीसाधन हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी चौकी जुगेडीका अनुसार, घटनास्थल चौकीबाट करिब ६–७ किलोमिटर उत्तरतर्फ पर्छ र थप विवरण संकलन भइरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्वमा टोली खटिएको छ ।

गाईघाटमा ट्रक र बससहित एकै पटक सात गाडी ठोकिएर दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड ट्रक र बससहित एकै पटक सात वटा गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा सात वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।

एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिङले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१ चिदिकास्थित सौरेखोलाबाट दुर्गा फाँटतर्फ जाँदै गरेको लु ५८ प ७७८ नम्बरको तारा बेल्वासेले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आएको लु ३३ प ६५४४ नम्बरको सुमन सुनारले चलाएको मोटरसाइकल सौरेखोला खर्ज्याङमा एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

अर्घाखाँची र गुल्मीको सीमाना खज्र्याङमा रहेको पब्लिक लुम्बिनी हस्पिटल प्रा.लि.उपचार गर्दा–गर्दै २१ वर्षीय बेल्वासे र ३५ वर्षीय सुनारको मृत्यु भएको हो । बेल्वासे अर्घाखाँची पाणिनि गाउँपालिका–५ मैदानका हुन भने सुनार गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोर गाउँका स्थानीय हुन । मोटरसाइकलको पछाडि बसेका मैदानका १८ वर्षीय दिपा कोइराला र दौघाका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरूलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।