`

बस र कार ठोक्किँदा एक महिलाको मृत्यु, नौं जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार मंगबार साँझ आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित नौ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ । त्यसैगरी सामान्य घाइते हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उनका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उनकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन्।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई अनुसन्धानका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

 

मलामी बोकेको ट्याक्टर दुर्घटना : तीनको मृत्यु, नौं जना घाइते

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

 

सात गाडी ठोक्किँदा २१ जना घाइते, नारायणघाट–मुग्लिन सडक बन्द

चितवन । नारायणघाट–मुग्लिन सडकमा सात वटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर खाएका थिए ।

सो क्रममा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको माइक्रो, त्यसको पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि रहेको ना ३ च ३२५६ नम्बरको भ्यान, त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए । घाइतेहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले बताए। दुर्घटनास्थलमा सडक पूर्ण रूपमा अवरुद्ध भएको र दुर्घटनामा परेका सवारीसाधन हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी चौकी जुगेडीका अनुसार, घटनास्थल चौकीबाट करिब ६–७ किलोमिटर उत्तरतर्फ पर्छ र थप विवरण संकलन भइरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्वमा टोली खटिएको छ ।

गाईघाटमा ट्रक र बससहित एकै पटक सात गाडी ठोकिएर दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड ट्रक र बससहित एकै पटक सात वटा गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा सात वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।

एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिङले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१ चिदिकास्थित सौरेखोलाबाट दुर्गा फाँटतर्फ जाँदै गरेको लु ५८ प ७७८ नम्बरको तारा बेल्वासेले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आएको लु ३३ प ६५४४ नम्बरको सुमन सुनारले चलाएको मोटरसाइकल सौरेखोला खर्ज्याङमा एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

अर्घाखाँची र गुल्मीको सीमाना खज्र्याङमा रहेको पब्लिक लुम्बिनी हस्पिटल प्रा.लि.उपचार गर्दा–गर्दै २१ वर्षीय बेल्वासे र ३५ वर्षीय सुनारको मृत्यु भएको हो । बेल्वासे अर्घाखाँची पाणिनि गाउँपालिका–५ मैदानका हुन भने सुनार गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोर गाउँका स्थानीय हुन । मोटरसाइकलको पछाडि बसेका मैदानका १८ वर्षीय दिपा कोइराला र दौघाका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरूलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

धनकुटामा बस दुर्घटना, दुईको मृत्यु

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर जाँदै गरेको प्रदेश १० २००१ ख ९६०६ नम्बरको बस धनकुटाको निगालेमा दुर्घटनामा परेको हो । दुर्घटनामा धनकुटा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डील्ली बराल मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा धनकुटा–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङ केरावारीकी–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटा महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका–७ की ३३ वर्षीया श्रीजना जीमी, महालक्ष्मी नगरपालिका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछियाकी ८ वर्षीया अंकिता खड्का घाइते भएका छन् । उनीहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काठमाडौं । काठमाडौँको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

जडीबुटीमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गए राति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

डोटीमा गाडी दुर्घटना : एक युवतीको मृत्यु, ६ बालबालिकासहित २१ जना घाइते

डोटी । डोटीमा गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

हुम्लामा जीप दुर्घटना, बाबु–छोरीसहित तीन जनाको मृत्यु

हुम्ला । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा बाबु–छोरीसहित तीन जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् । चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो । नजिकैको स्वास्थ्य चौकीमा उपचार गराइरहेकामध्ये गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिएका छन् । डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पु¥याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

धनगढी बस दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा २ ख १९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो । बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ ।

पाँचथर दुर्घटना : ६ को मृत्यु, ६ जनाको उद्धार (अपडेट)

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिएका छन् ।

दुर्घटनामा ६ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट शव निकाल्ने काम भइरहेको कर्णले बताएका छन् । उनका अनुसार, अहिले शव बोक्ने काम भइरहेको छ, मृतकको पहिचान खुलेको छैन । बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

डाँडाबाट बोलेरो खस्दा पाँचथरमा चारको मृत्यु, ६ जना घाइते (अपडेट)

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा आज (शनिबार) दिउँसो बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो पाँचथरमा दुर्घटनामा परेको हो । दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

मृत्यु भएका चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । तर मृतकको पहिचान खुलिसकेको छैन । बोलेको तमोर करिडोरको कात्तिके डाँडाबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य व्यक्ति समेत हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी राखिएको जनाइएको छ ।

पाँचथरमा बोलेरो दुर्घटना : चार जनाको उद्धार

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सीमानास्थित कात्तिके डाँडामा भएको बोलेरो जीप दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् ।

अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाएका छन् । ‘अहिलेसम्म चार जना घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ,’ प्रजिअ पोखरेलले भने, ‘दुर्घटनास्थलबाट धरान नै नजिक पर्छ ।’

उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । आफू पनि त्यतै जान लागेको उनले बताए । धरान जाँदै गर्दा बोलेरो जीप दुर्घटनामा परेको जानकारी आएको र प्रहरी पुगेपछि विस्तृत विवरण थाहा हुने उनले बताए । घटनास्थलमा पानी परिरहेको स्थानीय पत्रकार रमेश थापाले बताएका छन् ।

यसअघि दुर्घटना स्थलनजिकै रहेको भन्दै सागर ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडीहरू छिटोभन्दा छिटो पठाइदिनुस् न है ।’

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।

बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७ बस्ने २७ वर्षीय सोविन चौधरीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०३–००१ ख २५८२ नं हायसले बाटो काटिरहेका पैदल यात्री स्थानीय देवन पञ्जियारका ७० वर्षीया श्रीमती जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनापछि हायस तथा चालक धादिङको बेनिरोराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तमोर नदी नजिकै खस्यो गाडी, ठूलो मानवीय क्षतिको आशंका

पाँचथर । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ । आज (शनिबार) कार्तिके नजिक एक गाडी खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् । दुर्घटनास्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले जानकारी दिए ।

हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनु होला,’ ढकालले भने । दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने आंकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

 

बस दुर्घटना हुँदा दुईको मृत्यु, ४० बढी घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सल्यान दुर्घटना : घाइते निशाको भारतमा निधन, मृतकको संख्या चार पुग्यो

सल्यान । रुकुम पश्चिमको बाँफिकोटबाट दाङ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ मा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । असोज ११ गते शनिबार राति भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

निशा र उनका सहोदर दाइ ठगेन्द्र केसी घाइते भएका थिए । २७ बर्षीया निशाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–४ का वडाध्यक्ष शेरबहादुर ओलीका अनुसार आज बिहान २ बजेको समयमा निशाको निधन भएको हो ।

उनका दाइ ठगेन्द्रको उपचार चलिरहेको छ । उक्त दुर्घटनामा निशाकी आमा ६८ बर्षीया पवि केसीसहित २७ वर्षीय शशीधर केसी र बाँफिकोट–४ का २७ वर्षीय प्रकाश केसीको निधन भएको थियो । आमा पविलाई उपचारका लागि लिएर जाने क्रममा निशा, ठगेन्द्र र शशीधर दुर्घटनामा परेका हुन् । लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

 

महोत्तरीमा बस दुर्घटना : एकको मृत्यु, २० जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सडकमा पल्टिएको बसमा एक जना च्यापिएका छन् । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु, १३ जना घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

जीप दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

‘ब्रेक फेल’ भएर घरमाथि खस्यो बस, १५ जना घाइते

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार दिउँसो करिब ३ः२५ बजे बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको टाटा कम्पनीको बस (लु १ ख ७७७६) सडकदेखि करिब ५.७ मिटर तल खस्दै स्थानीय मनिष कुँवरको खाली घरमा अड्किएको अवस्थामा भेटिएको हो ।

बस चालक गुल्मी इस्मा गाउँपालिका–४ का ४४ वर्षीय बीर बहादुर गुरुङ छन् । बसको घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये इस्मा गाउँपालिका–६ अमरपुरका २१ वर्षीय नबिन महत, ३१ वर्षीय सहचालक दिपक पराजुली, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षीया हरिकला कुमाललाई मध्यम चोट लागेको छ । बाँकी घाइतेहरूलाई सामान्य चोट लागेको जनाइएको छ ।

घाइतेहरूमा राधिका बस्नेत र उनकी छोरी कोपिला बस्नेत, छोरा अनिल बस्नेत, सरिता कुमाल र उनका छोरा कृष्ण कुमाल, सन्त बहादुर कुमाल, चन्द्री कुमाल र उनका नाति ईश्वर कुमाल, सरिता महत, सचिन महत तथा लक्ष्मी बिष्ट रहेका छन् । दुर्घटनामा बस र घर दुवैमा पूर्ण क्षति भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

सिन्धुलीको दुई दुर्घटनामा १६ घाइते, तीन जना गम्भीर

सिन्धुली । सिन्धुलीको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन् । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बालेरो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जीप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनकाअनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमध्ये गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भीर घाईते भएका छन् । गोलञ्जोरकै २० बर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन् ।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याएको छ । त्यसैगरी दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको नाम थर नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो । घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोे छ । घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा बोलेरो दुर्घटना, यी हुन् घाइते (नामावलीसहित)

काठमाडौं । काठमाडौं आइरहेको बा २०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ यात्रु घाइते भएका छन् । खुर्कोट नजिकै मरिन डाइभर्सन नजिक बोलेरो दुर्घटनामा परेको हो । प्रहरीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको थियो ।

बिहान ११ः४५ मा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ भालुखोलास्थित बीपी राजमार्गमा काठमाडौंबाट धापचौकी आइरहेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । सिन्धुलीका चालक ओमबहादुर रानाले बोलेरो चलाएका थिए । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

डबल क्याप बोलेरो आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो । लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको टोली र सशस्त्र प्रहरीको विपद् बेस खुर्कोटबाट निरीक्षकको संयुक्त प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल लगेको थियो ।

हेर्नुस् घाइतेको नामावली
१) सिन्धुली गोलन्जोर ०४ का २० वर्षीया मालती खुलाल, छाती र पछाडि ढाडमा चोट (अवस्था सामान्य)
२) सोही स्थानका १७ वर्षीय भोज बहादुर थापा मगर, निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम)
३) प्रेम मगर, टाँउकोमा घाँउ चोट (अवस्था गम्भिर)
४) जम्पा खुलाल मगरको निधारमा चोट (अवस्था सामान्य)
५) सुसन मगरको निधारमा चोट (अवस्था मध्यम)
६) केदार थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
७) रोजिना थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
८) ज्ञानेन्द्र मगर, टाउको र छातीमा चोट (अवस्था सामान्य)
९) तारा बहादुर खुलाल, नाक बाँया कम्मर र छातीमा चोट (अवस्था मध्यम)
१०) नितेश मगर (अवस्था सामान्य)
११) रोश्मी मगर (अवस्था सामान्य)
१२) ओम आले मगर, छाती र ढाँडमा चोट (अवस्था सामान्य)
१३) ओम बहादुर राना (चालक), दुवै खुट्टाको घुँडामा सामान्य चोट (अवस्था सामान्य)

सल्यान दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

पबी केसीको पहिचान उनको साथमा रहेको नागरिकताको आधारमा गरेको र शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाफीकोट गाउँपालिका–५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

राति १० बजेको समयमा प्रहरी चौकी कपुरकोट सल्यानको चेकपोइन्टमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए । दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल वहादुर वलीको कमाण्डमा ट्राफिकसहित ७ जनाको टोली परिचालित भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्र राज गुरुङको कमाण्डमा थप ९ जनाको टोली खटिएको थियो । घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्व पर्दछ ।

सल्यानमा गाडी दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज (आइतबार) बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ । मृतक तथा घाइतेको नाम, ठेगाना खुलेको छैन ।

सुर्खेत गाडी दुर्घटना हुँदा १७ जना घाइते
यस्तै सुर्खेतमा आज (आइतबार) बिहान भएको गाडी दुर्घटना घाइते भएका सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनमा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्युरेनिस्थित रत्नराजमार्गमा बाँकेको कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनमा परेको थियो ।

प्रहरीका अनुरासार घाइतेमध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यी हुन् सुर्खेतको गाडी दुर्घटनामा घाइते हुने यात्रु
प्रदेश अस्पताल कालागाउँमा उपचारत घाइते
१. चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको।
२. जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३. जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४. जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५. ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६. ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७. सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८. जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।

देउती नर्सिङहोम सुर्खेतमा उपचार भइरहेका घाइते
९. जिल्ला दैलेख दुल्लु नपा– ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य ।
१०. जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट।
११. जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य।
१२. जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य।
१३. जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य।
१४. ऐऐवडा १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य।
१५. ऐऐ वडा ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य।
१७. जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य।

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई युवकको मृत्यु

सर्लाही । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका–२ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर र एक जना केहि सामान्य घाइते भएका थिए । स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तीन किशोर सवार मोटरसाइकल दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

जनकपुरधाम । धनुषामा तीन जना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको हो । दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो ।
मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो । कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ । दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, २० बढी घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बनस्थलीमा विहानै बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट आज (बिहीबार) विहानै एक पैदययात्रीको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान साढे ५ बजेतिर सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।

मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भारतमा गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा ज्यान गुमाउने चार नेपालीमध्ये तीन जना एकै घरका भएको खुलेको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको डाला पछाडि बसेकाले फाल हानेर जोगिएका छन् । ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् ।

घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ । दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ । मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको मल्लले बताएका छन् ।

भारतमा गाडी दुर्घटनामा चार नेपालीको मृत्यु, दुई घाइते

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा गाडी दुर्घटना परी चार नेपालीको मृत्यु भएको छ ।

सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख–४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यससम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।

ट्रकको ठक्करबाट सडकमा हिंडिरहेकी महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको गोठाटारमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ मा बा ५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा हिँड्दै गरेकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा घर भई काठमाडौँको चाबहिल बस्दै आएकी ५८ वर्षीया जिरादेवी दानी छिन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश मन्त्रीको गाडीले बालकलाई दियो ठक्कर, गोदावरी सडक अवरुद्ध

काठमाडौं । सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले बालकलाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ ।

आज बिहान हरिसिद्दी उकालोमा उनी सवार गाडीले स्थानीय एक बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् । सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मन्त्रीको गाडीले एक सुनुवार थरका ११ वर्षीय बालकलाई सामान्य ठक्कर दिएको हो । ट्राफिक वृत्त सातदोबाटोका इन्स्पेक्टर श्रीराम भट्टका अनुसार घाइते बालकको अवस्था सामान्य रहेको र उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी थिइन् ।

उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज बिहान ६ बजेको समयमा बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्करले दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातीमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको छ । घरका मानिसहरु सुरक्षित छन् । तर घरको गारोले थिचिएर २० वटा कुखुरा मरेका छन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु, एक बालिका घाइते

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आज (बुधबार) दुई जनाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले  पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङ गम्भीर घाइते भएकी हुन् ।  दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । हाल उनको उपचार भइरहेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ। त्यस्तै बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।