`

पत्रकार आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै आफन्त आन्दोलित

Nepal One HD १३ मंसिर २०८२ १४:०६
प्रमुख खबर

कालिकोट । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको घटनामा आफन्तहरू आन्दोलित बनेका छन् । गए राति आचार्य सवार स्कुटर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को कार्यालय अगाडि मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत मूलपानीबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते शुभकालिका गाउँपालिका– १, घर भई हाल वीरेन्द्रनगर– १, बस्ने आचार्यको उपचारको क्रममा गए राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

आचार्यको दुर्घटना शंकास्पद रहेको भन्दै अहिले मूलपानी चोकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तले घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कारबाही र मृतक आचार्यका परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तर आचार्यका आफन्तलाई घटनास्थलमै गम्भीर त्रुटि भएको शंका छ । प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको, मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप उनीहरूले सार्वजनिक गरेका छन् । यही कारण शनिबार बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन् । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाएको हुँदा अहिले उल्टै आरोप लगाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *