`

बीपी राजमार्गबाट कार खस्दा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

Nepal One HD ११ कार्तिक २०८२ १३:३८
प्रमुख खबर

सिन्धुली । सुनशोसी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा आज (मंगलबार) बिहान करिब ११ः १५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्जेललाई उपचारका क्रममा १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक रामकाजी कार्की र सहायक प्रहरी निरीक्षक धर्मराज फुयालको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको थियो । प्रहरीले घाइतेको तत्काल उद्धार गरी नजिकैको आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्‍याएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *