कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु
काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी (इन्धन बोकेको ट्रक) ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो । दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए । हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ ।
राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको सञ्चारमाध्यम द स्टेट्मेन्ट्सले लेखेको छ । समाचार अनुसार ट्रक सडकको डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो र आउँदै गरेको बसमा ठोक्कियो । ठोक्किँदा आगो लाग्यो र धेरै यात्रुहरू जिउँदै जले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
