सेनाको गाडी दुर्घटना, अमलदारको मृत्यु
सुर्खेत । मुगुमा नेपाली सेनाको बोलेरो जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा ना. १ झ १०३९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भइ हनुमान ध्वज गुल्ममा अमलदार चालकका रुपमा कार्यरत हरिसिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सेनाको सामान पुर्याउन गएको जीप फर्किने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।
आइतबार साँझ करिब ७ बजेको समयमा जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको खबर पाउने बित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । ऐडीलाई उद्धार गरेर उपचारका लागि राति १० बजे नै मुगु अस्पताल लगिएको थियो । उनलाई उपचारको क्रममा सोमबार बिहान १ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेका हुन् । मृतक ऐडीको शव पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ । डीएसपी थपलियाले दुर्घटनाको कारण नखुलेको बताए । उनले सडकको भित्ता साइटबाट चलाइरहेको गाडी डिलतिर कसरी पुगेर दुर्घटनमा पुग्यो भन्ने विषयामा अनुसन्धान भइरहेको जानकारी दिए ।
