दुई मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक हवल्दारको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा दुई वटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित शुद्धोधन गाउँपालिका–३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको हो ।
दुर्घटनामा परी कपिलवस्तुका वाणगंगा नगरपालिका–४ कोपवामा कार्यरत प्रहरी सहायक हवल्दार रामविलास यादवको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका–७ टिकर निवासी यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए ।
प्रहरीका अनुसार शुक्रवार दिउसो ३ बजेतिर लवनीबाट तौलिहवातर्फ जाँदै गरेको यादव बसेको लु २७ प २०८५ नं. को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुई वटा मोटरसाइकल ठोक्किँदा लु २७ प २०८५ नं. को मोटरसाइकलको पछाडि बसेका यादव सडकमा पल्टिए लगत्तै लवनीबाट तौलिहवा तर्फ जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको थियो । मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्याइएकोमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादव चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका–५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते छन् ।
प्रहरीले यादवलाई ठक्कर दिने मोटरसाइकल, ट्रक र ट्रकका चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–२ बडहराका ३२ वर्षीय शम्भु थारुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले दुर्घटनामा परी मृत्यु भएका यादवको शवलाई पोस्टमर्टम र जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जलीपछि अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाएको जनाएको छ ।
