`

डेढ वर्षअघि त्रिशूली नदीमा खसेको बसको अवशेष भेटियो

Nepal One HD २७ पुष २०८२ १२:२२
प्रमुख खबर

काठमाडौं । चितवनको सिमलताल नजिकै त्रिशूली नदीमा बस जस्तै सवारीसाधनको टुक्रा देखिएको छ । सिमलतालबाट करिब २ सय मिटर तल पारितर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जनाएका छन् । ‘बस जस्तै कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । हाम्रो इन्स्पेक्टरको टोली घटनास्थल जाँदैछ । त्यसपछि मात्रै यकिन होला,’ डीएसपी खनालले भने । २८ असार २०८१ मा सिमलतालस्थित त्रिशुलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेको थियो । बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएकाे छ । दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशुली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन् ।

आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ । आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गरिने प्रहरीले जनाएको छ । दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो । बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन् । बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो । लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *