`

सहकारी पीडितको गुनासो : जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेन

Nepal One HD १५ मंसिर २०८२ १४:०४
अर्थ समाचार

काठमाडौँ । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्। सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन्। आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए।

उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाई छ । उनले सरकारले पटक–पटक वार्ता गरे पनि आफूहरूको माग पूरा नगरेको बताए । कतिपय सहकारी पीडितहरू डिप्रेशनको सिकार समेत बनेको उनको भनाई छ ।

उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताए। उनले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए। उनले जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरूको माग पूरा नपरेको बताए। प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *