`

पटक–पटकको स्थगनपछि आज रवि र छविको मुद्दा पेसीमा

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत बुटवलमा दायर गरिएको पुनरावेदन निवेदनमाथि आज बिहीबारका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि पटक–पटक स्थगित हुँदै आएको सुनुवाइ प्रक्रिया आज भने अघि बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि गत साता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसभन्दा अगाडि दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको थियो । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशमा लामिछानेले आफ्नो भागको बिगो रकम बुझाउन मञ्जुर हुँदाहुँदै पनि अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेका तर्फबाट गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन (७३ नम्बर) निवेदन दर्ता गराइएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । आजको इजलासले जिल्लाको आदेश सदर गर्छ वा उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिन्छ, त्यसैमा सबैको चासो केन्द्रित छ ।

 

सहकारी पीडितको गुनासो : जेनजी सरकारले पनि हाम्रा माग पूरा गरेन

काठमाडौँ । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्। सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रेका हुन्। आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए।

उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाई छ । उनले सरकारले पटक–पटक वार्ता गरे पनि आफूहरूको माग पूरा नगरेको बताए । कतिपय सहकारी पीडितहरू डिप्रेशनको सिकार समेत बनेको उनको भनाई छ ।

उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताए। उनले आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए। उनले जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफूहरूको माग पूरा नपरेको बताए। प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

रवि र छविको मुद्दाको आज पेसी

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । गत हप्ता रवि पक्षका कानुनी व्यवसायीले निवेदन दिँदै सुनुवाइ स्थगित गराएपछि आजको पेसीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते उनको रिहाइ निवेदन अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थि ए। अभियोगपत्रअनुसार सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ ।

यसको चार हिस्सामध्ये लामिछानेले आफ्नो अंश बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत दाखिला गरेका थिए । जोशीले पनि त्यत्तिकै रकमको जमानत निवेदनसहित पेस गरेका थिए । जिल्ला अदालतले दुवै प्रतिवादीको रिहाइ अस्वीकार गरेको थियो । त्यसपछि लामिछाने काठमाडौं कारागारमा छन् भने जोशी भैरहवा कारागारमा बसिरहेका छन् ।

पीडितले गरे समस्याग्रस्त सहकारी समितिको गेट तोडफोड

काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गर्दै तोडफोड गरेका हुन् ।

प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो । अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज (बिहीबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आजै पाटन उच्च अदालतमा पनि लामिछाने–सम्बद्ध अर्को मुद्दा सूचीकरण भएकाले बुटवल उच्च इजलासमा उपस्थित हुन नसक्ने भन्दै रविका कानुन व्यवसायीहरूले स्थगित गर्न माग गरेका थिए । अदालतले सोही माग अनुसार पेसी सारिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुल अभियोग मिसिल सर्वोच्च अदालतबाट मागिएको थियो । सो मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको हो ।
कात्तिक २० गते पनि यही इजलासले सुरु मिसिल झिकाउन आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिल अझै नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि यसपटक मुद्दा सूचीकरण गरिएको थियो । अदालतले लामिछानेको निवेदनलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको सूचना अधिकारी कुँवरले बताए ।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालसमेत रहेको इजलासले लामिछाने र जोशी दुवैको मुद्दा समान प्रकृतिको भएकाले एकैसाथ हेर्न आदेश गरेको थियो । लामिछानेले बिगोबमोजिम रकम बुझाई थुना बाहिर बसेर मुद्दा लड्ने अवसर दिन मागेपछि उच्च अदालतले जोशीको फाइल पनि एकै पटक पेश गर्न भनेको थियो ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो हिस्साको बिगो (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बैंक जमानतका रूपमा बुझाइसकिएको दाबी गर्दै भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गरेका थिए । तर, जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनको निवेदन खारेज गर्दै रिहा नदे निर्णय सुनाएको थियो ।

अभियोगपत्रअनुसार रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछाने र जोशी दुवैले समान रकमबापत जमानत पेश गरे पनि प्रतिवादीको व्यक्तिगत बिगो कति भन्ने सुनिश्चित नभएसम्म रिहा दिन नपाइने निर्णय दुवैका हकमाझै जारी छ । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन्, भने जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् ।

 

रवि र छविको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । गत हप्ता तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुद्दाको मिसिल अपुग भएको भन्दै सुरुको मिसिल झिकाउने आदेश गरेको थियो । थप मिसिल झिकापछि मात्र अर्को पेशी चढ्ने र बिगो बराबरको रकम तिरेर थुनामुक्त हुन पाउँ भनी रविले दिएको निवेदनमाथि सुनुवाइ हुने भनिएको छ ।

यो मुद्दामा आजलाई पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बिहीबार भने लामिछानेका तर्फबाट महेन्द्र पाण्डे, बाबुराम पाण्डे, जोशीका तर्फबाट अपूर्व खतिवडालगायतले बहस गरेका थिए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी हाल भैरहवा कारागारमै छन् ।

हिरासतबाट फरार स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । जेनजी आन्दोलनको मौका छोपेर उनी हिरासतबाट भागेका थिए । बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् । उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

रवि र छविको मुद्दामा आज सुनुवाइ

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ । सुनुवाइका लागि तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा ३ नम्बर पेसी चढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

पोखरा सहकारीको ८९ करोड हिनामिना, अध्यक्षसहित सात जना पक्राउ

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ८९ करोड हिनामिना आरोपमा कास्की प्रहरीले अध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी रहेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो ।

सहकारी रजिस्ट्रार कार्यालय कास्कीले सहकारीको बचत रकम हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि मंगलबार मात्रै प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरेर अनुसन्धान थालेको छ । उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

 

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बुटवलको सुनुवाइ स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा मुद्दाको सुनुवाइ हुँदै थियो । छविलाल जोशीका निदेवदकको तर्फबाट निवेदन दिएर सुनुवाइ स्थगित गरेपछि स्वतः दुवैको स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् । जेनजी आन्दोलनका क्रममा सनरुफ भएको गाडी चढेर हात हल्लाउँदै बाहिरिएका लामिछाने चौतर्फी विरोध भएपछि कारागार फर्किएका थिए । उनीमाथि जेलबाट निस्केर प्रधानमन्त्री बन्न खोजेको भनेर आरोप समेत लागेको थियो । पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले जेनजी आन्दोलनको आडमा जेलबाट निस्केर देश नै चलाउने इच्छा देखाउनु मुर्खता भएको भन्दै देश तथा विदेशमा समेत विरोध भएपछि उनी पुनः नख्खु फर्किएका थिए ।

रवि र छविको मुद्दाको सुनुवाइ, जीबीको खोजी

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ सुरु भएको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ सुरु भएको हो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी हाल भैरहवा कारागारमै छन् । यता यस प्रकरणका मुख्य आरोपित जीबी राईको पुनः खोजी शुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेपछि कतिपयले ‘जीवीलाई खोजेर मन्त्री बनाउँ’ भन्दै सरकारलाई कटाक्ष गरेको देखिन्छ ।

जे गर्नुपर्छ गरौं, तर सहकारी ठगलाई कारवाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गरेर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गर्नुपर्ने उनले उल्लेख गरिन् ।

‘ठगेर खाएर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर हिंड्छन्, महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं । जे गर्नुपर्छ गरौं तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौं ।’

सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ । ‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुन हुँदैन,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नु पर्छ ।’

सहकारी ठगीमा थुनामा रहेका ढोरपाटनका मेयर नेपालीलाई सम्पति शुद्धीकरणको पनि मुद्दा

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीविरुद्ध एक अर्ब ५८ करोड ९४ लाख बढी रकमको सम्पत्ति शुद्धीकरण अभियोगमा पनि मुद्दा दायर गरिएको छ ।

सहकारी ठगी र शुद्धीकरण प्रकरणमा नेपालीसहित १५ जना प्रतिवादी बनाइएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, बागलुङले बिहीबार जिल्ला अदालतमा सहकारीको रकम अपचलन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यो मुद्दा दायर गरेको हो ।

झुटो ब्याजको प्रलोभन, नक्कली ऋणी र चलखेलको जालो
देवकुमार नेपालीले अध्यक्ष रहेको इमेज सहकारीले एक हजार ५४३ जना बचतकर्ताको करोडौं रुपैयाँ संकलन गरी, कृत्रिम खाता खोलेर, नक्कली ऋणी खडा गरेर, नक्कली कागजमार्फत ऋण प्रवाह देखाएर आफ्नै श्रीमती र आफन्तको नाममा सम्पत्ति खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

रकम अपचलनका लागि उनीहरूले बढी ब्याज दिने झुटो आश्वासन दिएर सर्वसाधारणलाई लोभ्याएका थिए । वास्तविक आवश्यकता नभएका ऋणहरू बनाइए, जमानत विनै ऋण वितरण गरियो र अन्ततः सहकारीको नीति, सिद्धान्त र कानुनको पूर्ण उल्लंघन गर्दै रकम हिनामिना गरिएको हो ।

शुद्धीकरणमार्फत सम्पत्ति आर्जन : घर–जग्गा, नगद र शेयर
अभियोगपत्र अनुसार, देवकुमार नेपालीले शुद्धीकरणमार्फत कमाएको रकम :
एक करोड ५८ लाख ९४ हजार ५५ हजार ३९१ (बिगो)
श्रीमती छेलाको नाममा मात्र ६ करोड ९८ लाख बढी
सहकारीको ४० लाखको शेयर, १ लाख २० हजार नगद र विभिन्न स्थानका जग्गा जफतको माग

मतियारहरूको मिलेमतो : कर्मचारीदेखि समितिसम्म सबै संलग्न
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त घटनामा १५ जना अन्यलाई ‘मतियार’ का रूपमा प्रतिवादी बनाएको छ।
त्यसमध्ये प्रमुख नामहरूः
डोरबहादुर परियार (उपाध्यक्ष)
सुनील नेपाली (सचिव)
लक्ष्मी सेन सुनार (कोषाध्यक्ष)
चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाही (सदस्य)

शक्ति किसान (शाखा प्रबन्धक), लालमति रोका (लेखा प्रमुख)
अनिता बुढामगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल, सन्तोष नेपाली

उनीहरूमाथि सहकारीको रकम :
कृत्रिम हिसाब देखाएर अन्य खातामा रकमान्तर गर्ने, बचतकर्ताको नाममा पैसा निकालेर व्यक्तिगत रूपमा खर्च गर्ने, राजस्व छलेर राज्यलाई पनि आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ ।

दावी : दोब्बर जरिवाना, २–१५ वर्षसम्म कैद सजाय
आरोपपत्र अनुसार, देवकुमार नेपालीले गरेका गैरकानुनी कार्यबाट प्राप्त सम्पत्तिको रकम बराबर दोब्बर जरिवाना, साथै २ देखि १५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

महिला नेतृत्वको सहकारीले बेच्यो ३५० वटा खसी–बोका

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।

यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् ।

‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ। हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।’ संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्ष्य गरी बढी संख्यामा बिक्री भएको हो ।

‘गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भनिन्, ‘यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’

गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउन सहकारीले ११ वर्षदेखि बजार व्यवस्थापन गरिरहेको छ । कृषकले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गरिरहेको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषक खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माले बताइन् ।

‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भनिन् । यहाँ सेयर सदस्य बाहेक अन्य कृषकको पनि खसीबोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसम्म खसीबोका लिन सहकारीमा आउने गरेका छन्।

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकको संख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

राप्रपा सांसद बस्नेत धरौटीमा रिहा

कठमाडौं । सहकारीको रकम अपचलन आरोप लागेकी राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहेकी गीता बस्नेत १५ लाख धरौटी बुझाएर रिहा भएकी छन् ।

उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिएकी छन् । उनी अदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएकी हुन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलनको आरोपमा राप्रपाबाट बर्दियाकी प्रतिनिधिसभा सदस्य बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विना धितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीले पनि अदालतमा उपस्थित भएर छानविनलाई सहयोग गर्न निर्देशन दिएको थियो । तर उनी एक वर्षपछि मात्र अदालतमा उपस्थित भएकी हुन् ।

सांसद बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवलपुरको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाइँ नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गराएर हिनामिना गरेको प्रहरीको भनाइ छ ।

बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको प्रदेश रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको थियो । छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २६१ रुपैंयाँ हिनामिना भएको घटनामा अझै छानविन चलिरहेको छ ।