रवि र छविको मुद्दाको आज पेसी
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । गत हप्ता रवि पक्षका कानुनी व्यवसायीले निवेदन दिँदै सुनुवाइ स्थगित गराएपछि आजको पेसीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते उनको रिहाइ निवेदन अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थि ए। अभियोगपत्रअनुसार सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ ।
यसको चार हिस्सामध्ये लामिछानेले आफ्नो अंश बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत दाखिला गरेका थिए । जोशीले पनि त्यत्तिकै रकमको जमानत निवेदनसहित पेस गरेका थिए । जिल्ला अदालतले दुवै प्रतिवादीको रिहाइ अस्वीकार गरेको थियो । त्यसपछि लामिछाने काठमाडौं कारागारमा छन् भने जोशी भैरहवा कारागारमा बसिरहेका छन् ।
