`

जे गर्नुपर्छ गरौं, तर सहकारी ठगलाई कारवाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

Nepal One HD ३० असोज २०८२ १६:५६
अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गरेर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गर्नुपर्ने उनले उल्लेख गरिन् ।

‘ठगेर खाएर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर हिंड्छन्, महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं । जे गर्नुपर्छ गरौं तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौं ।’

सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ । ‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुन हुँदैन,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नु पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *