`

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

Nepal One HD ४ मंसिर २०८२ १२:४७
प्रमुख खबर

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज (बिहीबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आजै पाटन उच्च अदालतमा पनि लामिछाने–सम्बद्ध अर्को मुद्दा सूचीकरण भएकाले बुटवल उच्च इजलासमा उपस्थित हुन नसक्ने भन्दै रविका कानुन व्यवसायीहरूले स्थगित गर्न माग गरेका थिए । अदालतले सोही माग अनुसार पेसी सारिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुल अभियोग मिसिल सर्वोच्च अदालतबाट मागिएको थियो । सो मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेसी तोकिएको हो ।
कात्तिक २० गते पनि यही इजलासले सुरु मिसिल झिकाउन आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिल अझै नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि यसपटक मुद्दा सूचीकरण गरिएको थियो । अदालतले लामिछानेको निवेदनलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको सूचना अधिकारी कुँवरले बताए ।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालसमेत रहेको इजलासले लामिछाने र जोशी दुवैको मुद्दा समान प्रकृतिको भएकाले एकैसाथ हेर्न आदेश गरेको थियो । लामिछानेले बिगोबमोजिम रकम बुझाई थुना बाहिर बसेर मुद्दा लड्ने अवसर दिन मागेपछि उच्च अदालतले जोशीको फाइल पनि एकै पटक पेश गर्न भनेको थियो ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो हिस्साको बिगो (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बैंक जमानतका रूपमा बुझाइसकिएको दाबी गर्दै भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गरेका थिए । तर, जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनको निवेदन खारेज गर्दै रिहा नदे निर्णय सुनाएको थियो ।

अभियोगपत्रअनुसार रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछाने र जोशी दुवैले समान रकमबापत जमानत पेश गरे पनि प्रतिवादीको व्यक्तिगत बिगो कति भन्ने सुनिश्चित नभएसम्म रिहा दिन नपाइने निर्णय दुवैका हकमाझै जारी छ । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन्, भने जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *