`

पटक–पटकको स्थगनपछि आज रवि र छविको मुद्दा पेसीमा

Nepal One HD ३ पुष २०८२ ९:४४
प्रमुख खबर

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । उच्च अदालत बुटवलमा दायर गरिएको पुनरावेदन निवेदनमाथि आज बिहीबारका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघि पटक–पटक स्थगित हुँदै आएको सुनुवाइ प्रक्रिया आज भने अघि बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि गत साता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसभन्दा अगाडि दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको थियो । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशमा लामिछानेले आफ्नो भागको बिगो रकम बुझाउन मञ्जुर हुँदाहुँदै पनि अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेका तर्फबाट गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन (७३ नम्बर) निवेदन दर्ता गराइएको थियो । सोही निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । आजको इजलासले जिल्लाको आदेश सदर गर्छ वा उनीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्ने आदेश दिन्छ, त्यसैमा सबैको चासो केन्द्रित छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *