निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नुस् : भण्डारी
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए ।
निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गरे । उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताए । उनले भने, ‘संवैधानिक व्यवस्था बमोजिम हाम्रो निर्वाचन प्रणाली दुई वटा छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरुले समानुपातिकमा आफ्नो कोको उम्मेदवार हो, लिस्ट पेश गर्नु हुन्छ । सो बमोजिम विभिन्न कार्यक्रमहरु रहेका छन् । ती कार्यक्रमहरुबाट अन्तिममा दलहरुबाट पेश भएका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली कायम रहन्छ ।’
उनले भने, ‘विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झिटिलो पनि मान्नु होला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनु भयो र ती व्यक्तिहरुबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।
