`

यसरी जिल्ला–जिल्ला पठाइँदैछ फोटोसहितको नामावली {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ । पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ ।

निर्वाचनका लागि आवश्यक तयारीका लागि निर्वाचन आयोगले धमाधम काम गरिरहेको छ । आयोगले मतपत्र छपाई कार्यलाई पनि तीव्रता दिएको छ । छपाइसम्बन्धी काम आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराउँछ । समानुपातिक तर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। अब प्रत्यक्षतर्फको सुरू भएको छ ।

यसबीच आयोगले फोटो सहितका मतदाता नामावली जिल्ला–जिल्लामा पठाउने तयारी गरेको छ । बुधबार आयोगका कर्मचारीहरू फोटोसहितका नामावली प्याकिङ गर्न व्यस्त थिए । मतादाता नामावलीपत्र मतदान केन्द्र अनुसार मिलाउनेदेखि ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । आयोगले जिल्ला–जिल्लामा पठाएको नामावलीपत्र त्यहाँबाट मतदान केन्द्रहरूमा पठाइन्छ । उक्त नामावलीमा उल्लेखित व्यक्तिहरूले मतदान गर्न पाउने छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ : साह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारसँग माग गरेकी हुन् । प्रमुख सचेतक साहले गलत सन्देशमा भरमा नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।

उनले भनिन्, ‘म मतदाताहरुलाई अपिल र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरु सत्य हुँदैनन । भेरीफाई गरेर मात्रै बुझौ । गलत र भ्रामक सन्देश सम्पे्रषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानूनको दायरामा ल्याई निर्वाउनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने पनि स्पष्ट पारिन् ।

कांग्रेस नेताहरु माघ २१ देखि चुनावी क्षेत्रमै खटिने

काठमाडौं । आउँदो निर्वाचनको तयारीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाली कांग्रेसले नयाँ सांगठनिक रणनीति अख्तियार गरेको छ । कांग्रेसले आगामी २१ माघदेखि २१ फागुनसम्मका लागि ‘विशेष रणनीति’ लागू गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई कार्यक्षेत्रमा उतार्ने भएको हो ।

निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार पारिएको ‘निर्वाचन परिचालन निर्देशिका’ मा चुनावको अन्तिम तयारीका लागि नवीन कार्ययोजना समेटिएको छ । जसअन्तर्गत ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिलाई मुख्य आधार बनाइएको छ । यस नीतिअनुसार पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरूले आफ्नो तोकिएको कार्यक्षेत्रमा अनिवार्य रूपमा खटिनु पर्नेछ ।

निर्वाचनको वातावरण निर्माण गर्न र पार्टीको सांगठनिक अवस्था सुदृढ तुल्याउन कांग्रेसले यो एक महिने विशेष अभियान सञ्चालन गर्न लागेको हो । निर्देशिकामा उल्लेख भएअनुसार चुनावको अन्तिम ३० दिन नेता तथा कार्यकर्ताहरूले केवल आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रमा केन्द्रित हुनुपर्नेछ । यसले केन्द्रमुखी राजनीतिलाई भूगोलमुखी बनाउने अपेक्षा पार्टीले लिएको छ ।

विशेष रणनीतिको अन्तिम रूप दिन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हाल प्रदेशस्तरीय आन्तरिक छलफलहरू भइरहेका छन् । सोही क्रममा बुधबार गण्डकी प्रदेशको विशेष छलफल आयोजना गरिएको छ । यसअघि मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँगको परामर्श सकिएको उपसभापतिको सचिवालयले जनाएको छ ।

छलफलमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला सम्पर्क समितिका सभापतिहरूका साथै काठमाडौँमा रहेका कांग्रेस निकट पेशाकर्मी, बुद्धिजीवी र युवाहरूको सक्रिय सहभागिता रहेको छ । अभियानमार्फत कांग्रेसले तल्लो तहका कार्यकर्ताको मनोबल उच्च पार्ने, मतदातासँगको सम्बन्ध नवीकरण गर्ने र चुनावी चुनौतीहरूको सामना गर्न स्थानीय संयन्त्रलाई सक्रिय बनाउने लक्ष्य राखेको छ । उपसभापति शर्माका अनुसार, यो रणनीतिले पार्टीको निर्वाचन परिचालनलाई थप संस्थागत र नतिजामुखी बनाउनेछ ।

निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरु सिंहदरबार परिसरमा {तस्वीरहरु}

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरिएका छन् ।

गत मंगलबार सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको थियो । त्यसैगरी, हिजो मात्र थप ५४ वटा गाडी सिंहदरबार आइपुगेका छन् । ती गाडीहरू भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । सोही अनुरूप भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।
यस पटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ । भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

 

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसहित पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति, प्रचार शैली र चुनाव चिह्नको प्रयोगसँग सम्बन्धित उजुरीका आधारमा आयोगले उनीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण सोधिनेमा झापा–५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का नेकपा एमाले सचिव महेश बस्नेत, सुनसरी–१ का श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रूपन्देही–२ का स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसाल रहेका छन् । साथै भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका कारण उजुरी परेको हो । उजुरीमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू प्रमाण वा अदालतको निर्णय बिनै लगाइएका गम्भीर, तथ्यहीन र मानहानिकारक आरोप भएको दाबी गरिएको छ । केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेनको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।

यस्तै, एमाले सचिव महेश बस्नेतलाई पनि अभिव्यक्तिकै विषयमा स्पष्टीकरण सोधिएको छ । बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको र त्यस क्रममा मधेसी समुदायलाई अपमानित हुने घृणात्मक अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । हर्क साम्पाङमाथि भने चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघनको उजुरी परेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सोमबार नै उनलाई स्पष्टीकरणको पत्र पठाइएको हो ।

त्यसैगरी निकोलस भुसालमाथि दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको आरोप छ । उनले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिह्नका रूपमा प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी प्रावधान उल्लंघन भएको भन्दै स्पष्टीकरण मागेको हो । जानुका पाठकलाई उम्मेदवारमाथि हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

आयोगले उम्मेदवारहरूसँगै स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको र शिक्षक सरुवासम्बन्धी एक घटनामा समेत स्पष्टीकरण सोधेको जनाएको छ । यसरी आयोगले पछिल्लो चरणमा कुल ७ वटा स्पष्टीकरण जारी गरेको हो । निर्वाचन आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न पुनः सचेत गराउँदै तोकिएको समयभित्र जवाफ नआए कानुनी कारबाही अघि बढ्न सक्ने संकेत दिएको छ ।

 

 

सकियो समानुपातिकको मतपत्र छपाइ, प्रत्यक्षको शुरू

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको शुरू भएको जानकारी दिए । उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।

यसैगरी, नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुनेगरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी खाता खोल्ने व्यस्था गरिएको छ ।

प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

कास्कीका तीन क्षेत्रमा ४५ उम्मेदवारको प्रतिस्पर्धा : कहाँ को छन् मैदानमा ?

काठमाडौं। गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट ३९ र ६ स्वतन्त्रसहित कुल ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसपटक कास्कीका सबै क्षेत्रमा पुराना तथा नयाँ अनुहारको रोचक भिडन्त हुने देखिएको छ। कास्की–१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ। 

एमालेले यस क्षेत्रमा स्थानीय स्तरमा सक्रिय नेताका रूपमा उदाएका बैनबहादुर क्षेत्रीलाई अघि सारेको छ। २०७४ को स्थानीय तहबाट जिल्ला समन्वय समितिका प्रमुख बनेका क्षेत्री पहिलोपटक संघीय तहमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेसले कास्की–१ मा तिलकबहादुर रानाभाटलाई उम्मेदवार बनाएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रानाभाट हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका थिए। कास्की–१ लाई कांग्रेस गण्डकीको ‘आधार क्षेत्र’ मानिँदा रानाभाटको उम्मेदवारीले क्षेत्रको चुनाव थप चासोको विषय बनेको छ। 

नेकपाले जनयुद्धकालदेखि सक्रिय नेता राजकाजी गुरुङ ‘करण’ लाई टिकट दिएको छ। एमालेको पकड क्षेत्र मानिँदै आएको कास्की–१ मा करणको प्रवेशसँगै परिणाममा उथलपुथल हुने विश्लेषण भइरहेका छन् ।  रास्वपाले लेखक खडकराज पौडेल ‘गनेस’ लाई अघि सारेको छ। उनी पछिल्लो समय उपन्यास ‘पैताला’मार्फत चिनिएका साहित्यकार हुन्। उनले २०७९ मा पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन्द्र शाह ‘बालेन’ को टिमबाट टिकट पाएका हुन्। उनेपाले कास्की–१ मा खगोल वैज्ञानिक मनिषा द्वालाई उम्मेदवार बनाएको छ भने राप्रपाले बाबुराम थापामाथि भरोसा गरेको छ। यसअघिको निर्वाचनमा कास्की–१ एमालेका मानबहादुर गुरुङले जितेका थिए।

यो क्षेत्रमा रुपा, मादी गाउँपालिका तथा पोखरा महानगरका १०, १२, १३, १४, २७, २८, २९, ३० र ३२ नम्बर वडाहरू पर्दछन्।

कास्की–२ : एमालेको बलियो आधार क्षेत्रमा नयाँ अनुहारको भिडन्त

कास्की–२ मा प्रतीनिधिसभा निर्वाचनको लागि आठ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।  २०६४ यता निरन्तर विजय हासिल गर्दै आएको एमालेले यसपटक यो क्षेत्रमा रश्मी आचार्यलाई अघि सारेको छ। कृष्णबहादुर थापाको अपेक्षित उम्मेदवारी अन्तिम समयमा परिवर्तन गर्दै एमालेले रश्मीलाई टिकट दिएको हो। यस क्षेत्रबाट दिवंगत एमाले नेता रविन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए भने पछिल्ला दुई निर्वाचन(उपनिर्वाचन २०७६ र प्रतिनिधिसभा निर्वाचन २०७९) रविन्द्र पत्नि विद्या भट्टराईले जितेकी थिइन्।

कांग्रेसले गण्डकी प्रदेश समितिका प्रवक्ता माधव बास्तोला ‘मधु’लाई उम्मेदवार बनाएको छ । मधुको प्रवेशले कास्की–२ को प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ । नेकपाले पूर्व माओवादी सैन्य कमान्डर किरण थापा ‘आमोद’लाई टिकट दिएको छ। थापा युद्धकालीन गतिविधिका कारण चर्चामा आएका थिए र हालै मात्रै नेकपा प्रवेश गरेका हुन्।

रास्वपाबाट पूर्वपत्रकार उत्तम पौडेल प्रतिस्पर्धामा छन्। उनी न्युज-२४ टेलिभिजनमा रवि लामिछानेको टिममा रहँदै कास्कीबाट पत्रकारिता गर्दै आएका थिए। उनेपाले उर्जाविद् कुशल गुरुङलाई मैदानमा उतारेको छ भने राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग शाहीलाई उम्मेदवारी दिएको छ। 

कास्की–२ मा पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरू समावेश छन्।

कास्की–३ : एमालेका बैरागी दोहोरिदै, कांग्रेस र नेकपाका नयाँ अनुहार

कास्की–३ मा एमालेबाट अघिल्लो निर्वाचनका विजयी उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ पुनः मैदानमा उत्रिएका छन्। २०७४ को स्थानीय तहमा वडासदस्यमा पराजित भएका बैरागीले २०७९ मा भने उल्टो संघीय निर्वाचन जितेका थिए। यसपटक यो क्षेत्रमा नेकपाले नयाँ अनुहार गोपाल गिरीलाई प्रतिस्पर्धामा उतारेको छ। सुरुमा नेकपाबाट यो क्षेत्रमा प्रेम पौडेलले टिकट पाउने चर्चा थियो तर उनी पारिवारिक कारणले पछि हटेपछि गिरीलाई टिकट दिइएको हो।

कांग्रेसले देउवा समूहका नेता मनोज गुरुङलाई उम्मेदवार बनाएको छ । उनी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका नेता हुन्।  रास्वपाले युवा व्यवसायी बिना गुरुङलाई अघि सारेको छ भने उनेपाले तर्कबहादुर गुरुङलाई टिकट दिएको छ। राप्रपाले केन्द्रीय सदस्य अर्जुन खनाललाई कास्की–३ मा उम्मेदवार बनाएको छ।

यस क्षेत्रमा २०४८ यताका सात निर्वाचनमध्ये पाँचमा एमाले विजयी भएको छ। कास्की–३ मा अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरू पर्दछन् । 

अघिल्लो चुनावमा कास्कीका तीनै क्षेत्रमा एमाले विजयी भएको थियो। कास्की–१ मा मानबहादुर गुरुङ, कास्की–२ मा विद्या भट्टराई र कास्की–३ मा दामोदर पौडेल ‘बैरागी’ त्यतिबेला निर्वाचन जिते। यसपटक कास्कीका तीनै क्षेत्रमा नयाँ तथा पुराना उम्मेदवारको प्रतिस्पर्धाले चासोको विषय बनेको छ। एमालेले जित्दै आएको यी निर्वाचन क्षेत्रको विधायक को ? फागुन २१ को मतदानपछि ‘ब्यालेटबक्स’ ले यो प्रश्नको उत्तर दिनेछन्।

६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक पनि चुनावी मैदानमा {तस्वीरहरु}

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट आफ्नै पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी अघि सारेको छ । यस अवसरमा आज पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् । पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर ४ बाट नुमा लिम्बू, काठमाडौं क्षेत्र नम्बर १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा क्षेत्र नम्बर १ बाट पिंकी राई, रुपन्देही क्षेत्र नम्बर २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौं क्षेत्र नम्बर १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट विनोद लामा उम्मेदवार रहेका छन् ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए । राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताए । अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको नुमा लिम्बूले बताइन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

खोटाङको राजनीतिक सरगर्मी : नयाँ अनुहारहरुको तीव्र प्रतिष्पर्धा

काठमाडौं । विगतका उम्मेदवारलाई बिदा गरेको खोटाङको चुनावी राजनीतिक सरगर्मी बढ्दै गएको छ। यो पटक राजनीतिक दलहरुले गएका निर्वाचनमा प्रतिष्पर्धा गरेका नेताहरूलाई चुनावी प्रतिष्पर्धाको मैदानबाट बाहिर राखेका छन्। जनाधारका हिसाबले बलियो मानिएको एमालेले पछिल्ला पाँचमध्ये तीन निर्वाचनमा पराजय भोगिसकेको छ, जसले यस पटकको चुनावलाई अझै चासोको विषय बनाएको छ। विगतमा पाँच पटक उम्मेदवारी दिएर दुई पटक प्रतिनिधित्व गरेका पूर्व सचेतक विशाल भट्टराई यसपटक प्रतिस्पर्धामा छैनन्। भट्टराईको सट्टा एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीको जनाधार र पहिचानवादी मुद्दामा भट्टराई कमजोर देखिएकाले राईलाई अगाडि सारिएको हो।

यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि अनुभवी नेता हरि रोकालाई उम्मेदवार बनाएको छ। उनी २०५६ सालमै मालेको तर्फबाट ताराको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। २६ वर्षपछि फेरि त्यही चिह्न लिएर चुनाव लड्ने अवसर पाएका रोकाले २०६४ सालमा माओवादी कोटाबाट मनोनीत सभासद्का रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए। केही समय राजनीतिबाट टाढा बसेका रोकालाई यसपटक पुनः नेकपाले उम्मेदवार बनाएको हो।  नेपाली कांग्रेसले पनि यसपटक खोटाङमा नयाँ नेतृत्वलाई मौका दिएको छ। 

लगातार नेतृत्व परिवर्तन गरे पनि अपेक्षाकृत सफल परिणाम नआएको कांग्रेसले १४ औँ महाधिवेशनमा जिल्ला सभापति उम्मेदवार रहेका विरकाजी राईलाई टिकट दिएको छ। पार्टीभित्र सक्रिय भूमिका खेल्दै आएका राई महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव समेत रहिसकेका छन्। कांग्रेसले पुराना अनुहारलाई आराम दिएर नयाँ जोशसहित परिणाम निकाल्ने लक्ष्य राखेको देखिन्छ। खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङको श्रम संस्कृति पार्टीको प्रभाव पनि उल्लेखनीय देखिन्छ। युवामुखी एजेण्डासहित देशभर लहर बनाइरहेको रास्वपाले रुद्र गिरीलाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृतिबाट आरेन राई प्रतिस्पर्धामा छन्। यी दुवै दलको उदयले परम्परागत मत बाँडफाँडमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ। 

यसैगरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईले उम्मेदवारी दिएका छन्। अन्य दल र स्वतन्त्र गरी खोटाङमा कुल १५ जनाले यसपटक प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। जसपाको तर्फबाट राकेश राई, माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टीका केशरमान चाम्लिङ पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तिलकचन्द्र राई उभिएका छन्।

खोटाङको चुनावी इतिहास हेर्दा २०७९ मा कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार रामकुमार राईले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरे। २०७४ मा भने माओवादीले एमालेका विशाल भट्टराईलाई सहयोग गरेपछि उनी विजयी बनेका थिए। २०७० को दोस्रो संविधानसभामा पाँचकर्ण राई र विशाल भट्टराई दुवै निर्वाचित भए। २०६४ मा दुवै क्षेत्रमा माओवादीको दबदबा थियो। कांग्रेसले २०५६ पछि खोटाङमा जित हात पारेको छैन, जसले यसपटकको प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाइदिएको छ। खोटाङमा यो पटक पुरानो राजनीतिक शक्ति, नयाँ अनुहार, वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारबीच बहुआयामिक प्रतिस्पर्धा देखिन्छ। विभिन्न जातीय र भौगोलिक जनसमूहको मतप्रवाह मिलेर अन्तिम परिणाम निर्णायक बन्ने सम्भावना उच्च छ।

शक्ति बस्नेतदेखि हर्क साम्पाङ र हिक्मत कार्कीसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघ–संस्थालाई स्पष्टीकरण सोध्ने क्रम तीव्र बनाएको छ । यही क्रममा जाजरकोटबाट उम्मेदवार बनेका नेकपा नेता शक्ति बस्नेतसहित हर्क साम्पाङ, हिक्मत कार्की लगायतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका अनुसार जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले उम्मेदवारी दर्ताका क्रममा बाजागाजा बजाउने समूहलाई पैसा दिएको देखिने भिडिओ सार्वजनिक भएपछि आयोगमा उजुरी परेको थियो। छानबिनका क्रममा बाजा बजाइरहेका व्यक्तिहरूको टाउकोमा पाँच सय रुपैयाँका नोट सिउँरिएको दृश्य देखिएकाले उक्त गतिविधि निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्षसहित आयोगले बस्नेतसँग लिखित स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जाजरकोट निर्वाचन कार्यालय वा आयोगमा स्वयं वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि निर्वाचनमा बालबालिकाको प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ । आयोगका अनुसार निर्वाचन अभियानमा बालबालिकाको प्रयोग आचारसंहिताले निषेध गरेको विषय हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आयोगको ध्यान गएको छ । झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा कार्की सरकारी गाडी प्रयोग गरेर सहभागी भएको उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन प्रसारप्रसारमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने व्यवस्था आचारसंहितामा स्पष्ट गरिएको छ ।

आयोगले राप्रपाबाट काठमाडौं–४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण तथा यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी व्यक्तिको सहभागिता गराएको विषयमा स्पष्टीकरण सोधिएको थियो। खरेलले भने आयोगमा जवाफ पेस गर्दै आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यसका अतिरिक्त निर्वाचनसँग सम्बन्धित गतिविधिमा संलग्न भएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भएमा सुरुमा तीन दिने स्पष्टीकरण सोध्ने, दोस्रो पटक २४ घण्टे समय दिने र त्यसपछि पनि उल्लंघन दोहोरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । आयोगसँग जरिवानादेखि उम्मेदवारी खारेजसम्मको अधिकार रहेको उनले स्पष्ट पारे । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवार, दल र सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ ।

 

 

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ ।

सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता लागू गराउन ध्यानाकर्षण गराएको हो ।

एमाले र प्रलोपाबीच चुनावी तालमेल, यस्ता छन् तीन बुँदे सहमति

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच कर्णाली प्रदेश र पुरानो राप्ती अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा दुबै दलबीच संयुक्त रूपमा चुनाव लड्ने समझदारी बनेको हो ।

आइतबार काठमाडौँमा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष परिषद सदस्य दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार हुम्ला र जुम्ला बाहेकका कर्णालीका सबै जिल्लामा प्रलोपा एमालेको चुनाव चिह्नमा मतदान गर्न तयार भएको छ ।

कर्णाली प्रदेशमा सल्यान, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोल्पा, कालिकोट, मुगु, हुम्ला र जुम्ला जिल्ला रहेका छन् । यीमध्ये सल्यानसहित साविक राप्ती अञ्चलका जिल्लामा प्रलोपा एमालेको पक्षमा उभिनेछ भने रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपालाई समर्थन गर्ने सहमति भएको छ । विशेष गरी रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्ने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपा उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपा उम्मेदवार सन्दीप पुनलाई एमालेले समर्थन गर्नेछ ।

हुम्ला र जुम्लामा भने दुवै दल आ–आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धामा छन् । हुम्लामा एमालेबाट दल फडेरा र प्रलोपाबाट जटिल कार्की उम्मेदवार छन् । त्यहाँ कांग्रेस, नेकपा, राप्रपा र रास्वपाका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । यस्तै जुम्लामा एमालेका शान्तिलाल महत र प्रलोपाका मनऋषि धितालबीच प्रतिष्पर्धा हुँदैछ, जहाँ अन्य दलका उम्मेदवारहरूको पनि उल्लेख्य उपस्थिति छ । सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई तत्काल निर्देशन दिने बताएका छन् । कर्णाली र राप्ती क्षेत्रमा शक्ति सन्तुलन बदल्न सक्ने यो तालमेलले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।

ओलीलाई पाण्डेको सुझाव : निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिनू

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टीभित्र एकता र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले यस चरणमा नेतृत्वबाट आउने अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल खस्काउने होइन, झन् उत्साह र एकतामा बाँध्ने खालका हुनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणका विषयमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । उनले चुनावी माहोलमा आपसी टिप्पणी र सार्वजनिक न्यूनीकरणले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै संस्थागत निर्णय र सामूहिक सोचको आधारमा अघि बढ्नु नै राजनीतिक परिपक्वता भएको उल्लेख गरेका छन् ।

पाण्डेले लेखेका छन्, ‘निर्वाचनको यो संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । नेतृत्वका भनाइहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ । आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा कमजोर बनाउनुको सट्टा संस्थागत निर्णयको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै सही बाटो हो ।’

टिकट वितरणप्रति असन्तुष्टि रहे पनि पार्टी निर्णयलाई संस्थागत रूपमा स्वीकार गरिसकेको स्पष्ट पार्दै पाण्डेले यस विषयमा अनावश्यक विवाद नगर्ने बताएका छन् । उनका अनुसार पार्टी हितका लागि टिकट वितरणको ‘क्याल्कुलेसन’ स्वीकार गरिएको हो, तर पूर्वाग्रही टिप्पणीहरूले एमालेको साझा लक्ष्य—चुनाव जित्ने संकल्प—लाई सहयोग नगर्ने उनको ठम्याइ छ ।

‘वैचारिक असहमति राख्ने साथीहरू पनि मेरो लागि उत्तिकै आदरणीय एमाले हुन्’, पाण्डेले भनेका छन्, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने संस्कार मेरो राजनीतिक जीवनमा छैन ।’ उनले व्यक्तिगत टिप्पणीहरूको खण्डनमा समय खेर फाल्नुभन्दा अहिलेको प्राथमिकता एमालेका उम्मेदवारहरूलाई जिताउने र संगठनको साख जोगाउने रहेको बताएका छन् । त्यसका लागि आफू पूर्ण रूपमा चुनावी मैदानमा खटिइसकेको पनि उनले उल्लेख गरेका छन् ।

पाण्डेको सन्देश समग्रमा पार्टीभित्र एकता, संयमता र सामूहिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने आग्रहका रूपमा आएको छ । उनले चुनावी प्रतिस्पर्धालाई जितमा बदल्न नेतृत्वदेखि कार्यकर्तासम्म सबै एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

कार्यकर्ता फकाएर काठमाडौं फर्के ओली, पूर्वी पहाड घुम्दै ओलीको जन्मथलोमा बालेन

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को राजनीतिक मैदान तातिएको छ । एकातिर आफ्नै कार्यकर्ताको असन्तुष्टि साम्य पार्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लामै ‘फायर फाइटिङ’ मा देखिएका छन् भने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह (बालेन) धार्मिक यात्रा, सडक यात्रा र प्रतीकात्मक उपस्थितिमार्फत मतदातासम्म पुग्ने रणनीतिमा छन् ।

ओली : ‘कन्फर्ट जोन’ बाहिरको चुनाव
२०७४ मा ‘रतुवाको पाता कस्छु’ भन्ने एक वाक्यले चुनाव जितेका ओलीका लागि झापा–५ यस पटक सहज देखिएको छैन । रतुवा खोलामा पुल बनेपछि पुरानो चुनावी मुद्दा त सकियो, तर नयाँ चुनौती आफ्नै पार्टीभित्र देखिएको छ ।

माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका ओली आन्दोलनका क्रममा आगजनी भएपछि आफ्नो पुरानो निवासमा नबसी होटलबाटै कार्यक्रम सञ्चालन गर्न बाध्य भए । पत्नी राधिका शाक्यसहित आएका उनले उम्मेदवारी मनोनयनपछि अधिकांश समय वडा कमिटी, जनवर्गीय संगठन र स्थानीय कार्यकर्तासँग बिताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, गौरादहका–८ र गौरीगञ्जका चार वडा समेटिएको क्षेत्रका २९ वटै वडा कमिटीसँग छलफल गर्दा कार्यकर्ताको स्वर एउटै थियो–नेताहरू गाउँ आउँदैनन्, अध्यक्ष घेराबन्दीमा पर्नु भएको छ ।

गौरादह–२ का वडा अध्यक्ष योगेन्द्र भण्डारीले ‘अघिल्ला चुनावभन्दा अवस्था कठिन भएको’ संकेत गरे भने वडा–८ का खेमराज अधिकारीले अध्यक्ष सीमित नेताको वरिपरि मात्र घुमिरहेको गुनासो राखे । ‘फोटो खिचेर फर्किने नेताले होइन, गाउँमा बसेर जवाफ दिने नेता चाहिएको छ’, उनको भनाइ थियो । युवा संघमा देखिएको असन्तोषले ओलीलाई थप दबाबमा पारेको छ । दमकका युवा संघ अध्यक्षले पार्टी छाड्दा, कमल गाउँपालिकामा पनि संगठनात्मक समस्या देखियो ।

‘दैनिक २ हजार ५ सय मान्छे भेट्छु’
आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले कार्यकर्तालाई आफ्ना सीमितता सुनाए । ‘दैनिक २ हजार ५ सय मान्छे भेट्नु पर्छ, तपाईंहरूसँग भेट भयो तर बात मार्न पाइनँ’, उनले महारानीझोडामा भने । भूगोलमा नआउने नेताको नाम खुलस्त भन्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले ढोका बन्द गरेर भए पनि कुरा गर्न निर्देशन दिए । उनले राष्ट्रिय राजनीतितर्फ मोडिँदै यो चुनावलाई ‘देश बचाउने र देश जलाउनेबीचको लडाइँ’ को संज्ञा दिए ।

बालेन : यात्रामार्फत सन्देश
झापा–५ मा अर्का दाबेदार बालेन्द्र हाह भने फरक शैलीमा मैदानमा उत्रिएका छन् । उम्मेदवारी मनोनयनपछि पूर्वी पहाड केन्द्रित यात्रामा निस्किएका बालेन पाथिभरा दर्शनपछि तेह्रथुमको म्याङलुङ आइपुगेका छन् ।

बालेनलाई रास्वपाका स्थानीय नेता–कार्यकर्ताले म्याङलुङ नगरपालिका–१ मा स्वागत गरे । उनी त्यहाँ ब्लु हेबन होटलमा बास बसेका छन् । इलाम, फिदिम, ताप्लेजुङ हुँदै अघि बढेको यो यात्रालाई रास्वपाले ‘जनतासँग प्रत्यक्ष जोडिने अभियान’ को रूपमा प्रचार गरेको छ । भोलि धनकुटा हुँदै दमक पुगेर घरदैलो अभियान सुरु गर्ने कार्यतालिका छ ।

झापा–५ मा चुनावी कथा बदलिँदै
एकातिर लामो समयदेखि सत्ताको केन्द्रमा रहेका ओली संगठन जोगाउने र कार्यकर्ताको भरोसा फर्काउने संघर्षमा छन् । अर्कोतिर बालेन पुराना संरचनाभन्दा बाहिरको प्रतीकात्मक राजनीति र यात्रामार्फत नयाँ मतदाता तान्ने प्रयासमा छन् । झापा–५ को यो चुनाव अब पुल, सडक र बजेटको मात्र होइन–नेतृत्वको पहुँच, संगठनको भरोसा र राजनीतिक शैलीको टकराव बनेको छ ।

४९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत आज दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । आजै आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दैछ ।

स्वतन्त्र उम्मेदवारले आज चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरूले दलको चिह्न पाउने छन् । त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए ।

सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छ : डा. भुसाल

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको १९ औं अधिवेशनको शुभारम्भमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यसैगरी उनले सो निर्वाचनमा नेपाली जनताले मुलुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरुलाई चयन गर्नुपर्ने बताए ।

नेता भुसाललेसंविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरुलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताए । उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताए। नेता भुसालले भने, ‘निर्वाचनसँग जोडिएर कुरा गर्दा अब जनताकाले कस्तो प्रतिनिधि चुन्ने ? एउटा गम्भिर प्रश्न जनताको माझमा खडा भएको छ । सबभन्दा पहिलो प्रश्न त यो सरकारले यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित गराउन सक्छ कि सक्दैन ? गम्भिर प्रश्न त्यहाँ छँदैछ । सँगसँगै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि खडा भएको छ ।’

उनले भने, ‘देशलाई संविधानको बाटोमा अघि बढाउनका लागि काम गर्ने प्रतिनिधि छान्ने हो कि यस संविधानलाई च्यातेर फाल्नुपर्छ भन्ने जस्ता मानिसहरुलाई प्रतिनिधि छान्ने हो ? देश निर्माण गर्नुपर्छ भन्ने प्रतिनिधि छान्ने हो कि देशलाई ध्वंस बनाउने, भएका संरचनाहरु ध्वंंश गर्नेहरुलाई छान्ने हो ? यो गम्भिर प्रश्न हाम्रा सामू छन । जनताका सामू पनि छन् । यस्तो अवस्थामा हामी यो सभाको बैठक बसिरहेका छौँ ।’ नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने समेत बताए ।

 

मनाङमा एमाले र राप्रपा उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

मनाङ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ । एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो । रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

 

 

छापियो एक करोड ४२ लाख बढी मतपत्र

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।

त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

आज चुनाव चिह्न वितरण गरिंदै
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । २१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।

‘चुनावी खर्चले अर्थतन्त्र चलायमान बन्छ, उम्मेदवारहरूको खर्च १८० अर्ब पुग्नसक्छ’

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले नेपाली अर्थतन्त्रमा छोटो अवधिको सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीकाअनुसार सरकारी तथा उम्मेदवारहरूको कुल खर्च करिव १८० अर्ब पुग्नसक्छ ।

जसले बजारमा पैसा प्रवाह गरी अर्थतन्त्रलाई चलायमान बनाउँछ । सरकारले चुनाव सञ्चालनमा करिव ३० अर्ब खर्च गर्दा सुरक्षा, सामग्रीलगायत क्षेत्रमा रकम बजारमा जान्छ । उम्मेदवारहरूको औपचारिक खर्च १० अर्ब भए पनि वास्तविक खर्च १५० अर्बसम्म पुग्ने अनुमान छ । यो रकमले उपभोग, यातायात र सेवामा वृद्धि ल्याउँछ । तर चुनावी अनिश्चितताले पुँजीगत खर्च घटेको छ भने लगानीकर्ता ‘पर्ख र हेर’ नीतिमा छन् । निर्वाचनपछिको सरकारको स्वरूपले दीर्घकालीन प्रभाव निर्धारण गर्ने अधिकारीको भनाइ छ । स्थिर सरकार बने सकारात्मक, गठबन्धनको अस्थिरता भए आर्थिक अनुशासन भंग हुने जोखिम छ ।

चुनावी अर्थतन्त्रको विशेषता
निर्वाचन अर्थतन्त्र सामान्य भन्दा फरक हुन्छ । निर्वाचन अघिको अर्थतन्त्र र निर्वाचन पछाडी प्रभावित हुने अर्थतन्त्रका रुपमा हेर्नुपर्ने हुन्छ । निर्वाचन अघिको अर्थतन्त्र हेर्दा सरकारी तर्फबाट चुनावका लागि बजेट खर्च हुनेछ । २०४८ मा ८० करोड चुनाव गराउन खर्च भएकोमा अहिले ३० अर्ब खर्च हुँदैछ । झण्डै ४० गुणा खर्च बढिसकेको स्थिति छ । यो स्वभाविक हो किनभने त्यति नै गुणामा अरु पनि वृद्धि भएको छ । त्यसलाई अन्यथा रुपमा लिनु हुँदैन । सरकारले खर्च गर्ने चुनावी बजेटले सार्वजनिक खरिद गरिने गरिएको छ भने निर्वाचन प्रहरीसम्मै खर्च गरिने गरिएको छ । सरकारले प्रहरीलाई दिने पैसा उनीहरुले दैनिकी चलाउने हुन् । यो बजारमा जाने पैसा हो ।

उम्मेदवारहरूको वास्तविक खर्च
औपचारीक तवरले निर्वाचन आयोगमा घोषणा गर्ने हिसावले उम्मेदवारले गर्ने खर्च कुल १० अर्ब मात्रै हुन्छ । ३४ सय उम्मेदवार हुँदा एक उम्मेदवारले २५ लाखदेखि ३५ लाखसम्म खर्च गर्न पाउँछन् । सरदरमा उनीहरुको खर्च ३० लाख मान्दा १० अर्ब आउनेछ । तर नेपाली प्रवृत्ति हेर्ने हो भने निर्वाचन आयोगमा बुझाउने खर्चको तुलनामा १० गुणासम्म उम्मेदवारले खर्च गर्ने गरेका छन् ।

अहिलेसम्मको प्रवृत्ति हेर्दा संघीय चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारले घटीमा २ करोड र बढिमा १० करोडसम्म खर्च गरेको आकडाहरु आएका छन् । त्यो हिसावले हेर्दा औषतमा ६–७ करोड एउटै उम्मेदवारले खर्च गर्छन । यसरी हेर्दा १५० अर्ब जति रकम अर्थतन्त्र भित्र प्रवेश हुन्छ । बैंकहरुमा धेरै रकम थ्रुपिएकाले त्यहाँबाट बाहिर पैसा आउनेछ भने अर्को कुरा बैंकबाट बाहिरबाट पनि पैसा आउन सक्छ । विदेशबाट पनि पैसा आउन सक्छ ।

सकारात्मक र नकारात्मक प्रभाव
यसले दुइ वटा प्रभाव पार्नेछ । एउटा आन्तिरीक हिसावले केही मात्रमा उत्पादन बढ्नसक्ने सम्भावना छ भने मासुको प्रयोग ज्यादा हुनसक्छ । रक्सीको प्रयोग बढ्छ । मुलकुरा चुनावमा सवारी साधनको प्रयोग बढ्नेछ । तराईमा सवारी साधन चलाउँदा त्यस्तो साधन नै भारतबाट ल्याइने गरिएको छ । त्यसले गर्दा आयात पनि बढ्नसक्छ भने पैसा अनौपचारिक हिसाबले बाहिर पनि जानेछ । भारतबाट सबारी भाडामा ल्याउँदा औपचारिक तवरले पैसा जाने देखिँदैन ।

यसले आयात र उपभोगलाई बढाउन सक्छ । सामाजिक न्यायको हिसावले कहि जमको पैसा बजारमा आउनेछ । यो एक हिसाबले राम्रै पनि हो । किनभने कतिपय पैसा भोटरदेखि प्रविधि चलाउनेसम्मको हातमा जानसक्छ । त्यसैकारण अर्थतन्त्रलाई चुनावले चलायमान बनाउछ । आयात बढ्दा उपभोगमार्फत बढ्ने राजस्व बढ्नसक्छ ।

पुँजीगत बजेट खर्च हुन्छ
चुनावमा विकास बजेट खर्च हुँदैन त्यसकारण सरकारी खर्चमा प्रतिकुल असर पार्नेछ । गत वर्ष पुषसम्ममा १७ प्रतिशत विकास बजेट खर्च भएकोमा यसपटक ११–१२ प्रतिशत मात्रै खर्च भएको छ । यसले के देखायो भने चुनाव आउनुअघि नै विकास बजेट खर्चमा असर परेको प्रत्यक्ष देखाउँछ । बैंकहरुबाट ऋण प्रवाह हुनेकुरामा पनि असर पर्ने देखिन्छ ।

किनकी अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका छन् । अहिले उद्योगहरु राम्रोसँग नचल्दा पनि बैंकमा उद्योगीहरु कर्जा लिन गइरहेका छैनन् । निर्वाचनले यसमा पनि प्रभाव पारेको देखिन्छ । जसकारण आर्थिक वृद्धिदर कम हुने अनुमान भइसकेको छ । अर्थमन्त्री रामेश्वर खनालले १ खर्ब बढिका योजना शुरुमै रोक्नुभयो र ती सबै रोक्ने खालका थिएनन् र पछि केही फुकुवा पनि भयो । अहिले सार्वजनिक ऋण पनि बढिरहेको छ । जिडिपीको तुलनामा करिव ४६ प्रतिशत सार्वजनिक ऋणको हिस्सा पुगेको छ । यो निर्वाचनपछि आउने सरकारलाई ऋणको भार बढ्ने देखिन्छ ।

निर्वाचन पछि राजनीति प्रभाव हुनसक्छ । एकातिर निर्वाचनले निकास पनि दिन्छ भने तर निर्वाचनले सधैँ निकास दिँदैन । सरकार कस्तो अनुहारको आउँछ भन्नेले धेरै महत्व राख्छ । कसैले बहुमत बनाउने वा दुई वटा पार्टी मिलेर सरकार बनाउने स्थीति आउछ भन्नेले महत्व राख्छ । भोलि १० ओटा पार्टी नभइ सरकार बन्ने स्थिति पनि आउनसक्छ । त्यस्तो अवस्था भयो भने पैसा बाँड्ने प्रवृत्ति शुरु हुनसक्छ । आर्थिक अनुशासन भंग हुन सक्छन् ।

आमाहरूको रहर : निर्वाचन प्रहरी बनेर घरखर्च जुटाउने

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छन् । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउँछिन् ।

‘यो उमेरमा रहरले त के हुन्थ्यो र १ परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ,’ उनले भनिन्, ‘यसअघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभ भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।’ तीन सन्तानमध्ये एक छोरा नौ कक्षा र अर्को छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । अर्का छोरा भने सवारीदुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन्। उनको पति भने खेती किसानी गर्दै आइरहेका छन्। घाइते छोराको उपचारार्थ केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको उनी बताउँछिन् ।

‘‘अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिएँ । यसपालि के हुने हो हेरौँ’ उनले भनिन्,‘आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।’ अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहेकी छन् । स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उनको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताइन् । ‘निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ,’ उनले भनिन् ,‘निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइखर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।’

वीरगञ्जको नारायणी रङ्शालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा उत्रिएकी छन् । ‘आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु,’ उनले भनिन्, ‘निर्वाचन प्रहरी भएर देशको सेवाको साथसाथै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।’ उनले आफ्नो एउटा छोरो कक्षा आठ र अर्को छोरो नर्सरीमा अध्ययनरत रहेको बताइन् । उनको पति भने फोहरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आएका छन् ।

अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिला निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्शालामा शारीरिक अभ्यासमा सहभागी भएका छन् । तिनैमध्ये १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिहेकी छन्।‘फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भए पनि कमाउनको लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ,’ उनले भनिन्, ‘हामी जस्तै जेनजी उमेर समूहका साथीहरुले आन्दोलन शहादत प्राप्त गर्नुभयो, हामी भने निर्वाचन सफल गराउन र तिनै सहिदहरुको चाहना पूरा गराउन सहभागी भएका हौँ।’

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने अभिलासा बोकेर शारीरिक छनोटमा जुटेका छन् । ‘म यसअघि वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्नका लागि दुई–तीन पटक प्रतिस्पर्धा गरिसकेँ तर अहिलेसम्म सफलता हात पार्न सकेको छैन,’ उनले भने । एकपटक निर्वाचन प्रहरी बनेर देशको सेवा पनि गरौँ भन्ने चाहनाले आएको महतोले बताए । निर्वाचन प्रहरीको अनुभवले प्रहरी जवान बन्नका लागि पनि केही सहयोग होला कि भन्ने उनको बुझाइ रहेको छ। निर्वाचन प्रहरी बन्ने रहर बोकेका महतोले आफू निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयत्न गर्ने बताए ।

‘अहिले जेनजीको सरकार रहेको छ । पक्कै पनि भयरहित र शान्तिपूर्ण निर्वाचन गराओस् भनेर नै यसमा सहभागी बनेको हुँ’, उनले भने । पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि केही काम नभएको बेला समयको सदुपयोग गर्न भन्दै निर्वाचन प्रहरी बन्न लागेको बताउँछन्। ‘त्यसै घरमा बस्नुभन्दा केही अनुभव पनि हासिल गर्न पाइन्छ कि भनेर निर्वाचन प्रहरीमा सहभागी भएको हुँ,’ उनले भने, ‘देशको सेवा पनि हुने र पैसा पनि कमाइने भएकाले पनि यसमा लागेको हुँ ।’ सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरुको घुइँचो लागेको हो। पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतर्फ गरेर दुई हजार आठ सय ५२ जना आवेदन माग गरेको थियो।

नेपाल प्रहरीतर्फ भने पाँच हजार तीन सय ९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ तीन सय ८५ जनाको आवेदन माग भएकोमा पाँच सय ७१ जनाको आवेदन परेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषमा उत्साहजनक सहभागिता देखिएको बताए । ‘सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्नको लागि उपस्थित छन् । कतिपय सन्तान जन्माइसकेका महिलाहरु पनि सरिक हुनुभएको छ । यसले छोटो अवधिको लागि भए पनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले पनि सहभागिता जनाएका हुनसक्छ ।’ संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिला पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताए ।

‘यसले यहाँका महिला अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने देखाएको छ,’ उनले भने, ‘निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौंँ ।’ पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरुले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेका छन् । पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताए ।

‘यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको सङ्ख्या दोब्बरभन्दा धेरै छ,’ उनले भने, ‘एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवा पुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होला जस्तो लाग्छ ।’ पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलो पटक आवेदन दिने पुरुषको संख्या तीन हजार एक सय ४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको संख्या भने छ सय तीन जना रहेका छन् ।

निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रुपमा खटिएका छ सय ८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रुपमा खटिएका एक सय ५३ जना महिलाको आवेदन परेको छ । त्यस्तै गरी पूर्व सुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए ।

 

सप्तरी–२ मा त्रिकोणात्मक प्रतिष्पर्धा, राउतविरुद्ध आफ्नै पूर्व सहयात्री र पुराना शक्ति

सप्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मधेसको राजनीतिक केन्द्र मानिने सप्तरी क्षेत्र नम्बर–२ यस पटक अत्यन्त रोचक र जटिल प्रतिष्पर्धाको केन्द्र बन्दै गएको छ । २०७९ को निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत यस पटक भने सजिलो अवस्थामा देखिँदैनन् । कारण, उनका मुख्य प्रतिष्पर्धी बनेका छन्–पूर्व सहकर्मी र पुराना राजनीतिक शक्ति ।

२०७९ सालको निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको हैसियत दिलाएको थियो भने राउत मधेसको नयाँ राजनीतिक अनुहारका रूपमा उदाएका थिए । तर साढे तीन वर्षको अवधिमा जनमत पार्टी आन्तरिक विवाद, विभाजन र नेतृत्वमाथि उठेका परिवारवादका आरोपका कारण कमजोर बनेको विश्लेषण भइरहेको छ ।

यस पटक सप्तरी–२ मा राउतका लागि मुख्य चुनौती बनेका छन्–पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र जसपा नेपालका उम्मेदवार उमेश यादव । सिंह २०७९ को निर्वाचनमा जनमत पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भई मुख्यमन्त्रीसमेत बनेका थिए । तर पार्टी नेतृत्वसँग असन्तुष्टि बढ्दै गएपछि उनले प्रदेश सांसदबाट राजीनामा दिएर आफ्नै दाइ नेतृत्वको स्वाभिमान पार्टीबाट राउतकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जनमतका संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका सिंहको स्थानीय तहमा राम्रो पकड रहेकाले उनले राउतको मत काट्ने आँकलन गरिएको छ ।

त्यस्तै, जसपा नेपालले पूर्व माओवादी नेता उमेश यादवलाई उम्मेदवार बनाएको छ । उपेन्द्र यादव स्वयं यस पटक सप्तरी–३ बाट उम्मेदवार बनेपछि सप्तरी–२ को जिम्मेवारी उमेश यादवलाई सुम्पिएको हो । उमेश यसअघि संविधानसभा सदस्य र मन्त्री भइसकेका अनुभवी नेता हुन् । २०७० सालमा सप्तरीबाट निर्वाचन जितेका उनी २०७४ र २०७९ मा भने पराजित भएका थिए । यस पटक जसपा, लोसपा र माओवादी पृष्ठभूमिको मत जोड्ने प्रयासमा रहेका उमेश यादवलाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ ।

सप्तरी–२ मा राजविराज नगरपालिकासहित महत्वपूर्ण क्षेत्र पर्छन् । यहाँ विगत २०६४ यता कुनै पनि नेताले दोहोर्‍याएर निर्वाचन जित्न सकेका छैनन् । यही ऐतिहासिक प्रवृत्तिले पनि राउतको पुनः जितमाथि प्रश्न उठाएको छ । जनमत पार्टीभित्र देखिएको विभाजन र शीर्ष नेताहरूको पलायनले राउतलाई थप कमजोर बनाएको छ । पार्टीका पूर्व उपाध्यक्ष तथा मन्त्री अब्दुल खान नागरिक उन्मुक्ति पार्टीमा गएका छन् भने अर्का उपाध्यक्ष दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै, जनमतका पूर्व प्रवक्ता डा. शरद यादवले जनअधिकार पार्टी खोलेर राउतविरुद्ध उम्मेदवारी दिएका छन् । यी सबैले राउतको आधार मतमा क्षति पुग्ने अनुमान गरिएको छ ।

राउतमाथि परिवारवाद र नातावादको आरोप पनि निर्वाचनको प्रमुख मुद्दा बनेको छ । दाइ जयकान्त राउत, भाउजु बबिता इशर राउतलगायतलाई विभिन्न पदमा नियुक्त गरेको आरोप विपक्षीले चुनावी हतियार बनाएका छन् । यसबाहेक, राउतको पारिवारिक विवाद समेत सार्वजनिक बहसमा आएको छ, जसलाई प्रतिष्पर्धी दलहरूले प्रचारमा प्रयोग गरिरहेका छन् । यद्यपि, जनमत पार्टीका नेताहरू भने राउत अझै पनि बलियो अवस्थामा रहेको दाबी गर्छन् । संगठनात्मक संरचना, युवामाझ लोकप्रियता, ‘पुराना दलविरुद्ध नयाँ विकल्प’ भन्ने नाराका साथै सरकारमा रहँदा क्षेत्र विकासका लागि गरिएको पहलले राउतलाई फाइदा पुग्ने उनीहरूको तर्क छ ।

यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा, नेकपा लगायत दलका उम्मेदवार भए पनि मुख्य प्रतिष्पर्धा राउत, सिंह र उमेश यादवबीच नै सीमित हुने देखिन्छ । कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मो. जियाउल रहमान, रास्वपाबाट रामजी यादव उम्मेदवार भए पनि उनीहरूको प्रभाव सीमित रहेको स्थानीय विश्लेषकहरू बताउँछन् । समग्रमा, एक समय मधेसको ‘सेफ सीट’ मानिएको सप्तरी–२ यस पटक तीन धारमा विभाजित प्रतिष्पर्धाका कारण अनिश्चित बनेको छ । आफ्नै पूर्व सहयात्री र पुराना राजनीतिक शक्तिको घेराबन्दीमा परेका डा. सीके राउत पुनः जनताको विश्वास जित्न सफल हुन्छन् वा २०६४ यताकै परम्परा दोहोरिँदै नयाँ अनुहारले बाजी मार्छ–त्यसको फैसला अब मतदाताको हातमा छ ।

 

 

 

झापाका उम्मेदवार बालेन इलाममा {तस्वीरहरू}

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा सक्रिय भएका छन् । पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न र चुनावी प्रचारप्रसारलाई तीव्रता दिन उनी बिहीबार इलाम पुगेका हुन् । इलाम पुगलगत्तै नेता शाहले विभिन्न क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । उनले इलामका मुख्य बजारदेखि गाउँवस्तीसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

यसअघि नेता शाहले गत मंगलबार झापा क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तापछि बुधबार दिनभर उनले झापाका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट र छलफल गरेका थिए । झापाको कार्यक्रम सकेर उनी छिमेकी जिल्ला इलामको चुनावी अभियानमा केन्द्रित भएका हुन् । त्यहाँ उनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ ।

हेर्नुस् तस्वीर

निर्वाचनका बेला कति बढ्ला पेट्रोलियम पदार्थको खपत ?

काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए । उनकाअनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ ।

कार्यकारी निर्देशक भट्टले भने, ‘हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदैछौँ । चुनाव हुने निश्चित नै भयो । चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरुलाई स्टक राख्न भन्ने छौँ ।’ कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले करिब २०–२५ लाख लिटर पेट्रोल औषतमा खपत हुने गरेको छ । डिजेल ३८–४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औषतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।

चुनावका बेला बोर्डर बन्द हुने भएकोले इन्धन दुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए । कार्यकारी निर्देशक भट्टले भने, ‘चुनावका बेला हामी अलि चनाखो भएर कति दिन बोर्डर बन्द हुन्छ, त्यो किसिमले हाम्रा ट्याङ्करहरु, भएका भण्डारण गृहहरु पूरा भरेर राख्ने छौं । हामीसँग भएका १७–१८ सय ट्याङ्करहरु मोभिलाइज गर्नेछौँ । त्यो ट्याङ्करमा पनि स्टक राखिनेछ । यसरी हामीले आपूर्ति व्यवस्थालाई सहज बनाउनेछौँ ।’ उनले २–४ दिन बोर्डर बन्दै भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए । कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसैसाता आयल निगम निर्णयमा पुग्नेछ ।

नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाउँदै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हबाइ इन्धन, ग्यास ल्याउने गरेको छ । हाल वितरण, डिपोहरु आयल निगम नआएरै मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्नसक्ने व्यवस्था निगमले मिलाएको कार्यकारी निर्देशक भट्टले बताए । नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीब्र पारेको छ । २ वर्ष अघिसम्म पेट्रोल ८ दिनलाई डिजेल १२ दिनलाई मात्रै धान्नसक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएलको ४ वटा इन्धन भण्डारण ट्याङ्की निर्माण गरेको छ । पोखराको १० हजार केएल ट्याङ्कीलाई निगमले संचालनमा समेत ल्याएको छ । त्यस्तै विराटनगर, नेपालगंजमा रहेका ट्याङ्कीहरुलाई प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगेको छ । अहिले डिजेल करिव १४ दिनलाई र १२ दिनलाई पेट्रोल भण्डारण गर्ने क्षमता निगमको रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

पाइपलाइनको काम पनि तीव्र
नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीब्र समेत पारेको छ । अहिले मोतिहारी अमलेशगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । २०७६ मा डिजेलमात्रै पाइपलाइनबाट ल्याइएकोमा अहिले अमेलेशगञ्जमा पेट्रोलको भण्डारण गृह बनाएर पेट्रोल, केरोशिन पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए ।

उनकाअनुसार अहिले डिजेल, पेट्रोल, मट्टितेल जतिबेला आवश्यक पर्‍यो त्यतिबेला भारतबाट ल्याउन सहज रहेको छ । भारतबाटै ट्याङ्करमा इन्धन ल्याउँदा बेलाबेलामा ल्याउन कठिन हुने गरेकोमा अहिले त्यस्ता अवस्था हटेको उनको भनाइ रहेको छ । कार्यकारी निर्देशक भट्टका अनुसार इन्धन पाइपलाइनमार्फत ल्याउँदा ढुवानी भाडामा समेत सस्तो पर्ने गरेको छ । दुवानी खर्च कटौंती भएकै कारण उपभोक्तलाई प्रतिलिटर २ रुपैंयाँ इन्धन सस्तो पर्न गएको छ । आगामी दिनमा पनि पाइपलाइन विस्तारको काम चलेकाले अझ दुवानी लागत घट्ने र उपभोक्तालाई भार कम पर्न जाने उनको भनाइ रहेको छ ।

भट्टका अनुसार अहिले फेरि नयाँ पाइपलाइन योजना अघि बढाइँदैछ । अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ । पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ । यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ ।

 

 

 

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरी कारबाही गर्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उनले आयोगमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिए ।

निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाई छ । उनकाअनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । उनले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने बताए । उनले उम्मेद्वारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्दै ती कार्य आयोगको नोटिसमा रहेको बताए । उनले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिए ।

उनले भने, ‘आचारसंहिता कार्यन्वयन नभएको अवस्थामा आचारसंहिता विपरितका गतिविधिहरु भएको अवस्थामा त्यसलाई कसरी नियमित गर्ने भन्ने सम्वन्धमा आयोगले पहिले नै तयारी गरिसकेको छ । निर्वाचन क्षेत्रस्तर, जिल्लास्तर, केन्द्रस्तरसम्म निर्वाचन आयोगका संयन्त्रहरु स्थापित भइसकेको अवस्था छ । उहाँहरुले दिएको रिर्पोटको आधारमा आयोगले अध्ययन गरेर त्यसलाई कुन किसिमको, कुन लेभलको कारबाही अगाडी बढाउनु पर्छ, त्यो गर्ने आयोगको तयारी छ, आयोगले त्यसरी नै गर्छ ।’

घिमिरेले भने, ‘जहाँसम्म हिजो (मंगलवार मनोनयनको बेला) को कुराहरु छन्, आयोगले आफ्ना संयन्त्रमार्फत यी विषयहरुको जानकारी लिएको छ, उसलाई पनि थाहा छ । आयोगले पनि यो कुरा अध्ययन गरिरहेको छ । केही उजुरीहरु प्राप्त भए, त्यस किसिमका उजुरीका सम्बन्धमा पनि आयोगले थप कारबाही अगाडि बढाउँछ । त्यसले गर्दा यो दुई वटै तरिकाले निर्वाचन आचारसंहितालाई कार्यन्वयन हुन्छ । आफ्ना संयन्त्रमार्फत आएका रिर्पोटका आधारमा पनि एक्सनमा आयोग जान्छ, उजुरी आईसकेपछाडी त्यो उजुरीलाई पनि तत्काल कारबाही गर्नेगरि आयोग एक्सनमा जान्छ, यी दुबै तरिकाले तरिकाले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यन्वयन गर्न अगाडी बढिन्छ ।’

उत्साहपूर्वक ३,४८६ उम्मेदवारको मनोनयन दर्ता
प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए । मंगलवार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो । राजनीतिक दल र उम्मेदवारहरूले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताए । उनकाअनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उनले बताए । उनले भने, ‘प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४ सय ८६ जना उम्मेद्वारहरुले आफ्नो नाम दर्ता गर्नुभएको छ । त्यसमा ३ हजार ८९ जना पुरुष उम्मेद्वार हुनुहुन्छ भने ३ सय ९६ जना महिला उम्मेद्वार हुनुहुन्छ । १ जना चाहीँ अन्य समूहको उम्मेद्वारले आफ्नो नाम दर्ता गराउनु भएको छ । यो दर्ता प्रक्रियामा निर्वाचन आयोगले विगतदेखि नै अलिकति तयारीको व्यवस्थापन गरेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलयहरुमा उम्मेद्वारले आफ्नो नाम गर्न पाउने व्यवस्था गरेको थियो ।’

उनले भने, ‘हिजोको वातावरण, उत्साह राजनितिक दलका उम्मेद्वारहरुले देखाउनु भएको संयमता र शान्ति सुव्यवस्था हेर्दाखेरी साह्रै राम्रो वातवरणमा, शान्तिपूर्ण वातावरणमा उम्मेद्वारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । यसले के देखाउँछ भने हामीले निर्वाचन घोषणा भएदेखि नै निर्वाचन आयोगले भन्दै आएको कुरा हो, हामी स्वच्छ, स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्छौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न हुन्छ भनेर निर्वाचन आयोगले भनेको कुरालाई हिजो देखाउनु भएको आम मतदाता लगायत उम्मेद्वारहरुले देखाउनु भएको संयमता र शान्तिपूर्ण स्थिति, त्यो कारणले अब निर्वाचन फागुन २१ गते यही तरिकाले सम्पन्न हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।’

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानून तथा निर्वाचनसम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए । अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उनले बताए ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिन्ह सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाइको काम अघि बढाइने घिमिरेले जानकारी दिए । उनकाअनुसार निर्वाचन आचारसंहिताअनुसार फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । मौन अवधि फागुन १८ गते रातिदेखि लागू हुनेछ । सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भएपनि जुलुस, र्‍याली र आमसभा गर्न आचारसंहिताले निषेध गरेको उनले बताए ।

उनले भने, ‘फागुन ३ गतेपछि राजनितिक दल र उम्मेद्वारहरुले प्रचारप्रसार गर्न पाउने अवधि निर्धारण गरिएको छ । त्यो भन्दा अगाडीको अवधीमा राजनीतिक दल अथवा उम्मेद्वारहरुले आफ्ना मतदाताहरुसँग घरदैलो कार्यक्रम गर्न सक्नु हुन्छ । मतदातासँग भेटघाट गर्न सक्नुहुनेछ । तर जुलुस, र्‍याली, आमसभा जस्ता ठूला वृहत किसिमका कार्यक्रमहरु गर्नलाई आचारसंहिताले नै रोकेको अवस्था छ । त्यसले गर्दा मूल प्रचारप्रसारको अवधी भनेको फागुनको ३ गते पछाडि १८ गते मौन अवधि अगाडीसम्म रहेको छ । मौन अवधि फागुन १८ गते राती शुरु हुन्छ । सो अवधिमा आचारसंहिताले तोके अनुसार राजनितिक दल र उम्मेद्वारहरुले प्रचारप्रसार गर्न पाइन्छ, आचारसंहिताले तोकभन्दा बाहीर गर्न पाइँदैन ।’
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि देशभर मंगलवार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका थिए । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचन हुँदैछ ।

 

महँगो निर्वाचन : १९ अर्ब बढी निकासा, सुरक्षा र व्यवस्थापनमै ठूलो हिस्सा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि १९ अर्ब रुपैयाँ बढी बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई चरणबद्ध रूपमा १९ अर्ब ११ करोडदेखि १९ अर्ब २१ करोड रुपैयाँसम्म स्रोत सहमति तथा निकासा गरिसकेको छ ।

अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्म निर्वाचन व्यवस्थापनका लागि कुल १९ अर्ब २१ करोड रुपैयाँ निकासा भइसकेको छ । यसमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, निर्वाचन आयोगलाई करिब ६ अर्ब ७२–७३ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ उपलब्ध गराइएको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार निर्वाचनसँग सम्बन्धित तीनै निकायको आवश्यकता मूल्यांकन गरेर बजेट सुनिश्चित गरिएको हो ।

सुरक्षा निकायमा सबैभन्दा ठूलो खर्च
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थामै सबैभन्दा ठूलो बजेट छुट्याइएको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका थिए । सोही प्रस्तावका आधारमा सुरक्षा निकायका लागि बजेट सुनिश्चित गरिएको हो । केन्द्रीय सुरक्षा समिति बैठकले यस पटक १ लाख ४७ हजार निर्वाचन प्रहरी (साविक म्यादी प्रहरी) भर्ना गर्ने निर्णय गरिसकेको छ ।

४० दिनको कार्यअवधिका लागि उनीहरूलाई प्रहरी जवान सरह पारिश्रमिक, पोसाक, रासन, यातायात र खाजाभत्ता उपलब्ध गराइनेछ । यस शीर्षकमा मात्रै करिब ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । यसका अतिरिक्त नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरी बलका लागि ३ अर्ब ३३ करोड, ७७ जिल्ला प्रशासन कार्यालयका लागि ३१ करोड ४६ लाख, गृह मन्त्रालयका लागि ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । निर्वाचन अवधिमा सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका करिब १ हजार ९ सय जनशक्ति परिचालन गर्ने तयारी छ ।

आयोगको खर्च : मतपत्रदेखि प्रशिक्षणसम्म
निर्वाचन आयोगले सार्वजनिक खरिद ऐन र निर्वाचन आयोग ऐन २०७३ अनुसार बजेट खर्च गर्दै आएको छ । आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा अस्थायी कार्यालय स्थापना, मतपत्र छपाइ, मतदान तथा मतगणना सामग्री, यातायात, कर्मचारी तथा स्वयंसेवक प्रशिक्षण, मतदाता शिक्षा, अभिमुखीकरण र कार्यालय सञ्चालनजस्ता शीर्षकमा बजेट खर्च हुनेछ ।

देशभर आयोगका ७ प्रदेश कार्यालय र ७७ जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन व्यवस्थापन गरिनेछ । आयोगले यसपटक निर्वाचनमा करिब २७ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको भए पनि हालसम्म सवा १९ अर्ब रुपैयाँ मात्रै निकासा भएको छ ।

अघिल्ला निर्वाचनभन्दा महँगो
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सरकारले १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ निकासा गरेको थियो । तर, वास्तविक खर्च १६ अर्ब ४९ करोड ७३ लाख रुपैयाँमा सीमित भएको थियो, जुन कुल निकासाको ९१.३७ प्रतिशत हो । त्यतिबेला निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले क्रमशः ८१.५९ प्रतिशत, ९९.७७ प्रतिशत र शतप्रतिशत बजेट खर्च गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ निकासा गरिएको थियो । सो निर्वाचनमा करिब ९०.८० प्रतिशत बजेट खर्च भएको थियो । यस पटक सुरक्षा जनशक्ति संख्या बढाइएकाले बजेट अघिल्ला निर्वाचनभन्दा बढी देखिएको गृह मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षा संयन्त्र सुदृढ गरेर निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन बजेट आवश्यक परेको हो ।
सरकारले रोक्का गरिएको विभिन्न मन्त्रालयको बजेट, टुक्रे आयोजना कटौती र अन्य स्रोत व्यवस्थापनमार्फत निर्वाचन खर्च सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ । आगामी निर्वाचनको तयारी तीव्र पार्दै तीनै निकायले बजेट कार्यान्वयन सुरु गरिसकेका छन् ।

 

उम्मेदवारी दर्ता उत्साहजनक : साँझसम्म २७५ सिटका लागि २,३३५ जना मैदानमा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ बजेपछि पनि दर्ता गराउन सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले आज ५ः३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताए । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको छ । उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए ।

थलीस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत शान्ति न्यौपानेले व्यवस्थित रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै दर्ता गर्न आउँदा अधिकृतको कार्यालयभित्र प्रवेशका लागि उम्मेदवारका साथ बढीमा पाँच जनालाई मात्र भित्र प्रवेश दिइएकाले सुरक्षा व्यवस्था पनि सहज भएको बताइन् । गोकर्णस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारी दर्ताका लागि एक हजार ५०० ले फारम लगे पनि ४ः३० बजेसम्म १५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् ।

काठमाडौं–५ मा अभिनेत्री निशा अधिकारीको उम्मेदवारी, ‘हाइ–प्रोफाइल’ सँग हुँदै प्रतिष्पर्धा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अधिकारीले आगामी एक दशक देश सेवा र सक्रिय राजनीतिमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् । कला क्षेत्रबाट राजनीतिमा प्रवेश गरे पनि आफ्नो शैक्षिक पृष्ठभूमि र सामाजिक चासोले यस यात्रालाई अर्थपूर्ण बनाउने उनको भनाइ थियो ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंलगायतको पहलमा स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टीमा अधिकारी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन् । धेरैका लागि उनको उम्मेदवारी अप्रत्याशित देखिए पनि उनी राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) पूरा गरिसकेकी छिन् भने ‘कन्फ्लिक्ट, पीस एन्ड डेभलपमेन्ट’ विषयमा एमफिल शोधरत छिन् ।

काठमाडौं–५ मा यसअघि नै प्रमुख दलका प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिसकेका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा यही क्षेत्रका उम्मेदवार हुन् । अधिकारीको उम्मेदवारीसँगै यो क्षेत्रको प्रतिष्पर्धा थप ‘हाइ–प्रोफाइल’ र रोचक बनेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ ।

निर्वाचन आयोगले भीडभाड व्यवस्थापन र प्रक्रिया सहज बनाउन समय तालिका नै तोकेर मनोनयन दर्ता गराइरहेको जनाएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ । यस्तै परिवेशमा कलाकारिताबाट परिचित अनुहार निशा अधिकारीको राजनीतिक प्रवेश र उम्मेदवारीले काठमाडौं–५ को चुनावलाई विशेष चासोको केन्द्र बनाएको छ ।

 

निर्वाचनका लागि भारतले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ । मंगलवार सिंहदरवारस्थित एक कार्यक्रमबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यस पटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरु नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ। भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

 

अछाम-१ मा रोचक भिडन्त, भीम रावल चौंथो पटक संसद छिर्ने दाउमा

अछाम । पश्चिम नेपालको पहाडी जिल्ला अछाम क्षेत्र नम्बर–१ मा यस पटकको प्रतिनिधिसभा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। कांग्रेस र एमाले राजनीतिक पुनरागमनको खोजीमा रहँदा पूर्व उपप्रधान तथा मन्त्री समेत रहिसकेका डा. भीम रावल भने चौथोपटक संसद प्रवेश गर्ने प्रयासमा छन्। अछाम–१ बाट चार पटक चुनाव लडेका रावल तीन पटक विजयी भइसकेका नेता हुन्। यही क्षेत्रबाट निर्वाचित हुँदै उनले गृह, रक्षा तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। नेकपा एमालेको सक्रिय राजनीतिमार्फत राष्ट्रिय स्तरमा प्रभाव जमाएका रावल यसपटक भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन्।

गत निर्वाचनमा पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेबाट टिकट नपाएका रावल त्यसयता ‘मातृभूमि जागरण अभियान’ मार्फत सक्रिय रहँदै आएका थिए। केही समयअघि मात्रै उनी नेकपाको सक्रिय राजनीतिमा फर्किएका हुन्। सुदूरपश्चिमकै प्रभावशाली नेतामध्ये एक मानिने रावलको उम्मेदवारीले अछाम–१ को चुनावी समीकरण थप जटिल बनाएको छ।

उता, नेपाली कांग्रेसले अछामका पुराना नेता भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएको छ। कांग्रेस अछामका पूर्व सभापति समेत रहिसकेका स्वार स्थानीय स्तरमा राम्रो संगठन र छवि भएका नेता मानिन्छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी रावलसँग पराजित भएका थिए। २०४८ र २०५६ को आमनिर्वाचनमा अछाम–१ जितेको कांग्रेस त्यसयता लगातार कम्युनिष्ट उम्मेदवारसँग पराजित हुँदै आएको छ। करिब २५ वर्षपछि कांग्रेस यो क्षेत्रमा राजनीतिक पुनरागमनको प्रयासमा छ।

नेकपा एमालेले भने अछाम–१ मा दिपक साउद ‘तरंग’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि जिल्लाका इन्चार्ज झपट बोहरालाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा उम्मेदवार परिवर्तन गरिएको हो। साउद हालसम्म प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय थिए। एमालेबाट टिकट पाएसँगै उनी हालै एमालेमा प्रवेश गरेका हुन्। यसअघि २०७० को आमनिर्वाचनमा उनी नेकपा माओवादीबाट संविधानसभा निर्वाचनमा उम्मेदवार थिए। 

रामारोशन, चौरपाटी र मेल्लेख क्षेत्रमा साउदको प्रभाव राम्रो रहेको भन्दै एमालेले उनको उम्मेदवारीले चुनावी परिणाम बदलिन सक्ने आँकलन गरेको छ। २०४८ यता भएका सात संसदीय निर्वाचनमध्ये एमालेले चार निर्वाचन जितिसकेको छ। तर २०७९ को निर्वाचनमा एमाले उम्मेदवार झपट बोहरा तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार शेरबहादुर कुँवरसँग पराजित भएका थिए। कुँवर हाल नेकपामा आबद्ध छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता ओमप्रकाश रावललाई उम्मेदवार बनाएको छ। रास्वपा अछामका सभापतिसमेत रहेका रावललाई पार्टीभित्र र युवामाझ स्वच्छ र जुझारु नेताका रूपमा हेरिन्छ। अछामका पुराना राजनीतिक हस्तीहरूसँग पहिलोपटक संसदीय निर्वाचनमा भिड्न लागेका रावल पनि संसद प्रवेशको रणनीतिमा छन्।

अछाम–१ को चुनावी इतिहास

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचनमा अछाम–१ बाट कांग्रेसका बलबहादुर कुँवर विजयी भएका थिए। उनले एमालेका भिम कडायतलाई ४ हजार ४ सय ६३ मतान्तरले पराजित गरेका थिए। २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस विभाजित हुँदा एमालेका भिम बहादुर रावल पहिलोपटक संसद प्रवेश गर्न सफल भए। २०५६ मा भने कांग्रेसका गोविन्द बहादुर शाह विजयी बने।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर कुँवर विजयी भएयता अछाम–१ मा कम्युनिष्ट पार्टी समर्थित उम्मेदवारहरूले लगातार जित्दै आएका छन्। २०७० र २०७४ मा भिम रावल विजयी भए भने २०७९ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भए। रोचक संयोग के छ भने २०६४ यताका सबै निर्वाचन जितेका रावल र कुँवर अहिले एउटै राजनीतिक मोर्चामा छन्। यस्तो अवस्थामा अछाम–१ मा निरन्तरता कायम हुन्छ वा नयाँ शक्ति उदाउँछ भन्ने विषय चुनावी नतिजाले नै तय गर्नेछ।

अपराह्नसम्म १,१९१ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार अपराह्नसम्म एक हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । देशका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । अपराह्न ३ बजेसम्म १६४ क्षेत्रमा एक हजार १९१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ । आजै अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

भोलि बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

गगन झरेसँगै तातियो मधेशमा चुनावी सरगर्मी, अमरेशसँग सर्लाही-४ मा भिड्ने

काठमाडाैं । यस पटकको निर्वाचनमा मधेशमा विगतको भन्दा छुट्टै चहलपहल छ । यसअघिका चुनावमा मधेशमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुरहरुले चुनावी माहोल तताउने गर्थे।  तर मधेशमा उनीहरुको प्रभाव कमजोर बनेसँगै राष्ट्रिय राजनीतिमा मधेसको उपस्थिति कमजोर जस्तो देखिएको छ। यस्तैमा, नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन कुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।  थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम एकाएक बढेको छ।

लामो समयदेखि काठमाडौं–४ लाई निर्वाचन क्षेत्र बनाउँदै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेश प्रदेशको सर्लाही–४ रोजेका हुन्। थापाले काठमाडौँ-४ बाट ०७० को संविधान सभा निर्वाचन, ०७४ को प्रतिनिधि सभा निर्वाचन, ०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक चुनाव जितेका थिए। उनले तीनवटै पल्ट नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका हुन्।  शहरी मतदातामाझ बलियो पकड बनाएका थापाको निर्वाचन क्षेत्र परिवर्तनको निर्णयलाई कांग्रेसभित्र र बाहिर दुवै ठाउँमा चासोका साथ हेरिएको छ । राजनैतिक वृत्तमा पार्टी भित्रको आन्तरिक कलह र पछिल्लो समय पार्टीमा भएको विभाजनले थापा काठमाडौँ-४ मा कमजोर बनेको विश्लेषण पनि हुने गर्दछ। 

गएको आम निर्वाचनबाटै देशैभरका शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पकड बलियो बनाउदै लगेको छ । भनिन्छ- थापा ०७९ को निर्वाचनमै काठमाडौँ-४ छोड्न चाहन्थे । तर अन्तिम समयमा रास्वपाले काठमाडौँ-४ मा उम्मेदवार नउठाउने निर्णय गरेपछि थापा त्यही क्षेत्रबाट चुनाव लडेका थिए। यो पटक रास्वपाले काठमाडौँ-४ बाट पुकार बमलाई उम्मेदवार तय गरेको छ। बम गएको चुनावमा काठमाडौँ-१ मा प्रकाशमान सिंहसँग पराजित भएका उम्मेदवार हुन्।

एकथरी विचार अनुसार थापा संगठन पुन:जागरण का लागि मधेश झरेको चर्चा पनि भइरहेको छ। गणतन्त्रको घोषणापछि मधेसमा कांग्रेसको उपस्थित अपेक्षित रुपमा कमजोर रहदै आएको छ।  पार्टी नेतृत्वका अनुसार संगठन विस्तार, क्षेत्रीय सन्तुलन र मधेशमा पार्टीको उपस्थितिलाई थप बलियो बनाउने रणनीतिअन्तर्गत थापाले सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय गरेका हुन् । थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम बढेको छ।

यो क्षेत्रमा राष्ट्रिय स्तन्त्र पार्टीले अमरेश कुमार सिंहलाई उम्मेदवार बनाएको छ।  सिंह पनि मधेसको राजनीतिमा बलियो प्रभाव राख्ने नेताका रुपमा परिचित छन्।  गएको प्रतिनिधिसभा निर्वाचनमा सिंह यही निर्वाचन क्षेत्रबाट निर्वाचित बनेका थिए। उनले त्यतिबेला कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए भने गगनले टिकट रोकेको आरोप पनि लगाएका थिए। कांग्रेसका पुराना नेता सिंह र वर्तमान कांग्रेस सभापति बिचको यो भिडन्त पनि हेर्नलायक हुनेछ। यो क्षेत्रमा नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।

भक्तपुर-२ को चुनावी महाभिडन्त : बस्नेतदेखि थापामगरसम्म, कोही छैनन् कम

काठमाडौं । २१ फागुनको निर्वाचनमा पाँच जना युवा उम्मेदवारको चुनावी प्रतिष्पर्धाको चर्चाले भक्तपुर-२ काठमाडौँ उपत्यकामा चर्चाको केन्द्र बनेको छ। यो क्षेत्रमा नेकपा एमालेले पार्टी सचिव महेश बस्नेतलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ। यही क्षेत्रमा रास्वपाका नेता राजीव खत्री चुनाव लड्ने भएसँगै भक्तपुर-२ को चुनावी चर्चा अझै चुलिन थालेको हो । खत्री पत्रकारिता पृष्ठभूमीबाट भर्खरै राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्। सामाजिक संजालमा बस्नेत र खत्रीका बीच भइरहने वाकयुद्धका कारण पनि यी दुई उम्मेदवारबीचको चुनावी प्रतिष्पर्धा अझै रोचक हुने देखिएको छ । खत्रीले बस्नेतलाई गुण्डा भनेर चित्रित गर्दै आएका छन् भने बस्नेतले खत्रीलाई पत्रुकार भन्ने गरेका छन्।

यता, नेपाली कम्युनिष्ट पार्टी नेकपाले भक्तपुर-२ मा योङ कम्युनिष्ट लिग (वाइसिएल) का इञ्चार्ज दिपशिखालाई अघि सारेको छ। गणतन्त्र स्थापना भएपछी देश शान्ति प्रक्रियामा प्रवेश गरेको थियो। त्यसपछि तत्कालिन विद्रोही माओवादीले युवाहरु सम्मिलित हुनेगरी जनसंगठन घोषणा गर्यो- वाइसिएल। जसले युवाहरुलाई संगठित गर्दै पार्टीका लागि काम गर्थ्यो। 

अझै रोचक के भने माओवादीले वाइसिएल गठन गरेपछि त्यसलाई काउन्टर दिने गरी एमालेले पनि जनसंगठन बनायो- युथ फोर्स। वाइसिएललाई तह लगाउने भन्दै गठन गरिएको युथ फोर्सका संस्थापक अध्यक्ष बने-महेश बस्नेत। पछि युथ फोर्सको राजनीतिबाट बस्नेत राष्ट्रिय युवा संघको अध्यक्ष बन्दै इञ्चार्ज समेत बने । वाइसिएलको राजनीति मार्फत स्थापित दीपशिखा र युथ फोर्सको राजनीतिमार्फत राष्ट्रिय राजनीतिमा आफ्नो बेग्लै छवि निर्माण गरेका बस्नेत एउतै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन्। माओवादी स्कुलिङबाट राजनीति सुरु गर्दै वाइसिएलको इन्चार्ज बनेका दिपशिखा र एमाले स्कुलिङबाट युथ फोर्सको अध्यक्ष र राष्ट्रिय युवा संघको अध्यक्ष हुदै इञ्चार्ज बनेका महेश बस्नेतबिचको चुनावी लडाई पनि यो निर्वाचनको हेर्न लायक प्रतिष्पर्धा हो।    

पुर्व सांसद तथा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली युवा नेता सन्तोष परियार पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा छ। परियार को युवा वृत्तमा आफ्नै छुट्टै पहिचान छ। राजनैतिक वृत्तमा परियार बौद्धिक नेता मानिन्छन्। अघिल्लोपटक ०७९ मा रास्वपाबाट संसदको यात्रा तय गरेका परियार पनि यसपालीको आमनिर्वाचनमा भक्तपुर-२ बाट जित निकाल्ने रणनीतिमा रहनेछन्। 

त्यस्तै, त्यो क्षेत्रमा नेपाली कांग्रेसले पत्रकार कविर राणालाई उम्मेदवार बनाउने भएको छ। राणा लामो समय पत्रकारिता गर्दै राजनीतिमा प्रवेश गरेका नेता हुन्। उनलाई नेपाली कांग्रेसले उक्त क्षेत्रमा प्रतिनिधीसभा निर्वाचनको उम्मेदवारको रुपमा सिफारिस गरेको छ। राणालाई एक रणनैतिक व्यक्तिका रुपमा हेरिन्छ।  राणा पनि भक्तपुर-२ बाट आम निर्वाचनमा जित निकाल्दै कांग्रेसको लगातारको उपस्थिति कायम राख्ने रणनीतिमा रहनेछन्।  

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि राम्रै प्रभाव रहेको बताइन्छ। गएको ०७९ को निर्वाचनमा त्यो क्षेत्रबाट नेमकिपाका उम्मेदवार अनुराधा थापा मगरले ७,१२७ मत ल्याएकी थिइन्। यसपाली पनि नेमकिपाले थापा मगरलाई भक्तपुर-२ मा उम्मेदवार बनाउने चर्चा छ।  रोचक तथ्य के भने यी पाँचै जनाको उमेर ५० वर्षभन्दा मुनी छ। अझ राजनैतिक वृत्तमा यी पाँच जनाकै छवि भिन्न भिन्न खाले छ। बस्नेत र दिपशिखालाई सांगठनिक जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्ने नेताका रुपमा हेरिन्छ भने परियार राजनैतिक वृत्तमा अध्ययनशील, सालिन र बौद्धिक नेताको रुपमा स्थापित छन्। यता, खत्रीले करीब डेढ दशक पत्रकारितामा बिताएका छन्। थापामगर भने भक्तपुर-२ का मतदातामाझ स्थानिय उधमीका रुपमा परिचित छिन्। ५० वर्ष मुनीका यी पाँच उम्मेदवारको चुनावी मैदानको प्रतिष्पर्धाले भक्तपुर-२ देशैभरबाट चुनावी चर्चा हुने क्षेत्र मध्येको एक हुने निश्चित जस्तै देखिन्छ।  

यस्तो छ भक्तपुर-२ को चुनावी इतिहास 

२०४८ यताका सातवटा संसदीय निर्वाचनमा भक्तपुर-२ का मतदाताले नेता हेरेर नेतृत्व चयन गरेको देखिन्छ। २०४८ यता संसदमा पठाउने नेता परिवर्तनको दृष्टिकोणले भक्तपुर-२ का जनता सचेत भएको तथ्यले नै पुष्टि गर्दछ। त्यहाँबाट अहिलेसम्म कुनै पनि नेता निरन्तर संसदीय यात्रामा रहेको देखिदैन। प्रजातन्त्रको पुन:बहाली भएपछी भएको २०४८ सालको निर्वाचनमा भक्तपुर-२ बाट नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले जित हासिल गरे।  उनले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भैरव रिजाललाई १३०० मतले पराजित गरेका थिए। ०४८ को आम निर्वाचनमा भक्तपुर-२ मा आचार्य १६,०५२ मतसहित विजयी हुँदा रिजालले १४,७५२ मत प्राप्त गरेका छन्।

२०५१  सालको मध्यावधी निर्वाचन सम्म आइपुग्दा त्यो क्षेत्रमा नेमकिपाले पासा पल्टाएको देखिन्छ। ०५१ सालको निर्वाचनमा नेमकिपाका उम्मेदवार आशाकाजी बसुकलाले १३,५८१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश बहादुर खत्रीले ११, ९०६ मत ल्याएका थिए। तर २०५६ सालको आमनिर्वाचनमा लेखनाथ न्यौपानेले १४,२०० मतसहित जित्दै नेपाली काङ्ग्रेसलाई भक्तपुर-२ मा पुनरागमन गराउन सफल रहे। त्यतिबेला उनका निकटम प्रतिद्वन्दी नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले १३,४३२ मत ल्याए। 

२०६४ को पहिलो संविधानसभा निर्वाचन भने भक्तपुर-२ को चुनावी परिणामको पासा पल्टाउदै नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले संसदमा आफ्नो स्थान सुरक्षित गरे। ०६४ मा उनले १८, १०० मत ल्याउदै नेपाली कांग्रेसका उम्मेदवार लेखनाथ न्यौपानेलाई ४ हजार ८ सय ३५ को मतान्तरले पराजित गरेका थिए। 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा त्यो क्षेत्रबाट नेपाली काङ्ग्रेसका रामेश्वरप्रसाद ढुङ्गेलले चुनाव जिते। उनले त्यतिबेला नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिलाई ३,७१० मतको मतान्तर सहित २१,१२१ मत ल्याएर पराजित गरेका थिए।  त्यो बेला एमाले उम्मेदवार महेश बस्नेत १६,०२९ मतसहित तेस्रो नम्बरमा सिमित रहे। 

संविधानको घोषणा पछि २०७४ मा देशमा पहिलोपल्ट प्रतिनिधीसभा निर्वाचन भयो। उक्त निर्वाचनमा अघिल्लोपटक तेस्रो नम्बरमा रहेका एमाले उम्मेदवार महेश बस्नेत भक्तपुर-२ मा करीब दोब्बर मतान्तरसहित विजयी भए। त्यतिबेला बस्नेतले ३६,४१२ मत ल्याउदा निकटतम प्रतिद्वन्दी दमननाथ ढुङ्गानाले १८,६८७ मत मात्रै ल्याए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ मा फेरी पासा पल्टियो- नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी बने। अघिल्लोपटक दोब्बर मतान्तर सहित चुनाव जितेका बस्नेत ०७९ को निर्वाचनमा भने थापा क्षेत्रीसँग ९ सय ५७ मतको मतान्तरले पराजित हुन पुगे। त्यतिबेला थापाले त्यो क्षेत्रमा २४,२३९ मत ल्याँउदा बस्नेतले २३,२८२ मत ल्याएका थिए।

जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगे ओली, बालेन पनि जाँदै

झापा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर–५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आजै झापा पुग्ने तयारीमा छन् । एमाले अध्यक्ष ओली आज केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुगेका हुन् । विमानस्थलमा उनलाई नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन् । त्यहाँबाट उनी विर्तामोड हुँदै दमकतर्फ प्रस्थान गरेका छन् । ओली आजदेखि दमकस्थित होटलमा बस्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ ।

जेनजी आन्दोलनपछि लामो समय स्थान हद तोकिएका ओली पुस २१ गते स्थान हद फुकुवा भएपछि पहिलो पटक झापा आएका हुन् । यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनी लामो समयसम्म गृह जिल्ला आउन सकेका थिएनन् । झापा आगमनलाई आगामी निर्वाचनसँग जोडेर हेरिएको छ, किनकि ओली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दै छन् । एमाले झापाका अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले आज दिउँसो २ बजे दमकस्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी छ । माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गरिने र त्यसपछि मात्र विस्तृत चुनावी रणनीति तय गरिने जनाइएको छ ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै पूर्ण रूपमा चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । उनले मतदातामा त्रास, डर–धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अपेक्षित चुनावी माहोल नबनेको बताए । यद्यपि, उनले एमाले निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । उता, ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेन्द्र शाह पनि आज साँझ दमक आइपुग्ने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन आज मधेस प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको सभालाई सम्बोधन गरेपछि झापा प्रस्थान गर्नेछन् ।

रास्वपाका अनुसार शाह जनकपुरबाट सडक मार्ग हुँदै सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा समर्थकहरूसँग भेट्दै दमक आउने छन् । इटहरीदेखि नै समर्थकहरूको ¥यालीसहितको स्वागत कार्यक्रम राखिएको छ । यसक्रममा ठूलो भीड जुट्ने अनुमान गरिएको छ र उनी राति करिब ९ देखि १० बजेको बीचमा दमक पुग्ने सम्भावना छ । समर्थकहरूको अत्यधिक भीड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै बालेन कहाँ बस्ने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

आज साँझ भने उनले औपचारिक भेटघाटका कार्यक्रम नराखेको सचिवालय स्रोतले जनाएको छ । भोलि मङ्गलबार उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्नेछन् । आज निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल बोलाएको छ, जसमा उम्मेदवारी दर्ताको समयतालिका तय गरिनेछ । ओली र बालेन दुवैको एकै दिन झापा आगमनसँगै झापा–५ को चुनावी प्रतिष्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक पुनरागमन र वैकल्पिक राजनीतिका दाबीबीचको यो भिडन्तले राष्ट्रिय राजनीति समेत तात्ने अनुमान गरिएको छ ।

 

 

 

 

 

भक्तपुर–२ मा रोचक भिडन्त तय : महेश बस्नेतविरुद्ध रास्वपाका राजीब खत्री मैदानमा

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ मा आगामी निर्वाचनका लागि राजनीतिक प्रतिष्पर्धा रोचक रुपमा चर्किने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस क्षेत्रमा पूर्व पत्रकार राजीव खत्रीलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । रास्वपाका एक नेताका अनुसार पार्टी नेतृत्वले खत्रीलाई नै भक्तपुर–२ बाट अघि सार्ने तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

यस क्षेत्रमा नेकपा एमालेका सचिव तथा प्रभावशाली नेता महेश बस्नेत उम्मेदवार भइसकेका छन् । बस्नेत र खत्रीबीचको प्रतिष्पर्धालाई लिएर अहिले नै राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ । दुवै जनाबीच विगतदेखि नै सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप र वाकयुद्ध चल्दै आएको हुँदा चुनावी भिडन्त अझै रोचक हुने अनुमान गरिएको छ ।

राजीव खत्री केही समयअघि मात्र रास्वपामा आबद्ध भएका हुन् । सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका खत्रीले सुरुवातमा काठमाडौं क्षेत्र नम्बर–१० बाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए । तर पार्टी सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको छलफलपछि उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने निर्णय भएको स्रोतको दाबी छ ।

महेश बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध कडा आलोचना गर्दै आएका छन् । जेन–जी आन्दोलनपछिका अभिव्यक्ति र गतिविधिले बस्नेत थप चर्चामा आएका छन् । यही पृष्ठभूमिमा बालेन शाहको राजनीतिक प्रभाव र समर्थनलाई ध्यानमा राख्दै रास्वपाले खत्रीलाई भक्तपुर–२ मा अघि सारेको विश्लेषण पनि भइरहेको छ ।

भक्तपुर–२ महेश बस्नेतको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ । यद्यपि, उनी अघिल्लो आमनिर्वाचनमा पराजित भइसकेका थिए । अर्कोतर्फ, खत्री यसपटक पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिन लागेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर १० का बासिन्दा भए पनि पार्टी रणनीतिअनुसार भक्तपुरमा उम्मेदवारी दिन लागेका छन् ।

यसैबीच, रास्वपाले काठमाडौं क्षेत्र नम्बर १० मा भने प्रदीप विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विष्ट यसअघि पनि सोही क्षेत्रबाट रास्वपाको तर्फबाट उम्मेदवार भइसकेका थिए । पुराना र स्थापित नेताविरुद्ध नयाँ अनुहार र वैकल्पिक राजनीतिक धार बोकेको उम्मेदवारको भिडन्तका रूपमा भक्तपुर–२ को चुनावलाई हेरिँदैछ । सामाजिक सञ्जालदेखि चुनावी मैदानसम्म दुवै पक्षबीचको प्रतिष्पर्धाले यो क्षेत्रको चुनावलाई विशेष महत्वको बनाउने देखिएको छ ।

 

 

 

 

 

मनोनयन मिति सार्न दलहरुको दबाब, कांग्रेस विवाद सर्वोच्चसम्म पुग्दा बढ्यो अन्योल

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समयसिमा सार्ने विषयमा निर्वाचन आयोग दबाबमा परेको छ । प्रमुख राजनीतिक दलहरूले एकै स्वरमा समय थप गर्न आग्रह गरेपछि आयोग आन्तरिक छलफलमा जुटेको छ । निर्वाचन आयोगका अनुसार हाल माघ ६ गतेका लागि तोकिएको मनोनयन दर्ताको मिति कम्तीमा एक साताले सार्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले औपचारिक आग्रह गरेका छन् ।

उनीहरूको प्रस्तावअनुसार मनोनयन दर्ता माघ १५ देखि मसान्तसम्म लैजानुपर्ने माग गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनको समय सार्ने विषयमा आयोगले अहिलेसम्म निर्णय नगरेको स्पष्ट पारे । उनले भने, ‘अधिकांश राजनीतिक दलबाट मनोनयन दर्ताको समयसीमा बढाउन अनुरोध आएको छ । आयोगले यस विषयमा छलफल गरिरहेको छ तर हालसम्म कुनै निर्णय गरिएको छैन ।’ स्रोतका अनुसार आयोगले बढीमा एक सातासम्म समय सार्न सक्ने सम्भावना भने खुला राखेको छ ।

मनोनयन मिति सार्नुपर्ने मुख्य कारण नेपाली कांग्रेसभित्रको विवाद रहेको बताइएको छ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएपछि असन्तुष्ट बनेको शेरबहादुर देउवा समूह सोमबार सर्वोच्च अदालत पुगेको छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् । उनीहरूले आयोगले गगन–विश्व समूहलाई दिएको मान्यता खारेज हुनुपर्ने तथा भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग हुनुपर्ने माग गरेका छन् ।

रिटमा देउवा पक्षले माघ ६ गते तोकिएको प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया रोक्न अन्तरिम आदेश दिन पनि माग गरेका छन् । यदि मनोनयन भइसकेको अवस्थामा त्यसलाई स्थगित गरी नयाँ मिति तोक्न आदेश हुनुपर्ने उनीहरूको माग छ । देउवा र खड्काले निर्वाचन आयोग, नयाँ कार्यसमिति, सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन् । सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि माघ ६ गते नै पेशी तोकेको छ, जुन दिन प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन तय गरिएको छ ।

कांग्रेसको आन्तरिक विवाद अदालत पुगेपछि त्यसको प्रभाव निर्वाचन कार्यतालिकामा पर्ने संकेत देखिएको छ । सर्वोच्चको आदेश र आयोगको निर्णयले मनोनयनको मिति सार्ने वा यथावत् राख्ने विषयमा अन्तिम टुंगो लाग्ने देखिन्छ । राजनीतिक दल र निर्वाचन आयोग दुवैको ध्यान अहिले यही विषयमा केन्द्रित भएको छ ।

 

संघर्षबाट संसदसम्मको यात्रा : रामेछापबाट एमाले उम्मेदवार ढुङ्गेलका के छन् प्रतिबद्धता ?

रामेछाप । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले आफ्नो राजनीतिक यात्रा, अनुभव र भावी प्रतिबद्धता सार्वजनिक गर्दै रामेछापेली जनतासँग मतको अपिल गरेका छन् ।

ढुङ्गेलले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्राको स्मरण गर्दै करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको उल्लेख गरेका छन् । त्यसयता एकताकालसहित पार्टी केन्द्रीय कमिटीमा चार पटक निर्वाचित भइसकेको बताउँदै उनले आफू निरन्तर संघर्ष, सक्रियता र कर्मका बलमा यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् ।

‘मेरा दुःख, पीडा र संघर्षका कथा नजिकबाट बुझ्नेहरूलाई थाहा छ,’ उनले भनेका छन्, ‘म कुनै विशेष पृष्ठभूमिबाट होइन, धुलो–मैलो खेलेर हुर्किएको गाउँको मान्छे हुँ, जसले आफ्नै बलबुतामा यो यात्रा तय गरेको हो ।’ आफ्नो उम्मेदवारीका कारण पार्टीभित्र वा बाहिर कसैलाई पनि दुःखी हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आफू पटक–पटक चुनाव लड्ने उम्मेदवार नभएको र उमेरका हिसाबले पनि अझै नयाँ पुस्ताकै प्रतिनिधि रहेको उल्लेख गर्दै ढुङ्गेलले अनुभव र युवाशक्तिको सन्तुलित संयोजनका रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

‘म अनुभवले खारिएको छु तर जोश, जाँगर र ऊर्जा अझै उत्तिकै छ,’ उनले भने, ‘पार्टी र देशले पत्याए जुनसुकै जिम्मेवारी पनि इमानदारीपूर्वक बहन गर्न सक्छु ।’ रामेछापेली जनतामाझ पार्टीले पहिलो पटक आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको भन्दै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । साथै, उम्मेदवार सिफारिस प्रक्रियामा परेका अन्य नेताहरूलाई धैर्य र सहकार्यको सन्देश दिँदै उनले राजनीति सामूहिक यात्राको विषय भएको उल्लेख गरेका छन् ।

‘अवसर सबैका लागि आउँछन्,’ उनको भनाइ छ, ‘मिलेरै अघि बढ्दा मात्रै पार्टी र जिल्लाको हित हुन्छ ।’ ढुङ्गेलले रामेछापेली जनताले दिएको मतको सम्मान गर्दै संसदमा जिल्लाको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विकास, सुशासन र जनजीविकाका सवालमा प्रभावकारी भूमिका खेल्ने वाचा गर्दै उनले आगामी निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन् । ‘तपाईंहरूको मत मेरो जिम्मेवारी हो,’ उनले भने, ‘त्यसको इज्जत राख्दै जनताको पक्षमा निडर भएर काम गर्नेछु ।’

 

 

शेरबहादुर तामाङको चुनावी प्रतिज्ञा : ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकास’

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासनको संस्थागत विकास र जनताको जीवनस्तर उकास्ने योजनालाई आफ्नो केन्द्रीय एजेण्डा बनाएर चुनावी अभियान सुरु गरेका छन् ।

एमालेबाट उम्मेदवारका रूपमा औपचारिक निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले राजनीति व्यक्तिगत लाभको साधन नभई जनविश्वास र साझा संकल्पको जिम्मेवारी भएको उल्लेख गरे । उनले निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने प्रतिवद्धता जनाउँदै भने, ‘यो जिम्मेवारी मेरो व्यक्तिगत उपलब्धि होइन, जनताको आशा र भरोसाको प्रतिविम्ब हो । जनताको आवाज संसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका पक्षमा दृढतापूर्वक उभिन्छु ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिने तामाङको भनाइ छ । उनले सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सरकारी सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने र कमिसन तथा अनियमितता नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने घोषणा गरेका छन् ।

नीतिगत सुधारसँगै आर्थिक र सामाजिक क्षेत्रमा पनि स्पष्ट योजना प्रस्तुत गर्दै तामाङले गाँजा खेतीलाई वैधानिकता दिने, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बिमालाई शतप्रतिशत कार्यान्वयन गरी प्रत्येक नागरिकको उपचार सुनिश्चित गर्ने तथा घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ–यो मेरो अटल प्रतिबद्धता हो’, भन्दै उनले स्पष्ट शब्दमा थपे, ‘बरु जीवनमा भोकै मर्न तयार छु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’ अघिल्लो कार्यकालमा जनताको सबै अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्दै तामाङले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र आगामी दिनमा पनि ननिहुरिने दाबी गरे । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफादारी नै मेरो राजनीतिक यात्राको मूल मन्त्र हो’, उनले भने। एमालेका शालीन र निष्ठावान् नेताका रूपमा परिचित तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत सम्पूर्ण पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र रचनात्मक सुझावका लागि अपिल गरेका छन् ।

 

कांग्रेस कलह अब निर्वाचन आयोग र अदालततिर, चुनावी तालिकामा पर्छ प्रभाव ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मुखमै मुलुकको सबैभन्दा ठूलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएको छ । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि र त्यसको प्रतिउत्तरमा संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशन गरेपछि कांग्रेसको आन्तरिक विवाद अब निर्वाचन आयोग र अदालतको ढोकासम्म पुगेको छ ।

दुवै पक्षले आफू नै ‘वैधानिक नेपाली कांग्रेस’ भएको दाबी गर्दै निर्वाचन आयोगमा आधिकारिकता माग गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गरेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताका आधारमा आफूहरू नै आधिकारिक भएको जिकिर गरेका छन् ।

कानुनी मैदानमा कांग्रेसको टकराव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दलभित्रको विवाद निरूपण गर्ने स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा ४३ अनुसार एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, छाप, झण्डा, चिन्ह, विधान, केन्द्रीय समिति वा निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यसको टुंगो निर्वाचन आयोगले लगाउने व्यवस्था छ ।

दफा ४४ ले विवाद निरूपणको कार्यविधि तोकेको छ । कम्तीमा ४० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित ३० दिनभित्र दाबी पेस गर्नुपर्ने, त्यसपछि अर्को पक्षलाई १५ दिनको जवाफ दिने समय, आवश्यक परे थप १० दिन म्याद, सहमतिको प्रयास र सहमति नभए प्रमाणका आधारमा आयोगले कुनै एक पक्षलाई मान्यता दिन सक्ने व्यवस्था ऐनमा छ ।

यदि कुनै पक्षसँग स्पष्ट बहुमत नदेखिएमा आयोगले विवाद हुनुअघि रहेको केन्द्रीय समितिको बहुमत हेरेर निर्णय गर्न सक्ने कानुनी प्रावधान छ । आयोगको निर्णय अन्तिम हुने भए पनि त्यसविरुद्ध अदालत जान सकिने बाटो खुला छ।

विशेष महाधिवेशन वैधानिक कि अवैधानिक ?
कांग्रेस विवादको मूल केन्द्र विशेष महाधिवेशन हो । गत असोज २९ मा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

संस्थापन पक्षले प्रक्रिया अघि नबढाएपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुई दिने विशेष महाधिवेशन आयोजना गरियो र सोही महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियो । वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार सभापतिले महाधिवेशन नबोलाएको अवस्थामा प्रतिनिधिहरू स्वयंले विशेष महाधिवेशन बोलाउन सक्ने भएकाले विशेष महाधिवेशन विधानसम्मत छ । अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देउवा पक्षसँग गगन, विश्व र मन्सुरलाई निष्काशन गर्ने कानुनी अधिकार नै नरहेको तर्क गरेका छन् ।

तर संस्थापन पक्षले विधानको धारा ७१ अनुसार बाधा–अड्काउ फुकाउने र कार्यविधि बनाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट नेतृत्व चयन वैधानिक नहुने अडान लिएको छ ।

निर्वाचन आयोग किन निर्णायक बन्दैछ ?
विशेष महाधिवेशनपछि सभापतिमा निर्वाचित गगन थापाले आफू नेतृत्वको कार्यसमिति नै वैधानिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोग जाने घोषणा गरेका छन् । उनले आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन् । कानुनअनुसार दलले पदाधिकारीमा गरेको हेरफेर ३० दिनभित्र आयोगलाई जानकारी गराउनु पर्छ ।

विशेष महाधिवेशन पक्षले देउवा नेतृत्वको पुरानो कार्यसमिति भंग भइसकेको जानकारी आयोगलाई पठाइसकेको छ । तर अर्कोतर्फ, फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस शेरबहादुर देउवाको हस्ताक्षरमा दर्ता भइसकेको छ । समानुपातिक सांसदको बन्दसूची पनि उनकै हस्ताक्षरमा आयोगमा बुझाइसकिएको छ । मतपत्र छपाइको कामसमेत अघि बढिसकेको अवस्थामा आयोगका लागि निर्णय झन् जटिल बनेको छ ।

चुनावलाई पर्छ प्रभाव ?
कानुनका जानकारहरू कांग्रेस विवादका कारण चुनाव सर्ने सम्भावना न्यून देख्छन् । एक पूर्व कानुन मन्त्रीका अनुसार निर्वाचन अवधि सुरु भइसकेपछि आयोगले पार्टीको आन्तरिक विवाद हेर्न नमिल्ने व्यहोराको पत्र दुवै पक्षलाई पठाउन सक्ने सम्भावना छ । त्यसपछि मुद्दा अदालतमा पुग्नेछ ।

यदि अदालतले हस्तक्षेप नगरेको अवस्थामा पुरानै, आयोगमा दर्ता भएको कार्यसमितिले वैधानिकता पाउने र त्यसैको नेतृत्वमा चुनाव हुने सम्भावना बलियो देखिन्छ । यस्तो अवस्थामा विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीविहीन हुने जोखिम समेत रहेको कानुनी विश्लेषण छ ।

आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अहिले सबैभन्दा गम्भीर संस्थागत संकटमा पुगेको छ । पार्टीको आधिकारिकता अब राजनीतिक भन्दा बढी कानुनी प्रश्न बनेको छ । निर्वाचन आयोगको निर्णय र त्यसपछि अदालतको भूमिका निर्णायक हुने देखिन्छ । तर एक कुरा लगभग निश्चित देखिन्छ–कांग्रेसको यो आन्तरिक युद्धले चुनावी प्रक्रिया भन्दा बढी पार्टीको भविष्य, संगठन र विश्वसनीयतामाथि गहिरो असर पार्नेछ ।

सुरक्षा चुनौति छ तर, निर्वाचन सफल बनाउनु पर्छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बीच आगामी निर्वाचनलाई सफल बनाउनु पर्ने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले जेन–जी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरु बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरु नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए । नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाई छ । उनले हालै साम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘धेरै लुटिएका हतियार बाहिर छन् । प्रहरीका लजिष्टिकहरु पनि धेरै नष्ट भएका छन् । सवारीसाधान देखि लिएर हतियारसम्म प्रहरीसंग छैनन् । हामी जनता निर्वाचनमा कसरी निर्भय भएर गएर मतदान गछौँ, त्यसमा हामी चिन्तित छौँ । जेल तोडेर भागेका अपराधीहरु पनि बाहिर छन् । कसैको दाउ होला, यही निर्वाचनलाई ताकेर फेरि आफ्नो कुनै रिसिबी साँधौ भन्ने पनि होला । यस्ता परिस्थितिबाट अगाडि बढेर हामी निर्वाचनको मुखमा आईपुगेका छौँ । यो हाम्रो लागि ठुलो चुनौती छ । वीचवीचमा पनि धेरै कुराहरु भइरहको छ, विगतमा दिनमा साम्प्रदायिक विवादहरु पनि हामी देखिरहेका छौँ । जातीय विवादहरु पनि देखिरहेका छौँ । राजनीतिक दलहरुका विरोध प्रर्दशन पनि भईरहेका छन् । धेरै कुराहरु छन्, यसमा हामीले अगाडिको दिनमा निर्वाचनलाई सफल बनाउनको लागि सचेत भएर लाग्नु पर्छ ।’

उनले प्रहरीलाई सीमा क्षेत्रमा हुने लागुऔषध कारोबारलाई नियन्त्रण गर्न पनि आग्रह गरे । दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढि ध्यान दिनुपर्ने उनले बताए । उनले संघीय सरकारले प्रहरी समायोजन नगर्दा पनि धेरै समस्या भएको गुनासो गरे ।

 

समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने ६० पुगे, जनमतका मात्रै २० जना

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलले बुझाएको समानुपातिक बन्दसूचीबाट ६० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । आज (सोमबार) दिउँसो ३ बजेसम्म निवेदन दिनेको संख्या ६० रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ । अब करिब एक घण्टा निवेदन दिने समय भएकाले थप हुन सक्ने उनले बताए । उनले थप १०० वटा जति निवेदन आयोगमा आएको बताएका छन् । उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन् । जनमतका २० जनाले निवेदन दिएका छन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ र एमालेका ३ जना छन् । निर्वाचन आयोग स्रोतका अनुसार त्यो संख्या अझै थपिन सक्छ । एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्वयं उपस्थित भएर नाम फिर्ता लिने निवेदन दिइरहेका छन् । १३ र १४ पुसमा ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ चुनावमा भाग लिने गरी बन्दसूची बुझाएका थिन् ।प्रतिनिधिसभाको २ सय ७५ सिटमा १ सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शनाले पनि समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।

बन्दसूचीमा आफ्नो नाम तल पारिएको भन्दै उनी असन्तुष्ट बनेकी रञ्जुको निवेदन लिएर पार्टीका एक प्रतिनिधि आज निर्वाचन आयोग पुगेका हुन् । रास्वपाले रञ्जुलाई खस आर्य महिलातर्फ समानुपातिक बन्दसूचीको १०औं स्थानमा राखेको थियो । तर पार्टीको प्राइमरी चुनावमा महिलातर्फ सबैभन्दा धेरै मत ल्याए पनि बन्द सूचीमा अपेक्षित प्राथमिकता नपाएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको थियो । आइतबार पार्टीले बन्द सूचीमा संशोधन गरे पनि रञ्जुको स्थान अगाडि नबढाइएपछि उनी थप असन्तुष्ट बनेकी छन् । उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएपछि रास्वपाले बन्दसूची अद्यावधिक गरेको थियो । त्योसँगै समानुपातिकतर्फको केही नाम तलमाथि परेको हो ।