`

शेरबहादुर तामाङको चुनावी प्रतिज्ञा : ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकास’

Nepal One HD ४ माघ २०८२ १०:३९
नेकपा एमाले

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासनको संस्थागत विकास र जनताको जीवनस्तर उकास्ने योजनालाई आफ्नो केन्द्रीय एजेण्डा बनाएर चुनावी अभियान सुरु गरेका छन् ।

एमालेबाट उम्मेदवारका रूपमा औपचारिक निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले राजनीति व्यक्तिगत लाभको साधन नभई जनविश्वास र साझा संकल्पको जिम्मेवारी भएको उल्लेख गरे । उनले निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने प्रतिवद्धता जनाउँदै भने, ‘यो जिम्मेवारी मेरो व्यक्तिगत उपलब्धि होइन, जनताको आशा र भरोसाको प्रतिविम्ब हो । जनताको आवाज संसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका पक्षमा दृढतापूर्वक उभिन्छु ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिने तामाङको भनाइ छ । उनले सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सरकारी सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने र कमिसन तथा अनियमितता नियन्त्रणका लागि कडा कानुनी व्यवस्था ल्याउने घोषणा गरेका छन् ।

नीतिगत सुधारसँगै आर्थिक र सामाजिक क्षेत्रमा पनि स्पष्ट योजना प्रस्तुत गर्दै तामाङले गाँजा खेतीलाई वैधानिकता दिने, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बिमालाई शतप्रतिशत कार्यान्वयन गरी प्रत्येक नागरिकको उपचार सुनिश्चित गर्ने तथा घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ–यो मेरो अटल प्रतिबद्धता हो’, भन्दै उनले स्पष्ट शब्दमा थपे, ‘बरु जीवनमा भोकै मर्न तयार छु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’ अघिल्लो कार्यकालमा जनताको सबै अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्दै तामाङले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र आगामी दिनमा पनि ननिहुरिने दाबी गरे । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफादारी नै मेरो राजनीतिक यात्राको मूल मन्त्र हो’, उनले भने। एमालेका शालीन र निष्ठावान् नेताका रूपमा परिचित तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत सम्पूर्ण पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र रचनात्मक सुझावका लागि अपिल गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *