अपराह्नसम्म १,१९१ जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार अपराह्नसम्म एक हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् । देशका सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । अपराह्न ३ बजेसम्म १६४ क्षेत्रमा एक हजार १९१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ । आजै अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
भोलि बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
