काठमाडौं–५ मा अभिनेत्री निशा अधिकारीको उम्मेदवारी, ‘हाइ–प्रोफाइल’ सँग हुँदै प्रतिष्पर्धा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन् ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अधिकारीले आगामी एक दशक देश सेवा र सक्रिय राजनीतिमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् । कला क्षेत्रबाट राजनीतिमा प्रवेश गरे पनि आफ्नो शैक्षिक पृष्ठभूमि र सामाजिक चासोले यस यात्रालाई अर्थपूर्ण बनाउने उनको भनाइ थियो ।
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईंलगायतको पहलमा स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टीमा अधिकारी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन् । धेरैका लागि उनको उम्मेदवारी अप्रत्याशित देखिए पनि उनी राजनीति शास्त्रमा स्नातकोत्तर (एमए) पूरा गरिसकेकी छिन् भने ‘कन्फ्लिक्ट, पीस एन्ड डेभलपमेन्ट’ विषयमा एमफिल शोधरत छिन् ।
काठमाडौं–५ मा यसअघि नै प्रमुख दलका प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिसकेका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा यही क्षेत्रका उम्मेदवार हुन् । अधिकारीको उम्मेदवारीसँगै यो क्षेत्रको प्रतिष्पर्धा थप ‘हाइ–प्रोफाइल’ र रोचक बनेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचन आयोगले भीडभाड व्यवस्थापन र प्रक्रिया सहज बनाउन समय तालिका नै तोकेर मनोनयन दर्ता गराइरहेको जनाएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने व्यवस्था छ । यस्तै परिवेशमा कलाकारिताबाट परिचित अनुहार निशा अधिकारीको राजनीतिक प्रवेश र उम्मेदवारीले काठमाडौं–५ को चुनावलाई विशेष चासोको केन्द्र बनाएको छ ।
