सप्तरी–२ मा त्रिकोणात्मक प्रतिष्पर्धा, राउतविरुद्ध आफ्नै पूर्व सहयात्री र पुराना शक्ति
सप्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मधेसको राजनीतिक केन्द्र मानिने सप्तरी क्षेत्र नम्बर–२ यस पटक अत्यन्त रोचक र जटिल प्रतिष्पर्धाको केन्द्र बन्दै गएको छ । २०७९ को निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत यस पटक भने सजिलो अवस्थामा देखिँदैनन् । कारण, उनका मुख्य प्रतिष्पर्धी बनेका छन्–पूर्व सहकर्मी र पुराना राजनीतिक शक्ति ।
२०७९ सालको निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको हैसियत दिलाएको थियो भने राउत मधेसको नयाँ राजनीतिक अनुहारका रूपमा उदाएका थिए । तर साढे तीन वर्षको अवधिमा जनमत पार्टी आन्तरिक विवाद, विभाजन र नेतृत्वमाथि उठेका परिवारवादका आरोपका कारण कमजोर बनेको विश्लेषण भइरहेको छ ।
यस पटक सप्तरी–२ मा राउतका लागि मुख्य चुनौती बनेका छन्–पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र जसपा नेपालका उम्मेदवार उमेश यादव । सिंह २०७९ को निर्वाचनमा जनमत पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भई मुख्यमन्त्रीसमेत बनेका थिए । तर पार्टी नेतृत्वसँग असन्तुष्टि बढ्दै गएपछि उनले प्रदेश सांसदबाट राजीनामा दिएर आफ्नै दाइ नेतृत्वको स्वाभिमान पार्टीबाट राउतकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जनमतका संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका सिंहको स्थानीय तहमा राम्रो पकड रहेकाले उनले राउतको मत काट्ने आँकलन गरिएको छ ।
त्यस्तै, जसपा नेपालले पूर्व माओवादी नेता उमेश यादवलाई उम्मेदवार बनाएको छ । उपेन्द्र यादव स्वयं यस पटक सप्तरी–३ बाट उम्मेदवार बनेपछि सप्तरी–२ को जिम्मेवारी उमेश यादवलाई सुम्पिएको हो । उमेश यसअघि संविधानसभा सदस्य र मन्त्री भइसकेका अनुभवी नेता हुन् । २०७० सालमा सप्तरीबाट निर्वाचन जितेका उनी २०७४ र २०७९ मा भने पराजित भएका थिए । यस पटक जसपा, लोसपा र माओवादी पृष्ठभूमिको मत जोड्ने प्रयासमा रहेका उमेश यादवलाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ ।
सप्तरी–२ मा राजविराज नगरपालिकासहित महत्वपूर्ण क्षेत्र पर्छन् । यहाँ विगत २०६४ यता कुनै पनि नेताले दोहोर्याएर निर्वाचन जित्न सकेका छैनन् । यही ऐतिहासिक प्रवृत्तिले पनि राउतको पुनः जितमाथि प्रश्न उठाएको छ । जनमत पार्टीभित्र देखिएको विभाजन र शीर्ष नेताहरूको पलायनले राउतलाई थप कमजोर बनाएको छ । पार्टीका पूर्व उपाध्यक्ष तथा मन्त्री अब्दुल खान नागरिक उन्मुक्ति पार्टीमा गएका छन् भने अर्का उपाध्यक्ष दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै, जनमतका पूर्व प्रवक्ता डा. शरद यादवले जनअधिकार पार्टी खोलेर राउतविरुद्ध उम्मेदवारी दिएका छन् । यी सबैले राउतको आधार मतमा क्षति पुग्ने अनुमान गरिएको छ ।
राउतमाथि परिवारवाद र नातावादको आरोप पनि निर्वाचनको प्रमुख मुद्दा बनेको छ । दाइ जयकान्त राउत, भाउजु बबिता इशर राउतलगायतलाई विभिन्न पदमा नियुक्त गरेको आरोप विपक्षीले चुनावी हतियार बनाएका छन् । यसबाहेक, राउतको पारिवारिक विवाद समेत सार्वजनिक बहसमा आएको छ, जसलाई प्रतिष्पर्धी दलहरूले प्रचारमा प्रयोग गरिरहेका छन् । यद्यपि, जनमत पार्टीका नेताहरू भने राउत अझै पनि बलियो अवस्थामा रहेको दाबी गर्छन् । संगठनात्मक संरचना, युवामाझ लोकप्रियता, ‘पुराना दलविरुद्ध नयाँ विकल्प’ भन्ने नाराका साथै सरकारमा रहँदा क्षेत्र विकासका लागि गरिएको पहलले राउतलाई फाइदा पुग्ने उनीहरूको तर्क छ ।
यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा, नेकपा लगायत दलका उम्मेदवार भए पनि मुख्य प्रतिष्पर्धा राउत, सिंह र उमेश यादवबीच नै सीमित हुने देखिन्छ । कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मो. जियाउल रहमान, रास्वपाबाट रामजी यादव उम्मेदवार भए पनि उनीहरूको प्रभाव सीमित रहेको स्थानीय विश्लेषकहरू बताउँछन् । समग्रमा, एक समय मधेसको ‘सेफ सीट’ मानिएको सप्तरी–२ यस पटक तीन धारमा विभाजित प्रतिष्पर्धाका कारण अनिश्चित बनेको छ । आफ्नै पूर्व सहयात्री र पुराना राजनीतिक शक्तिको घेराबन्दीमा परेका डा. सीके राउत पुनः जनताको विश्वास जित्न सफल हुन्छन् वा २०६४ यताकै परम्परा दोहोरिँदै नयाँ अनुहारले बाजी मार्छ–त्यसको फैसला अब मतदाताको हातमा छ ।
