`

लिङ्देनले ‘राजआज्ञा’ पालना नगरेको भन्दै राप्रपा छाडे पूर्वसांसद ऋषिबाबुले

Nepal One HD ११ चैत २०८२ ९:२२
निर्वाचन विषेश

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वसांसद ऋषिबाबु परियारले पार्टीका सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको आफ्नो सम्पूर्ण सम्बन्ध तोडेको घोषणा गरेका छन्।

परियारले मंगलबार एक वक्तव्य जारी गर्दै आफूले नैतिकताको आधारमा यस्तो निर्णय लिनुपरेको स्पष्ट पारेका छन्। उनी राप्रपामा केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रीय निर्देशन समिति सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए।

राजीनामाको मुख्य कारणका रूपमा उनले राजाको एजेन्डा लिने तर ‘राजआज्ञा’ पालना नगर्ने भनेर अध्यक्ष राजेन्द्र लिङ्देनको कडा शब्दमा आलोचनासमेत गरेका छन् ।

पार्टीभित्र देखिएको वैचारिक अस्पष्टता, दलित समुदायप्रति असंवेदनशीलता तथा नेतृत्वको पक्षपातपूर्ण व्यवहारलाई औंल्याएका छन्।

उनले समानुपातिक प्रतिनिधित्वमा दलित समुदायलाई समेट्न सकिने अवस्थाको बाबजुद त्यसो नगरी खसआर्यलाई मात्र प्राथमिकता दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘समानुपातिक ४ सिटमा १ जना खस-आर्य र १ जना दलित मिलाउन सकिनेमा दुबै खस-आर्य नै पर्नु दलित नपारिनु !’

त्यस्तै, उनले पार्टीले राजसंस्थाको एजेन्डा उठाए पनि त्यसअनुसार व्यवहारिक प्रतिबद्धता नदेखाएको आरोप लगाएका छन्।

‘गरिमामय राजसंस्थालाई राजनीतिक भर्‍याङको रूपमा मात्र प्रयोग गरिएको छ,’ उनको भनाइ छ, ‘यसले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई नै कमजोर बनाएको छ।’

परियारले अध्यक्ष लिङ्देनप्रति संकेत गर्दै पार्टीभित्र इमानदार र देशभक्त कार्यकर्तामाथि विभेदपूर्ण व्यवहार गरिएको पनि उल्लेख गरेका छन्। उनका अनुसार नेतृत्व तहमा पक्षपात हाबी हुँदा संगठनभित्र असन्तोष बढ्दै गएको छ।

नेता परियारले त्यस्तोबेला राप्रपासँगको सम्बन्ध तोडे जतिबेला प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले लिन र चुनावी हारको समीक्षा गर्न चाहेका छैनन् ।

बरु, उनी हिमाली जिल्ला मुस्ताङतिर घुमफिरमा निस्किएका छन् । यसपछि असन्तुष्ट नेताहरूले धमाधम जिम्मेवारीबाट राजीनामा दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *