कांग्रेसको नियमित कामबाट अलग हुँदै गगन थापा, अब देशभर घुमेर नागरिकका कुरा सुन्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको परम्परागत तरिका बदल्ने घोषणा गरेका छन्। पार्टीका नियमित प्रशासनिक कामबाट आफू अलग रहने र वरिष्ठ उपसभापति तथा महामन्त्रीहरूलाई पार्टीको दैनिक कामको जिम्मेवारी दिने उनको योजना छ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै थापाले कांग्रेसलाई समयअनुकूल बनाउँदै नागरिकका आवश्यकता र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले अब आफू देशभर घुमेर नेता, कार्यकर्ता र सर्वसाधारणका कुरा सुन्ने बताए।
थापाले बीपी कोइराला र गणेशमान सिंहको समयका मुद्दाले मात्रै आजको समाजका सबै आवश्यकता सम्बोधन गर्न नसक्ने उल्लेख गर्दै कांग्रेसले समसामयिक चुनौतीको समाधान खोज्नुपर्ने बताए। उनका अनुसार अबको कांग्रेसले पर्यावरण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै अघि बढाउँदै ‘समुन्नति’ को अवधारणालाई प्राथमिकता दिनुपर्छ।
सामाजिक सञ्जालका छोटा भिडियो र चर्चामा मात्र केन्द्रित भएर समाजका समस्या समाधान नहुने उनको भनाइ थियो। त्यसका लागि गम्भीर छलफल, बहस र चिन्तन आवश्यक रहेको उनले बताए।
सभापति थापाले नागरिकका आकाङ्क्षा पूरा गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे। पार्टीका नियमित कामको जिम्मेवारी वरिष्ठ उपसभापति र महामन्त्रीहरूले सम्हाल्ने तथा आफू नागरिकका समस्या र अपेक्षा बुझ्न देशभर पुग्ने उनको भनाइ छ।
पार्टीका नेता तथा कार्यकर्ताको व्यक्तिगत आचरण र गतिविधिका विषयमा बोल्दै थापाले व्यक्तिको निजी व्यवहारका लागि सिङ्गो पार्टीलाई जिम्मेवार बनाउन नहुने बताए। व्यक्तिगत कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने र आर्थिक पारदर्शितामा पनि व्यक्ति स्वयं जवाफदेही हुनुपर्ने उनको धारणा थियो।
त्यस्तै, पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका वा जिम्मेवारीबाट बाहिर रहेका योग्य नेताहरूलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता उनले जनाए। आन्तरिक निर्वाचनको हारजितलाई नेतृत्वको अन्तिम मूल्याङ्कन मान्न नहुने बताउँदै थापाले सामूहिक नेतृत्व, सहकार्य र एकतामार्फत कांग्रेसलाई अघि बढाउने संकेत गरे।
पार्टीभित्रको गुटगत प्रभावभन्दा माथि उठेर सबैलाई समेट्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्ने आफ्नो योजना प्रस्तुत गरे।
