राजविराज अस्पतालमा ८० जनाका लागि रोजगारीको अवसर, २१ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा ८० जना कर्मचारी करार सेवामा भर्ना गर्न दरखास्त आह्वान गरेको छ।
अस्पतालले शुक्रबार पहिलोपटक सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक आवेदन पेस गर्न आग्रह गरेको हो।
अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, प्राविधिक तथा प्रशासनिक जनशक्तिसहित २४ भन्दा बढी पदमा कर्मचारी माग गरेको छ। माग गरिएका पदमा कन्सल्टेन्ट जनरल फिजिसियन, एनेस्थेसियोलोजिस्ट, साइकियाट्रिस्ट, रेडियोलोजिस्ट, नेफ्रोलोजिस्ट, कार्डियोलोजिस्ट, पेडियाट्रिसियन, ईएनटी सर्जन, अर्थोपेडिक सर्जन, डर्माटोलोजिस्ट, सर्जन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मेडिकल अधिकृत, स्टाफ नर्स, डेन्टल सर्जन, फिजियोथेरापिस्ट, बायोमेडिकल इन्जिनियर, सूचना प्रविधि अधिकृतलगायत रहेका छन्।
अस्पतालका अनुसार उम्मेदवार छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। छनोट हुने कर्मचारीले नेपाल सरकारले तोकेबमोजिम तलब तथा सेवा सुविधा पाउनेछन्।
इच्छुक उम्मेदवारले गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजको प्रशासन शाखामा आवेदन फाराम बुझाउन सक्नेछन्। आवेदन फाराम लोक सेवा आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ।
साथै, सूचनामा उल्लेख नभएका थप जानकारीका लागि अस्पतालको वेबसाइट, फेसबुक पेज वा पदपूर्ति समितिका सदस्य सचिव नारायण यादवसँग सम्पर्क गर्न सकिनेछ।
