प्रहरीमा एआईदेखि एन्टि-ड्रोन प्रविधिसम्म भित्र्याउने आईजीपी कार्कीको घोषणा
काठमाडौं । नेपाल प्रहरीलाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने लक्ष्यसहित कृत्रिम बौद्धिकता (एआई), ड्रोन तथा एन्टि–ड्रोन प्रविधि र ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गर्ने योजना अघि बढाइएको छ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र प्रहरी सेवालाई समयानुकूल बनाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने बताएका हुन्।
कार्कीका अनुसार प्रहरी संगठनमा एआई तथा एड्भान्स्ड एनालिटिक्स सेल, हवाई सुरक्षाका लागि ड्रोन तथा एन्टि–ड्रोन युनिट र ठगी नियन्त्रणका लागि इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचना विकास गर्ने योजना अघि बढाइएको छ। यी संरचनाले अपराध नियन्त्रण, अनुसन्धान र प्रहरी सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने उनको विश्वास छ।
प्रहरी दिवसका अवसरमा उनले प्रहरी संगठनको सुधारमा योगदान पुर्याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। अमर प्रहरीहरूको बलिदानको सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धतासमेत उनले दोहोर्याए।
त्यसैगरी, प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य रहेको कार्कीले बताए। यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रहरी संगठनलाई प्रभावकारी बनाउन आदेश शृङ्खला, अनुशासन, जवाफदेहिता र आपसी समन्वयलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
साथै, समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो।
