`

विस्फोटक पदार्थ निष्क्रिय पार्न नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै

Nepal One HD ११ मंसिर २०८३ १५:५६
प्रशासन

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको प्रशान्त कमान्डका सैन्य विशेषज्ञबीच विस्फोटक पदार्थको पहिचान, निष्क्रियकरण तथा सुरक्षित व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास हुने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार मंसिर १४ देखि २१ गतेसम्म पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘शान्ति प्रयास अभ्यास-२०२६’ आयोजना हुनेछ ।

अभ्यासमा सहभागी अमेरिकी सैन्य विशेषज्ञहरूले विस्फोटक पदार्थ व्यवस्थापनसम्बन्धी कार्यानुभव, प्राविधिक ज्ञान तथा प्रभावकारी अभ्यासका विधिबारे नेपाली सेनाका सैनिकलाई जानकारी गराउनेछन् । नेपाली सैनिकहरूले भने शान्ति स्थापना मिसनका क्रममा विस्फोटक पदार्थजन्य जोखिम व्यवस्थापन गर्दा प्राप्त गरेका अनुभव साझा गर्नेछन् ।

त्यस्तै, कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञबीच विस्फोटक उपकरण तथा सामग्रीको पहिचान, निष्क्रियकरण र सुरक्षित विसर्जनसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान हुनेछ ।

अमेरिकी दूतावासले यस अभ्यासबाट नेपाल र अमेरिकाबीचको रक्षा सहकार्य थप सुदृढ हुनुका साथै शान्ति स्थापना मिसनमा खटिने सुरक्षाकर्मी र नागरिकको सुरक्षा क्षमता अभिवृद्धि हुने जनाएको छ ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले संयुक्त अभ्यासले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई प्रतिबिम्बित गर्ने बताएकी छन् ।

साथै, नेपालको गौरवशाली शान्ति स्थापना परम्पराको जगमा रहेर अनुभव आदानप्रदान गर्न लागिएको उल्लेख गर्दै उनले यसबाट दुवै देश तथा विश्वभरका शान्ति स्थापना मिसनमा जीवन रक्षा गर्ने क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *